शुक्रबार
२६ असार
२०७७

केपी ओलीले अर्को चुनावमा नजित्ने झलनाथ खनालको ठोकुवापछि सन्नाटा

बुधबार असार १७, २०७७/ Wednesday 07-01-20

काठमाडौं । सत्तारुढ नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल सरल र भद्र नेता मानिन्छन् । हत्तपत्त उनी कसैलाई पनि बिझाउने गरी बोल्दैनन् । एक दशक बढी तत्कालीन एमालेको नेतृत्व सम्हालेका खनाल अहिले नेकपामा चौथो वरीयतामा छन् । उनले पार्टीमा गुट बनाएका छैनन् । राजनीति सम्भावनाको खेल हो भन्ने बुझेका खनाल अझै पनि कार्यकारी पद हात परिहाल्छ कि भन्ने आशमा छन् । 

पछिल्लो समय नेकपामा समीकरण बदलिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली अल्पमतमा छन् । अझ उनलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन दबाब बढेपछि अन्य नेताको चर्चा चुलिएको छ । यदि ओलीले राजीनामा दिएमा कस्तो परिदृश्य देखिनेछ भन्ने अहिले नखुले पछि मंगलबारको स्थायी कमिटी बैठकमा झलनाथ खनालले प्रधानमन्त्री ओलीमाथि लक्षित गरेको आक्रोशको भने अहिले व्यापक टीकाटिप्पणी भइरहेको छ ।

ओलीले आफूले भारतको विरोध गर्दा किन प्रधानमन्त्रीको राजीनामा मागियो भन्दै प्रश्न गरेपछि भने, ‘अब म कुनै चुनाव लड्दिनँ ।’ ओलीको जवाफपछि लगत्तै बोलेका खनालले ‘अब चुनाव जित्ने भए पो लड्नु ।’ खनालको यो आक्रोशले ओली कति अलोकप्रिय भइसकेका रहेछन् भन्ने पुष्टि हुन्छ ।

ओलीले तत्कालीन एमालेको महाधिवेशनमा खनाललाई राष्ट्रपति बनाउने आश्वासन दिएका थिए । तर, उनी एमाले अध्यक्ष भए विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाए । खनाललाई भने पार्टीको चौथो वरीयतामा धकेलिदिए । त्यति मात्र होइन, खनाल निकट नेता गोकर्ण विष्टको श्रममन्त्री पनि खोसेर ओलीले रामेश्वर राय यादवलाई बनाए ।

सोही रिस अहिले खनालले ओलीलाई पोखिरहेका छन् । यदि ओलीले पदबाट राजीनामा दिएमा खनाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा छन् । सँगै राष्ट्रपति विद्यादेवी भण्डारीलाई तानेर आफू राष्ट्रपति बन्ने उनको इच्छा छ । आफू राष्ट्रपति बन्न चाहेको झलनाथ खनालले पहिले नै बताइसकेका छन् । अहिले नेकपामा देखिएको विवादले कसलाई कुन पद दिलाउने हो र कसलाई कहाँ पु¥याउने हो ? कसैले भन्न सक्ने अवस्था छैन ।