शुक्रबार
२६ असार
२०७७

हङकङमा राष्ट्रिय सुरक्षा ऐन लागू गरेको चीनलाई अमेरिकाले दियो कडा चेतावनी

बुधबार असार १७, २०७७/ Wednesday 07-01-20

काठमाडौँ। हङकङमा राष्ट्रिय सुरक्षा ऐन लागू गरेपछि अमेरिकाले चीनलाई गलत कदम चलेको भन्दै कडा चेतावनी दिएको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पीओले यस निर्णयको चीनले नराम्रो नतिजा भोग्नु पर्ने चेतावनी दिएका हुन्।

चिनियाँ राष्ट्रपति शी चिनफिंगले मंगलबार हङकङमा राष्ट्रिय सुरक्षा ऐनमा हस्ताक्षर गरेका थिए। उक्त कानून बमोजिम राष्ट्रिय सुरक्षालाई जोखिममा पार्ने, विदेशी सेनासँग अलग हुने, तोडफोड र आतंकवादमा दोषी ठहरिएका व्यक्तिलाई अधिकतम आजीवन कारावासको सजाय सुनाउन सकिन्छ।

त्यसैगरी, नयाँ कानुनले पहिलो पटक चीनको सुरक्षा एजेन्सीहरूलाई हङकङमा आफ्नो कार्यालय खोल्न अनुमति दिनेछ । पोम्पीओले मंगलबार राति कडा शब्दमा बोल्दै चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी)ले हङकङमा क्रुर राष्ट्रिय सुरक्षा कानून लागू गर्ने निर्णय गरेर यस क्षेत्रको स्वायत्तता नष्ट गरेको भनेका छन्।

हङकङ, विश्वको सब भन्दा सफल अर्थतन्त्र र जीवन्त समाज रहेको भन्दै चीनलाई एक देश, दुई प्रणालीमा नभएर एक देश, एक प्रणाली परिणत गरेको आरोप लगाएका छन्। उनले भने कि अमेरिकाले हङकङको स्वतन्त्र प्रेमी जनताको साथ सधैँ खडा रहने र यस कानुनको शासनप्रति चीनमाथि कडा प्रतिक्रिया जनाउने बताएका छन्।