• Oct 31 2020 | २०७७, कार्तिक १५गते

२०७७, कार्तिक १५गते

यो साता चर्चामा:

कालापानी जाने घोरेटो बाटोको ट्र्याक खोल्यो सेनाले, सफाइ गर्ने काम एक दुई दिनमै सकिने

क्यानाडानेपाल डेस्क आश्विन ११ २०७७
  • 936
    SHARES
  • कालापानी जाने घोरेटो बाटोको ट्र्याक खोल्यो सेनाले, सफाइ गर्ने काम एक दुई दिनमै सकिने

    दार्चुला - नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले ५५० मिटर बाटोको ट्र्याक खुलाएको हो । भारतले सडक निर्माणका क्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरुद्ध हुँदा व्यास गाउँपालिकाको वडा नं १ छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या भएपछि सेनाले बाटो खोल्ने जिम्मा पाएको थियो । 

    चार महिना बढी समय लगाएर सेनाले अप्ठ्यारो ठाउँमा बाटोको ट्र्याक खुलाएको हो । मौसम प्रतिकुल नहुनु, कडा चट्टानी भूगोल र सामान ढुवानीमै समय लागेका कारण ट्र्याक खुलाउने काम ढिलाइ भएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले बताउनुभयो । “भिर फुटाएर ट्र्याक खुलाइएको छ”, उहाँले भन्नुभयो, “सफाइ गर्ने काम एक दुई दिनभित्र सकिन्छ ।” 

    यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज भएको छ । व्यासको छांगरु र तिंकरका बासिन्दा कार्तिक महिनामा सदरमुकाम खलंगा कुञ्चा झर्ने गर्छन् । व्यासको छांगरुमा ११७ र तिंकरमा ८७ घरधुरीको बसोबास छ । चट्टानी भूगोलले केहि ढिलाइ भए पनि स्थानीयका लागि सहजरुपमा आवतजावत गर्न मिल्ने गरी बाटो निर्माण भएको व्यास–२ का बासिन्दा हरकसिंह कार्कीले बताउनुभयो । घाँटीबगरमा सेनाले बनाएको बाटोमा ट्र्याक राम्रो खुलेको र त्यो बाहेकका अन्य चार पाँच ठाउँमा पुनः बाटो अवरुद्ध भएको उहाँले बताउनुभयो । 

    घाँटीबगरमा सेना बसेको क्याम्पको तल ठूलो पहिरो गएको छ । त्यो क्षेत्रमा पनि आवतजावत गर्न निकै सास्ती भएको व्यासको तिंकर पुगेर खलंगा फर्किनुभएका कार्कीले जानकारी दिनुभयो । तलतिरको बाटो नखुलाएसम्म अहिले नै व्यासी कुञ्चा सर्न सक्दैनन् । तम्बाकुमा व्यास गाउँपालिकाको बजेटमार्फत बाटो खुलाउने काम भए पनि कडा चट्टानी भाग भएका कारण खुल्ने सम्भावना छैन् । यो क्षेत्रमा अहिले पनि तारको सहारामा चट्टानी भूभागमार्फत नदी पार गर्नुपर्ने उहाँको भनाइ छ ।

    यस्तै तम्बाकु नजिकको नयाँ निर्माण गरिएको बाटो सबै भत्किएको छ । कल्जुगाडमा झोलुंगे पूल बगाएको छ भने कल्जगाड भन्दा तल र माथि बाटो भत्किएको छ । सबै ठाउँमा बाटो निर्माण गर्न सके मात्र सहजरुपमा व्याससम्मको बाटो खुल्ने उहाँले बताउनुभयो । तम्बाकु भन्दा तलतिर बाटो नहुँदा व्यासबाट फर्किने भेडा व्यवसायी अहिले बुदिमै रोकिएका छन् । 

    घोरेटो बाटो खुलाएको सेनाले लगत्तै सडक निर्माणको काम पनि थालनी गर्नेगरी तयारी भइरहेको नेपाली सेनाका प्रवक्ता पौडेलले बताउनुभयो । सेनाले दुई ठाउँमा क्याम्प राखेर सडक निर्माणको थालनी गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले परामर्शदातामार्फत अध्ययन भइरहेको छ ।” सो सडकखण्ड निर्माणको जिम्मा पाएको सेनाले विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) को काम शुरु गरेको छ ।

    सैनिक मुख्यालयका अनुसार मोटर बाटोको डिपीआर तयार पार्न विकास निर्माण गणबाट प्रमुख सेनानी रमेश गुरुङ्गको नेतृत्वमा सैनिक टोली गत साउन २३ गतेदेखि सदरमुकाम खलंगामा छ । महाकाली नदी किनारै किनार भएर सडक निर्माण गर्नुपर्ने बताइएको छ । सडक निर्माण गर्न सके व्यासीको सपना पूरा हुने स्थानीयवासी बताउँछन् । 

    यस क्षेत्रमा धार्मिक पर्यटनको निकै सम्भावना छ । कैलाश पर्वत दर्शन, चीन सँगको व्यापार, अपिहिमाल लगायतका थुप्रै पर्यटकीय क्षेत्र यस क्षेत्रमा पर्छन् । “अहिले बाटो नहुँदा छांगरु र तिंकरका बासिन्दा सदरमुकाम खलंगा आउन पाएका छैनन्, सदरमुकाममा रहेका त्यहाँका मानिस पनि गाउँ फर्किन पाएका छैनन्, चाँडो बाटो निर्माण भयो भने स्थानीयवासीलाई आफ्नै भूमि भएर गाउँ जान सहज हुन्छ”, व्यास–१ का बासिन्दा जगदीशप्रताप ऐतवालले भन्नुभयो । सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि यहाँका बासिन्दा पनि नेपालकै भूमि भएर आवत–जावत गर्न पाए भन्नेमा छन् । 

    व्यासीहरु हरेक वर्ष छ महिना व्यास र छ महिना सदरमुकाम खलंगा बस्ने गर्छन् । अहिले व्यासको छांगरुमा सशस्त्र प्रहरीको गुल्मसमेत बसेको छ । बाटो नभएकै कारण सशस्त्र प्रहरीले नेपालकै बाटो भएर खाद्यान्न ढुवानी गर्न हेलिकप्टर कुर्नुपरेको छ । रासस
     


    आश्विन ११, २०७७ आइतवार ०२:०२:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कालापानी

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    नेपाली चलचित्र क्षेत्र कति भासियो, कसरी उठ्ला ?

    क्यानाडानेपाल

    कार्तिक १५

  • 110
    SHARES
  • नेपाली चलचित्र क्षेत्र कति भासियो, कसरी उठ्ला ?

    बीबीसी।  कोरोनाभाइरस महामारी नियन्त्रण र रोकथामका लागि भन्दै देशव्यापी लकडाउन लागु गरिएपछि सानो, ठूलो स्तरमा अन्य विभिन्न क्षेत्र खुल्न थाले पनि अझै नखुलेको र अन्योलमा रहेको नेपाली चलचित्र क्षेत्र हो।

    करिब चार महिनाको लकडाउन र त्यसपछिको निषेधाज्ञा खुले पनि अझै न सिनेमाघरहरू खुलेका छन्, न नै चलचित्रको छायाङ्कन हुन सकेको छ। म्युजिक भिडिओ र सानो पर्दाका टेलिफिल्महरूको छायाङ्कन तथा निर्माण केही हुन थालेपनि ठूला चलचित्रहरूको छायाङ्कन र निर्माण अझै सुरु भएको छैन।

    कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर चलचित्र निर्माण हुन थाल्यो भने पनि दर्शकहरू पहिले जस्तै चलचित्र हेर्न हलमै जाने अवस्था नरहेको चलचित्र निर्देशक तथा निर्माताहरू बताउँछन्। चलचित्र क्षेत्रको लगानी उठाउने एकल माध्यम सिनेमा घरसम्म दर्शक पुर्‍याउन र महामारीका माझ चलचित्रको गुणस्तर वृद्धि गर्दै लैजान अब के गर्नुपर्छ?

    चलचित्र निर्माता तथा नायिका केकी अधिकारी र निर्देशक तथा चलचित्र समीक्षक दीपेन्द्र लामासँग साप्ताहिक 'बीबीसी बहस' मा गरिएको एक छलफल सुन्न माथिको तस्बिरमा रहेको प्ले बटन थिच्नुहोस्।


    कार्तिक १५, २०७७ शनिवार १३:१६:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली चलचित्र
  • # कसरी उठ्ला

  • क्यानाडानेपाल

    झापामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  • 130
    SHARES
  • झापामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    काठमाडौं - झापामा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ का ७३ वर्षीय वृद्ध रहेका छन् ।

    उनको आज बिहान धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    गत कात्तिक ६ गते कोरोना सक्रमण पुष्टि भएका उनलाई ७ गते कोभिड अस्पतालमा भर्ना गरिएकोथियो । उनी मुटुरोगी पनि रहेको अस्पतालले जनाएको छ । यससँगै झापामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।


    कार्तिक १५, २०७७ शनिवार १३:०८:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    नेपालमा रेलमार्ग: विस्तार र विकासका अप्ठेरा के, सम्भावना कति ?

    क्यानाडानेपाल

    कार्तिक १४

  • 238
    SHARES
  • नेपालमा रेलमार्ग: विस्तार र विकासका अप्ठेरा के, सम्भावना कति ?

    काठमाडौँ।  नेपालमा पछिल्ला केही वर्षहरूमा रेलमार्ग विस्तार र रेल सञ्चालन सम्बन्धी विषयबारे चर्चा चुलिए पनि अपेक्षा अनुसार काम हुन नसकेको एक पूर्वाधारविद्ले बताएका छन्।

    रेलमार्गको औचित्य भए पनि विभिन्न विषयमा सरकार आँफै स्पष्ट हुन नसक्दा मुलुकको ठूलो स्रोत जोखिममा पर्न सक्ने पूर्वाधारविद् सूर्यराज आचार्यले बीबीसी नेपाली सेवालाई बताए। तर रेल विभागबाट हालसालै सेवा निवृत्त भएका पूर्व महानिर्देशक बलराम मिश्र नेपालका लागि रेल नयाँ प्रविधि भएकाले यसबारे क्रमिक रूपमा काम भइरहेको बताउँछन्।

    नेपालमा हाल पूर्व-पश्चिम रेलमार्गदेखि, भारत र चीनसँग जोडिने रेलमार्गसम्मका परियोजनाबारे चर्चा चुलिएको छ। त्यसबाहेक विभिन्न स्थानमा मेट्रो रेलदेखि मोनो रेल चलाउने भन्दै राजनीतिक दलहरूले चुनावी घोषणापत्रमै उल्लेख गरेपछि जनअपेक्षा पनि चुलिएको छ।

    समस्या के हो?

    तर लामो अन्तरालपछि केही समयअघि भारतबाट खरिद गरिएको रेल नेपालमा भित्रिए पनि आवश्यक कानुनी तथा भौतिक पूर्वाधारको कमीका कारण त्यसलाई पाल ओढाएर राख्नु परेको छ।

    आचार्यका अनुसार नेपालमा रेलमार्ग निर्माण र रेल सञ्चालनका विषयमा केही आधारभूत समस्या देखिन्छ। त्यसलाई सल्टाउनका लागि तत्काल राजनीतिक तहमा रेलको औचित्यदेखि गेज, गति अनि प्रविधि लगायतका विषयमा छलफल गरेर स्पष्ट खाका तयार पार्न जरुरी छ।

    "प्राविधिक तहमा हाम्रो रेल सञ्जालको योजनाबारेनै गम्भीर गृहकार्य भएको छैन। रेल, सडक र हवाई मार्गको एकीकृत गुरुयोजना तयार पार्न आवश्यक छ," उनले भने। रेलको विकास सहरको विकाससँग नजोडिएसम्म प्रभावकारी हुन नसक्ने मत राख्ने उनी जनशक्ति र संस्थागत विकासमा पनि ध्यान दिइनुपर्ने ठान्छन्।

    अपेक्षा बढी

    उनले भने, "हामीले यदि चीन र भारतले रेल बनाइदेलान् र चालकदेखि मर्मत सम्भार समेत उतैबाट आउने भन्ने आशा गर्‍यौँ भने त्यो हामीले धान्न सक्दैनौँ, यो प्रविधिमा हामी नजाऔँ।" तर रेल विभागबाट सेवानिवृत मिश्र नेपाल रेलमार्ग विकास अनि प्रविधिका विषयमा बामे सर्ने क्रममा रहेको हुँदा सबै कुरा अहिले नै भइहाल्नुपर्छ भन्ने किसिमले सोच्न नहुने बताउँछन्।

    रेलमार्गबारे राष्ट्रिय बहस गर्ने र एकीकृत गुरुयोजना तयार पार्ने विषयमा उनको विमति छैन। तर विभिन्न क्षेत्रमा क्रमिक रूपमा काम भइरहेको जनाउँदै उनी निकट भविष्यमा रेलको राम्रो पद्धति स्थापित गरेर विकासको बाटोमा लग्न सकिने गरेर काम भइरहेको बताउँछन्।

    उनी भन्छन्, "रेल विभागले अहिलेको आवश्यकता अनुसार गुरुयोजना बनाएको छ र त्यसै अनुसार अध्ययन भइरहेको छ। जनशक्ति तयार पार्नेदेखि विभिन्न विषयमा तयारी भइरहेको छ।"

    भारतबाट खरिद गरिएको रेल पालले छोपेको विषयलाई लिएर सरकारको तीव्र आलोचना भइरहेको छ। तर मिश्रले भने, "कोभिडका कारण थोरै तयारी गर्न सकिएन। कानुनी कारणले गर्दा रेल ल्याइहाल्नुपर्ने अवस्था थियो। छ महिनादेखि त्यो सीमा नजिकै राखिएको थियो।"

    तर आचार्य एक दशकअघि सम्झौता भएको रेल छ महिनाअघिबाट सुरु भएको महामारीका कारण रोकियो भन्नुको औचित्य माथि प्रश्न गर्छन्। नयाँ चीज भएकाले विज्ञहरूले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने अवस्था भए पनि झन् नकारात्मक प्रचार गरिएकोमा मिश्रको विमति छ।

    मिश्र र आचार्यबीचको बहस सुन्न तलको तस्बिरमा रहेको प्ले बटन थिच्नुहोस्।

    समाचार : बीबीसी नेपाली सेवा 


    कार्तिक १४, २०७७ शुक्रवार १५:१७:१२ बजे : प्रकाशित

    तेजेन्द्रजङ्ग थापा: 'दङ्गाकाबीच भारतबाट नेपाल ल्याएपछि राजा वीरेन्द्रले मलाइ चकलेट दिनुभयो' (भिडिओ)

    क्यानाडानेपाल

    कार्तिक १४

  • 258
    SHARES
  • तेजेन्द्रजङ्ग थापा: 'दङ्गाकाबीच भारतबाट नेपाल ल्याएपछि राजा वीरेन्द्रले मलाइ चकलेट दिनुभयो' (भिडिओ)

    तस्बिर: बीबीसी नेपाली सेवा 

    स्वर्गीय राजा वीरेन्द्रले चढ्ने एभ्रो जहाज हालसालै नेपाली सेनाले नारायणहिटी सङ्ग्रहालयलाई हस्तान्तरण गरेको छ। त्यसमा राजा वीरेन्द्रलाई कैयौँ पटक उडाउने पाइलट तेजेन्द्रजङ्ग थापा हुन्। थापा भन्छन्, “फ्लाइट सकेपछि मेरै नाम लिएर सिगार वा चकलेट बक्सिन्थ्यो।“ बेलायतमा पढेका पूर्व सहायक रथी थापा नेपाली सेनाका प्रथम पाइलट समेत हुन्।

    ४६ सिटको यो जहाज बेलायत सरकारले ४० वर्षअघि नेपाललाई उपहार दिएको थियो। त्यसमा राजा र उनका पाहुनाहरूलाई उडाइन्थ्यो। थापासँग कुराकानी गरेर बीबीसीले बनाएको यो भिडिओ हेर्नुहोस्।

     

    समाचार : बीबीसी नेपाली सेवा 


    कार्तिक १४, २०७७ शुक्रवार १४:१२:२१ बजे : प्रकाशित

    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट एफपियु युनामिड (डार्फर, सुडान) मिसन जाने प्रहरी टोलीलाई बिदाइ

    क्यानाडानेपाल

    कार्तिक १४

  • 258
    SHARES
  • प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट एफपियु युनामिड (डार्फर, सुडान) मिसन जाने प्रहरी टोलीलाई बिदाइ

    काठमाडौं। संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु) को रुपमा डार्फर, सुडानस्थित युनामिड मिसन १७औं समूहमा खटि जाने प्रहरी कर्मचारीहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिदाइ गरेका छन् ।

    बिदाइ समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त समूहका कन्टिनजेन्ट कमाण्डर प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरे।

    प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मिसनमा छनौट भई प्रशिक्षण कार्यमा समेत सफल भएका समूहका सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई हार्दिक वधाइ तथा शुभकामना दिए ।

    परिस्थितिमा आएको परिवर्तन र गतिशिलतालाई ध्यानमा राखी एफपियु छनौट मापदण्डलाई हालै अद्यावधिक गरिएको र अद्यावधिक मापदण्ड प्रहरी कर्मचारीको वृत्ति विकासको निम्ति थप लाभदायक हुने विश्वास उनले व्यक्त गरे ।

    संयुक्त राष्ट्रसंघीय मिसनमा खटिने प्रहरी कर्मचारी देश र संगठनको प्रतिनिधिको रुपमा रहने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, ‘विदेशमा रहँदा तपाईं व्यक्ति र संगठन मात्र होइन, तपाईं एउटा मुलुक हो भन्ने कुरा तपाईंको आत्मामा रहनु पर्दछ ।’ 

    मिसनमा खटिने प्रहरी कर्मचारी राष्ट्रकै प्रतिनिधि भएकोले मर्यादित आचरण र अनुशासित हुनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले युएनको मापदण्ड अनुसार व्यावसायिकता प्रदर्शन गरी दिएको जिम्मेवारी पूरा गर्न खटि जाने प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

    समारोहमा मिसन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वीरेन्द्र कुमार बस्यालले त्यसतर्फ खटि जाने समूहमा प्रहरी उपरीक्षक १, प्रहरी नायव उपरीक्षक ४, प्रहरी निरीक्षक ७, प्रहरी नायव निरीक्षक २४, प्रहरी सहायक निरीक्षक १७, प्रहरी हवल्दार ५५, प्रहरी जवान ६५ र प्रहरी कार्यालय सहयोगी ७ जना गरी जम्मा १ सय ८० जना रहेको जानकारी दिए । उक्त मिसनमा खटिएका प्रहरी कर्मचारीहरु दुई समूह गरी २०७७ कात्तिक १७ र मंसिर ११ गते त्यसतर्फ प्रस्थान गर्ने उनले जानकारी दिए ।

    समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

    श्रोत: नेपाल प्रहरी 


    कार्तिक १४, २०७७ शुक्रवार १३:४९:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मिसन जाने
  • # प्रहरी टोलीलाई बिदाइ

  • क्यानाडानेपाल

    भक्तपुरमा कोरोना संक्रमण र मृत्यु दर बढ्यो

  • 224
    SHARES
  • भक्तपुरमा कोरोना संक्रमण र मृत्यु दर बढ्यो

    काठमाडौं । भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण र मृत्यु दर दैनिक बढ्दै गइरहेको छ । जिल्लामा शुक्रबार बिहानसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार पाँच सय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा तीन हजार १७५ पुरुष र दुई हजार ४२१ महिला गरी कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५९६ जना पुगेको छ ।

    त्यसैगरी जिल्लामा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६९ पुगेको छ । बुधबार र बिहीबार मात्रै भक्तपुरमा भाइरसकै कारण पाँचजनाको ज्यान गएको छ । भक्तपुरमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुने दर समग्र नेपालको दोब्बर भन्दा बढी रहेको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । 

    कोरोना सङ्क्रमणबाट नेपालको समग्र मृत्युदर ०.६ प्रतिशत रहेको अवस्थामा भक्तपुरमा भने बिहीबारसम्म सङ्क्रमणबाट मृत्यु हुने दर १।२३ प्रतिशत रहेको उनको भनाइ छ ।  त्यसैगरी कोरोना भाइरस सङ्क्रमितको निको हुने दर भने भक्तपुरमा ६७.३३ प्रतिशत छ । बिहीबारसम्म दुई हजार ८१ पुरुष र एक हजार ६१८ महिला गरी तीन हजार ६९९ सङ्क्रमित निको भएर घर गएको कार्यालय प्रमुख मिजारले जानकारी दिए ।


    कार्तिक १४, २०७७ शुक्रवार १२:५४:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भक्तपुर
  • # कोरोना संक्रमण
  • # मृत्यु दर

  • क्यानाडानेपाल डेस्क