शुक्रबार
२३ श्रावण
२०७७

वामदेवको साथले ओलीलाई बलियो बनाउँदै, प्रचण्ड क्याम्प छाड्ने नेताहरुको संख्या थपिँदै

शुक्रबार श्रावण १६, २०७७/ Friday 07-31-20

काठमाडौं । सत्तारुढ नेकपाभित्रको समीकरणमा परिवर्तनको श्रृंखला चलिरहेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि विवाद चर्केपछि नेकपामा नेताहरु गुट परिवर्तनमा लागेका छन् । आफ्नो राजनीतिक भविष्य सुरक्षित बनाउन र पार्टीलाई निकास दिनुपर्ने दुवै मनसायबाट अभिप्रेरित नेताहरुले आफ्नो समूह परिवर्तन मात्रै गरेका छैनन्, अहिले देखिएका विवाद समाधानमा पनि पहल लिन थालेका छन् ।

यही साउन १३ गते उपाध्यक्ष वामदेव गौतमले पार्टीलाई फुट्नबाट जोगाउन भन्दै ६ बुँदे माग अघि सारेपछि नेकपामा तरङ्ग ल्याइदियो । अध्यक्ष ओलीले जारी स्थायी कमिटी बैठकलाई अनिश्चितकालका लागि स्थगित गरिदिए भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमै ओलीले स्थगित गरेको बैठक राखे । यसरी एकाएक तताएको नेकपाको राजनीतिमा उपाध्यक्ष गौतमको ६ बुँदे प्रस्तावले अर्काे तरङ्ग सृजना गरिदियो । तर, अहिले त्यही ६ बुँदे प्रस्तावले ओलीलाई बलियो बनाउँदै लगेको छ । 

ओली मौजुदा प्रतिनिधिसभाको कार्यकालभरि प्रधानमन्त्रीका रूपमा नै रहने तथा एकताको महाधिवेशनसम्म अध्यक्ष रहने र कार्यकारी भूमिकासहित प्रचण्डले पार्टी चलाउने लगायतका ६ बुँदे गौतमको प्रस्तावले ओलीलाई बलियो बनाउँदै लगेको हो । मंगलबार बिहान सो प्रस्ताव सार्वजनिक गरेका गौतमलाई साँझ उनकै निवास भैंसेपाटी पुगेर ओलीले भेटेका थिए ।

गौतमको सो प्रस्तावलाई ओली समूहका नेताहरुले अस्वीकार गर्ने कुरा नै भएन, किनकि ओलीलाई नै अध्यक्ष र प्रधानमन्त्रीमा निरन्तरता दिनुपर्ने प्रस्ताव छ । भने प्रचण्ड–नेपालसमूहका नेताहरुले पनि सो प्रस्तावमा समर्थन जनाउन थालेका छन् । उपाध्यक्ष गौतमनिकट नेताहरुले समर्थन जनाउने नै भइहाले । जसले ओलीलाई बलियो बनाउने देखिन्छ । 

सो प्रस्तावको पक्षमा प्रस्ताव गौतम, प्रधानमन्त्री ओली, ईश्वर पोखरेल, रामबहादुर थापा बादल महासचिव विष्णु पौडेलले समर्थन जनाएकाले सचिवालयमा ओली बहुमतमा देखिन्छन् ।ओली र गौतम समूहका नेताहरुले मात्रै होइन प्रचण्ड समूहकाले पनि सो प्रस्तावको समर्थन गरेका छन् ।

प्रचण्ड समूह (पूर्वमाओवादी)का नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, हरिबोल गजुरेल, मणि थापा, देवेन्द्र पौडेल चक्रपाणि खनाल लगायतले समर्थन जनाइसकेका छन् । बादलबाहेक अरु नेताहरुले बुधबार राति ओलीलाई भेटेर गौतमको प्रस्तावमा समर्थन जनाइसकेका छन् । 

गत मंगलबार प्रचण्डले राखेको बैठकमा स्थायी समिति सदस्य जर्नादन शर्मा भनेका थिए, ‘अब सबै विवाद छाडौँ, महाधिवेशनमा जाऊँ, पार्टी फुटे त्यहीँ फुटछ, जुटे त्यहीँ जुट्छ ।’ यस धारणाले गौतमको प्रस्तावको समर्थन गर्ने नेताहरुको बुझाइ छ । यस्तै माधवकुमार नेपाल समूहका नेताहरुले पनि समर्थन जनाउन थालेका नेताहरुले जानकारी दिएका छन् ।