शुक्रबार
२६ असार
२०७७

करिश्मा मानन्धरको कटाक्ष– जनताको प्राणभन्दा प्यारो प्रधानमन्त्रीको कुर्सी होइन

बुधबार असार १७, २०७७/ Wednesday 07-01-20

काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरले कोरोनाभाइरसको महामारी र यसबाट उत्पन्न परिस्थितिको सामना गर्नुपर्नेमा बेला पदका लागि भएका राजनीतिक संघर्षप्रति कटाक्ष गरेकी छन् । लकडाउनका कारण जनताले आर्थिक संकटदेखि भोकमरी व्यहोर्नुपर्ने अवस्थालाई निराकरण गर्नुपर्ने बेला कुर्सीका लागि भइरहेका राजनीतिक दाउपेचले जनता निराश बनेका उनको भनाइ छ । 

एक अर्कालाई आरोप लगाउन बुँदा ‘राष्ट्रियता’ बनाएको भन्दै उनले राष्ट्रियतालाई देखाएर पदमा बस्न चाहेको देख्दा अचम्म लागेको बताइन् । ‘ नेपाली जनताको प्राण भन्दा तपाईंहरुको अभिभावकीय कुर्सी त्यत्ति ठुलो होइन बुझ्नुस्’, करिश्माले भनेकी छन् । 

यसबारे सामाजिक सञ्जाल फेसबुकमा बुधबार उनले लेखेकी छन्, ‘लकडाउनको यो केही महिनामा सम्पूर्ण जनता आर्थिक संकट र मनसिक हिसाबले अन्योलमा परेर विभिन्न क्षेत्र आन्दोलित भइरहेको यो अवस्थामा ,माहामारी र भुकमरिको व्यवस्थापन कसरी गर्ने भनेर सोच्नु पर्ने बेलामा राज्यका अभिभावकहरु सत्ता संघर्ष मै बढी ब्यस्त देख्दा म जस्तो सामान्य नागरिकलाई येति अचम्म लाग्छ भने बिज्ञहरुलाइ कस्तो लाग्दो हो ।

फेरि एकअर्कोलाई आरोप लगाउने मुख्य बुदा नै राष्ट्रियता ! अझ एक वरिष्ठ अभिभावकले त माहाकाली सन्धि गर्दा पहिलै मैले येस्को मुहान निश्चित गरेर मात्रै गरु भनेको थिये रे !!

अर्को अभिभावकले चै म जस्तो अडान लिएर छिमेकी संग कुरा राख्ने को छ रे

हे भगवान,अफ्नो मनलागी गर्नु भनेको होइन ,कुरा राख्नुस नै भनेको हो ।

जे गर्दा पनि अभिभावकले समयको माग र परिस्थिति अनुरुप गर्नुस भनेको हो ।

बिदेशीको दवाबमा मेरो पद जान लाग्यो भनेर राष्ट्र हाक्ने मानिसले अभिव्यक्ति दिदा तपाईमा भर परेका जनतामा कस्तो असर पर्ला ?

येस्तो माहामारी फैलिएको बेलामा जनता सडकमा उत्रिए का छन किन होला जस्तो प्रश्न आउदैन मनमा ?

नेपाली जनताको प्राण भन्दा तपाईंहरुको अभिभावकिय कुर्सी तेति ठुलो होइन बुझ्नुस ।’