• Oct 30 2020 | २०७७, कार्तिक १४गते

२०७७, कार्तिक १४गते

यो साता चर्चामा:

कोरोनाको महामारीमा दशैं, तिहार र छठ पर्व कसरी मनाउने ?

क्यानाडानेपाल आश्विन २६ २०७७
  • 1.2K
    SHARES
  • कोरोनाको महामारीमा दशैं, तिहार र छठ पर्व कसरी मनाउने ?

    डा. गेहेन्द्र महरा । अहिले देशमा कोरोनाभाइरसको संक्रमण अत्याधिक मात्रामा बढ्दै एक लाखमाथि पुगेको छ। त्यसमा पनि काठमाडौँ उपत्यकामा त झन् डरलाग्दो तरिकाले बढ्दैछ, जसको कारण अस्पतालहरुमा बेडको अभाब हुन थालेको कुरा बाहिर आएको छ । यसको साथ साथै नेपालीहरुको महान चाड दशैैँ, तिहार र छठ पर्व पनि नजिकिँदैछ । यस्तो अवस्थामा कोरोना महामारीले कस्तो रुप लिने भन्ने सर्वत्र चासोको विषय बनेको छ । 

    यस कारण यसपालीको दशैँ, तिहार र छठ पर्व मनाउँदा ख्याल गर्नुपर्ने कुराहरु :

    १. अहिले जो जहाँ छ त्यही बसेर नै चाडपर्व मनाउने । फोन, भिडिओ कलबाट आशिर्वाद लिने । किनकि दशैँ मनाउन जाँदा प्रयोग गर्ने विभिन्न सवारी साधन (नाइट वा दिवा बस)मा हुने भीडभाडले गर्दा कोरोनाको संक्रमण बढ्ने एकैदमै ठूलो सम्भावना हुन्छ । 

    २. यसरी सवारी गर्दा व्यक्तिगत दूरी कायम नहुने, बसपार्क, असुरक्षित खाजा र खाना पसलमा वा साना–साना खुद्रा पसलमा सामान किनमेल गर्दा हुने भीडभाडको कारणले सबै व्यक्तिलाई कोरोना सर्न सम्भावना हुन्छ  । 

    ३. घरमा भएका जेष्ठ नागरिकहरुलाई संक्रमण हुने खतरा अत्याधिक हुन्छ। यसरी आफु लगायत घरमा भएका अन्य सदस्यहरुलाई खतरामा पारेर दशैँ मनाउनुको कुनै अर्थ हुँदैन। ज्यान बचेपछि अर्को बर्ष फेरि चाडपर्ब मनाउन सकिन्छ। 

    ४. अहिलेको दशैँमा पूजाआजा गर्न मन्दिर नजाऔँ र खानपिन र दशैँ पनि घरका परिवारसँग मात्र बसेर मनाऔं। 

    ५. अहिलेको दशैँमा फलफूल जस्तै सुन्तला, बदाम, केरा, स्याउ, अनार लिएर आफन्त वा मान्यजनलाई भेट गर्न नजाऔँ । यदि जानै परे पनि खाली हात जाआँै टाढैबाट आशिर्वाद लिऔँ।

    ६. कोरोना संक्रमणको समयमा दशैँका लागि सपिङ्ग मल अथवा भिड भाड हुने ठाउँमा गएर सपिङ्ग नगरौँ ।  डिपार्टमेन्टल स्टोर तथा सपिङ मलमा पर्याप्त भेन्टिलेसन हुँदैन । तसर्थ आफुले बनाएको लिस्ट अनुसार फटाफट सामान किनेर बाहिरिने कम गरौँ । लामो समय बिताउनु हुँदैन ।

    ७. कोभिडको कारण दैनिक लगभग दोहोरो अंकमा संक्रमितको मृत्यु भैरहेको छ भने  सयौं बिरामी आईसीयू र भेन्टिलेटरमा जीवन र मृत्युको दोसाँधमा छट्पटाइरहेका छन् । त्यसैले अतिआवश्यक नपरेसम्म घरबाट बाहिर नजाऔँ ।  घरबाहिर निस्कँदा अनिवार्य रुपमा सहि तरिकाले मास्क लगाउने । सम्भव भएसम्म २ मिटरको दुरी कायम गर्ने । भीडभाडमा नजाने, भीडभाड नगर्ने ।

    ८. अस्पतालमा खुट्टा राख्ने ठाउँ छैन । आईसीयू प्याक भएका छन् । भेन्टिलेटरको पालो कुर्दा बिरामीको ज्यान गएको छ । सिकिस्त बिरामीलाई दशभन्दा धेरै अस्पतालमा चहार्दा बाटोमै मृत्यु भएको छ । त्यसैले समयमा नै विचार गरौँ ।

     ९. सार्वजनिक यातायात प्रयोग गर्दा मास्क तथा पञ्जा अनिवार्य लगाउने गरौँ । स्यानिटाइजरले हात सफा गरिरहने र साबुन पानीले हात धुने र विशेष सतर्क रहौँ ।

    १०. कोरोना मलाई सर्दैन, मैले मास्क लगाउनु पर्दैन, मैले दुरी कायम गर्नु पर्दैन, यो त अरुले गर्नुपर्छ भन्ने गलत धारणालाई हटाउँ । 

    ११. बालबालिका, जेष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिहरुलाई विशेष ध्यान दिनुपर्छ। उहाँहरुसँग बस्दा पनि व्यक्ति गत दुरी कायम गरौँ । कुरा गर्दा मास्क लगाऔँ ।  

    १२. आफन्त, छिमेकी, साथी, सहकर्मी आदिसँग हामीले मास्क नलगाई कुरा नगरौ, सँगै बसेर चिया, खाजा, खाना पनि अर्को व्यवस्था भएसम्म बन्द गरौँ । हामीलाई भ्रम छ कि कोरोना सर्ने नचिनेका व्यक्तिबाट हो । कोरोना संक्रमण आफन्तबाट सर्छ अनि आफन्तलाई नै सारिन्छ । तसर्थ हामीहरुले आफन्तसँग पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नु पर्दछ।

    १३. पसलबाट लिएको हरेक सामानहरुलाई राम्रोसँग सर–सफाई गरि संक्रमणरहित बनेर मात्र प्रयोग गरौँ ।  दसैँमा मासु खानैपर्छ भन्ने छैन । घरमै बनाउन सकिने परिकारहरू खानुहोस् । किन्नैपर्ने अवस्थामा नजिकैको पसलमा मात्रै जाने । आफूलाई एलर्जी हुने खानेकुरा नखाने र चिल्लोपिरो धेरै खान हुँदैन । 

    १४. होटल, रेस्टुरेन्ट, चियापसल, कफीसप तथा पसलमा साथीहरु सँगै बस्ने, गफ गर्ने, चुरोट खाने, सुर्ती मोलेर बाँड्ने, एउटै  बिएरको बोतलबाट सबैले पिउने, जहाँ पायो त्यहीँ थुक्ने नगरौँ । 

    १५ . अघिल्लो दशैँ तिहार जस्तो अहिलेको चाडमा जुवा, तास, कौडा, पिङ्गलगायत समुहमा खेलिने वा समूहमा रमाइलो गरिने कुनै पनि कार्य मा भाग नलिऔँ किनकि कोरोना समुदायमा फैलिई सकेको छ।  

    १६. कुन व्यक्ति संक्रमित छ, कुन व्यक्ति छैन भन्ने अनुहार, सम्बन्ध, शिक्षा, पद आदि हेरेर थाहा नहुने हुनाले हरेक व्यक्तिसँग सुरक्षित व्यवहार गरौ ।

    १७. रुघाखोकी, ज्वरो वा अन्य स्वास्थ्य समस्या भए घरमै आराम गरौँ । बिरामी हुँदा आफुले अरुलाई सार्ने मात्र होइन अरुको संक्रमण आफुलाई छिटो सर्ने खतरा पनि हुन्छ त्यसैले आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित बनाउँ । 

    १७. बाहिरबाट घरमा आएपछि मास्क, चस्मा, झोला, बाहिरी कपडाआदिलाई छुट्टै ठाउँमा राख्ने, नुहाउने अनि मात्र घरका परिवारसँग सम्पर्कमा रहने गरौँ, विचार गराँै मान्छे आफ्नो हुन्छ रोग आफ्नो हुँदैन ।

    १८. सरकारको भर नपरौं । आफ्नो ज्यान आफैं बचाउनको लागि पहल गराैँ ।  हामी सुरक्षित ठाउँमा बसौं । घरभित्र नै बसौं । खतरायुक्त ठाउँबाट सुरक्षित ठाउँमा जानु हरेक प्राणीको नैसर्गिक स्वभाव हो । 

    १९. हामी अहिले अत्यन्तै विषम परिस्थितिमा छौं । यो अवस्थामा हरेक नागरिक जिम्मेवार भएर आफ्नो शरीरमा, आफ्नो घरमा तथा आफ्नो समाजमा संक्रमण नल्याउन हरेक पल सतर्क हुनु जरुरी छ । मास्क किन्न नसक्ने निम्न आय भएका व्यक्तिलाई हामी सबैले मास्क वितरण गराँै । सही तरिकाले मास्क लगाउन अनुरोध गरौँ । 

    २०. ज्वरो आएमा, सुख्खा खोकी लागेमा तथा स्वाद र बासनामा तलमाथि भएमा तुरुन्तै परीक्षण गर्न जाऔँ । पोजेटिभ रिपोर्ट आयो भने घरमा छुट्टै बसौ, अरुको सम्पर्कबाट अलि टाढा बसौँ ।  तागतिलो खाने कुरा खाऔ, नियमित व्यायाम गरौँ ।  

    २१ . हामी सबैले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा अबलम्बन  गरौ  जसले गर्दा संक्रमण घट्दै जान्छ ।  हामी पनि सुरक्षित हुन्छौं ।

     


    आश्विन २६, २०७७ सोमवार १३:५७:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # दशैं

  • क्यानाडानेपाल

    अर्कोसमाचार

    दशैंमा टीका लगाउँदा ध्यान पुर्याउनुपर्ने १२ सुझावहरु - डा. रवीन्द्र पाण्डे

  • 662
    SHARES
  • दशैंमा टीका लगाउँदा ध्यान पुर्याउनुपर्ने १२ सुझावहरु - डा. रवीन्द्र पाण्डे

    काठमाडौं -  नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको समयमा डा. रवीन्द्र पाण्डेले कोरोनाको रोकथाम तथा नियन्त्रण र यसबाट बच्ने बिभिन्न उपायहरुको बारेमा सामाजिक सञ्जालमार्फत जानकारी दिइरहेका छन् ।

    यस्तै डा. पाण्डेले कोरोना संक्रमणको अवस्थामा यस पटक दशैंमा टीका लगाउँदा ध्यान पुर्याउनुपर्ने १२ सुझावहरु दिएका छन् । 

    डा. रवीन्द्र पाण्डेका यस पटक टीका लगाउँदा ध्यान पुर्याउनुपर्ने १२ सुझावहरु
    १. दुवै पक्षले मास्क लगाएर मात्र टीका लगाउने
    २. ६ फिटको दुरी कायम गरेर बस्ने
    ३. सकभर हातमा टीका जमरा लिने अनि आफैँ निधारमा लगाउने
    ४. टीका दिनेले प्रत्येक पटक हात धुने
    ५. हात पुछ्ने रुमाल/टावेल एक अर्कामा सेयर नगर्ने
    ६. एकजनालाई टीका लगाउने काम १ मिनेटभित्र सक्ने
    ७. घरभित्र हैन, घरबाहिर आँगन, बरण्डा, बगैचा वा अन्य खुला ठाउँमा बसेर टिका लगाउने
    ८.  मास्क पटक्कै नखोल्ने। पानी, चिया, कफी, खाजा, खाना आफ्नो घरमा गएर मात्र खाने
    ९. साबुनपानीले हात धोइरहने
    १०. भीडभाड पटक्कै नगर्ने
    ११. दक्षिणा लेनदेन नगरे राम्रो। दक्षिणा लेनदेन गर्नै पर्ने भएमा अघिल्लो दिन हात राम्रोसंग धोएर, पैसालाई खाममा राखेर तथा सुख्खा हातले लेनदेन गर्ने
    १२. सकभर फोन वा नेटबाट आशिर्वाद तथा शुभकामना आदानप्रदान गर्ने


    कार्तिक १०, २०७७ सोमवार ०८:२७:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डा. रवीन्द्र पाण्डे

  • क्यानाडानेपाल डेस्क

    कोरोना संक्रमणबारे यी ३ तथ्य आत्मसात गरौँ - डा. रवीन्द्र पाण्डे 

  • 844
    SHARES
  • कोरोना संक्रमणबारे यी ३ तथ्य आत्मसात गरौँ - डा. रवीन्द्र पाण्डे 

    काठमाडौं  -  नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको समयमा डा. रवीन्द्र पाण्डेले कोरोनाको रोकथाम तथा नियन्त्रण र यसबाट बच्ने बिभिन्न उपायहरुको बारेमा सामाजिक सञ्जालमार्फत जानकारी दिइरहेका छन् । यस्तै बिहिबार पनि डा. पाण्डेले कोरोना संक्रमणबारे आत्मसात गर्नुपर्ने तथ्यबारे जानकारी दिएका छन् । 

    उनले भनेका छन्  - नेपालमा कोरोना संक्रमण बढिरहेको अवस्था छ । कोरोना संक्रमण ९५ % ले सजिलै जितेको अवस्था छ भने बाँकी ४.४ % लाई अस्पतालका देवीदेवताले बचाएका छन् । कोरोना भाइरसको शक्तिभन्दा हजारौं गुणा डरको कारण हामीहरु दिनप्रतिदिन कमजोर बन्दै गएका छौं । कोरोना संक्रमण भयो भने यी ३ अवस्था हुने हो ।
     
    १. सकभर संक्रमणबाट बच्ने हरसम्भव प्रयास गर्ने हो । घरमै बस्ने, बाहिर जानु परेमा अनिबार्य रुपमा सहि तरिकाले ( नाक र मुख राम्रोसंग छोप्ने गरि ) मास्क लगाउने, सम्भव भएसम्म ६ फिटको दुरी कायम गर्ने, भीडभाडमा नजाने, बन्द कोठामा भेटघाट नगर्ने हो। भाइरस सर्छ कि भनेर चिन्तित हुनु जरुरी छैन । चिन्ताले भाइरस नसर्ने होइन । व्यर्थ किन चिन्ता गर्ने ? किन पेनिक हुने ?
     
    २. यति गर्दागर्दै पनि संक्रमण सर्यो भने त्यसको सामना गर्नुको बिकल्प छैन । संक्रमण भयो भने होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा बस्ने। तलको लिंक अनुसार आफ्नो आहार, बिहार, आचार र ब्यबहारको पालना गर्ने हो । यसो गर्दा २ हप्तामा ठिक हुन्छ । 
     
    यदि कडा लक्षण देखिए ( सास फेर्न गाह्रो हुने, ज्वरो ४-५ दिनसम्म आउने, खान खान नसक्ने, अक्सिजनको मात्रा ९२ भन्दा घट्ने, ओंठ, नङ आदि निलो हुने, चक्कर लाग्ने आदि ) तुरुन्तै अस्पताल जाने हो । अस्पताल गएपछि निको हुन्छ । नेपालमा एक हजार संक्रमितमध्ये जम्मा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश व्यक्तिसंग बिबिध स्वास्थ्य समस्या हुन्छन् ।उपचारले उकेरा लगाएको जीवनलाई कोरोना भाइरसले फुकेर ढालेजस्तै हो | हामी कोरोना भाइरससंग डराएको हैन । मृत्यु तथा रोगसंग डराएको हो । रोग निको हुन्छ, मृत्यु शाश्वत छ ।
     
    ३. कोरोना संक्रमण / कोभिड निको भएपछि खानपिन, शारीरिक अभ्यास र आत्मबल वृद्धि गर्ने हो । पत्रपत्रिका, इन्टरनेट, टेलिभिजन, सामाजिक संजाल तथा असामाजिक संजालमा दुर्लभ केसलाई लिएर पस्किएका डरलाग्दा कुराको विश्वास गर्नुहुँदैन । संसारमा लाखौँ बैज्ञानिक र बिज्ञ छन् । उनीहरुले कोभिड लागेपछि कुन कुन अंगमा के असर गर्दो रहेछ भनेर अध्ययन गरेका हुन्छन् । जुन परिणाम प्राप्तिको लागि अनुसन्धान गरेका हुन्छन् , त्यस्तै रिपोर्ट निकाल्छन् ।
     
    सनसनीपूर्ण हल्लाको रुपमा कोरोना संक्रमण निको भएपछि फोक्सो, मुटु, कलेजो, किड्नी, मस्तिष्क, स्नायु आदि अंग खराब हुने, बच्चा नहुने, एक बर्षभित्र मृत्यु हुने, सधैको लागि दीर्घबिरामी हुने, मांशपेशी सधै गल्ने, मानसिक समस्या हुने आदि अनेक कुरा प्रकाशन प्रसारण गरिरहेका हुन्छन् । हामीले ती कुरा हेर्ने, होला त नि भन्ने, चिन्ता गर्ने काम नगरौं । 
     
    जुनसुकै रोग पनि निको भएपछि केहि हप्ता कमजोरी अनुभव हुन्छ । पौष्टिक खाना, शारीरिक सक्रियता, उच्च मनोबल, सकारात्मक सोंच तथा आफ्नो कामको व्यस्तताले ती पार्श्व प्रभाव हराउंदै जान्छन् । कुनै समस्या देखियो भनेपनि त्यसको उपचार हुन्छ । उपचार गरे निको हुन्छ ।
     
    हरेक व्यक्तिको शरीर, रोगप्रतिरोधात्मक क्षमता तथा जीवनशैली फरक फरक हुन्छ । अमुक ठाउँका केहि व्यक्तिलाई परिक्षण गरेर बायस स्टडीबाट आएका कुरा हामीलाई पनि हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन ।
     
    तसर्थ निको भएपछि भयो भयो भन्ने ठानेर आफ्नो जीवन सुचारु गर्ने हो । सूचना र समाचारको हाइ डोज नै तनाबको प्रमुख स्रोत हो । हाम्रो नन कोभिड जीवन निकै सुन्दर छ । त्यो सुन्दर जीवन बाँच्ने अभ्यास गर्यौं भने हामी स्वस्थ र निरोगी हुन्छौं । त्यसैले आउंदै नआएको समस्याको लागि फेक चिन्ता नगरौं | हुँदै नभएको कुराको डर नमानौं ।


    कार्तिक ६, २०७७ बिहिवार ०९:१४:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डा. रवीन्द्र पाण्डे

  • क्यानाडानेपाल डेस्क

    आफू अघाएपछि सरकारले हात उठाउन मिल्छ भने जनताले पनि हात उठाउन किन मिल्दैन ?

    Canada Nepal

    कार्तिक ३

  • 1.6K
    SHARES
  • आफू अघाएपछि सरकारले हात उठाउन मिल्छ भने जनताले पनि हात उठाउन किन मिल्दैन ?

    -करोड़पति ओलीले उपचारका लागि राज्यबाट बारम्बार करोडौं रुपियाँ लिनुभो - जनताले हात उठाएनन् !

    -सर्प पाल्ने नाममा झलनाथ खनालले नगरपालिकादेखि केन्द्र सरकारसम्मबाट बारम्बार करोडौं रुपियाँ लिँदै आउनुभएको छ- जनताले हात उठाएका छैनन् ।

    -सिङ्गो विश्व, देश र जनता महामारीसँग जुध्दै गर्दा तपाईंहरू पार्टी फुटाउने अध्यादेशदेखि सांसद अपहरण र आफ्नै सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउन व्यस्त देखिनुभो - जनताले हात उठाएनन् । 

    -आजसम्म बालुवाटारदेखि शीतलनिवाससम्मका गतिविधि, खर्च या बैठक पार्टीका भागबण्डा र कसले कसलाई सिध्याउने भन्नेमैं सीमित रहे । सधैँ कोभिड़भन्दा ठूलो मुद्दा बामदेव रहे - र पनि जनताले हात उठाएका छैनन् । 

    -मच्छिन्द्रनाथको रथ जात्रालगायतका धेरै धार्मिक-सांस्कृतिक कार्यक्रममाथि रोक लागे पनि सयौंको भीड़ जम्मा गरेर पार्टी प्रवेश गर्न, उद्घाटन गर्न, राष्ट्रपति भवनमा पार्टीका नेतालाई भोज दिन कुनै कानुनले छेकेको छैन - तर जनताको हात यहाँ पनि उठेको छैन । 

    -नक्कली सुकुम्बासी बनेर राज्यकोष चुस्ने विष्णु पौडेलहरूलाई नै कारबाहीको साटो निर्लज्ज रूपमा राज्यकोषको चाबी थमाइएको छ - फेरि पनि जनताले हात उठाएका छैनन् । 
    -विदेशी माटोमा अलपत्र मजदुरलाई बीस हजारको हवाइ भाड़ा सत्तरी हजारमा बेचियो, कवारेन्टीनको नाममा होटेलसँग कमिशनको डिल भयो र ती निमुखाको रगत चुस्ने काम भयो । अझै पनि कति धेरै नागरिक बेख़र्ची भएर अलपत्र छन् - खै कतै कसैले हात उठाएका छैनन् । 

    -सेनाको नाम बेचेर ओम्नीकै सामान ल्याइएपछि सेना मेडिकल सामग्री आयातबाट पछि हट्न बाध्य भयो । अरबौं ख़र्चेर ल्याइएका सामग्री नक्कली निस्किए ।  रक्षामन्त्री नै फेर्नुपर्ने अवस्था आयो - तर पनि जनताको हात उठेको छैन । 

    -किसानले मल पाएनन् । उत्पादन गरेर जीविका चलाउनेले बजार पाएनन् । दैनिक ज्यालामजदूरी गरेर पेट पाल्नेहरू सड़कमा एक छाक खानाका लागि लाइन लागे । कति धेरै नागरिकले उपचार पाएनन् र एम्बुलेन्समैं हस्पिटल चहार्दै ज्यान गुमाए । बोर्डरमा आएर पनि आमाको किरिया बस्न देश छिर्न पाएनन् । अहिले भेन्टिलेटर कहीँ कतै खाली छैन, दिनहुँ कतिले ज्यान गुमाउँदै छन् । न आर्थिक सहयोग, न कर छुट, न कुनै सुविधा । सक्ने बाँच, नसक्ने जति मर जस्तो अवस्था छ । खै त जनताको हात उठेको छैन !
    ए सरकार !

    आज आएर कसरी अचानक तिम्रो मात्र हात उठ्यो ? महामारी  व्यक्तिगत समस्या होइन । यो देशको जिम्मेबारी हो । चरम पूँजीवादी देशले समेत हात उठाउन सकेका छैनन् भने  आफूलाई समाजवादी दाबी गर्ने तिम्रो हात एक्कासि कसरी उठ्यो ? 

    राजश्वले धानेन भनेर मन्त्री, सांसद, सल्लाहकार या कर्मचारीको सङ्ख्या घटेको छैन । तिनको तलबभत्ता, तामझाम र भ्रष्टाचार घटेको छैन । भूकम्प गए सबैभन्दा पहिले त्रिपाल तिनैले पाउँछन्, कोभिड़मा हप्तामैं दुई पल्ट तिनले पिसीआर गर्न पाउँछन् । भान्जाभान्जीलाई जागीर चाहिए तत्काल नयाँ आयोग बन्छ, नियुक्ति हुन्छ । 

    आफू मात्रै चुस्ने, मोटाउने र डकार्ने तर आम जनताको जीवनमरणको सवाल आउँदा हात उठाउने तिमीलाई म मेरो सरकार कसरी भनूँ ? तिम्रा ओम्नीदेखि यति ग्रुपसम्म पाल्नकै लागि मैले पेट काटेर कर किन तिरूँ ?  भन त सरकार, आफू अघाएपछि तिमीले हात उठाउन मिल्छ भने जनताले पनि हात उठाउन किन मिल्दैन ? - नारायण गाउँलेको फेसबुकबाट


    कार्तिक ३, २०७७ सोमवार १८:१९:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नारायण गाउँले

  • स्वास्थ्य मन्त्रालयको निर्णय यस्तो हुनुपर्थ्यो –  डा. रवीन्द्र पाण्डे

  • 822
    SHARES
  • स्वास्थ्य मन्त्रालयको निर्णय यस्तो हुनुपर्थ्यो –  डा. रवीन्द्र पाण्डे

    काठमाडौं  -  नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको समयमा डा. रवीन्द्र पाण्डेले कोरोनाको रोकथाम तथा नियन्त्रण र यसबाट बच्ने बिभिन्न उपायहरुको बारेमा सामाजिक सञ्जालमार्फत जानकारी दिइरहेका छन् । यस्तै सोमबार पनि डा. पाण्डेले स्वास्थ्य मन्त्रालयको निर्णय यस्तो हुनुपर्ने बताएका छन् ।  

    स्वास्थ्य मन्त्रालयको निर्णय यस्तो हुनुपर्थ्यो – 
    १. सरकारी अस्पतालमा परिक्षण तथा उपचार पुरै निशुल्क हुनेछ ।
    २. नीजि अस्पतालले सरकारले तोकेको भन्दा बढी उपचार शुल्क लिन पाउने छैन।
    ३. होम आइसोलेसनमा कुनै पनि व्यक्तिको मृत्यु हुने अवस्था राज्यले दिने छैन । अपवाद स्वरूप मृत्यु भएमा सरकारले शब ब्यबस्थापन गर्नेछ ।
    ४. यी मेडिकल कलेजहरु, यी ठूला नीजि अस्पतालहरु र यी ठूला सरकारी अस्पतालहरुलाई कोभिड डेडिकेटेड अस्पतालको रुपमा परिणत गरिएको छ ।
    ५. यी साना अस्पताललाई नन कोभिड अस्पतालको रुपमा परिणत गरिएको छ।
    ६. नीजि अस्पतालको २० % सिट न्यून आय भएका व्यक्तिलाई निशुल्क उपचार गर्न छुट्याइएको छ ।
    ७. पिसिआर टेस्टको शुल्क एक हजार कायम गरिएको छ ।
    ८. सरकारले RT PCR, Pool Method, Direct PCR, Antigen kit, Antibody test, chest x ray, CT scan लगायत सबै मेथड अपनाएर परिक्षणको दायरा ब्यापक बनाइनेछ | संक्रमितलाई होम आइसोलेसन, संस्थागत आइसोलेसन तथा कडा लक्षण देखिएका संक्रमितलाई अस्पतालमा राखेर कोरोना संक्रमण समुदायमा सर्न दिइने छैन |
    ९. निम्न आय भएका बर्गलाई मास्क, साबुन तथा ठोस राहत स्थानीय निकाय मार्फत उपलब्ध गराइनेछ | व्यवसायीलाई कर तथा लोनमा सहुलियत दिइनेछ।
    १०. हरेक बस्ती, टोल, गल्ली, चोक, तरकारी बजार, बस लगायत भीडभाड हुने ठाउँमा सबै प्रकारका सुरक्षाकर्मी परिचालन गरेर जनस्वास्थ्यका मापदण्ड अनुगमन, निगरानी तथा कार्यान्वयन गराइनेछ।

    ११. अनियमितताको आरोप लागेका व्यक्तिहरुलाई छानबिन गरेर असुलउपर गरिनेछ । 
    १२. ब्यापक रुपमा नागरिक परिचालन गरेर जनचेतना महाअभियान संचालन गरिनेछ ।


    कार्तिक ३, २०७७ सोमवार ०९:३७:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डा. रवीन्द्र पाण्डे

  • क्यानाडानेपाल डेस्क

    लालच सृजित मानव अन्तर्द्वन्द्व

    हरि ओझा

    कार्तिक २

  • 836
    SHARES
  • लालच सृजित मानव अन्तर्द्वन्द्व

    शरीरका औँलाहरुमा त एकरुपता पाइँदैन भने सम्पूर्ण मानव कसरी समान हुन सक्दछ ? यिनै भिन्न भिन्न बनोट, सोच,   क्षमता र कार्यको समस्टिगत रुपनै समाजको सुन्दर पक्ष वा अस्तित्व हो। मानिसले जन्मपश्चात मृत्यु प्रयन्त केवल आफ्नो क्षमाताको मात्र प्रदर्शन गरिरहेको  हुन्छ।

    आफ्नो कार्यकौशल प्रस्तुत गरिरहँदा उसले आफ्नोप्रतिद्वन्दी सिवाय अन्य केही प्राप्त गर्न असर्मथ रहन्छ। यस प्रदर्शनको दौडमा अन्ततः उसले आफ्नो सम्पूर्ण अस्तित्व गुमाई अन्य व्यक्तिमा आफुलाई समाहित गरिरहेको हुन्छ, जुन कुराको भान उसलाई कहिलै चेत हुँदैन। उसले सम्पूर्ण रुपमा आफुलाई मिटाई  अन्य शरीरमा ढालिसकेको हुन्छ।

    जब खुर्शानीले  पिरोपनको स्वाद वा कुनै मादक पदार्थ सेवन गर्दा त्यस तत्वले मदक्त्वको प्रारुप देखाउँदैन भने के ति पदार्थ हामीले प्रयोग गरौला त ? मानिसले सुख प्राप्तिका नाममा आफ्नो सम्पूर्ण जीवन कुनै आलंकारिक वस्तु पाउनुमा विलयमान  गराइदिन्छ । जबकि सत्य के हो भने दुःखका उकाली ओरालीनै सुखम् प्राप्ति हो, जुन कुराको महसुस केबल भूतमा मात्र प्राप्त गर्छौं ।

    वर्तमान समयमा त दुःखका पाना पल्टाउने हो, सुखको अनुभूति समय, उमेर र सामाजिक बनावट सँगै भिन्न–भिन्न किसिमका हुँदा रहेछन् । जुन सुख पाउने दौडमा हामी लागिरहेकाछौँ,  त्यहाँ अशान्ति र दुःख सिवाय अन्य केहि उपलब्धता हुँदैन भने यसैबीच केहि तिता मिठा पलहरु मनमा तरंगित भैरहेको पाउछौँ।

    यस दृष्टिकोणबाट नियाल्दा मनुष्यको विकासक्रमसँगै आदिम कालमा आफ्नो आवश्यकता अनुरुप कबिलाहरुको गठन हुन थाल्यो । यस्ता  झुन्ड्को सामुहिक्ता हुँदाका बखतसम्ममा  मानिसले आगो साथै आफ्नो सुरक्षाका नीमित विभिन्न हातहतियार निर्माण गर्न निपूर्ण भैसकेको थियो । 

    तात्कालिन् समयमा कबिलाहरुको आफ्नै भाषा, संस्कृति, परम्परा, रीतिरिवाज र आफ्ना समुदायका निमित खानाको जोहो कसरि गर्ने भन्नेमा बित्थ्यो। उनीहरु बीचमा प्रतिस्पर्दा हुँदो हो त केबल खाना र यौन क्रिडाका निमित्त ।  एउटा बालिस्ट समुहले  आफुभन्दा कमजोर समुहलाइ शरण दिने वा उनीहरुमाथि आफ्नो हुकुमत चलाउने प्रक्रिया चलिरहन्थ्यो ।

    तसर्थ  समजको अस्तित्व भनेकै वर्ग संघर्षको उपज हो । उन्नाइसौ शताब्दीको अन्त्यतिर आइपुग्दा विश्वमा भौतिक विकासको  चरम उत्कर्षमा पुगेको पाईन्छ। यसै क्रमागत उन्नतीसँगै समाजमा सम्पन्नता र विपन्नताबीचको खाडल झनैँ गहिरिँदै गहिरहेको छ । जुन समाजमा आर्थिक विषमताको ज्यादा अन्तर हुन्छ, त्यस समाजमा अशान्तिको ज्वाराभाट चलिरहन्छ। जसको उपज समय समयमा नवमार्ग दर्शकको जन्म भइदिन्छ ।

    आम व्यक्ति वा समाजले बुझ्दा त्यो मसिहा पनि समाजकै  बीजारोपण हो भन्नेमा कसैको दुईमत हुँदैन, तर समयको केही अन्तरालपछि त्यस अधिनायकको वास्तविकता बाहिरन  थाल्दछ वा उसलाई पनि नग्नबनाइ पुनः चौबाटोमा उभ्याइन्छ, क्रमसँगै फेरि नयाँ मुख्तियारको खोजमा यस आधुनिक, सभ्य भूमण्डलीकृत समाज भनौँदो पुनः लाग्दछ। इतिहास हेर्दा आफ्नो जीजिविशाका निमत्त गरिएको आन्दोलनसँगै अहिले आएर आधुनिक जगतमा आफ्नो  वर्चस्व कसरी कायम गर्ने भन्ने होडबाजीमा विश्व लागि रहेकोछ ।

    विश्वमा भएका क्रान्तिm देखिएका महामारी, जसमा आममानिसको नरसंहार भएको थियो, यी सम्पुर्ण वारदातलाई क्रमवद्ध रुपमा केलाउने हो भने यसबाट केवल एउटै उत्तर आउँछ, त्यो के हो भने प्रारुप वा परिस्थिति बदलिएको तर मनसुवा भने हुकुमत शैलीकै निरन्तरता हुन आउँछ ।  ‘आफै बोक्सी आफै धामी’ एकातिर विश्व शान्तिको नारा  जपिन्छ भने अर्कोतिर क्रान्तिबिना शान्ति असम्भव  भन्ने पाठ पढाइन्छ । 

    शान्ति वा सम्पन्नताका सपना देखाइ  सभ्य समाजले गरिने क्रान्तिका उपर हर मनुष्यलाई हमेशा रुद्ररुप धारण गराइ आन्दोलित मनस्थितिमा हरपल तयारी अवस्थामा व्यतित गराइन्छ । मानिस केही मात्रामा हिंस्रक स्वभाव पनि हुन्छ, त्यसमाथि अलिकति बुद्धिमताको लेप लगाइसकेपछ उसलाई यस धर्तीमा रोक्ने को ? अनि यस धर्तीका बिभिन्न उदरबाट सुरिलो गुन्जयमान ध्वनिको प्रार्दूभाव  गराइन्छ, आतंकवादमा विश्व भनि ।

    संसारका केही सिर्जित अतिवादी र आतंकवादी संगठनहरुको गठन, उद्देश्य र लक्ष्य प्राप्तिका प्रक्रिया अध्ययन गर्दा यी संगठन आफैँमा दिशाहिन र अन्योलग्रस्त देखिन्छ । त्यसमध्ये केहीले आफ्नो उद्देश्य प्राप्ति  गरे पनि त्यस प्रगतिको स्थायित्वको संरक्षण गर्न भने असमर्थ रहेको पाइन्छ । जबसम्म कुनै प्रगतिको रक्षा वा स्थायित्वको साख राख्न सकिँदैन भने त्यस्तो उपलब्धीको कुनै औचित्त रहँदैन बरु त्यस संघर्षपछिका कहालिलाग्दो विवशता क्षणको कल्पनासमेत गर्न नसकिने परिणमहरु हाम्रा समक्ष आइलाग्दछन् । 

    संसारका केही सम्पन्न, शिक्षित् , सभ्य र भव्य  शाक्तिका पिपासु रास्ट्रले आफ्नो निजी स्वार्थ पूर्तिका निमित्त अफुभन्दा कामजोर वा आफ्नै आर्थिक हैसियत बराबरका देशहरुमा जात जाति, धर्म, संस्कृति, परम्परा साथै आर्थिक विकासका नाममा आन्तरिक एवम् अन्तरदेशिय मुकाबिला सुसुप्त  रुपले गराएका कयौँ उदाहरण पाउन सकिन्छ । सिरिया, अफ्गानिस्तन, सुडान, लिबिया, हङकङ, अर्मेनिया, अजरबैजान यी राष्ट्रमा खेलिएको खुनको होली त केहि प्रतिनिधि घटना र मुलुक मात्रै हुन् । 

    उभार र मानव जातिको उन्नतिका  नारा बोकेर सके प्रत्यक्ष नसके कुनै संघ संस्थाका नममा प्रवेश गर्ने र आफ्नो राजनैतिक हैसियत निर्माण गरि त्यसदेशमा अंतरद्वन्द्व सिर्जना गराई आफ्नो स्वार्थपूर्तिका निमित शक्ति सम्पन्न राष्ट्रहरुमा जबसम्म पौँठेजोरी चलिरहन्छ, तबसम्म यस धर्तिले शान्तिको अनुभूति गर्नेछैन। जसरी खहरे शान्त रहन सक्दैन वा सूर्यको तेज कहिले कम हुदैन त्यसैगरि  अशान्त मन र तेज् रापलाई निस्तब्धताका साथ अँगाली जीवनलाई बगाइदिनु बुद्धिमत्ता होला ।

     


    कार्तिक २, २०७७ आइतवार १७:३८:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मानव
  • # अन्तर्द्वन्द्व

  • हरि ओझा

    दशैंमा जेष्ठ नागरिक र दीर्घबिरामीलाई बचाऔं - डा. रवीन्द्र पाण्डे 

  • 808
    SHARES
  • दशैंमा जेष्ठ नागरिक र दीर्घबिरामीलाई बचाऔं - डा. रवीन्द्र पाण्डे 

    काठमाडौं  -  नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको समयमा डा। रवीन्द्र पाण्डेले कोरोनाको रोकथाम तथा नियन्त्रण र यसबाट बच्ने बिभिन्न उपायहरुको बारेमा सामाजिक सञ्जालमार्फत जानकारी दिइरहेका छन् । यस्तै शनिबार पनि डा. रवीन्द्र पाण्डेले दशैंमा जेष्ठ नागरिक र दीर्घबिरामीलाई बचाउनुपर्ने बताएका छन् । 

    उनले भनेका छन् - काठमाडौं उपत्याका लगायत देशका प्रमुख सहरमा कोरोना संक्रमण निकै फैलिएको छ । दशैंमा मान्यजनसंग टिका, जमरा लगाउने तथा आशिर्बाद ग्रहण गर्ने हाम्रो परम्परा रहेको छ ।  यसपटक हामी विषम परिस्थितिमा छौं । कोरोना संक्रमण भयो भने कसलाई कुन रुपमा असर गर्छ भन्ने यकिन छैन । देशैभरका अस्पतालका बेड, आइसीयु, भेन्टिलेटर संक्रमितले भरिएका छन्। यहि अवस्था रहेमा उपचार नपाएर मृत्यु हुने सम्भावना बढेको छ । तसर्थ निम्न लिखित उपाय अबलम्बन गर्न अनुरोध गर्दछु। 
     
    १. जेष्ठ नागरिकलाई बचाऔं 
    - दशैमा यो पटक हाम्रा पूजनीय तथा मान्यजनकहाँ टिका लगाउन जाने नगरौं । घरमा जेष्ठ नागरिक हुनुभएका परिवारका अन्य सदस्यले आफन्त तथा जेष्ठ नागरिकलाई संक्रमणबारे बताएर यो पटक फोन वा इन्टरनेटको माध्यमबाट मात्र आशिर्बाद तथा शुभकामना लेनदेन गरौँ । औपचारिकता निभाउँदा वा कसले के भन्ला ? भनेर चाडपर्व मनाउँदा जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई संक्रमण सर्यो भने उहाँहरुको जीवन नै जोखिममा पर्न सक्छ । तसर्थ पहिले खोप लगाऔं अनि टिका लगाउँला । 

    - आदरणीय छोरा, बुहारी, छोरी, ज्वाईं, भान्जा, भान्जी, नाति, नातिनी तथा छिमेकीगणहरुले यो पटक आफ्ना बुवा, आमा, हजुरबुवा, हजुरआमा, मामा, माइजु, काका, काकी, सासु, ससुरा लगायत मान्यजनलाई आफैले फोन गरेर यो पटक हामी आउदैंनौं भनेर कन्भिन्स गरौँ। 

    - हाम्रा उमेर पुगेका जेष्ठ नागरिकले कोरोना संक्रमणको गम्भीरता नबुझेर वा अर्को साल के हो ? के हो ? भन्ने सोंचेर टिका लगाउने ढिपी गर्न सक्नुहुन्छ। उहाँहरुलाई कन्भिन्स गरेर हुन्छ कि सुरक्षित ठाउँमा राखेर हुन्छ, यो ब्यबस्थापन गर्ने जिम्मेवारी पुरा गरौँ । 
     
    २. काठमाडौं लगायत सहरमा बसिरहेकामध्ये जुन व्यक्ति तथा परिवार माघसम्म गाउँमा बस्ने, महामारी र महंगीबाट बच्ने तथा गाउँमा नै केहि गर्ने सोंच छ भने उहाँहरु गाउँ जानु सुरक्षित हुन्छ। तर कर्मचारी / ब्यापारी आदि जो टिका लगाएर तुरुन्तै फर्किने सोंचमा हुनुहुन्छ भने कृपया गाउँमा नजानुहोला। हाम्रो कारण मान्यजनलाई रोग सर्यो र उहाँहरुलाई जोखिम भयो भने जीवन पश्चातापमा बिताउनुपर्ने हुन्छ। तसर्थ लामो समय गाउँमा बस्न नमिल्ने व्यक्तिहरु अहिले जो जहाँ छौं, त्यहिं बसौं। 
     
    ३. घरबाहिर जस्तै आँगन, बरण्डा तथा कम्पाउण्डभित्र खुला ठाउँमा बसेर, सबैले मास्क लगाएर, टिका लगाइदिने व्यक्तिले सम्भव भएमा मास्क तथा फेस सिल्ड लगाएर, प्रत्येक पटक ह्याण्ड स्यानिटाइजरले हात सफा गरेर तथा दुरी कायम गर्न हातमा टिका / जमरा दिने गरौँ। टिका लगाउने ठाउँमा एकपटक पनि मास्क नखोलौं । दक्षिणा खामभित्र राखेर मात्र दिने गरौँ। टिका लगाउने ठाउँमा पानी, खाना, खाजा, चिया आदि यसपटक केहि पनि खानपिन नगरौं। यसो गर्दा मास्क खोल्नुपर्दैन, सामानबाट भाइरस सर्दैन।टिका लगाउने ठाउँमा १-२ मिनेटभन्दा धेरै नबसौं। टाढा बसेर पालो कुरौं !
     
    ४. बलि, जात्रा, पारम्पारिक नाचगान तथा भेटघाट यो पटक स्थगित गरौँ।
     
    ५. बालबालिका, जेष्ठ नागरिक तथा दीर्घबिरामी गाउँ जानु परेमा सार्वजनिक यातायात प्रयोग नगरौं। माइकोबस वा टाटा सुमो रिजर्भ गरेर जाने गरौँ। एकै ठाउँ जाने व्यक्तिहरुले बस रिजर्भ गरेर जाँदा थप सुरक्षित हुन्छ।
     
    ६. दशैं, तीहार, न्युंदयाँ आदि चाडपर्वमा मानिसको आवतजावत र ओहोरदोहोर रोक्नको लागि सरकारले बिशेष सुरक्षा योजना कार्यान्वयन गरो। भन्न नमिल्ने, यो १ महिना जनतालाई राहत दिएर तथा व्यवसायीलाई सहुलियत दिएर कडा कर्फ्यु वा लकडाउन गर्ने हो भने  महामारी ६० % भन्दा धेरै नियन्त्रण हुनेथियो। लाखौं व्यक्तिलाई संक्रमणबाट बचाउन सकिन्थ्यो । अस्पतालले धान्ने अवस्था आउने थियो। यसै पनि  चाडपर्वमा ब्यापार हुँदैन ।
     
    ७.  सहि तरिकाले अनिबार्य रुपमा मास्क लगाउने, सुरक्षा दुरी कायम गर्ने, भीडभाड नगर्ने, भीडमा नजाने, भेन्टिलेसन भएको ठाउँमा बस्ने तथा हातको नियमित सफाइ गर्ने कुरामा हामी लापरबाह हुने हो भने हामीलाई प्रत्येक पाइलामा खतरा छ। संक्रमण भएर अस्पतालमा बस्नुपर्यो भने त्यो अवस्था अकल्पनीय हुनसक्छ। तसर्थ हामी सबैले स्व अनुशाशन पालना गरौँ।
     
    ८. सरकारले ब्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरेर हरेक टोल, बस्ती, गल्ली आदिमा गस्ती गर्ने, माइकिंग गर्ने, अनुगमन तथा निगरानी राख्ने गर्नु ढिलो भइरहेको छ | जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने व्यक्तिलाई पालना गराउने, जरिवाना लगाउने तथा राज्यसँग विश्वास र डरको बाताबरण बिकास गर्ने काममा राज्य असफल हुनु हुँदैन। 
     
    ९. खसी बजार, तरकारी पसल, फुटपाथ पसल आदिलाई खुला ठाउँमा मापदण्ड अपनाएर संचालन गर्ने / गराउनेमा सम्बन्धित निकायको ध्यान जानु जरुरी छ।
     
    १०. धेरै संक्रमितले परिक्षण गरेका छैनन्, संक्रमितले पनि आफ्नो पहिचान लुकाएका छन्, लक्षणविहिन संक्रमित धेरै छन्। दैनिक परिक्षणमा २० – ३० % संक्रमित देखिएका छन्। यसको अर्थ हरेक ५ जनामा १ जना संक्रमित छन्। चाडपर्वको भीडभाडले संक्रमण फैलिने निश्चित अवस्था छ। आइसीयु, भेन्टिलेटर, क्रिटिकल केयर बिज्ञहरु / नर्सहरु मात्र हैन आइसोलेसन बेडको पनि अभाव भइसकेको छ। त्यसैले आफ्नो, परिवारको, आफन्तको तथा समाजको जीवनरक्षा गर्नु हामी सबैको कर्तब्य हो। चाडपर्व हरेक साल हुन्छन् तसर्थ यो पटक जोखिम बर्गलाई बचाउने काम गरौँ। यसबाट हामी सबैलाई ठूलो पून्य आर्जन हुनेछ।


    कार्तिक १, २०७७ शनिवार ११:३१:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डा. रवीन्द्र पाण्डे

  • क्यानाडानेपाल डेस्क