शुक्रबार
२६ असार
२०७७

नेपाली कांग्रेसकी सांसद छन्त्यालको गंगालाल अस्पतालमा उपचारका क्रममा निधन

बुधबार असार १७, २०७७/ Wednesday 07-01-20

 

काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । प्रतिनिधिसभा सदस्य छन्त्यालको उचारको क्रममा बुधबार बिहान सहिद गंगालाल ह्दय केन्द्रमा निधन भएको नेपाल महिला संघकी पूर्वसभापति डा.डिला संग्रौलाले जानकारी दिएकी छन् ।

छन्त्यालको निधनको खबरले आफू मर्माहित र स्तब्ध भएको उनले जनाएकी छन् । ‘उहाँको निधनले नेपाली काँग्रेसलाई अपूरणीय क्षति भएको छ,’ संग्रौलाले सामाजिक सञ्जालमा लेखेकी छन् ।

सांसद छन्त्याल लामो समयदेखि विरामी थिइन् । प्रतिनिधिसभामा नयाँ नक्सा जारीपछि भएको संविधान संशोधनको मतदानमा छन्त्याल उपस्थित हुन सकेकी थिइनन् । उनी प्रतिनिधिसभामा कांग्रेसबाट समानुपातिक सांसद थिइन् ।

बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर न.५ खुंखानीमा जन्मेकी छन्त्याल बागलुङकी लोकप्रिय नेतृ हुन्।छन्त्यल दोस्रो संविधानसभामा बागलुङ क्षेत्र न.२ बाट निर्वाचित संविधान सभा सदस्य समेत हुन्।

कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहले छन्त्यालको निधनप्रति शोक व्यक्त गरेका छन् । उनले शोक सन्देशमा लेखेका छन्, ‘नेपाली कांग्रेस बागलुङकी नेतृ एंव प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको दुखद निधनप्रति हार्दिक समबेदना व्यक्त गर्दछु ।’