शुक्रबार
२३ श्रावण
२०७७

ओली–प्रचण्डबीच फाटो ल्याएको त्यो दिन...

शुक्रबार श्रावण १६, २०७७/ Friday 07-31-20

काठमाडौं । सत्तारुढ नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अहिले संवादहिनताको अवस्था सृजना भएको छ । अघिल्लो हप्तासम्म दैनिक छलफलमा जुटेका उनीहरु अहिले संवादहिन अवस्थामा पुगेका हुन् । पार्टीभित्रको विवाद समाधान भन्दै असारको दोस्रो हप्ताबाट दैनिकजसो छलफलमा जुटेका उनीहरु गत मंगलबार यता एकपटक पनि औपचारिक रुपमा वार्तामा बसेका छैनन् ।

गत असार १० गतेबाट सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन ओलीलाई प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपालसहितका सदस्यहरुले माग गरे। तर, ओलीले राजीनामा नदिन, जस्तो सुकै परिस्थितिको सामना गर्न तयार रहेको बताए । त्यसपछि कसिलो बनेको नेकपाभित्रको विवादले बारम्बार स्थायी कमिटी बैठक स्थगित हुँदै आएको थियो । स्थायी कमिटी बैठक स्थगित गरेर अध्यक्षद्वय ओली र प्रचण्डबीच दैनिकजसो छलफल भइरहेको थियो । 

तर, साउन १३ गते मंगलबार, जे भयो, त्यसैले ओली र प्रचण्डबीच संवादहिनताको अवस्था सृजना ग यो । दैनिकजसो भइरहेका छलफलले निकास नदिइरहेका बेला मंगलबार प्रचण्डले ओलीसँग ‘वान अन वान’ वार्ता नगर्ने सन्देश बालुवाटार पठाए । मंगलबार बिहान खुमलटार आएका ओलीका विश्वासपात्र पार्टीका महासचिव विष्णु पौडेलमार्फत प्रचण्डले ओली आफ्नो अडानबाट पछि नहटेकाले अब ‘वान अन वान’ वार्ता नगर्ने, गर्ने परे सामूहिक छलफल गर्ने सन्देश बालुवाटार पठाए । प्रचण्डको सन्देश बोकेर बालुवाटार पुगेका पौडेलले ओलीसामू प्रचण्डसँग भएको कुराकानीको सबै बेलिबिस्तार लगाए । 

प्रचण्डको सामूहिक छलफल गर्ने भन्ने सन्देशको अभिप्राय अब स्थायी कमिटीको बैठक सुचारु गर्नुपर्ने थियो । अघिल्लो दिन पनि खुमलटारमा प्रचण्ड, नेपाल, खनालसहितका नेताहरुले सोही निष्कर्ष निकालेका थिए । मंगलबार खुमलटारको सन्देश सुनेपछि ओलीले पनि बोलाइएको स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित गरिदिए । 

बैठकका लागि बालुवाटार हिँडेका प्रचण्डले यो कुरा बाटोमा सुने । ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि यसलाई काउन्टर दिन प्रचण्डले बालुवाटारमै स्थायी कमिटीको बैठक राखे । ओलीले स्थगित गरेको बैठक बालुवाटारमै राख्न प्रचण्डलाई खनाल, नेपालसहितका नेताहरुले साथ दिए । सो बैठकले प्रचण्डलाई ओलीसँग संवाद गरेर बैठक सुचारु गर्ने जिम्मा दियो । 

तर, आफूलाई काउन्टर दिने गरी बालुवाटारमै स्थायी कमिटीको बैठक राखेपछि रुष्ट बनेका ओली अहिले मौन बसेका छन् । उनी र प्रचण्डबीच औपचारिक रुपमा छलफल भएको छैन । बिहीबार प्रचण्डले महासचिव विष्णु पौडेलमार्फत ओलीलाई छलफलका लागि सन्देश पठाएका छन् । बिहीबार पौडेललाई खुमलटार बोलाएर प्रचण्डले ओलीलाई निकास निस्कनेगरी छलफलमा बस्न प्रस्ताव गरेका छन् । प्रचण्डले विवाद समाधान गर्ने गरी छलफलका लागि तयार हुन ओलीलाई बैठकको समय मिलाउन प्रस्ताव गरेका हुन् ।

तर, सो प्रस्ताव बालुवाटार पुगेको २४ घण्टा बितिसके पनि प्रगति भएको देखिँदैन । प्रचण्डको सो प्रस्तावलाई स्वीकारेर ओलीले बैठक राख्ने गरी कुनै मिति सार्वजनिक गरेका छैनन् । साथै सो प्रस्तावले पनि दुई अध्यक्षबीचको दूरी घटाएर ओली र प्रचण्डलाई आमनेसामने बसेर छलफल गर्ने वातावरण पनि बनाएको छैन ।