काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरतामा जानबाट रोक्न प्रतिनिधिसभा विघटन गरी नयाँ बाटोमा सरकार गएको बताएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को विहिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताए ।
अराजनीतिक तथा अराजक प्रबृत्ति अहिले किनारा लागेको बताउदै अध्यक्ष ओलीले पार्टीभित्र शुद्धीकरणको काम भएको बताए । सरकारलाई काम गर्न नदिने अहिलेका नेता नै विगतको आफ्नो नेतृत्वको सरकार ढालेको उनले आरोप लगाए ।
ओली छिटो मर्ला र खाउँला कुरेर बसेकाहरु भ्रममा रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “भर्खर त मेरो बुवा बुढो हुन थाल्नुभएको छ, म त अहिले जवान नै छुँ, मर्ला र खाउँला नसोचे हुन्छ ।” कसैले मलाई कमजोर छ ठानेमा त्यो भ्रम हुनेछ उनले भने ।
चितवनमा जनतालाई ‘प्रणाम’ गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनाव जिताए पनि ‘गुन’ बिर्सेको उनले बताए । “जङ्गलमा आफू प्रचण्ड बस्नुभएको छैन, लडाकुलाई बसाउनुभयो” उनले थपे, “आफू प्रचण्ड त दिल्ली लखनउमा जेलवाला तेल लगाएर जुल्फी कोरेर बस्नुभयो ।” आज देश दोबाटोमा भएकाबेला कार्यकर्ता र जनतालाई चिन्ता हुनु स्वभाविक भएपनि अहिले पार्टी पहिलेभन्दा बढी एकतावद्ध बनेको बताए।
अहिले पार्टी गतिशील र अनुशासित बनेको चर्चा गर्दै अध्यक्ष ओलीले थपे, “पार्टी पार्टीजस्तो थिएन, च्याउँच्याउँ र म्याउँम्याउँ थियो, अहिले एकतावद्ध र अनुशासित बनेको छ ।” अहिले देशको पक्षमा काम गर्न थप सहज भएको उनले बताए । समृद्ध नेपाल र सुखी नेपाली बनाउन अब सहज भएको प्रधानमन्त्री अोलीले तर्क गरे ।
उहाँहरुलाई समाजवाद आइसक्यो, परिवार आफन्तले सबै सुख सुविधा प्राप्त गरिसके प्रधानमन्त्री ओलीले भने, “हामीलाई र नेपाली जनताका लागि भने समाजवाद आउन बाँकी रहेको छ, त्यसकालागि हामी संघर्ष गरिरहेका छौं ।” जनयुद्धमा लडेका लडाकु, घाइते, अङ्गभङ्ग भएका पीडितकालागि समाजवाद आउन बाँकी रहेको उनले चर्चा गरे ।
सरकार देश र जनताको पक्षमा काम गरिरहेकाले देशहित नचाहने तत्वहरु सल्बलाएको उनले टिप्पणी गरे। जस्तोसुकै कठिन परिस्थितिमा पनि देश र जनताको पक्षमा सरकारले काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । युवालाई रोजगारी दिन सरकारले उद्योग कलकारखानादेखि अन्य रोजगारमुलक कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।
नेपालमा मजदुर आन्दोलनलाई केहीले विभाजित गर्ने प्रयास भएको टिप्पणी गर्दै अध्यक्ष ओलीले मजदुरलाई सही दिशा देखाएर एकतावद्ध बनाउनुपर्ने बताए । “केही तत्वले मजदुर साथीहरुलाई झुठा सपना बाँडेर अल्मल्याएका छन्, उहाँहरुलाई मुक्त गराएर सही बाटोमा लग्नुपर्छ” अध्यक्ष अोलीले थपे, “श्रमिकको नाम लिएर नथाक्नेहरु श्रमिकको शोषण गरिरहेका छन्, त्यसबाट सचेत रहनुपर्छ ।”
“एउटा पक्षले अदालतमा मुद्दा हालेको हाल्यै हुनुहुन्छ, वकिलहरुले पनि राम्रो काम पाउनुभएको छ” प्रधानमन्त्री ओलीले भने, “हामी झगडिया होइनौं, त्यसैले अदालतमा मुद्दा हाल्न पनि जाँदैनौं ।” एक पल्ट पनि सूर्य चिन्हमा चुनाव नलडेकाहरुले सूर्य चिन्ह आफ्नो भएको दावी गर्नु हास्यस्पद भएको उनले टिप्पणी गरे।
“दशा लागेपछि के लाग्छ बरु यही बसेको भए पार्टी एकजुट हुन्थ्यो, पार्टी सानदार ढङ्गले जित्थ्यो” प्रधानमन्त्री ओलीले भने । पालिकास्तरमा ग्रामीण औद्योगिक क्षेत्र घोषणा गर्ने सरकारले तयारी गरेको बताउदै प्रधानमन्त्री ओलीले हाम्रो उद्योग, उत्पादन र निर्यातबाट देशमा समृद्धि कायम गर्ने बताए ।
देश बनाउने सरकारको अभियानमा सबै नेपालीले साथ दिनुपर्ने उनले आग्रह गरेका छन् । सरकार समानता र सम्मानको पक्षमा काम गरिरहेको चर्चा गरे । “अब सामन्तवादका दिन गए, यो जनताको दिन हो, जनताका छोराछोरी नै नेतृत्वमा पुग्छन्” प्रधानमन्त्री ओलीले भने, “समाजवाद उन्मुख सामाजिक न्याय र समानताको महाअभियानमा लागेका छौं ।” मजदुर श्रमिकहरु कुनै अलमलमा नपरी महाअभियानमा लाग्न उनले आग्रह गरे। समाचार: गोरखापत्र अनलाइन
माघ १५, २०७७ बिहिवार
१९:२१:३२ बजे : प्रकाशित