शनिबार
७ मङ्सिर
२०७६

सल्लाहकारले प्रधानमन्त्रीबारेमा अनलाइन, ट्वीटर र फेसबुकका लागि मसालेदार हुने गरी सूचना दिँदैन

शुक्रबार कार्तिक १५, २०७६/ Friday 11-01-19

प्रधानमन्त्री केपी शर्मा ओली विरामी भएर बुधबार विहान ९ बजे ग्रान्डी अस्पताल भर्ना भएर विहीबार राती ९ बजे घर फर्किनुभएको छ । यस सन्दर्भमा उहाँको स्वास्थ्यस्थिति ’गोप्य राखिएको’, ’जनतालाई थाहा नदिएको’, ’सल्लाहकारहरुले सूचना लुकाएको’, ’पत्रकारलाई सूचनामा पहुँच नदिएको’ जस्ता चर्चा भएका छन् ।

१. सबैलाई थाहा छ, प्रधानमन्त्रीको स्वास्थ्य ठीक छैन, मृगौला प्रत्यारोपण गरिएका कारण उहाँ नियमित रुपमा चिकित्सक र अस्पतालको सम्पर्कम हुनुहुन्छ । केही समयअघि मात्रै सिंगापुरबाट उपचार गरेर फर्केपछि पनि उहाँको नियमित स्वास्थ्य परीक्षण भइरहेको छ । यस्तो अवस्थामा स्वास्थ्यमा समस्या उत्पन्न हुनासाथ होहल्ला गरेर के के न भयो भन्ने जस्तो गरेर प्रचार गर्नु आवश्यक छैन ।

२. कुनै पनि सार्वजनिक पदमा रहेको व्यक्ति, त्यसमा पनि मुलुकको प्रमुख कार्यकारीको स्वास्थ्यकाबारेमा थाहा पाउने जिज्ञासा आम नागरिकमा हुनु अस्वाभाविक होइन । तर, विहान ९ बजे अस्पताल लैजानासाथ सबै कुरा सार्वजनिक गरिहाल्नुपर्ने माग उचित छैन । धामी–झाँक्रीले जस्तो नाडी छामेर वा अनुहार हेरेर अनुमानका भरमा चिकित्सकले यही भएको हो भन्ने कुरै हुँदैन । एउटा मात्र होइन, अनेक परीक्षण गरेपछि मात्रै के भएको हो भन्न सक्छन्, जुन कुराको तत्कालै अपेक्षा उचित हुँदैन ।

३. प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिका बारेमा ’सूचना लुकाएको’ भनेर विशेषगरेर प्रेस सल्लाहकार डा. कुन्दन अर्यालको आलोचना भइरहेको छ, जुन बिल्कुलै उचित छैन । किनभने, प्रधानमन्त्री अस्पताल भर्ना भएको कुरासम्म उहाँबाट पुष्टि गर्न खोज्नुपर्छ, त्यसबाहेकका स्वास्थ्यसम्बन्धी सूचना अस्पताल वा चिकित्सकबाहेक सल्लाहकारसँग सोध्नु उचित हुँदैन । फेरि प्रधानमन्त्री अस्पताल भर्ना हुनासाथ सल्लाहकारले अनलाइन, ट्वीटर र फेसबुकका लागि मसालेदार हुने गरी ‘हो, अवस्था गम्भीर छ’ भन्दैन । दुबै दिन अस्पतालले बक्तव्य निकालेको छ, दोस्रो दिन त पत्रकार सम्मेलन नै गरेको छ । अनि कहाँनेर सूचना लुकाइयो ?

४. प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा चासो हुनु र सूचना पाउने अपेक्षा गर्नु स्वाभाविक हुन्छ । तर, बालुवाटारबाट ’अस्पताल जानै लाग्नुभयो, अस्पताल पुग्नुभयो, अब लिफ्ट चढ्न थाल्नुभयो, डाक्टर आउनुभयो, अब परीक्षण हुनै लाग्यो, पहिलो परीक्षण भयो’ जस्ता सूचनाको अपेक्षा हो भने त्यो व्यर्थ छ ।

५. विरामीको व्यक्तिगत जीवन र गोपनीयताकाबारेमा पत्रकार संवेदनशील हुनैपर्दछ । सूचना ब्रेक गर्ने नाममा नमरेको मान्छेलाई मरेको (माधव घिमिरे, अम्बर गुरुङ) भनेर समाचार लेख्दासमेत हामीलाई त्यसबाट सिक्ने फुर्सत छैन ।

६. स्वास्थ्य जस्तो विषयमा समाचार लेख्न हतार गर्नुपर्ने कुनै कारण छैन । केही दिनअघि वामदेव गौतमलाई सामान्य रुघाखोकी र ज्वरो आएपछि स्वास्थ्य परीक्षणका लागि टेकु जानुभएको रहेछ । कुनै पत्रकार मित्रले थाहा पाउनुभएछ र ‘वामदेव गौतमलाई डेंगुको आशंका’ भनेर समाचार लेख्नुभयो । पछि अनलाइनहरुले ‘आशंका’ भन्ने शब्दलाई हटाएर ‘वामदेव गौतमलाई डेंगु’ भनेर समाचार लेखेको लेख्यै गरे । परीक्षणबाट उहाँलाई सामान्य भाइरल भएको मात्र देखियो । तर, आफन्त, साथीभाइहरुलाई ’मलाई डेंगु लागेको होइन’ भन्दाभन्दा उहाँ हैरान हुनुभयो । त्यसैले स्वास्थ्य कुनै समाचार ’ब्रेक’ गर्ने विषय होइन ।

७. कुनै कुरा पत्रकारले तत्कालै थाहा नपाउँदैमा त्यो ’गोप्य राखिएको’ वा ’लुकाइएको’ भन्ने हुँदैन । ट्वीटर वा फेसबुक प्रयोगकर्तालाई छिटो छिटो नयाँ कुरा लेख्न हतार हुन सक्ला तर त्यसैका लागि छिन छिनमा सूचना उपलब्ध गराइरहनुपर्दछ भन्ने हुँदैन ।

(विष्णु रिजाल सत्तारुढ नेकपाका केन्द्रीय सदस्य हुन् ।)