शुक्रबार
२६ असार
२०७७

सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन्

बुधबार असार १७, २०७७/ Wednesday 07-01-20

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सत्तारुढ नेकपाभित्रको कलहले बालुवाटारमा तमासा देखिएको भन्दै आपत्ति जनाएका छन् । प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन चर्को दबाब परेपछि नेकपामा विवाद उत्कर्षमा पुगेको छ ।

प्रधानमन्त्री ओली आफ्नो कुर्सी बचाउन र अन्य नेता प्रधानमन्त्रीलाई हटाउन लागिपरेपछि नेता थापाले कटाक्ष गरेका हुन् । उनले बुधबार सामाजिक सञ्जालमार्फत यस्तो कटाक्ष गरेका हुन् । बालुवाटारमा तमासा देखिँदै गर्दा देशमा कोरोनाको महामारी र सलहले अन्नबाली सिध्याउँदै गएको उनले बताएका छन् ।

थापाले लेखेका छन्, ‘ बालुवाटारमा तमासा छ । सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन्। तर न त सलह किराले आफ्नो काम रोकेको छ, न त कोरोना भाइरसले । बरु यिनको त गति र प्रभाव बढ्दो छ। त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ । अति भइसक्यो अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।’