• Sep 22 2020 | २०७७, आश्विन ६गते

२०७७, आश्विन ६गते

यो साता चर्चामा:

छाप्रोबाटै उठाएर लग्यो हात्तीले, केही पर शव भेटियो

Canada Nepal श्रावण २३ २०७७
  • 184
    SHARES
  • छाप्रोबाटै उठाएर लग्यो हात्तीले, केही पर शव भेटियो

    काठमाडौं - झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालीका वडा नम्बर ५ को ५८ बर्षिय रेवत रेग्मी रहेका छन् । उनको शुक्रबार बिहान हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । 

    बिहानै जंगलबाट आएका दुई वटा हात्तीको समुहले रेवतलाई छाप्रोबाटै उठाएर लगेको र केही पर पुर्याएर मारेको जनाइएको छ । रेवत सशस्त्रको जग्गामा छाप्रो बनाएर बसेका थिए । 


    श्रावण २३, २०७७ शुक्रवार १९:११:४५ बजे : प्रकाशित

    अर्कोसमाचार

    यती एयरलाइन्सले ल्यायो यस्ता सस्तो मूल्यका आकर्षक प्याकेज, मोवाइलबाटै टिकट बुकिङ गर्न सकिने

  • 1.3K
    SHARES
  • यती एयरलाइन्सले ल्यायो यस्ता सस्तो मूल्यका आकर्षक प्याकेज, मोवाइलबाटै टिकट बुकिङ गर्न सकिने

    काठमाडौँ - निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि देशका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा सस्तो मूल्यमा प्याकेज सार्वजनिक गरेको छ ।

    कम्पनीले स्थापनाको २२ औँ वार्षिकोत्सवका अवसरमा सरकारले घोषणा गरेको देश दर्शन कार्यक्रमलाईसमेत मध्यनजर गर्दै आन्तरिक पर्यटनका प्याकेज बनाएको हो । कोभिड–१९ महामारीका कारण थलिएको पर्यटनलाई जीवन्त तुल्याउन कम्पनीले देशका विभिन्न गन्तव्यमा आकर्षक प्याकेज ल्याएको छ । कोभिडले छ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाई आर्थिक गतिविधि बढाउन प्याकेज ल्याइएको कम्पनीले उल्लेख गरेको छ ।

    यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकत (सिइओ) अनोज रिमालले नयाँ परिस्थितिमा आन्तरिक पर्यटनलाई चलायमान बनाउन कम्पनीले आकर्षक प्याकेज ल्याएको बताउनुभयो । उहाँले लामो प्रतिवन्धपछि खुला भएको हवाई तथा पर्यटनलाई गतिशील बनाउन यी प्याकेज सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

    आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्दै पर्यटन उद्योगलाई पुनस्थापित गर्न ‘आन्तरिक पर्यटनका लागि सँगसँगै’ भन्ने नाराका साथ कम्पनीले होटल, ट्राभल्स, ट्रेकिङ्गलगायत कम्पनीसँगको सहकार्यमा प्याकेज बनाइएको जनाएको छ । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार ‘अब एयरलाइन्सले यात्रुलाई गन्तव्यसँग जोड्ने मात्र छैनन्, गन्तब्य घुमाउने पनि छन्’ भन्ने सन्देश आम यात्रुवर्गलाई दिन भ्रमण प्याकेज बनाइएको हो ।

    आन्तरिक पर्यटन प्रवर्द्धन गरी गतिविधि सूचारु गर्ने लक्ष्यसहित अक्टोवर २०२० बाट लागू हुने गरी प्याकेज बिक्री थालिएको छ । अहिले यतिले पोखरा, एभरेष्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, चितवन र रारालाई लक्षित गरी प्याकेज बनाएको छ । कम्पनीले नेपालगन्ज, भरतपुर, जनकपुर, भैरहवा, भद्रपुर र तुम्लिङटारका लागिसमेत दुईतर्फी टिकटसहितका प्याकेज बनाएको छ । यी गन्तव्यमा होटेलको स्तरअनुसार मूल्य राखिएको छ ।

    यती एयरलाइन्सको आन्तरिक पर्यटन प्याकेज अभियान घोषणा गर्न आज आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत हिक्मतसिंह ऐरले यतीको पर्यटकीय प्याकेजमा पूर्वमा पाथिभरा र पश्चिममा खप्तडलगायतका गन्तव्यलाई समेत जोड्न कम्पनीलाई आग्रह गर्नुभयो ।

    ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटकीय प्याकेजले छ महिनादेखि ठप्प रहेको पर्यटन व्यवसायलाई केही हदसम्म राहत मिल्नुका साथै पर्यटकीय गतिविधि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

    नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाइँले प्याकेजले मुलुकभित्र घुमफिरको वातावरण बनाउन सहयोग पुग्नुका साथै पर्यटन क्षेत्रका संस्थाको साझेदारितामा अन्य कार्यक्रम अघि बढाइने बताउनुभयो ।

    यस्ता छन् यतीका पर्यटकीय प्याकेज
    एभरेष्ट ट्रेल ः रु १३ हजार ९९९ प्रतिव्यक्ति (चार रात, पाँच दिन, न्यूनतम १० यात्रु आवश्यक), रारा ः रु २४ हजार ९९९ प्रतिव्यक्ति (दुई रात, तीन दिन, न्यूनतम पाँच यात्रु आवश्यक), पोखरा ः रु पाँच हजार ९९९ सात ९९९ प्रतिव्यक्ति (दुई रात, तीन दिन), चितवन ः रु १२ हजार ९९९ र रु १६ हजार ९९९ प्रतिव्यक्ति (दुई रात, तीन दिन), मुक्तिनाथ दर्शन ः रु १२ हजार ९९९ प्रतिव्यक्ति (तीन रात, चार दिन, न्यूनतम छ यात्रु आवश्यक), मुक्तिनाथ दर्शन ः रु १६ हजार ९९९ प्रतिव्यक्ति (चार रात, पाँच दिन, न्यूनतम सात यात्रु आवश्यक), अन्नपूर्ण फुटहिल्स ट्रेल घान्द्रुक ः रु ११ हजार ९९९ प्रतिव्यक्ति (पाँच रात, छ दिन, न्यूनतम छ यात्रु आवश्यक) र अन्नपूर्ण लक्जरी घान्द्रुक ट्रेल ः रु १९ हजार ९९९ प्रतिव्यक्ति (चार रात, पाँच दिन, न्यूनतम आठ यात्रु आवश्यक) रहेको छ ।

    टिकट एप्सबाट
    यती एयरलाइन्सका ग्राहकले टिकट आफ्नै मोबाइल फोनबाट काट्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । सोही प्रयोजनका लागि कम्पनीले मोबाइल एप सार्वजनिक गरेको छ । अब मोवाइलबाट टिकट बुकिङ, स्काई क्लव माइलेज तथा फ्लाइट स्टाटस चेकजाँच गर्न, वेभ चेकिङ, कार्गो ट्रयाकिङ, हवाई तालिका र भाडादर हेर्न सकिने भएको छ ।

    उडान शुरु
    बन्दाबन्दीको छ महिनापछि यतीले आजदेखि आन्तरिक उडान शुरु गरिएको जनाएको छ । एअरलाइन्सका सिइओ रिमालले नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्यको मापदण्ड तथा कम्पनीले बनाएको स्वास्थ्य प्रोटोकलको पालना गरी उडान शुरु गरिएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार कम्पनीले चालक दल, यात्रु र कर्मचारीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर डब्लुएचओ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको निर्देशिका अनुरुप यती एअरलाइन्स तथा तारा एअरको छुट्टाछुट्टै कार्यविधि बनाएर सुरक्षित तवरले जहाज सञ्चालन गरेको छ ।

    “यात्राका दौरान यात्रुलाई सुरक्षित राख्न गर्नुपर्ने अतिरिक्त सुरक्षा उपायका लागी कर्मचारीलाई अभ्यस्त राख्न तालिम प्रदान गर्ने, आवश्यक उपकरण खरीद गर्ने तथा उडान सम्बन्धि पूर्वाभ्यास सम्पन्न गरीसकेका छौँ”, उहाँले भन्नुभयो । स्वास्थ्य सुरक्षा सर्तकतासँगै निर्धक्क भएर यात्रा गर्न सकिने उहाँको भनाइ छ ।

    विस. २०५५ मा स्थापना भएको यती एअरलाइन्सको हाल एटिआर–७२ सीट क्षमताका पाँच, जेटस्ट्रिम–३० सीटका पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ विमान सञ्चालनमा रहेका छन् । रासस


    आश्विन ५, २०७७ सोमवार २२:०२:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # यती एयरलाइन्स

  • क्यानाडानेपाल डेस्क

    १६ वर्ष उमेरकालाई सबैभन्दा बढी मानसिक समस्या - एक अध्ययन

    १६ वर्ष उमेरकालाई सबैभन्दा बढी मानसिक समस्या - एक अध्ययन

    काठमाडौं - १६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण आज सार्वजनिक गर्दै १६ वर्ष उमेरका ७.७ प्रतिशत किशोरकिशोरी बढी मानसिक समस्यामा पर्ने गरेको देखिएको परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले जानकारी दिए । 

    तिमध्ये किशोरीमा ५.३ प्रतिशत र किशोरमा पाँच प्रतिशत मानसिक समस्या देखिएको छ । परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा प्रदेश नंं १ का किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको छ । त्यहाँका ११.४ प्रतिशत किशोरकिशोरीमा समस्या देखिएको उनले बताए । 

    यस्तै ५.२ प्रतिशत किशोरकिशोरीमा मानसिक समस्या, ०.६ प्रतिशतमा उदासिनता, ३.९ प्रतिशतमा आत्महत्याको सोच र ०.७ प्रतिशतमा आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेका पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै ०.६ प्रतिशतमा मादक पदार्थलगायत अन्य कुनै प्रकारको नसालु पदार्थको सेवनका कारण मानसिक समस्या आउने गरिएको उल्लेख गरिएको छ । 

    सर्वेक्षणमा २३ प्रतिशत वयस्क युवाले आफूमा लक्षण देखिएपश्चात चिकित्सक वा अन्य व्यक्तिसँग सहयोग मागेको देखिएको छ । सहयोग प्रदायक व्यक्ति वा चिकित्सकमध्ये ६.५ प्रतिशत मनोचिकित्सक, ८.८ प्रतिशत अन्य विशेषज्ञता भएका चिकित्सक र ६÷७ प्रतिशत जोखाना हेर्ने, पूजाआजा गर्ने र धामीझाक्री लगाउने गरेको पाइएको छ । 

    यस्तै वयस्कमा सबैभन्दा बढी वागमती प्रदेशका ५ं.९ प्रतिशत मानसिक समस्यामा पर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । उमेर समूहमा (४० देखि ४९ ) वर्षका बयस्क ६.३ प्रतिशत मानसिक समस्या र तिमध्ये महिला ५.१ प्रतिशत र पुरुष ३.४ प्रतिशत रहेका छन् ।

    सर्वेक्षणमा १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालमा कुनै न कुनै समयमा र ४.३ प्रतिशत वयस्कमा हालको अवस्थामा पनि समस्यामा रहेको पाइयो । यस्तै तीन प्रतिशत वयस्क उदासिनताका, ६.५ प्रतिशतमा हालको अवस्थामा आत्महत्याको सोच र १.१ प्रतिशतमा आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको सर्वेक्षणमा  पाइएको परिषद्का कार्यकारी निर्देशक डा. ज्ञवालीले जानकारी दिए । 

    यस्तै ४.२ प्रतिशत वयस्कमा मादक पदार्थ सेवन गरेका कारण र ०.२ प्रतिशत नसालु पदार्थ सेवन गरेका कारणले मानसिक समस्यामा पर्ने गरेको उल्लेख छ । परिषद्ले सन २०१९ जनवरीदेखि सन् २०२० जनवरीसम्म सातवटै प्रदेशमा १५ हजार ८८ जनामा सर्वेक्षण गरेको थियो । तिमध्ये पाँच हजार ८८८ जना १३ देखि १७ वर्ष उमेर समूहका र नौ हजार २०० जना १८ वर्ष माथिका वयस्क थिए । रासस


    आश्विन ५, २०७७ सोमवार २०:४४:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मानसिक समस्या

  • क्यानाडानेपाल डेस्क

    कोरोना कम हुनासाथ नियमित रेल सञ्चालन हुने, अरु अन्तरदेशीय रेल निर्माणको अवस्था के छ ?

    कोरोना कम हुनासाथ नियमित रेल सञ्चालन हुने, अरु अन्तरदेशीय रेल निर्माणको अवस्था के छ ?

    काठमाडौँ - धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि रेल आएसँगै देश पुनः रेल यातायाततर्फ प्रवेश गरेको छ । भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्ग सञ्चालनका लागि सरकारले रेल खरीद गरेको थियो । सो खण्डमा रेल यातायात सञ्चालन विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग समाचारदाता सञ्चिता घिमिरेले गरेको कुराकानीको सम्पादित अंशः

    कुर्था–जयनगर रेल सञ्चालनका लागि सेट ल्याइएसँगै नेपाल रेलमार्गको अर्काे चरणमा प्रवेश गरेको हो ?
    नेम्वाङः मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै भौतिक पूर्वाधारमा फड्को मार्नुपर्छ भन्ने धारणा विकास भएको छ । रेलको विगत हेर्दा सन् १९३७ सालदेखि सन् २०१४ सम्म जयनगर–जनकपुर छोटो दूरीमा सञ्चालन भएको थियो । नेपालको यो पहिलो रेल गत सात वर्षदेखि बन्द थियो । गत निर्वाचनमा कम्युनिष्ट पार्टीलाई जनताले दिएको मतका आधारमा अहिले स्थायी सरकार बनेको छ । चुनावी घोषणापत्रमा भौतिक पूर्वाधारमा सुरुङ, ठूलाठूला बाटोसँगै रेलमार्ग निर्माण गर्ने पनि उल्लेख भएको थियो ।

    यो सरकारको पहिलो वर्षको नीति, कार्यक्रममा रेललाई जोड दिइएको थियो । जनकपुर–जयनगर ३५ किमीलाई विस्तार गर्दै बिजुलपुरा हुँदै बर्दिवाससम्म रेलमार्ग निर्माण भइरहेको छ । सरकारले उत्तर र दक्षिणको रेलको कनेक्सन बढाएर लान लागेको छ ।

    यो सरकार बनेपछि तत्काल गर्न सकिने कामलाई अघि बढाइएको छ । रेल सञ्चालन गर्नुपर्छ र नेपालको झण्डा राखेर चलाउन हामी आतुर छौँ भन्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दै आउनुभएको थियो । उहाँले यसलाई नीति तथा कार्यक्रममा राखेर बजेटको व्यवस्था गर्नुभएको छ । दुई वर्ष पहिले दुई रेल खरीद गर्ने र रेलमार्ग पुनःनिर्माण गर्ने भनी भारतसँग सम्झौता भएको थियो । जयनगरदेखि कुर्था, बिजुलपुरा हुँदै बर्दिबाससम्म रेल पुग्छ भने सो ठाउँ पूर्वपश्चिम रेलमार्गको पनि कनेक्सन भएको ठाउँ हो ।

    रेल सञ्चालन गर्ने भनी रु ८० करोडमा दुई वटा रेल अर्डर गरिएको थियो । भारतसँग जिटुजीमा खरीद गरिएको रेल पटकपटक भारतले “रेल बनिसक्यो यसलाई लैजानुहोस् र परीक्षण गर्नुहोस्” भनेको थियो । कोभिडको अवस्था भए पनि हामीले जिम्मा लिनुपर्छ भनेर रेल ल्याइएको छ ।

    नेपाली झण्डा बोकेको रेल सञ्चालन गर्ने प्रधानमन्त्रीको सपना छ । यो मात्रै होइन उत्तर तिब्बतदेखि काठमाडौँ, भारतसँग रक्सौलबाट काठमाडौँ, काँकडभित्ताबाट गड्डाचौकीसम्म रेल चल्नुपर्छ । विद्युत्मा आत्मनिर्भर भइसककेको अवस्थामा विद्युतीय रेललाई विस्तार गर्नुपर्छ । रेल चल्नुपर्छ भन्दा कागजको डब्बा बनाएको पनि देखियो तर यो साँच्चै रहेछ भन्ने कुरा रेल आएपछि आफैँ बोलेको छ । केही वर्षपछि उत्तरबाट पनि काठमाडौँमा रेल आउनेछ ।

    कुर्था–जयनगर रेल कहिलेदेखि नियमित सञ्चालन हुन सक्छ ?
    आजभोलि नै कोभिडको कारण सेवा सञ्चालन गर्ने अवस्था छैन । रेल सञ्चालनका लागि रेल्वे कम्पनी छ र महानिर्देशक पनि नियुक्ति भइसकेका छन् । रेल परीक्षणपछि सम्झौताको एउटा कुरा सम्पन्न भएको छ । रेलमार्ग बनेपछि नै अहिले एक हजार ३०० क्षमताको दुई रेल आएको छ । पहिले त नेपालमा सञ्चालन गर्न ठीक छ, छैन भनी परीक्षण हुनेछ । अरु हिसाबले भोलिपर्सिदेखि सञ्चालन गर्न सके पनि कोभिडका कारण सञ्चालन गर्न सकिँदैन । अहिले रेल ऐन राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा छ । यसले बोर्डको कल्पना गरेको छ । हामीले अहिले पुरानो रेल्वे कम्पनी नै गठन गरेका छौँ । अहिले आवश्यक जनशक्ति नेपालमा उपलब्ध हुन नसकेको अवस्थामा विदेशबाट भए पनि ल्याएर करारमा नियुक्त गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

    कम्पनीले चाहिने जनशक्ति नियुक्त गर्न विज्ञापन गरिसकेको छ । आवश्यक स्टेशन निर्माण भइसकेको छ । अहिले कोरोनाको अवस्था छ र स्वास्थ्यलाई ख्याल गर्नुपर्ने अवस्था छ । यो महामारी कम हुनासाथ र बोर्डर खुला भएपछि रेल चल्नेछ । हामीले आन्तरिक तयारी गरिरहेका छौँ । कोभिड कम भएर बोर्डर खुला भएपछि रेल चलाउछौँ । अरु कुनै समस्या छैन ।

    रेल नियमित सञ्चालनका लागि ऐन, कानून र व्यवस्थापकीय रुपमा सरकार तयार छ ?
    अहिले व्यवस्थापनको समस्या छैन । रेल हिजो पनि चलाइएको हो । नयाँ ढङ्गले चलाउन विधेयक संसद्मा छ । पुरानो रेल कम्पनी ऐन छ । अहिले रेल्वे कम्पनीले चलाउनेछ । मौजूदा कानूनले व्यवस्था गर्न नसकेका कुरा पनि समाधान भइरहेको छ । भारतीय वा अरु चालक नेपालमा छैनन् र हाम्रो कानूनअनुसार विदेशीलाई जागिर दिन मिल्दैन । नेपालमा उपलब्ध नभएको खण्डमा विदेशीलाई दिनुपर्छ भनेर फुकाइएको छ । रेल चलाउन सक्ने हाम्रो दक्ष जनशक्ति र कर्मचारी नियुक्त गर्न समस्या छैन ।

    अहिले तयारी नपुगेर अड्किएको होइन । कोभिड हट्नासाथ चलाउन सकिनेछ । आन्तरिक तयारी गरिसकिएको छ । रेल चलाउनका लागि कोर टिम १०– १५ जना करारमा लिइनेछ । लिक बनेर रेल कुदेर आइसक्यो, अब परीक्षण गरेपछि त हाम्रो जिम्मेवारी हो । हामीले चलाउन शुरु गर्नुपर्छ । अहिले ३५ किमीमध्ये केही समयमै १७ किमीमा नियमित रेल सञ्चालन हुनेछ । रेल चलाउँदा केही समस्या भएमा क्याबिनेटले फुकाउँछ । नेपालीको महान् चाड दशैँ, तिहार, छठ आउँदैछ, त्यसले कोभिडले चाड मनाउन दिन्छ र यस्तै स्थिति भए चलाउनुपर्छ भनेर तयारी गरिएको छ ।

    अरु अन्तरदेशीय रेल निर्माणको अवस्था के छ ?
    अहिले तीनचार ठाउँमा कनेक्सन अघि बढाइएको छ । जोगबनी –विराटनगर रेलमार्ग धेरै अघि बढेको छ । यसमा एकडेढ किमी निर्माण बाँकी छ । भारत र नेपालबीच महत्वपूर्ण परियोजना रक्सौल– काठमाडौँ रेल हो । त्यसमा निजगढ हब बनाइएको छ । रक्सौलबाट निजगढ र निजगढबाट काठमाडौँलाई कनेक्सन गरिँदैछ । पूर्वपश्चिमबाट पनि दुई वर्ष पहिलेदेखि निर्माण शुरु भएको छ । त्यो रेल र जयनगरबाट जनकपुर हुँदै आउने रेल बर्दिवासमा भेट हुन्छ । बर्दिबासमा ठूलो जक्सन बनाइएको छ ।

    पूर्वपश्चिम रेल बर्दिबासबाट निजगढ ७० किमी निर्माण शुरु भएको छ । पूर्वपश्चिम रेलमार्ग पनि निजगढ पुग्छ र रक्सौल –काठमाडौँ रेल निजगढ भएर काठमाडौँ आउँछ । निजगढमा अन्तर्राष्ट्रिय हवाई उडान कल्पना गरिएको छ र फाष्ट ट्र्याक पुग्छ ।

    रक्सौल– काठमाडौँ रेलमार्ग भारतसँग सम्झौता भएर अघि बढेको अवस्था छ । पहिलो चरणमा अध्ययन गर्ने भनिएको छ । प्रारम्भिक अध्ययन गरेर प्रतिवेदन सरकारलाई दिइसकिएको छ । हामी पनि आतुर छौँ । भारत पनि डिपिआर गर्न चाहन्छ । उताबाट तुरुन्त डिपिआर गर्न थाल्छौँ भनेर चिठ्ठी आएको छ । कोभिडले गर्दा बाधा पुगेको छ । उसले यो रेल ब्रोड गेजमा बनाउने भनेको छ, स्ट्यान्डर्ड गेजमा छैन । अबको रेल नयाँ ढङ्गको विद्युतीय हुनुपर्छ । अहिले विद्युत्बाट चलाउनुपर्छ । हामी विद्युत्मा आत्मनिर्भर भएर विद्युत् कहाँ खपत गरौँ भन्ने भइरहेको छ । हामीलाई ब्रोड गेज होइन स्ट्यान्डर्ड गेजमा डिपिआर गर्न भनिएको छ । भारतले ब्रोड गेजमा बनाउँछु भनेको छ । यद्यपि उसले दिने सहयोग हो । त्यसैले ब्रोड भए पनि थाल भनेपछि ऊ आउँदैछ । डिपिआर भएपछि एक चरणको काम सकिनेछ ।

    चीन र नेपालबीच रेल सञ्चालन गर्न चिनियाँ राष्ट्रपति सी चिनफिङ आउँदा सहमति भएको थियो । त्यो सम्झौता अघि बढाइएको छ । त्यसको प्रारम्भिक प्रतिवेदन चीनले दिइसकेको छ । चीन सरकार र हाम्रो संयुक्त समिटिको चार पटक बैठक बस्यो । हामीले तीन वर्ष होइन त्यसभन्दा चाँडो गरौँ भनी प्रस्ताव गरेका छौँ । यसको डिपिआर चाँडो गर्नुपर्छ । चिनियाँ पक्षसँग केरुङबाट अध्ययन गर्ने भनेर सहमति भएको थियो । हामीले केरुङ–काठमाडौँ मात्रै नभएर काठमाडौँ –पोखरा– लुम्बिनी पनि अध्ययन गर्न अनुरोध गरेका छौँ । पूर्वपश्चिम हामीले निर्माण गरिरहेको विद्युतीय रेलमार्ग हो । यस क्षेत्रमा भएको प्रगति सन्तोषजनक मान्नुपर्छ ।

    एकातिर बजेटको समस्या, अर्कातिर अदालती निर्णय छ, पूर्वपश्चिम रेलमार्ग कसरी अघि बढ्छ ?
    एउटा कुरामा तर्कवितर्क नहुने कुरा भनेको नेपाल अब नयाँ रेलमार्गको युगमा प्रवेश गर्नुपर्छ भन्ने हो । अहिले आएको जयनगर –कुर्था, पूर्वपश्चिम रेलमार्गमा ठोकिने कुरा होस् वा रक्सौलबाट काठमाडौँ वा केरुङबाट काठमाडौँ कुनै पनि रेलमार्ग आवश्यक छ भन्नेमा द्विविधा छैन । रेलमार्ग बनाउनुपर्छ भनेर अघि बढाइएको छ । दुईतीन वर्ष पहिलेदेखि पूर्वपश्चिम रेलमार्ग शुरु भइसकेको छ ।

    पूर्वपश्चिम रेलमार्गको एउटा खण्ड भनेको बर्दिबासदेखि निजगढसम्म ७० किमीमा दुई वटा ठेक्कामार्फत निर्माण शुरु भइसकेको छ । यसले दक्षिणतिर आएकोलाई कनेक्टिभिटी दिन्छ र यसको फैलावाट पश्चिममा गड्डाचौकी र पूर्वमा काँकडभिट्टा नै हो ।

    पूर्वपश्चिम रेलमार्ग नौ सयदेखि एक हजार किमीसम्म डिपिआरसमेत सरकारले निर्माण गरिसक्यो । यसको एउटा सानो खण्ड ७० किमीमा निर्माण थालिएको छ ।

    गएको वर्ष काँकडभिट्टादेखि इनरुवासम्म १०५ किमीमा निर्माण थालनी गर्नुपर्छ भनेर लगानीको व्यवस्था गरिएको छ । यो कुरा सरकारको नीति तथा कार्यक्रममा आएको छ । इनरुवादेखि बर्दिबाससम्म १२५ किमीमा सरकारले लगानी सुनिश्चित गर्ने तयारी गरेको छ । त्यो आउनासाथ निजगढसम्म कनेक्टिभिटी भयो । निजगढबाट गड्डाचौकीसम्मको विस्तृत अध्ययन भइसकेको छ ।

    त्यसैले आवश्यकताअनुसार आन्तरिक वा बाह्य लगानीको सुनिश्चित गर्दै अघि बढ्छौँ । साढे नौ सय किमी हामी आफैँले डिपिआर बनाएको हो । त्यो डिपिआरअनुसार रेलमार्ग अब बनाउन रु १० खर्ब चाहिन्छ । त्यसको लगानी कसरी जुटाउने भन्नेबारे अर्थ मन्त्रालयलाई हामीले दिएको समय आठ महिना भयो । राष्ट्रिय गौरवको आयोजनामा लगानी सुनिश्चित गर्न अर्थ मन्त्रालयलाई भनिएको छ । अर्थ मन्त्रालयले क्रमशः त्यो लगानी जुटाउँदै जाँदैछ ।

    एउटा खण्ड ७० किमीमा दुई वर्षदेखि आफ्नो आन्तरिक स्रोतबाट ट्र्याक बेल्ट निर्माण गर्दैछौँ । काँकडभिट्टाबाट शुरु गर्ने भनिएको १०५ किमीका लागि बोलपत्रमा गयौँ । यद्यपि त्यो बोलपत्र अहिले रद्द गरिएको छ । जग्गा प्राप्ति गर्ने प्रक्रिया धमाधम भइरहेको छ । इटहरीबाट इनरुवा हुँदै बर्दिबास १२५ किमीको छ ।

    यसको आन्तरिक वा बाह्य लगानी जुटाउन अर्थ मन्त्रालयले कोशिश गरेको छ । त्यो रेललाई बर्दिबासबाट पश्चिम पनि लानुपर्छ । आवश्यकताअनुसार लगानी जुटाउँदै जाने र काम गर्दै जाने कुरामा द्विविधा नै छैन ।

    पूर्वपश्चिम विद्युतीय रेलमार्ग आन्तरिक लगानीमा मात्रै निर्माण गर्न सकिन्छ ?
    मन्त्रालयले राष्ट्रिय गौरवको यो आयोजनामा डिपिआर गरेर काम सकाएको अवस्था हो । यसलाई चाहिने लगानी जुटाउने नेपाल सरकार, अर्थ मन्त्रालयको मुख्य काम हो । डिपिआरसहित कूल बजेटको जिम्मेवारी अर्थ मन्त्रालयलाई दिइएको अवस्था छ ।

    सरकारले यो वर्ष रु आठ अर्ब छुट्ट्याएको छ । अघिल्लो आर्थिक वर्षमा पनि बहुवर्षीय ठेक्का गर्नै भनी रकम छुट्ट्याइएको थियो । त्यतिले मात्रै पर्याप्त हुँदैन । विभिन्न देशसँग र निकायसँग, मौद्रिक निकायसँग अर्थ मन्त्रालयले छलफल गरिरहेको छ । विभिन्न दातृ राष्ट्रका कुरा आएको छ र निजी क्षेत्रको पनि कुरा आएको छ । खर्बौँ लगानीको कुरा त्यति सजिलो छैन । चुनौती पनि छ ।सरकारले रेल्वेको विस्तार र निर्माणको नीति लिएको छ । नयाँ नेपाल निर्माणमा यो क्षेत्रलाई विस्तार गरेर जानुपर्छ भनेर सरकार नीतिगत रुपमा प्रष्ट छ ।

    त्यही ढङ्गले विभिन्न देशसँग सहकार्य गर्ने कुरा अघि बढाइएको छ । सम्भाव्यता अध्ययन, डिपिआरलगायतका आफ्ना आन्तरिक तयारी अघि बढाइएको छ ।

    बजेटको अवस्थाले भ्याएसम्म दुईतीन वर्षदेखि निर्माण अघि बढाइएको छ । लगानी ठूलो छ । दुई सेट रेल ल्याउन दुई वर्ष लाग्यो । पैँतीस–चालीस किमी रेल बनाउन पनि समय लाग्यो भनेपछि हामीले हजार किमीभन्दा धेरै बनाउनु छ । यसभित्र आवश्यकता कति हुन्, तिनलाई वास्तविक पहिचान गरेर प्राथमिकीकरण गर्ने बाटोमा गइसक्यौँ । ढिलो भए पनि नेपाल रेलको बाटोमा अघि बढ्यो भन्ने स्पष्ट छ ।रासस


    आश्विन ५, २०७७ सोमवार १९:१७:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रेल

  • क्यानाडानेपाल डेस्क

    यस्तो आकर्षक बन्दैछ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटनमन्त्री भट्टराईले मागे डिजाइनमा सुझाव 

  • 368
    SHARES
  • यस्तो आकर्षक बन्दैछ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटनमन्त्री भट्टराईले मागे डिजाइनमा सुझाव 

    काठमाडौं ।  रुपन्देहीको भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ । भौतिक निर्माणको काम भइरहेको विमानस्थलको  दोश्रो टर्मीनल  भवनको निर्माण भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् । 

    सोमबार विमानस्थलको दोश्रो टर्मीनल  भवनको थ्रिडी डिजाइनका तस्बिर सार्वजनिक गर्दै मन्त्री भट्टराई सुझाव मागेका हुन् । सार्वजनिक थ्रिडी डिजाइनका तस्बिर हेरेर कुन उपर्युक्त हुने भन्दै उनले सुझाव मागेका हुन् । 

    gautambuddha airpot 6.jpg

    gautambuddha airpot 4.jpg

    gautambuddha airpot 5.jpg

    gautambuddha airpot 7.jpg

    gautambuddha airpot 1.jpg

    gautambuddha airpot 2.jpg

    gautambuddha airpot 3.jpg

    gautambuddha airpot 7.jpg


    आश्विन ५, २०७७ सोमवार १८:२०:१९ बजे : प्रकाशित

    नेपालमा एकैदिन १ हजार ५ जनाले जिते कोरोना  

    नेपालमा एकैदिन १ हजार ५ जनाले जिते कोरोना  

    काठमाडौं - नेपालमा पछिल्लो समय कोरोनाभाइरसलाई जित्नेको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ५ जनाले कोरोनाभाइरसलाई जितेका छन्।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ५ जनाले कोरोनालाई जितेको जानकारी दिए ।

    आजसम्म डिस्चार्ज हुने ७२ दशमलव ४ प्रतिशत रहेको छ । यससँगै नेपालमा कोरोना जित्नेको संख्या ४७ हजार २ सय ३८ जना पुगेको छ ।  
     
    यस्तै पछिल्लो २४ घण्टामा ११५४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । जसमा पुरुष ७३६ र महिला ४१८ रहेका छन् । 

    योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४२७ पुगेको छ । 


    आश्विन ५, २०७७ सोमवार १८:००:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोनाभाइरस

  • क्यानाडानेपाल डेस्क

    अक्सिजन बिना दश पटक सगरमाथा आरोहण गरेर हिउँ चितुवाको उपनाम पाएका आङरिता शेर्पाको संघर्ष कथा 

  • 314
    SHARES
  • अक्सिजन बिना दश पटक सगरमाथा आरोहण गरेर हिउँ चितुवाको उपनाम पाएका आङरिता शेर्पाको संघर्ष कथा 

    बीबीसी।  आफ्नो समयका सर्वाधिक चर्चित सगरमाथा आरोही आङरिता शेर्पाको सोमवार काठमाण्डूमा निधन भएको छ। उनले सर्वोच्च शिखर सगरमाथा बिना अक्सिजन दश पटक आरोहण गरेका थिए। उनले बनाएका कीर्तिमानका कारण पर्वतारोहण जगतले हिउँ चितुवाको उपनाम दिएको थिए।

    दुई दशक अघि कलेजो सम्बन्धी रोगबाट पीडित भएपछि पर्वतारोहण त्यागेका उनलाई साढे चारवर्ष अघि मस्तिष्क सम्बन्धी समस्या देखा परेको थियो। आङरिताको निधनले नेपालले पर्वतारोहण क्षेत्रका एक जना चम्किला नक्षत्र गुमाएको उनलाई नजिकबाट चिन्ने पर्वतारोहण क्षेत्रका अग्रणी व्यक्तित्वहरूले बताएका छन्। बिहानसम्म स्वास्थ्य अवस्था सामान्य नै रहेपनि एक्कासी टाउको दुखेको र त्यसपछि ७२ वर्षका शेर्पाको निधन भएको उनको परिवारलाई भेटेपछि नेपाल पर्वतारोहण सङ्घका पूर्व अध्यक्ष आङ्छिरिङ शेर्पाले बीबीसीलाई बताए।

    उनीप्रति अन्तिम सम्मान व्यक्त गर्न आङरिताको शवलाई दुई दिन बौद्धस्थित टुसालमा रहेको शेर्पा सेवा केन्द्रको गुम्बामा राख्ने र त्यसपछि बुधवार दाहसंस्कार गरिने जानकारी दिए। पर्यटन विभाग अन्तर्गत पर्वतारोहण हेर्ने महशाखाकी प्रमुख मिरा आचार्यले आङरिता शेर्पाको निधनपछि राज्यले कसरी र कस्तो किसिमको सम्मान गर्न मिल्छ भनेर आफूले अध्ययन गरिरहेको बताइन्। उनी भन्छिन्, “कानूनले हामीलाई के गर्न दिन्छ र के गर्नु उपयुक्त हुन्छ भन्नेबारे छलफल गरिरहेका छौँ। अहिले नै निष्कर्षमा पुगिसकेको छैनौँ।”

    अक्सिजन बिना सगरमाथा चढेर कीर्तिमान बनाउने हिउँ चितुवा

    सन् १९८० र सन् १९९० को दशकमा पर्वतारोहण जगतमा उनले किंवदन्ती जस्ता सुनिने कीर्तिमान राखेका थिए। सन् १९८३ मा आङरिताले सगरमाथा चढ्नु पाँच वर्ष अघि नै अष्ट्रियाका पिटर हेब्लर र इट्लीका राइनहोल्ड मेस्नरले अक्सिजनबिना सगरमाथा चढेका थिए।

    १५ वर्षको उमेरमा भरियाका रूपमा पर्वतारोहण पेशा शुरू गरेका आङरिताले लगातार १० पटक अक्सिजनबिना बिश्वको चुचुरो पुगेर संसारलाई आश्चर्यचकित बनाइदिए। पहिलो पटक जर्मन र अमेरिकी टोलीसँग दक्षिण पूर्वी मोहडाबाट सन् १९८३ मा सगरमाथाको आरोहण गरेका उनले सन् १९९६ सम्म आइपुग्दा १० पटक अक्सिजनबिना सगरमाथा आरोहण गरिसकेका थिए।

    नेपाल पर्वतारोहण सङ्घका पूर्व अध्यक्ष तथा एशियाली पर्वतारोहण महासङ्घका निवर्तमान अध्यक्ष आङ्छिरिङ शेर्पा कीर्तिमान राख्ने सोच राखेर आङरिताले त्यस्तो नगरेको बताउँछन्।

    उनले भने, “उहाँमा रेकर्ड राख्ने सोच पनि थिएन। उहाँले शुरू शुरूमा मलाई त्यति अक्सिजन लगाउन आवश्यकता छैन कुनैपनि समस्या पनि छैन भन्नुहुन्थ्यो। अक्सिजन भारी हुन्छ र मैले मेरो साथमा जाने अरू आरोहीलाई पनि सघाउनुपर्छ भन्ने गर्नुहुन्थ्यो। कतिचोटि बिना अक्सिजन चढिसकेपछि किन फेरी अक्सिजन लगाउने भन्ने सोच भएर पनि उहाँले पछिल्ला आरोहणहरूमा अक्सिजन नलगाउनुभएको हो।”

    आङ्छिरिङ शेर्पाका अनुसार आफ्नो समयका पर्वतारोहीमध्ये आङरिता जति शक्तिशाली आरोही कोही पनि थिएनन्। आङरिता शेर्पा आँफैले चाँहि अक्सिजन बिना सगरमाथाको सफलतापूर्वक आरोहण गर्न सक्दा आफ्नो आत्मविश्वास र पेशाप्रतिको प्रतिबद्धता बढेको उल्लेख गरेका छन्।

    एभरेष्ट हिस्ट्री डटकममा छापिएको एउटा लेखका अनुसार हिमाल आरोहणका क्रममा हुने मानवीय क्षतीले आफूलाई एकदमै दुखी बनाउने भएपनि त्यसलाई आफूले पर्वतारोहीको जीवनको हिस्सा ठानेको शेर्पाले बताएका छन्।

    आत्मविश्वास र साहसका पर्याय

    उनले जोखिमपूर्ण अवस्थामा पनि आफू र आफ्नो आरोहण दलको सुरक्षामा आफूलाई अब्बल प्रमाणित गरेको पाइन्छ। उनले सन् १९८५ को एप्रिलमा पहिलो नर्वेली आरोहण दलका टोली नेतालाई आँधी आइरहेको समयमा सगरमाथाको चुचुरोमा पुर्याएका थिए। त्यस्तै सन् १९८७/८८ को हिउँद याममा हिउँद याममा गरेको आफ्नो एक मात्र सगरमाथा आरोहणका क्रममा उनले एउटा दक्षिण कोरियाली समूहलाई सघाएका थिए।

    त्यसबेला खराब मौसमका कारण एक जना कोरियाली पर्वतारोहीसँगै आफू हराएको र दुवै जनाले शरिरलाई न्यानो बनाएर जिउँ जोगाइराख्न पुरै रातभरी एरोबिक व्यायाम गरेको आङरितालाई उदृत गर्दै जनाइएको छ। उनले सन् १९९० मा नेपाली सेनाका सदस्य सम्मिलित टोलीलाई सगरमाथा आरोहण गर्न सघाएका थिए।

    उक्त टोलीको नेतृत्व गरेका नेपाली सेनाका तत्कालीन प्रमुख सेनानी चित्रबहादुर गुरुङले अक्सिजन बिना पटक पटक आरोहण गरिसकेका शेर्पा सहभागी हुँदा टोलीका अरू सदस्यको मनोबल पनि उच्च बनेको सम्झन्छन्।

    उनले भने, “उक्त आरोहण दल सगरमाथाको चुचुरोमा पुग्ने कुनै एउटा देशको सेनाको हालसम्मकै एउटा मात्रै स्वतन्त्र पर्वतारोहण दल हो। नेपाली सेना र शेर्पा सदस्यहरू रहेको टोलीले हाम्रो हिमालमा हाम्रो अपनत्व रहनुपर्छ भनेर उच्च मनोबलसाथ काम गरेको थियो।”

    झण्डै ५० जना पूर्व तयारीमा सम्मिलित भएपनि उक्त आरोहणदलका एक सैनिक सहित चार जना चुचुरोमा पुगेका थिए। नेपाली सेनाको रथीपदबाट अवकाशप्राप्त गुरुङ शेर्पालाई “एकदमै साधारण र इमान्दार” व्यक्तिका रूपमा सम्झन्छन्। सन् १९९६ मा अन्तिम पटक सगरमाथाको आरोहण गरेका उनले त्यसपछि पनि विश्वको सर्वोच्च शिखरमा पुग्ने इच्छा पालेका थिए।

    स्वास्थ्यले साथ दिए र राम्रो टोलीसँग जाने विशेष प्रस्ताव आए आरोहण गर्ने उनले बताए पनि गम्भिर प्रकृतिको कलेजोको रोग लागेकाले उनको त्यो इच्छा पूरा हुन पाएन। बरू उनका दुई छोराहरू कर्साङ र छेवाङ शेर्पा आफ्नो बुवाको पदचाप पछ्याउँदै पर्वतारोहणमा लागे।

    नौ पटक सगरमाथा आरोहण गरेका भनिएका कर्साङको सन् २०१२ मा निधन भएको थियो भने पाँच पटक आरोहण गरेका छेवाङ अमेरिकामा रहेको पर्वतारोहण सङ्घका पूर्व अध्यक्ष शेर्पा बताउँछन्।

    आङरिताले आफ्ना छोराहरू हिमाल आरोहणमा लागेकोमा खुसी व्यक्त गर्ने गरेका थिए। उनको परिवारले आङरिता ट्रेक एण्ड एक्सपिडिशन नामक पर्वतारोहण गराउने कम्पनी पनि खोलेको थियो।

    हाल उनी आफ्नी छोरीसँग राजधानीको जोरपाटीमा बस्दै आएका थिए।

    गरिब शेर्पा परिवारमा सन् १९४८ मा जन्मिएका आङरिताले औपचारिक शिक्षा वा पर्वतारोहणको तालिम लिएका थिएनन्।

    उनले एकपटक धौलागिरी आरोहणका लागि कम उचाइसम्मको भरियाका रूपमा भनेर काममा लगाइदाँ आफूले जुत्ता वा अरू हिमाल चढ्न आवश्यक सामान बिना तेश्रो शिविरसम्म पुग्नुपरेको उल्लेख गरेका थिए। त्यसबेला आरोहणदलले आधारभूत सामग्री नदिएको भनेर सरदारसँग गुनासो गरेको र पछि आफूले शरीरसँग नमिल्ने नै भएपनि बुट र अन्य न्यानो कपडा पाएको बताएका थिए।

    इमानदार र साधारण व्यक्तित्व

    खुम्बु क्षेत्रको यीलाजुङ गाउँमा सन् १९४८ मा जन्मिएका उनको बाल्यकाल चौँरी चराएर र तिब्बतसम्म व्यापारका लागि समान बोकेर बित्ने गरेको थियो। सन् १९९९ मा आफ्नो पर्वतारोहण करिअर अन्त्य गर्ने बेलासम्म पुग्दा उनले आठ हजार मिटर भन्दा अग्ला हिमालको आरोहण १८ पटक गरेको बताइन्छ। त्यसमा लगभग सबै अक्सिजन प्रयोग नगरी गरिएका थिए।

    नेपाल पर्वतारोहण सङ्घले शेर्पाको निधनलाई नेपालको पर्वतारोहण क्षेत्रमा भएको ठूलो क्षति भनेकोछ। सङ्घका अध्यक्ष सन्तवीर लामा भन्छन्, “हिउँ चितुवाका नामले चर्चित उहाँ हामी सबैको अभिभावक पनि रहँदै आउनुभएको थियो। आज हामीले नेपालको पर्वतारोहण क्षेत्रका मुख्य नेतालाई गुमाएका छौँ।”

    विभिन्न समयमा सङ्घले आङरितालाई स्वास्थ्य उपचार र मासिक पारिश्रमिक उपलब्ध गराएको उल्लेख गर्दै लामाले थपे, “उहाँले मलाई यसो गरे हुन्थ्यो उसो गरे हुन्थ्यो कहिल्यै भन्नुभएन। कैयौँ शेर्पाहरूले हिमाल चढेपछि अमेरिका जापान पुगेका तर जति दु:ख पाएपनि आफूलाई नेपालमा नै बस्न मन रहेको उहाँले भन्नुहुन्थ्यो।”


    आश्विन ५, २०७७ सोमवार १७:५७:५१ बजे : प्रकाशित