• Oct 31 2020 | २०७७, कार्तिक १५गते

२०७७, कार्तिक १५गते

यो साता चर्चामा:

‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को व्यावहारिक अभ्यासमा छौं - प्रधानमन्त्री ओली

क्यानाडानेपाल डेस्क आश्विन ३० २०७७
  • 522
    SHARES
  • ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को व्यावहारिक अभ्यासमा छौं - प्रधानमन्त्री ओली

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपालमा गरिबीको कारण ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेको बताउनुभएको छ । 

    उहाँले ४० औँ विश्व खाद्य दिवसको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूत गर्ने अभियानलाई सार्थक बनाउन सरकार लागिपरेको बताउनुभएको छ ।

    “नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूत गर्नु लोक कल्याणकारी राज्यको दायित्व हो । त्यसका लागि हामीले खाद्य सम्बन्धी हकलाई मौलिक हकको रुपमा संवैधानिक व्यवस्था गरेका छौँ,” उहाँले सन्देशमा भन्नुभएको छ, “उक्त हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभूता सम्बन्धी ऐन, २०७५ समेत जारी गरी हरेक नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभूतालाई कानूनी अधिकारको रुपमा स्थापित गरिएको छ ।”

    प्रधानमन्त्री ओलीले राज्यले लोक कल्याणकारी दायित्व निर्वाह गर्ने ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ अभियानलाई अघि बढाउँदा त्यसलाई सफल बनाउनु आम नागरिकको दायित्व भएको बताउनुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “जनताको खाद्य सुरक्षाको हक स्थापित गर्ने यस प्रयासमाथि अवरोधात्मक प्रचारबाजी भन्दा सहयोगात्मक अभियान अघि बढ्नुपर्दछ भन्ने म ठान्दछु ।” 

    प्रधानमन्त्री ओलीले हाम्रो दीगो विकास लक्ष्यमा ‘भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्ने र दीगो कृषि प्रणालीको प्रवद्र्धन गर्ने’ उल्लेख गरिएको बताउँदै यसबाट निर्देशित रही कृषि विकास रणनीति, शून्य भोकमरी चुनौती एवं बहुक्षेत्रीय पोषण योजना दोस्रो लगायत क्षेत्रगत नीति र योजनाले खाद्य तथा पोषण सुरक्षा हासिल गर्न उपयुक्त रणनीति र कार्यनीतिको प्रभावकारी कार्यान्वयन हुँदै आएको जानकारी दिनुभयो ।

    “चालु १५औँ योजनाले खाद्य असुरक्षा तथा पोषणको जोखिममा रहेका क्षेत्र र समूहको आधारभूत खाद्य उपलब्धताको सुनिश्चितता, कृषि तथा गैरकृषिजन्य उद्यममार्फत् आयआर्जनमा सुधार गरी खाद्य पहुँचमा वृद्धि र खाद्यवस्तुको स्वच्छता अभिवृद्धिमार्फत् खाद्य सम्प्रभूता, दीगो खाद्य तथा पोषण सुरक्षासहितको समाज निर्माण गर्ने सोच लिएको छ”, उहाँले सन्देशमा भन्नुभएको छ, “मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने सरकारको सङ्कल्प जनताको खाद्य सुरक्षाको सफलतासँग जोडिएको छ ।” 

    उहाँले १० वर्षमा कृषि उत्पादकत्व दोब्बर गर्न, कृषिको आधुनिकीकरण र व्यावसायीकरणको योजनासहित कृषि पूर्वाधारमा ठूलो लगानीका साथ नेपाल सरकार क्रियाशील रहेको उल्लेख गर्दै बाली लगाउनुपूर्व नै प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य तोकी यसको बजारीकरण र कृषकको बचतलाई सुनिश्चित गर्ने नीति अङ्गिकार गरिएको बताउनुभएको छ । 

    ‘हाम्रो पहल ः दीगो कृषि, पोषिलो आहार’ भन्ने नेपाली नाराका साथ ४०औँ विश्व खाद्य दिवस मनाउन गइरहेका छौँ उहाँले सन्देशमा भन्नुभएको छ, “यो नाराले खाद्य सुरक्षा तथा खाद्य सम्प्रभूताका लागि कृषि, जैविक विविधताको संरक्षण, संवद्र्धन तथा उपयोग गर्दै उत्पादनको विविधिकरण गर्नुपर्ने, प्राकृतिक स्रोतसाधनको संरक्षण तथा त्यसको न्यायसङ्गत प्रयोग गर्नुपर्ने, खाद्य शृङ्खलामा भएका नोक्सानी कम गर्नुपर्ने, सुरक्षित तथा पोषिलो खानाको उपयोगमा वृद्धि गर्नुपर्ने, कोभिड–१९ महामारीको समयमासमेत खाद्य उत्पादन तथा आपूर्तिमा संलग्न समग्र आपूर्ति शृङ्खलाका कर्मशील किसान, श्रमिक तथा उद्यमीप्रति सम्मान तथा संरक्षण, जीविकोपार्जनमा सुधार गर्नुपर्ने विषयलाई उजागर गरेको छ ।”

    प्रधानमन्त्री ओलीले संविधानले कृषि तथा खाद्य सुरक्षा सम्बन्धी विषय सङ्घ, प्रदेश सरकार र स्थानीय तहको अधिकार सूचीमा राखेको उल्लेख गर्दै दीगो कृषि विकास तथा पोषिलो आहारको सुनिश्चतता कायम गर्न तीनै तहका सरकारको तालवद्ध र समन्वयात्मक प्रयास अपरिहार्य रहेको बताउनुभएको छ । 

    सरकारले लिएका नीतिको सफल कार्यान्वयनका लागि प्रदेश सरकार र स्थानीय तहहरुलाई हातेमालो गरी अघि बढ्न उहाँले आह्वान गर्नुभयो । प्रधानमन्त्री ओलीले कोभिड– १९ को विश्वव्यापी महामारीका कारण जनताको स्वास्थ्य तथा राष्ट्रको सामाजिक तथा आर्थिक जीवनमा विषम परिस्थितिको सामना हामीले मात्र नभइ सम्पूर्ण विश्व कोभिड–१९ महामारीबाट आक्रान्त बनेको बताउनुभयो । 

    “हाम्रोजस्तो सानो अर्थतन्त्र भएको मुलुक तथा यहाँका सीमान्तकृत किसान समुदायमा यसले झन् ठूलो नकारात्मक प्रभाव पारेको छ,”उहाँले सन्देशमा भन्नुभएको छ, “यस महामारीका नकारात्मक असरबाट कृषि क्षेत्रलाई बचाउन र खाद्य सुरक्षा तथा उपलब्धताको सुनिश्चितताका लागि अग्रसर हुन सम्वद्ध निकायलाई म आह्वान गर्दछु । ”रासस
     


    आश्विन ३०, २०७७ शुक्रवार १८:२३:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री केपी शर्मा ओली

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    ओलीसँग रिसाए प्रचण्ड, बालुवाटारका दूत खुमलटारमा ओइरो

  • 1.1K
    SHARES
  • ओलीसँग रिसाए प्रचण्ड, बालुवाटारका दूत खुमलटारमा ओइरो

    काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्बन्धमा तिक्तता आएपछि अहिले बालुवाटारका विशेष दूतको ओइरो खुमलटारमा लाग्न थालेको छ ।

    प्रचण्डले अब ओलीसँगका हरेक हिसाब किताब पार्टीको बैठकमै हुने चेतावनी दिएपछि बालुवाटारका तीनजना विशेष दूतको खुमलटारमा दौडधूप लागेको हो ।

    बिहीबार बेलुका प्रधानमन्त्री ओलीले आफ्नो प्रियपात्र शंकर पोखरेललाई प्रचण्ड भेट्न पठाएका थिए । तर, प्रचण्डले पोखरेलमार्फत अब बालुवाटार नआउने पार्टीको बैठकमै सबै हिसाब किताब हुने सन्देश दिएपछि ओलीले शुक्रबार बिहान पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङलाई खुमलटार पठाएका हुन् ।

    प्रचण्डले सबैलाई एउटै सन्देश पठाएको बुझिएको छ । उनले अब आफू बालुवाटार नआउने अडान राखेका छन् । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग मिलेर प्रचण्डले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको सुइँको पाएपछि ओली तनावमा परेका हुन् ।

    त्यसैले उनले प्रचण्डसँग सम्बन्ध सुधारका लागि तारन्तार आफ्ना विशेष दूत खुमलटार पठाएको बुझिएको छ । यदि ओली एकलौटी ढंगले अघि बढे केही दिनभित्रै नेपालको राजनीतिमा अर्को परिवर्तन आउन सक्ने राजनीतिक विश्लेषकहरुले अनुमान गरेका छन् ।


    कार्तिक १४, २०७७ शुक्रवार १३:१९:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # ओली र प्रचण्ड

  • क्यानाडानेपाल डेस्क

    कमल थापा भन्छन्, नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल बन्ने खतरा भयो

  • 228
    SHARES
  • कमल थापा भन्छन्, नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल बन्ने खतरा भयो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल बन्ने खतरा भएको बताएका छन् । देशको अहिलेको अवस्थाले यस्तो स्थिति आएको उनको भनाइ छ ।

    श्क्रबार बिहान सामाजिक सञ्जालमार्फत थापाले देश अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको प्रतिष्पर्धास्थल बन्ने खतरा बढेकाले देशको स्वतन्त्रता र अस्तित्वबारे समयमै सबै सचेत हुनुपर्ने बताएका हुन् ।

    थापाले भारत र चीनसँगको सम्बन्धका बारेमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले अख्तियार गरेको रणनीतिको आलोचना पनि गरेका छन् ।


    कार्तिक १४, २०७७ शुक्रवार १२:३७:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कमल थापा

  • क्यानाडानेपाल डेस्क

    ओलीले बोलाउँदा पनि प्रचण्ड बालुवाटार जान मानेनन्

  • 318
    SHARES
  • ओलीले बोलाउँदा पनि प्रचण्ड बालुवाटार जान मानेनन्

    काठमाडौं । प्रधानमन्त्री केपी ओली केही दिनदेखि तनावमा छन् । पार्टीको किचलो सल्टने भन्दा पनि झन् बल्झन थालेपछि ओली तनावमा परेका हुन् । त्यससँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई विश्वासघात गरेको ठहरमा ओली पुगेका छन् ।

    भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त गोयललाई बालुवाटारमा रातो कार्पेट ओछ्याएको मूल्य ओलीले चुकाउनुपर्ने देखिएको छ । पार्टीका कसैलाई पनि जानकारी नदिई ओलीले भारतीय गुप्तचर प्रमुखलाई भेटेको विषयले नेकपामा ठूलै तरंग ल्याउने स्थिति देखिएको छ ।

    यो विषयलाई पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशक्त ढंगले अघि बढाउने संकेत दिइसकेका छन् । प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रभावशाली नेता भीम रावललगायतले प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर प्रमुख भेटेकोमा आपत्ति मात्र जनाएका छैनन्, यो विषयलाई पार्टीमा छलफल पनि गर्नुपर्ने बताउन थालेका छन् ।

    यो विषय जटिल बन्दै गएपछि बिहीबार प्रधानमन्त्री ओलीले आफूलाई भारतीय प्रधानमन्त्री मोदीले झुक्याएको गुनासो गरेका छन् । सरकारको प्रतिनिधि भनेर मोदीले गुप्तचर प्रमुख पठाएको उनको भनाइ छ । यता, दस दिनदेखि नेकपा अध्यक्ष प्रचण्डसँग संवाद ठप्प भएपछि ओली छटपटीमा परेका छन् ।

    ओलीले आफ्ना विश्वासपात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई काठमाडौं बोलाएर प्रचण्ड निवास खुमलटार पठाएका थिए । पोखरेलले प्रधानमन्त्रीले बालुवाटार बोलाएर ठोस कुराकानी गर्न चाहेको सन्देश दिए पनि प्रचण्डले त्यसलाई इन्कार गरेको बुझिएको छ ।

    आफू निकट नेताहरुलाई विरुद्धमा भड्काएर आफूलाई कमजोर बनाउन लागेको र पार्टी एकताको काम पनि टुंगोमा पुर्याउन ओलीले नचाहेपछि प्रचण्ड बालुवाटार जान अनिच्छुक देखिएको खुमलटार स्रोतले जानकारी दिएको छ ।


    कार्तिक १४, २०७७ शुक्रवार १२:११:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # बालुवाटारमा
  • # प्रचण्ड

  • क्यानाडानेपाल डेस्क

    शेखर कोइराला भने - दण्डहीनताले सीमा नाघिसक्यो

  • 378
    SHARES
  • शेखर कोइराला भने - दण्डहीनताले सीमा नाघिसक्यो

    काठमाडौं नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा दण्डहिनताले सिमा नाघिसकेको बताएका छन् । 

    बिहिबार सामाजिक सञ्जालमा डा  कोइरालाले पर्साका नेकपा नेता मुकुश चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न मुद्दा दर्ता गर्न प्रहरीले नलिएको बिषयमा टिप्पणी गर्दै देशमा दण्डहिनताले सिमा नाघिसकेको बताएका हुन् । उनले हामी कानूनी राज्यको कुरा गर्छौं। तर कहाँ छ कानूनी राज्य भन्दै प्रश्न गरेका छन् ।

    उनले भनेका छन् - 'दण्डहिनताले सिमा नाघिसक्यो। व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गर्न जाँदा प्रहरी मुद्दा दर्ता गर्न मान्दैन। तैपनि हामी कानूनी राज्यको कुरा गर्छौं। तर कहाँ छ कानूनी राज्य ? जनता न्याय माग्न कहाँ जाने ?'


    कार्तिक १३, २०७७ बिहिवार १४:२४:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेखर कोइराला

  • क्यानाडानेपाल डेस्क

    हरिबोल गजुरेलले प्रचण्डलाई छाडेर किन थामे ओलीको हात ?

  • 1.5K
    SHARES
  • हरिबोल गजुरेलले प्रचण्डलाई छाडेर किन थामे ओलीको हात ?

    काठमाडौं । सत्तारुढ नेकपामा नेताहरुबीच तीव्र धु्रवीकरण भइरहेको छ । पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीच एकता भई नेकपा गठन भएको हो । पार्टी एकता भएको साढे दुई वर्षमै अधिकांश माओवादी नेता एमालेकरण भइसकेका छन् । अर्थात् उनीहरूले अब माओवादी पक्षधरता त्यागेको देखिएको छ ।

    खुला रूपमा नभने पनि गृहमन्त्री रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, प्रभु साह, शक्ति बस्नेत अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको लोलीमा बोली मिलाउन लागेका छन् । उनीहरू सबै माओवादीका बलिया नेताहरु हुन् ।

    सबैभन्दा आश्चर्य त के छ भने कुनै समय पुष्पकमल दाहाल प्रचण्डका प्रवक्ता नै मानिने हरिबोल गजुरलेसमेत ओलीसँगै टाँसिएका छन् । गजुरेलले दिएका अभिव्यक्ति प्रचण्डको मानिने गरिन्थ्यो । तर, केही समयदेखि गजुरेलले प्रचण्डलाई सहयोग पुग्ने गरी कुनै अभिव्यक्ति दिएका छैनन् । बरु प्रधानमन्त्री ओलीको लोलीमा बोली मिलाउन लागेका छन् । ओलीलाई नै बलियो गरी गजुरेलले अभिव्यक्ति दिन थालेपछि प्रचण्ड निकै रुष्ट बनेको बताइन्छ ।

    नेकपा उच्च स्रोतका अनुसार केही समययता गजुरेल प्रचण्ड निवास खुमलटारसमेत जान छाडेका छन् । प्रधानमन्त्री ओलीले मन्त्री बनाउने आश्वासन दिएकाले गजुरेलले प्रचण्डको साथ छाडेको चर्चा नेकपामा हुन थालेको छ ।


    कार्तिक १३, २०७७ बिहिवार १३:३३:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हरिबोल गजुरेल

  • क्यानाडानेपाल डेस्क

    कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्ने

  • 328
    SHARES
  • कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्ने

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी कात्तिक २१ गतेका लागि बोलाइएको छ । यसअघि दुईपटक बोलाइए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो । 

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा केन्द्रीय समिति बैठक कात्तिक २१ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने उल्लेख छ ।

    ‘पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।  

    यसअघि आधा दर्जन केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेस बैठक स्थगित भएको थियो ।


    कार्तिक १३, २०७७ बिहिवार १३:०२:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कांग्रेस केन्द्रीय समिति बैठक

  • क्यानाडानेपाल डेस्क