• Sep 23 2020 | २०७७, आश्विन ७गते

२०७७, आश्विन ७गते

यो साता चर्चामा:

लामो दूरीको यात्रामा लगाइएका नयाँ नियम के छन् ?

क्यानाडानेपाल आश्विन १ २०७७
  • 992
    SHARES
  • लामो दूरीको यात्रामा लगाइएका नयाँ नियम के छन् ?

    बीबीसी।  कोरोनाभाइरस सङ्क्रमणका माझ सार्वजनिक यात्राका बारेमा थुप्रै नयाँ नियम ल्याइएका छन्। कुनै नियम यातायात व्यवसायीको जिम्मामा राखिएका छन् भने कुनै नियम यात्रुहरू स्वयंले पालना गर्नुपर्नेछ। सरकारले असोज १ गतेदेखि लामो दूरीको यातायात खोल्ने निर्णय गरेपछि यातायात व्यवस्था विभागले तयार पारेको कोभिड-१९ प्रकोपभर लागु हुने सार्वजनिक यातायात सञ्चालन निर्देशिका सार्वजनिक गरेको छ, जसमा गर्न हुने तथा नहुने विषयहरू उल्लेखित छन्।

    यात्रुले के गर्न हुने, के नहुने ?

    सकेसम्म सार्वजनिक यातायात प्रयोग नगर्ने। अशक्त कमजोरले झनै नगर्ने, अनिवार्यरूपमा मास्क वा कपडाले नाक र मुख छोप्ने, र अरूले नाक र मुख नछोपेको पाएमा निजहरूलाई सतर्क गराउने अन्यथा उक्त सवारी वा स्थानमा नजाने, सवारी साधनभित्र वा सार्वजनिक स्थलमा (बस टर्मिनल वा बस बिसौनी) रहँदा कुनै पनि किसिमको खानेकुरा नखाने, गाडी चढ्दा वा ओर्लदा सामाजिक दूरी कायम गरि पङ्तिबद्ध भएर पालो पर्खने, गाडीभित्र सामाजिक दूरी कायम हुने गरि तोकिएको सिटमा मात्र बस्ने।

    चालक/सहचालकको जिम्मा के ?
    निश्चित स्थानमा मात्र यात्रुलाई चढाउने वा ओराल्ने, मास्क, पञ्जा र भाइजर लगाउने, काम सकिनासाथ लगाएका कपडा साबुन पानीले राम्ररी धुने र घाममा सुकाउने, भाडा सङ्कलन गर्दा यात्रुसँग भौतिक दूरी कायम गरि भाडा रकम फिर्ता दिन नपर्ने गरी गर्ने र बाकसमा राख्न यात्रुलाई अनुरोध गर्ने, ग्यारेजमा लगेपछि गाडीलाई निर्मलीकरण (डिसइन्फेक्सन) गर्ने, गाडीमा एसी नचलाउने।

    व्यवसायीले मिलाउन पर्ने व्यवस्था
    प्रत्येक खेपपछि निर्मलीकरण गर्ने व्यवस्था मिलाउने, यात्रुले एकपटक प्रयोग गरेपछि सिटको सरसफाइ गराउने, यात्रु-यात्रु बिचको सामाजिक दूरी कायम गर्नका लागि गाडीमा अधिकतम यात्रु सङ्ख्या निर्धारण गर्ने र तोकिएको सिटमा मात्र यात्रुलाई यात्रा गर्न व्यवस्था गर्ने, हरेक खेपका बेलामा कम्तीमा दुईपटक गाडीका कर्मचारीहरूको शरीरको तापक्रम मापन गराउने, यात्रुलाई चढाउँदा दुवै हातमा स्यानीटाइजर लगाइदिने, भाडा भुक्तानीका निम्ति सकेसम्म डिजीटल प्रणाली लागु गराउने तथा प्रत्यक्ष नगद कारोबार कम गर्ने, गाडीभित्र हावाको सहज बहाव कायम गर्नका लागि भेन्टिलेशनको व्यवस्था गर्ने वा सबै झ्यालहरू खुल्ला राख्ने, चालक कक्ष र यात्रु कक्षलाई उपयुक्त खालको प्लाइबोर्ड वा ग्लास वा फाइबर बोर्ड वा बाक्लो किसिमको प्लास्टिक शिटद्वारा छुट्ट्याउने, मध्यम तथा लामो दूरीको यात्रु सूची बनाइ एक प्रति आफुसँग र अर्को प्रति स्थानीय प्रशासनमा अनिवार्य बुझाउने। 

    कुन नियम कसरी पालना गराउने ?
    पालनाको अनुगमन यातायात व्यवस्था विभाग, यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीले गर्ने/गराउने, विश्रामस्थल वा खाना खाने स्थान तोक्ने र अनुगमन गर्ने जिम्मा सबै सम्मिलित अनुगमन समितिले गर्ने, यातायात वा ट्राफिक व्यवस्थापनमा खटिएकाहरूले मास्कको अनिवार्य प्रयोग गर्ने। अति आवश्यक अवस्था बाहेक सवारी साधन भित्र प्रवेश नगर्ने, सवारी चालकलाई निर्देशन दिँदा सकभर ईशारा वा सङ्केतको प्रयोग गर्ने। गाडी वा चालकसँग सम्बन्धित कागजातको चेकजाँच गर्न आवश्यक भएमा नछोईकन निरीक्षण गर्ने, कोभिड-१९ को लक्षण देखिएका यातायात सेवामा कार्यरत सवारी चालक तथा सह-चालकहरूको पीसीआर परीक्षण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको सरकारी प्रयोगशालाबाट नि:शुल्क गरिने। 

    महामारीका कारण छ महिनादेखि लामो दूरीका गाडी चलेका थिएनन्। अहिले महामारी नथामिएकै भएपनि असोज १ गतेदेखि सरकारले सुरु गराउन लागेको हो। गाडीको सिट क्षमताको आधा मात्रै यात्रु राख्न र पहिलेको भाडादरमा ५० प्रतिशत बढाएर लिन पाउने गरी सहमती जुटेपछि लामो दूरीका गाडी चल्ने भएका हुन। त्यसका निम्ति बनाइएका नयाँ नियम र विधि सम्बन्धित सबैलाई बताइसकिएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए। यो नियम अरू कसैको निम्ति ल्याइएको होइन। आफ्नै सुरक्षाका लागि ल्याइएको हो। हामी सबै मिलेर लागु गर्ने भनेका छौँ," कर्माचार्यले भने।

    यात्रुलाई घरमै क्वारन्टीन?
    सबैतिर लामो दूरीका गाडी चलेपनि यात्रा गरेर अर्को जिल्ला पुगेका यात्रुहरू क्वारन्टीनमा बस्नु पर्ने वा नपर्ने भन्ने बारे कुनै निर्णय नभएको बताइएको छ। विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले हालसम्म बाहिर जिल्लाबाट आउनेलाई क्वारन्टीनमा बस्ने प्रबन्ध गरिएको भए पनि लामो दूरीका सावरी साधन सञ्चालन भएपछि त्यो प्रबन्ध गर्न कठिन हुने बताएका छन्। केन्द्रको कुनै निर्णय नआएसम्म घरमै गएर क्वारन्टीनमा बस्न अनुरोध गर्नुको विकल्प नभएको उनीहरूको भनाइ छ।


    आश्विन १, २०७७ बिहिवार १३:११:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लामो दूरी
  • # नयाँ नियम

  • क्यानाडानेपाल

    अर्कोसमाचार

    चीनबाट स्वास्थ्य सामग्री नेपाल भित्रियो

    चीनबाट स्वास्थ्य सामग्री नेपाल भित्रियो

    काठमाडौं - बुधबार चीनबाट स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । चीनबाट आयात भएका दुई ट्रक स्वास्थ्य सामग्री रसुवागढी नाकाबाट आज दिउँसो सामग्री नेपाल भित्रिएको हो । 

    आयात भएका ती सामग्रीको भन्सार जाँच गर्ने कार्य आज नै सम्पन्न भई दुवै ट्रक गन्तव्यतर्फ पठाइसकिएको  बताइएको छ । त्यस्तै बिहीबार पाँच ट्रक विविध सामग्री  रसुवागढी आइपुग्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताएका छन् । 

    उनका अनुसार अन्य सामग्री आयातका लागि सीमा क्षेत्रका चिनियाँ अधिकारीसँग समन्वय भइरहेको  जनाइएको छ । 


    आश्विन ७, २०७७ बुधवार २१:०५:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य सामग्री

  • क्यानाडानेपाल डेस्क

    सरकारले भन्यो - चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन

    सरकारले भन्यो -  चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन

    काठमाडौं - सरकारले हुम्लामा चीनले भूमि अतिक्रमण नगरेको बताएको छ । बुधबार सरकारको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले चीनले हुम्लाको लिमी उपत्यकामा भूमि अतिक्रमण नगरेको बताएका हुन् । 

    नेपाल–चीनबीच कुनै सीमा विवाद नरहेको बताउदै ज्ञवालीले चीनले घर बनाएको स्थान चीनकै रहेको प्रष्ट पारेका हुन् । 

    उनले हुम्लामा चीनले घर बनाएको समाचार सम्प्रेषण भएकोप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउदै उनले उक्त स्थानमा जिल्ला प्रशासन कार्यालय हुम्लाको टोलीले अनुगमन गरिरहेको बताए । 
     
    उनले भने ‘बनेका घरहरु नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभागमा बनेको पाइएको रहेछ’ ।

     


    आश्विन ७, २०७७ बुधवार २०:१९:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन
  • # नेपाली भूमि

  • क्यानाडानेपाल डेस्क

    गण्डकीमा फेरि थपिए ३१ जना कोरोना संक्रमित, कहाँका कति ?

    गण्डकीमा फेरि थपिए ३१ जना कोरोना संक्रमित, कहाँका कति ?

    काठमाडौं -  बुधबार फेरि गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

    क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा पोखराका ५ जनासहित थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार थप कोरोना संक्रमित हुनेहरुमा कास्कीका ५ जना, स्याङजाका ३ जना, तनहुँका ११ जना, बाग्लुङका ८ जना र पर्वतका ४ जना रहेका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ७९  पुगेको छ ।

    यसअघि आज बिहान नै गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिएका थिए । 

    120034249_186312482876537_2807128731664657370_o.jpg


    आश्विन ७, २०७७ बुधवार १९:११:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # गण्डकी प्रदेश

  • क्यानाडानेपाल डेस्क

    डा. गोविन्द केसीको जीवनरक्षा गर्न कांग्रेसको माग

    डा. गोविन्द केसीको जीवनरक्षा गर्न कांग्रेसको माग

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १९औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीसँग तत्काल वार्ता शुरु गर्न र जायज माग पूरा गर्न माग गरेको छ । 

    बुधबार कांग्रेसले एक विज्ञप्ति जारी गर्दै डा.केसी सँग तत्काल वार्ता गरी जीवन जोगाउन माग गरेको हो । विज्ञप्तिमा कांग्रेसले केसीलाई गरेको अपमानबाट सरकारको अविवेकी र अनुदार चरित्र थप उजागर  गरेको बताएको छ । 

    डा. केसीको पछिल्लो अनशन जुम्लामा शुरु भएर, नेपालगन्ज हुँदै काठमाडौ पुगेर जबर्जस्ती ट्रमा सेन्टर र त्यहाँबाट शिक्षण अस्पताल पुग्दै गर्दा सम्म सरकारले प्रस्तुत गरेको ब्यवहारले एक कर्मयोगिको अपमान मात्रै गरेको छैन सरकारको अविवेकी र अनुदार चरीत्र थप उजागर गरेको छ ।  विज्ञप्तिमा भनिएको छ 
     
    यस्तो छ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्ति  -  डा के.सी. सँग तत्काल वार्ता शुरु गर्न, जायज माग पूरा गर्न र उहाँको जीवन जोगाउन प्रधानमन्त्रीलाई सार्वजनिक अपील ।

    * प्रधानमन्त्रीको अग्रसरता ०७५ साउन १० गते डा. गोविन्द के.सी.सँग नेपाल सरकारले गरेको सहमति स्वयं प्रधानमन्त्रीकै अगुवाइमा माघ महिना उल्लंघन नगरिएको भए आजको परिस्थिति आउने थिएन । 

    * डा. के.सी.को पछिल्लो अनशन जुम्लामा शुरु भएर, नेपालगन्ज हुँदै काठमाडौ पुगेर जबर्जस्ती ट्रमा सेन्टर र त्यहाँबाट शिक्षण अस्पताल पुग्दै गर्दा सम्म सरकारले प्रस्तुत गरेको ब्यवहारले एक कर्मयोगिको अपमान मात्रै गरेको छैन सरकारको अविवेकी र अनुदार चरीत्र थप उजागर गरेको छ ।

    * नेपाली कांग्रेसको पालामा चिकित्सा शिक्षामा विस्तार भएको, कांग्रेसकै पालामा चिकित्सा शिक्षामा सुधारका लागि उच्च स्तरीय माथेमा कार्यदल बनाइएको र डा. के.सी.का मागहरू पूरा गर्दै “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, ०७४”  पनि नेपाली कांग्रेसकै पालामा जारी गरिएको सर्वविदितै छ । 

    * सो अध्यादेशले मार्गप्रशस्त गरेको बाटोलाई नेकपाको सरकारले ईमानदार ढंगले कार्यान्वयनको दिशामा लगेको भए चिकित्सा शिक्षाको क्षेत्रमा सुधार र प्रगतिको गति यसबेला सम्म फरक उचाइमा पुगिसकेको हुने थियो । डा. के.सी.को यो अनशनको समयमा ‘बिराएको बाटोबाट ठिक बाटोमा आउन’ संघीय सरकारलाई नेपाली कांग्रेस हार्दिक अपील गर्दछ ।

    * डा. के.सी.को स्वास्थमा बढ्दो प्रतिकुलता दृष्टिगत गरेर तत्काल वार्ता समिति गठन गरि ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ मा तदारुकता प्रस्तुत गर्न नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्री एवं उहाँको नेतृत्वको सरकारलाई अपील र आग्रह गर्दछ । जय नेपाल !

    cong.jpg
     


    आश्विन ७, २०७७ बुधवार १८:५७:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # डा. गोविन्द केसी

  • क्यानाडानेपाल डेस्क

    डा. गोविन्द केसीदेखि किन आत्तियो ओली सरकार ?

  • 214
    SHARES
  • डा. गोविन्द केसीदेखि किन आत्तियो ओली सरकार ?

    काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारको माग राखेर सत्याग्रहमा बस्दै आएका डा. गोविन्द केसीको अनशनको बुधबार दशौँ दिन हो । गत भदौ २९ गते जुम्लाबाट १९औं सत्याग्रह थालेका केसी अनशन बसेको आठौं दिनमा मंगलबार जुम्लाबाट नेपालगञ्ज हुँदै काठमाडौं आइपुगे । 

    जुम्लामा अनशन बसिरहँदा बेवास्ता गरेको सरकार केसी काठमाडौं आउने भएपछि आत्तिएको देखियो । बाबुराम भट्टराईको सरकारको पालादेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राखेर अनशन बस्न थालेका डा. केसीसँग त्यसयताका सरकारले सम्झौता गरेको छ ।

    केही नयाँसहित पूर्व सहमति कार्यान्वयनको माग राखेर जुम्लामा १९औँपटक अनशन बसेका डा. केसी काठमाडौं आउने भएपछि ओली सरकार आत्तिएको देखियो । आफ्नै खर्चमा भूकम्पबाट पीडित बनेको हाइटीदेखि स्वच्छ पानीको अभावमा झाडापखलाको महामारी फैलिएको जाजरकोटसम्म औषधोपचारमा खटिएका डा. केसी लकडाउनका बेला जुम्लामा पुगेर सर्वसाधारणको उपचारमा जुटेका थिए । 

    यसैक्रममा उनलाई स्थानीय प्रशासनले घेराबन्दीमा पार्ने, मानसिक यातना दिनेजस्ता कार्य गरेको भन्दै विरोध भइरहेको थियो । यसैबेला ६ बुँदे माग राखेर गत भदौ २९ गतेदेखि जुम्लामा उनले अनशन थालेका थिए । तर, जबरजस्ती धरपकड हुने र अप्रिय घटना हुन सक्ने भन्दै उनी काठमाडौं आउने भए । जुम्लामा रहँदासम्म डा. केसीको जीवनरक्षाको पहल नगरेको सरकार काठमाडौं आउने भएपछि आत्तिएको देखियो । 

    जब मानिस आत्तिन्छ, तब कुनै विचारपूर्ण निर्णय गर्न सक्दैन । आत्तिएका बेला बेहोसी निर्णय गर्न पुग्छ भनेजस्तै मंगलबार सरकारको कदम त्यस्तै देखियो । डा. गोविन्द केसी काठमाडौं आएर त्रिवि शिक्षण अस्पतालमा अनशन बस्ने तयारीमा थिए । यो कुरा सरकारले थाहा पाएको थियो ।

    त्रिवि शिक्षण अस्पतालबाट अवकाश पाएका केसी उहीँ जान चाहेका थिए । तर, गम्भीर अपराधका दोषीलाई जस्तो मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डा. केसीमाथि प्रहरीले व्यवहार ग¥यो । सरकारको निर्देशनबिना प्रहरीले केसीलाई नियन्त्रणमा लिन नसक्ने धेरैको बुझाइ छ । 

    टिचिङ जान लागेका डा. केसीलाई नियन्त्रणमा लिएर प्रहरीले ट्रमा सेन्टर लगेको थियो । तर, उनलाई जबरजस्ती नियन्त्रणमा लिएर ट्रमा सेन्टरमा लगेको भिडिओ सार्वजनिक भएपछि सरकारको चौतर्फी विरोध भयो ।

    तत् पश्चात डा. केसीलाई टिचिङ लैजान सरकार बाध्य भयो । र ट्रमा सेन्टरको केही घण्टाको बसाइपछि डा. केसी टिचिङ पुगे । त्यहीँबाट उनले अनशन जारी राखेको छ । उनको अनशन बुधबार दशौँ दिन पुगेको छ । 

    वृद्ध शरीर, लकडाउनका बेला डाँडाकाँडा पुगेर उपचारमा खटिँदा थाकेको र नौ दिनदेखि भोको शरीर बोकेर काठमाडौं आएका डा. केसीदेखि सरकार किन आत्तियो ? सर्वत्र प्रश्न गरिएको छ । 


    आश्विन ७, २०७७ बुधवार १८:५०:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गाेविन्द केसी
  • # सरकार

  • क्यानाडानेपाल

    लेदो सहितको पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

    लेदो सहितको पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

    काठमाडौं - बुधबार नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । आज दिउँसो साढे ४ बजे नारायणगढ(मुग्लिन सडकखण्ड अन्तर्गतको चार किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । 

    प्रहरीका अनुसार दिउँसो इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा लेदो सहितको पहिरो खसेको हो ।माथिबाट लेदो खसिरहेकोले काम गर्न कठिन भइरहेको प्रहरीले जनाएको छ ।  

    पानी रोकिएपछि पहिरो पन्छाउने काम गरिने जनाइएको छ । पहिरो खस्ता सवारी साधन रोकिएका छन् । यस क्षेत्रमा हिजोदेखी नै लगातार पानी परिरहेको छ ।  


    आश्विन ७, २०७७ बुधवार १८:२७:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नारायणगढ-मुग्लिन सडक

  • क्यानाडानेपाल डेस्क