• Oct 31 2020 | २०७७, कार्तिक १५गते

२०७७, कार्तिक १५गते

यो साता चर्चामा:

अदालतको वामदेवलाई तगारो, ओली–प्रचण्डलाई मन्त्रिपरिषद् पुनर्गठनको हतारो 

राजेन्द्र बस्याल आश्विन १२ २०७७
  • 752
    SHARES
  • अदालतको वामदेवलाई तगारो, ओली–प्रचण्डलाई मन्त्रिपरिषद् पुनर्गठनको हतारो 

    काठमाडौं । सत्तारुढ दल नेकपालाई मन्त्रिपरिषद् पुनर्गठनको चाटारोले भ्याइनभ्याइको अवस्था छ । महिनौँ दिनको आन्तरिक विवाद तत्कालका लागि मथ्थर पारेको नेकपाले सबै समूह र गुटलाई खुसी बनाएर मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा लागेको हो । 

    उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजानेसहितका सहमति गरेर पार्टीको आन्तरिक विवाद मथ्थर पारेका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अहिले क–कसलाई मन्त्रीबाट हटाउने र क–कसलाई मन्त्रिपरिषद्मा लैजाने भन्ने विषयमा घनिभूत छलफल गरिरहेका छन् । 

    गत असारमा बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने उठेको आवाज र मागलाई मथ्थर पार्दै नेकपा मन्त्री हेरफेरको तयारीमा जुटेको हो । उपाध्यक्ष गौतम संघीय संसद्को माननीय मात्रै नभई सिंहदरबारमा मन्त्रीको आसन ग्रहण गर्ने व्यग्र चाहनासहित सांसदको लोगो लगाएका छन् ।

    तर, गौतमलाई सांसदमा मनोनयन गर्ने निर्णय खारेजी र मन्त्री बनाउने तयारी रोक्ने माग गर्दै दायर गरिएको रिटमा गत बुधबार (८ असोज) सुनुवाइ गर्दै सर्वाेच्च अदालतले गौतमलाई सांसदको हैसियतमा अहिले कुनै जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो । 

    प्रतिनिधिसभामा हारेका तथा चौतर्फी आलोचना भइरहे पनि मन्त्री हुने चाहनासहित राष्ट्रिय सभा सदस्य बनेका गौतमलाई मन्त्री हुन तत्कालका लागि सर्वाेच्चको आदेशले रोकियो । 

    गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने निर्णय बदरको माग राखेर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई राष्ट्रिय सभाको सांसदको रुपमा काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको हो । सो इजलासले गौतमलाई मन्त्रीसमेत नबनाउन आदेश जारी गरेको अधिवक्ता त्रिपाठीले जानकारी दिएका थिए । 

    गत २९ भदौको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई १ असोजमा राष्ट्रिय सभामा मनोनित गरेकी थिइन्। 

    गौतमको मनोनयन खारेजीका विषयमा परेको रिटमाथि सुनुवाइ गर्न सर्वाेच्च अदालतले बुधबार (१४ असोज) छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । 

    तर, यही बेला मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई लिएर ओली र प्रचण्डबीचको छलफल दैनिक भइरहेका छन् । वामदेव र नारायणकाजी श्रेष्ठलाई मन्त्री बन्नबाट रोक्नका लागि रिट दायर गरिएको नेकपाका नेताहरुले बुझेका छन् । र योबारे प्रचण्ड पनि जानकार छन् । यसर्थ अहिले नै प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठनबारे राजी नभए पनि छलफलमा भने जुटिरहेका छन् । 

    आइतबार प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएपछि झस्किएका प्रचण्ड आजभोलि नै मन्त्रिपरिषद् पुनर्गठनप्रति असहमत देखिएका छन् । तर, प्रधानमन्त्री ओली गौतमलाई मन्त्री नबनाई अदालतको फैसला आउनु अघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्न हतारिएका छन् । 


    आश्विन १२, २०७७ सोमवार १९:०४:२७ बजे : प्रकाशित

    अर्कोसमाचार

    ओलीसँग रिसाए प्रचण्ड, बालुवाटारका दूत खुमलटारमा ओइरो

  • 1.2K
    SHARES
  • ओलीसँग रिसाए प्रचण्ड, बालुवाटारका दूत खुमलटारमा ओइरो

    काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्बन्धमा तिक्तता आएपछि अहिले बालुवाटारका विशेष दूतको ओइरो खुमलटारमा लाग्न थालेको छ ।

    प्रचण्डले अब ओलीसँगका हरेक हिसाब किताब पार्टीको बैठकमै हुने चेतावनी दिएपछि बालुवाटारका तीनजना विशेष दूतको खुमलटारमा दौडधूप लागेको हो ।

    बिहीबार बेलुका प्रधानमन्त्री ओलीले आफ्नो प्रियपात्र शंकर पोखरेललाई प्रचण्ड भेट्न पठाएका थिए । तर, प्रचण्डले पोखरेलमार्फत अब बालुवाटार नआउने पार्टीको बैठकमै सबै हिसाब किताब हुने सन्देश दिएपछि ओलीले शुक्रबार बिहान पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङलाई खुमलटार पठाएका हुन् ।

    प्रचण्डले सबैलाई एउटै सन्देश पठाएको बुझिएको छ । उनले अब आफू बालुवाटार नआउने अडान राखेका छन् । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग मिलेर प्रचण्डले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको सुइँको पाएपछि ओली तनावमा परेका हुन् ।

    त्यसैले उनले प्रचण्डसँग सम्बन्ध सुधारका लागि तारन्तार आफ्ना विशेष दूत खुमलटार पठाएको बुझिएको छ । यदि ओली एकलौटी ढंगले अघि बढे केही दिनभित्रै नेपालको राजनीतिमा अर्को परिवर्तन आउन सक्ने राजनीतिक विश्लेषकहरुले अनुमान गरेका छन् ।


    कार्तिक १४, २०७७ शुक्रवार १३:१९:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # ओली र प्रचण्ड

  • क्यानाडानेपाल डेस्क

    कमल थापा भन्छन्, नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल बन्ने खतरा भयो

  • 228
    SHARES
  • कमल थापा भन्छन्, नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल बन्ने खतरा भयो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल बन्ने खतरा भएको बताएका छन् । देशको अहिलेको अवस्थाले यस्तो स्थिति आएको उनको भनाइ छ ।

    श्क्रबार बिहान सामाजिक सञ्जालमार्फत थापाले देश अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको प्रतिष्पर्धास्थल बन्ने खतरा बढेकाले देशको स्वतन्त्रता र अस्तित्वबारे समयमै सबै सचेत हुनुपर्ने बताएका हुन् ।

    थापाले भारत र चीनसँगको सम्बन्धका बारेमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले अख्तियार गरेको रणनीतिको आलोचना पनि गरेका छन् ।


    कार्तिक १४, २०७७ शुक्रवार १२:३७:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कमल थापा

  • क्यानाडानेपाल डेस्क

    ओलीले बोलाउँदा पनि प्रचण्ड बालुवाटार जान मानेनन्

  • 320
    SHARES
  • ओलीले बोलाउँदा पनि प्रचण्ड बालुवाटार जान मानेनन्

    काठमाडौं । प्रधानमन्त्री केपी ओली केही दिनदेखि तनावमा छन् । पार्टीको किचलो सल्टने भन्दा पनि झन् बल्झन थालेपछि ओली तनावमा परेका हुन् । त्यससँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई विश्वासघात गरेको ठहरमा ओली पुगेका छन् ।

    भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त गोयललाई बालुवाटारमा रातो कार्पेट ओछ्याएको मूल्य ओलीले चुकाउनुपर्ने देखिएको छ । पार्टीका कसैलाई पनि जानकारी नदिई ओलीले भारतीय गुप्तचर प्रमुखलाई भेटेको विषयले नेकपामा ठूलै तरंग ल्याउने स्थिति देखिएको छ ।

    यो विषयलाई पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशक्त ढंगले अघि बढाउने संकेत दिइसकेका छन् । प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रभावशाली नेता भीम रावललगायतले प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर प्रमुख भेटेकोमा आपत्ति मात्र जनाएका छैनन्, यो विषयलाई पार्टीमा छलफल पनि गर्नुपर्ने बताउन थालेका छन् ।

    यो विषय जटिल बन्दै गएपछि बिहीबार प्रधानमन्त्री ओलीले आफूलाई भारतीय प्रधानमन्त्री मोदीले झुक्याएको गुनासो गरेका छन् । सरकारको प्रतिनिधि भनेर मोदीले गुप्तचर प्रमुख पठाएको उनको भनाइ छ । यता, दस दिनदेखि नेकपा अध्यक्ष प्रचण्डसँग संवाद ठप्प भएपछि ओली छटपटीमा परेका छन् ।

    ओलीले आफ्ना विश्वासपात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई काठमाडौं बोलाएर प्रचण्ड निवास खुमलटार पठाएका थिए । पोखरेलले प्रधानमन्त्रीले बालुवाटार बोलाएर ठोस कुराकानी गर्न चाहेको सन्देश दिए पनि प्रचण्डले त्यसलाई इन्कार गरेको बुझिएको छ ।

    आफू निकट नेताहरुलाई विरुद्धमा भड्काएर आफूलाई कमजोर बनाउन लागेको र पार्टी एकताको काम पनि टुंगोमा पुर्याउन ओलीले नचाहेपछि प्रचण्ड बालुवाटार जान अनिच्छुक देखिएको खुमलटार स्रोतले जानकारी दिएको छ ।


    कार्तिक १४, २०७७ शुक्रवार १२:११:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # बालुवाटारमा
  • # प्रचण्ड

  • क्यानाडानेपाल डेस्क

    शेखर कोइराला भने - दण्डहीनताले सीमा नाघिसक्यो

  • 380
    SHARES
  • शेखर कोइराला भने - दण्डहीनताले सीमा नाघिसक्यो

    काठमाडौं नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा दण्डहिनताले सिमा नाघिसकेको बताएका छन् । 

    बिहिबार सामाजिक सञ्जालमा डा  कोइरालाले पर्साका नेकपा नेता मुकुश चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न मुद्दा दर्ता गर्न प्रहरीले नलिएको बिषयमा टिप्पणी गर्दै देशमा दण्डहिनताले सिमा नाघिसकेको बताएका हुन् । उनले हामी कानूनी राज्यको कुरा गर्छौं। तर कहाँ छ कानूनी राज्य भन्दै प्रश्न गरेका छन् ।

    उनले भनेका छन् - 'दण्डहिनताले सिमा नाघिसक्यो। व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गर्न जाँदा प्रहरी मुद्दा दर्ता गर्न मान्दैन। तैपनि हामी कानूनी राज्यको कुरा गर्छौं। तर कहाँ छ कानूनी राज्य ? जनता न्याय माग्न कहाँ जाने ?'


    कार्तिक १३, २०७७ बिहिवार १४:२४:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेखर कोइराला

  • क्यानाडानेपाल डेस्क

    हरिबोल गजुरेलले प्रचण्डलाई छाडेर किन थामे ओलीको हात ?

  • 1.5K
    SHARES
  • हरिबोल गजुरेलले प्रचण्डलाई छाडेर किन थामे ओलीको हात ?

    काठमाडौं । सत्तारुढ नेकपामा नेताहरुबीच तीव्र धु्रवीकरण भइरहेको छ । पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीच एकता भई नेकपा गठन भएको हो । पार्टी एकता भएको साढे दुई वर्षमै अधिकांश माओवादी नेता एमालेकरण भइसकेका छन् । अर्थात् उनीहरूले अब माओवादी पक्षधरता त्यागेको देखिएको छ ।

    खुला रूपमा नभने पनि गृहमन्त्री रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, प्रभु साह, शक्ति बस्नेत अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको लोलीमा बोली मिलाउन लागेका छन् । उनीहरू सबै माओवादीका बलिया नेताहरु हुन् ।

    सबैभन्दा आश्चर्य त के छ भने कुनै समय पुष्पकमल दाहाल प्रचण्डका प्रवक्ता नै मानिने हरिबोल गजुरलेसमेत ओलीसँगै टाँसिएका छन् । गजुरेलले दिएका अभिव्यक्ति प्रचण्डको मानिने गरिन्थ्यो । तर, केही समयदेखि गजुरेलले प्रचण्डलाई सहयोग पुग्ने गरी कुनै अभिव्यक्ति दिएका छैनन् । बरु प्रधानमन्त्री ओलीको लोलीमा बोली मिलाउन लागेका छन् । ओलीलाई नै बलियो गरी गजुरेलले अभिव्यक्ति दिन थालेपछि प्रचण्ड निकै रुष्ट बनेको बताइन्छ ।

    नेकपा उच्च स्रोतका अनुसार केही समययता गजुरेल प्रचण्ड निवास खुमलटारसमेत जान छाडेका छन् । प्रधानमन्त्री ओलीले मन्त्री बनाउने आश्वासन दिएकाले गजुरेलले प्रचण्डको साथ छाडेको चर्चा नेकपामा हुन थालेको छ ।


    कार्तिक १३, २०७७ बिहिवार १३:३३:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हरिबोल गजुरेल

  • क्यानाडानेपाल डेस्क

    कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्ने

  • 328
    SHARES
  • कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्ने

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी कात्तिक २१ गतेका लागि बोलाइएको छ । यसअघि दुईपटक बोलाइए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो । 

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा केन्द्रीय समिति बैठक कात्तिक २१ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने उल्लेख छ ।

    ‘पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।  

    यसअघि आधा दर्जन केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेस बैठक स्थगित भएको थियो ।


    कार्तिक १३, २०७७ बिहिवार १३:०२:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कांग्रेस केन्द्रीय समिति बैठक

  • क्यानाडानेपाल डेस्क