• Nov 29 2020 | २०७७, मंसिर १४गते

२०७७, मंसिर १४गते

यो साता चर्चामा:

कोरोनाको महामारी बढेपछि फ्रान्समा फेरी लकडाउनको घोषणा

क्यानाडानेपाल कार्तिक १३ २०७७
  • 456
    SHARES
  • कोरोनाको महामारी बढेपछि फ्रान्समा फेरी लकडाउनको घोषणा

    पेरिस - फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोनले देशमा फेरी लकडाउनको घोषणा गरेका छन् । टेलिभिजनबाट सम्वोधन गर्दै उनले कोरोनाभाइरसको महामारी बढ्दै गएकाले लकडाउन लगाउनु परेको उल्लेख गरेका छन् ।

    नयाँ व्यवस्थाअनुसार कसेसम्म घर बाहिर निस्कनै नदिने र निस्कनु पर्ने अवस्थामा रहेकाहरुले कडा नियमहरु मान्नु पर्नेछ । बाहिर निस्कनु पर्नेहरुलाई फाराम भर्नु पर्ने व्यवस्था पनि गरिएको छ । अहिले घोषणा गरिएको लकडाउन आगामी डिसेम्बर १ तारिखसम्म लागु हुनेछ भने त्यसपछि निरन्तरता दिनु परेमा १५, १५ दिनमा थप्दै लगिने छ ।

    फ्रान्समा अप्रिलयता कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या उच्च भएको छ भने मंगलबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै अर्थात ३३ हजार जना नयाँ सङ्क्रमित भेटिएका छन् । “सङ्क्रमित र मृतकहरुको संख्या हेर्दा महामारीले फ्रान्समा डरलाग्दो अवस्था लिन सक्ने देखिएको छ,” म्याक्रोनले भने । उनले महामारीको दोस्रो चरण धेरै कठिन र विनाशकारी हुने देखिएकाले त्यस्तो खतरातर्फ जान नहुनेमा जोड दिए ।

    म्याक्रोनले महामारीको वेगलाई बढ्न नदिन फ्रान्सले अब “निर्मम तरिकाले ब्रेक“ लगाउनुपर्ने बताए । उनले कोरोनाका बिरामीको चापले फ्रान्सका अस्पतालहरूका सघन उपचार कक्षहरू आधा भरिसकेको जानकारी पनि दिएका थिए ।
    नयाँ घोषणा गरिएको लकडाउन शुक्रबारदेखि लागु हुनेछ । लकडाउनसँगै छिमेकी राष्ट्रहरुसँगको सिमाना पनि बन्द हुनेछ । प्रवेश गराउनै परेमा स्वास्थ्य परीक्षण गर्नु पर्नेलगायतका कडा मापदण्ड बनाइएको र त्यो पालना गरेपछि मात्रै प्रवेशका लागि अनुमती दिइने भएको छ ।

    भिडभाड गर्न हुन नपाइनेगरी यसअघि लगाइएको प्रतिबन्ध पनि कायमै रहेको उहाँले जानकारी दिएका छन् । लकडाउनका बेलामा रेस्टुरेन्ट बारहरू बन्द रहनेछन् भने विद्यालय र ठूला कारखानाहरु भने खुल्लै रहने जनाइएको छ । ठूला उद्योगहरु संचालन गर्न विषेश व्यवस्था गरिएको र ती उद्योगहरु संचालन भएपछि अर्थतन्त्र पनि धानिने उनको विश्वास छ ।

    राष्ट्रपति म्याक्रोनले स्वरोजगार व्यवसायी, पसलेहरु, साना व्यवसायीक प्रतिष्ठान, मध्यम व्यवसायीलगायतका लागि विषेश प्याकेज ल्याउने घोषणा पनि गरेका छन् । यसअघि, जर्मन चान्सलर एञ्जेला मर्केलले पनि आफ्नो देशले नियन्त्रणका लागि कदम चाल्नुपर्ने र कोरोनाभाइरस फैलिन नदिन सवैलाई सतर्कता अपनाउन आह्वान गर्दै रातको समयमा कफुर्यको घोषणा गरेका छन् ।

    युरोपेली थुप्रै देशहरूमा महामारीको दोस्रो चरण फेरी तीव्र रुपमा बढिरहेको विभिन्न तथ्यांकहरुले देखाएका छन । ती केही देशहरुले पनि महामारी नियन्त्रण गर्न भन्दै रातको समयमा कर्फ्यू लगाएका छन् ।-एएनआई


    कार्तिक १३, २०७७ बिहिवार २१:४०:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # फ्रान्स

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    इरानी परमाणु वैज्ञानिकको हत्यामा इजरायलको सम्लग्नता रहेको इरानको दावी, बदलाको चेतावनी

    क्यानाडानेपाल

    मंसिर १३

  • 262
    SHARES
  • इरानी परमाणु वैज्ञानिकको हत्यामा इजरायलको सम्लग्नता रहेको इरानको दावी, बदलाको चेतावनी

    तेहरान - इरानका एक वरिष्ठ परमाणु वैज्ञानिकको हत्याको आरोप इजरायलमाथि लगाउँदै राष्ट्रपतिले आफ्नो देशका पारमाणविक कार्यक्रमलाई कमजोर र सुस्त नबनाइने बताउनुभएको छ । 

    राष्ट्रपति हसन रौहानीले वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्याको इरानले उपयुक्त समयमा बदला लिने चेतावनीसमेत दिनुभयो । 

    इरानको पारमाणविक कार्यक्रमलाई अगाडि बढाउने प्रमुख व्यक्ति फख्रिजादेह नै भएको बताउँदै आएको इजरायलले त्यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन । 

    परमाणु वैज्ञानिक फख्रिजादेहको हत्यासँगै इरानको पारमाणविक कार्यक्रमलाई लिएर अमेरिका र उसका साझेदार मुलुकहरूसँग तनाव बढ्ने चिन्ता व्यक्त हुन थालेको छ ।

    राजधानी तेहराननजिकै इरानका वरिष्ठतम वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्या गरिएको त्यहाँको रक्षा मन्त्रालयले यसअघि पुष्टि गरेको थियो । दमावन्द काउन्टीमा पर्ने अबशार्दस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।

    इरानका विदेशमन्त्री जवाद जारिफले ‘कुनै राज्यद्वारा गरिएको आतङ्कवादी काम’ भन्दै हत्याको निन्दा गर्नुभएको छ । 

    इरानले आफ्नो पारमाणविक कार्यक्रम नितान्त रूपमा शान्तिपूर्ण उद्देश्यका लागि रहेको बताउँदै प्रर्वद्धित युरेनियमको बढ्दो मात्रामा विकास गरिरहेको ताजा चासोबीच वरिष्ठ वैज्ञानिकको हत्या भएको हो । 

    गैरसैनिक ऊर्जा उत्पादन र सैनिक अस्त्र निर्माण दुवैका लागि प्रवर्द्धिधत युरेनियम महत्वपूर्ण मानिए पनि इरानले यसलाई आफ्ना विरोधी मुलुकलाई लक्षित गर्नसक्ने आशङ्कासहित यूरेनियम प्रवद्र्धनलाई रोक्न अमेरिका लगायतका विश्वशक्ति राष्ट्रले इरानमाथि दवाव दिँदै आएका छन् ।एएफपी

     


    मंसिर १३, २०७७ शनिवार १९:५४:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इरान

  • क्यानाडानेपाल डेस्क

    भारतको जम्मु कश्मिरमा पहिलो चरणको मतदान

    क्यानाडानेपाल

    मंसिर १३

  • 246
    SHARES
  • भारतको जम्मु कश्मिरमा पहिलो चरणको मतदान

    जम्मु, एएनआई - भारतको जम्मु र कश्मिर क्षेत्रमा शनिबार पहिलो चरणको निर्वाचन अन्तर्गत मतदान भएको छ । जिल्ला विकास परिषद् (डिडिसी) गठनका लागि शनिबार विहानदेखि मतदान भएको अधिकारीहरुले जानकारी दिएका छन् ।स्थानीय समयानुसार विहान सुरु भएको मतदान दिउसो २ बजेसम्ममा सम्पन्न गर्ने तय गरिएको थियो । केन्द्रीय सरकार मातहतमा रहेको कुल २८० निर्वाचन क्षेत्र मध्ये ४३ निर्वाचन क्षेत्रमा शनिबार पहिलो चरणको मतदान भएको हो ।

    जम्मु र कश्मिरमा जिल्ला विकास परिषद्को निर्वाचन आठ चरणमा सम्पन्न गर्ने निर्वाचन कार्यालयले तालिका बनाएको छ । सवै चरणका निर्वाचन आगामी डिसेम्बर १९सम्ममा सम्पन्न हुने तालिका रहेको छ ।

    त्यसैगरी गणना भने डिसेम्बर २२ देखि हुने निर्वाचन कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । जिल्ला विकास परिषद्सँगै खालि रहेका सहरी स्थानीय संयन्त्र (युएलबी)को २३४ सिटका लागि पनि निर्वाचन हुने जनाइएको छ ।

    निर्वाचनका लागि नेस्नल कन्फ्रेन्स, पिपल्स डेमोक्रयाटिक पार्टी, पिपल्स कन्फ्रेन्स र सिपिआई(एम) पार्टीले गठबन्धन बनाएर प्रतिश्पर्धामा उत्रिएका छन् । निर्वाचनमा राष्ट्रिय पार्टीहरु भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय काँग्रेसले पनि आ आफ्ना उम्मेदबारहरु प्रतिश्पर्धामा उतारेका छन् ।

    मतदानका क्रममा कोरोनाभाइरस सर्न नदिनका लागि आधारभूत स्वास्थ्य सतर्कताहरु अपनाउन लगाइएको छ । स्वास्थ्य विभागका कर्मचारीहरुलाई परिचालन गरेर निर्वाचनमा संलग्न सवैलाई मापदण्ड पलना गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयुक्त के के शर्माले जानकारी दिनुभयो ।

    निर्वाचनका लागि अत्यावश्यक पर्ने, सुरक्षा व्यवस्थालगायतका सवै व्यवस्थापन पर्याप्त रुपमा गरिएको छ, शर्माले भन्नुभयो ।उहाँका अनुसार पहिलो र दोस्रो चरणको निर्वाचन हुने दुर्गम क्षेत्रमा पनि निर्वाचनको तयारी पुरा गरिएको छ । जम्मु र कश्मिरका प्रहरी महानिर्देशक डिलबाग सिंहको अध्यक्षतामा शुक्रबार बसेको उच्चस्तरीय बैठकले निर्वाचनको तयारी सम्वन्धी सवै पक्षमा समिक्षा गरेको थियो । 
     


    मंसिर १३, २०७७ शनिवार १५:१९:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मतदान

  • क्यानाडानेपाल डेस्क

    म्याराडोनाको अन्त्येष्टि, अन्तिम बिदाइमा उर्लियो जनसागर

    क्यानाडानेपाल

    मंसिर १२

  • 488
    SHARES
  • म्याराडोनाको अन्त्येष्टि, अन्तिम बिदाइमा उर्लियो जनसागर

    काठमाडौँ। फुटबलका महान खेलाडी डिएगो म्याराडोनालाई एउटा निजी समारोह गरेर अन्त्येष्टि गरिएको छ। आर्जेन्टिनाको राजधानी ब्युनस एरिजमा दिनभरि उनीप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरिएका थिए। बिहीवार गरिएको निजी समारोहमा भने केवल दुई दर्जन जति उनका निकट मित्र तथा आफन्तमात्र सहभागी थिए।

    ठूलो सम्मान

    तर त्यसअघि उनीप्रति सम्मान प्रकट गर्न मानिसहरूको निकै ठूलो भिड जम्मा भएको थियो। कैयन् मानिसहरू रोएका देखिन्थे भने कैयन्ले हावामा चुम्बन गरेर उनको स्मरण गरेका थिए। उनको पार्थिव शरीर राखिएको शवपेटिका सामु धेरैले प्रार्थना गरेका थिए।

    बुधवार ६० वर्षको उमेरमा हृदयाघातका कारण उनको निधन भएको थियो। उनको निधनमा विश्वभरि नै शोक प्रकट गरिएको थियो। तर सबभन्दा धेरै शोक उनको देश आर्जेन्टिनामा परेको छ जहाँ उनलाई राष्ट्रिय विभूति मानिन्छ।

    उनको शवपेटिकालाई आर्जेन्टिनाको राष्ट्रिय झण्डा तथा उनको चर्चित १० नम्बरको जर्सीले बेरिएको थियो। त्यसलाई राष्ट्रपति भवनमा सार्वजनिक सम्मानका निम्ति राखिएको थियो।

    उनलाई अन्तिम बिदाइका निम्ति मानिसहरू एक किलोमिटरभन्दा लामो लाइनमा उभिएका थिए। भिड धेरै भएपछि नियन्त्रण गर्न दङ्गा प्रहरीले अश्रुग्यास तथा रबरको गोली समेत प्रहार गर्नुपरेको थियो। शान्ति कायम गर्नका निम्ति अधिकारीहरूले उनको शवको सार्वजनिक प्रदर्शन रोकेका थिए। त्यसपछि मोटरमा राखेर बेला भिस्टा चिहानस्थलमा लगियो जहाँ उनका आमाबुवालाई गाडिएको ठाउँ नजिकै उनको शव पनि गाडिएको थियो।

    बीबीसीकी दक्षिण अमेरिका सम्वाददाता केटी वाट्सन भन्छिन् म्याराडोनाको निधन केवल एक चर्चित फुटबल खेलाडीको मात्र निधन थिएन। त्यो त एक यस्तो व्यक्तिको निधन थियो जो राष्ट्रिय प्रतीक थिए तथा जसको व्यक्तित्वले आर्जेन्टीनालाई विश्वमा ख्याति दिलाएको थियो।

    विश्वका एक सर्वकालिक महान फुटबल खेलाडी म्याराडोनाको व्यक्तिगत जीवन भने दोषयुक्त थियो। उनी लागुऔषध कोकेन तथा रक्सीको कुलतमा फसेका थिए। नोभेम्बर महिनाको शुरूमा उनको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो। उनलाई रक्सीको कुलतबाट छुटाउन उपचार गरिने भएको थियो।

    तर बुधवार उनलाई हृदयाघात भयो। प्रारम्भिक जाँचमा उनलाई 'गम्भीर हृदयाघात' भएको देखिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। त्यसबखत उनी आफ्नै घरमा थिए। उनका पाँच छोराछोरी छन्। उनको ५८ वर्षीय पूर्व श्रीमती क्लडिया भिलाफेनसँग २० वर्षको सम्बन्धपश्चात् उनले सन् २००४ मा सम्बन्धविच्छेद गरेका थिए। यो समाचार बीबीसी नेपाली सेवाबाट साभार गरिएको हो।  


    मंसिर १२, २०७७ शुक्रवार १६:४८:३६ बजे : प्रकाशित

    यसरी जितेका थिए म्याराडोनाले नेपालीको मन 

    क्यानाडानेपाल

    मंसिर १२

  • 388
    SHARES
  • यसरी जितेका थिए म्याराडोनाले नेपालीको मन 

    काठमाडौँ।  सन् १९८६ ताका नेपालमा आएको एउटा परिवर्तनसँग 'म्याराडोना र नेपाली फुटबल समर्थक'बीच गहिरो सम्बन्ध छ। त्यो नेपालमा टेलिभिजन भर्खर भित्रिएको बेला थियो। टीभीमा झुम्मिनु त्यतिबेला शानको कुरा थियो।

    त्यसैबेलातिर अर्थात् सन् १९८६ मा विश्वकप फुटबलको आयोजना भएको थियो, नेपाली समर्थकहरू खेल हेर्न टीभीमा झुम्मिन पुगेका थिए र उक्त विश्वकपमा म्याराडोनाले छरेको जादूले नेपालीलाई पनि छोयो।

    सन् १९८६ को विश्वकपमा म्याराडोना फुटबल देखेर मन्त्रमुग्ध भएका नेपालीका मनमा उनको विशेष स्थान बन्न गएको कैयौँ खेल प्रशंसकको भनाइ छ। राष्ट्रिय टोलीका पूर्वखेलाडी श्रीराम रञ्जितकार भन्छन्, " एउटा टीभीमा सय जनाभन्दा बढी झुम्मिन्थ्यौँ। चाडजस्तै माहोल थियो। टीभी मालिकको शान बेग्लै। पैसा तिरेर समेत फुटबल हेरियो। "

    उता १० नम्बर जर्सीमा कप्तान म्याराडोना विश्वका महान्‌ खेलाडीको परिचय दिँदै थिए, यता नेपालीहरू मनमस्तिष्कमा गहिरो गरी बास बस्दै थिए। उनको चर्चा पनि कतिकति। इङ्ल्याण्डविरुद्ध 'ह्यान्ड अफ गड' अर्थात्‌ 'ईश्वरको हात', शताब्दीको महान् गोल पनि त्यहीँ खेलमा अनि आर्जेन्टिनालाई विश्वकपको उपाधि।म्याराडोना र आर्जेन्टिनाप्रति नेपाली समर्थकहरूमा त्यतिबेला परेको गहिरो छाप अहिलेसम्म कायम देखिन्छ। 

    हुन त आर्जेन्टिनाका समर्थकहरूलाई अहिलेका क्लब फुटबलका पारखी युवा पुस्ताले विस्तारै चुनौती दिन थालेका छन्। तर आर्जेन्टिनाका ती अद्‌भुत खेलाडीको किस्सा देखेर सुनेर प्रभावमा परेकाहरूको सङ्ख्या कम छैन।

    अहिले पनि विश्वकपजस्ता ठूला फुटबलका बेला हल्का नीलो रङको धर्के जर्सीमा सजिने नेपाली समर्थकहरूले बजार भरिने गर्छ। म्याराडोनाले संसार छोड्दा सन् १९८६ देखि उनका समर्थक बनेको पुस्ताको मन निकै दुखेको छ। उनीहरू ती पुराना दिनहरू र म्याराडोनालाई सम्झिरहेका छन्। म्याराडोना र आर्जेन्टिनाको छाप नेपालमा गहिरो हुनुमा थप केही कारणहरू पनि छन्।

    मणि र म्याराडोना

    नेपाली मनमा म्याराडोनालाई जिउँदै राख्ने अर्का पात्र हुन् स्टार खेलाडी मणि शाह। जसरी आर्जेन्टिनी टोलीमा म्याराडोना 'प्ले मेकर' को भूमिकामा महान् थिए, त्यसरी नै नेपाली राष्ट्रिय टोलीमा मणि शाह।

    यी दुईको खेल शैली मात्र होइन थुप्रै कुरामा समानता थिए। बायाँ खुट्टाको उस्तै कमाल, छोटो कद, घुम्रिएको कपाल, १० नम्बर जर्सी अनि सफलता र स्वाभाव पनि उस्तै। अनि खेल जीवन जति महान्, मैदान बाहिरको जीवन त्यति नै भद्रगोल र विवादास्पद।

    मणि शाहले दक्षिण एसियाली खेलकुद (१९९६) मा नेपाललाई स्वर्ण (नेपालको लागि विश्वकप सरह) दिलाउन अहम् भूमिका खेले। म्याराडोनाले विश्वकप जिताउन। दुवै अनेक विवादमा परिरहे। उता म्याराडोना कोकिनको लतमा फस्दै गए, यता मणि शाह रक्सीको लतमा।

    भनिन्थ्यो, नेपालमा जन्मेको भए म्याराडोना मणि शाह हुन्थे अनि मणि आर्जेन्टिनामा जन्मेको भए म्याराडोना। यति धेरै समानता विश्व फुटबलमा अनौठो संयोग नै मान्नेहरू धेरै छन्। दुवैको अन्त्य पनि असामयिक नै भयो। मणि शाहले २ वर्षअगाडि ५१ वर्षको उमेरमा देह त्याग गरे, म्याराडोनाले बिहीवार।

    फकल्याण्ड युद्ध

    सन् १९८६ को विश्वकप र त्यसको चार वर्षअगाडि फकल्याण्ड टापूलाई लिएर इङ्गल्याण्ड र आर्जेन्टिनाबीच भएको युद्धमा फुटबल, म्याराडोना र नेपाल एकसाथ जोडिएर आउने गर्छ। ८२ को उक्त युद्धमा इङ्गल्याण्डले आर्जेन्टिनालाई पराजित गर्‍यो र उक्त टापु कब्जा गर्‍यो।

    उक्त यूद्ध इङ्गल्याण्डले जित्नुको कारण थियो गोर्खा सेनाको बहादुरी। ८६ को विश्वकपमा यी दुई राष्ट्रबीच क्वार्टर फाइनलमा भेट हुँदा त्यसलाई फकल्याण्ड टापुजस्तै अर्को युद्ध ठानिएको थियो। त्यसको रोष ८६ को विश्वकपमा आर्जेन्टिनाले इङ्गल्याण्डलाई पराजित गरेर लिए। धेरै थोक म्याराडोनाले त्यही खेलमा गरेका हुन्।

    म्याराडोनाले फकल्याण्ड युद्ध गोर्खाली सेनाले गर्दा हारेको भन्दै गोर्खा सेनाविरुद्ध नराम्रो प्रतिक्रिया दिए। कतिपय नेपाली समर्थकहरू, जो आर्जेन्टिना छाडेर ब्राजिलको समर्थन गर्न रुचाँउछन्, उनीहरू त्यसको कारण म्याराडोनाको उक्त विवादास्पद अभिव्यक्तिलाई मान्छन्।

    खेलाडी र क्लबमा प्रभाव

    नेपाली खेलाडीहरूमा म्याराडोनाको प्रभाव नहुने कुरै भएन। १९९० ताका राष्ट्रिय टोलीका प्राय खेलाडीहरूको लामो लामो कपाल पाल्ने फेशन थियो। राजुकाजी शाक्य, उमेश प्रधान, राजेश मानन्धरदेखि प्राय: सबै खेलाडीहरू लामा कपाल पालेका थिए।

    त्यो ठ्याक्कै आर्जेन्टिनाका खेलाडीहरूको नक्कल थियो। नेपाली क्लब फुटबलमा पनि त्यसको प्रभाव थियो। मनाङ मर्स्याङदी क्लबले त त्यसको ठ्याक्कै अनुसरण नै गर्‍यो। मनाङको जर्सी आर्जेन्टिनाको जस्तै हल्का निलो सेतो धर्के जर्सी नै रोजे।

    आर्जेन्टिनाको जस्तै जर्सी अनि मणि शाह मनाङमा मुख्य खेलाडी। मनाङ मर्स्याङ्दी क्लबका समर्थक नेपालमा ह्वात्तै बढ्नुमा यी कारण पनि कहीँ कतै जोडिएकै मानिन्छ।

    थापा र म्याराडोना

    म्याराडोना भन्दा गणेश थापा २१ दिनले जेठा हुन्। दुवैको करिअर सँगै शुरू भयो। दक्षिण अमेरिकी राष्ट्र र दक्षिण एसियाबीच फुटबल मैदानमा दुबैको भेट त सम्भव नै थिएन।

    नेपाल र आर्जेन्टिनाको फुटबल नजिकिएको भनेको सन् १९८३ मा मलेसियामा २७ औँ मर्डेका कप खेल्दा हो। आर्जेन्टिनाबाट आएको सो क्लबमा म्याराडोनासँगै खेलेका खेलाडीहरू थिए रे भनिन्थ्यो। यद्यपि अन्य जसरी थापा पनि म्याराडोनाको कट्टर समर्थक हुन् र म्याराडोनालाई नजिकबाट नियाल्न पाउने नेपाली पात्र पनि।

    पूर्वराष्ट्रिय कप्तान हुँदै अखिल नेपाल फुटबल सङ्घ एन्फामा लामो समय नेतृत्व गरेका थापा एसियाली फुटबल महासङ्घको उपाध्यक्ष सम्मको यात्रा क्रममा म्याराडोनालाई भेटेका हुन्। म्याराडोनासँग उनको जम्काभेटको कथा पनि रोचक छ।

    सन् २००२ को दक्षिण कोरिया/ जापान विश्वकपमा थापा विश्वकपको अनुशासन समितिका सदस्य थिए। "जापानमा म्याराडोना आउने भएपछि म रोमाञ्चित भएँ। भीआईपी कक्षमा म्याराडोनाको सिट छुट्टयाइएपछि म उनलाई कुरेर बसेँ। मेरो आँखा बारम्बार भीआईपी कक्षको द्वारमा अडिरह्यो, तर उनी आएनन्।"

    त्यो साल थापाको उनलाई भेट्ने रहर पूरा भएन। चार वर्षपछि थापा अनुशासन समितिकै सदस्यका रूपमा पुन: जर्मनीमा आयोजित विश्वकपमा पुगे। त्यहाँ भने भीआईपी कक्षमा थापा र म्याराडोनाको भेट भयो।

    बायाँ सिटमा म्याराडोना, बीचमा उनकी छोरी र त्यस पछिको सिटमा थापा। उत्साहित थापाले म्याराडोनासँग फोटो खिच्न आग्रह गरे। तर म्याराडोनाले टेरेनन्, वास्तै गरेनन्। "खेलको शुरूमा, मध्यान्तरमा अनि खेल सकिएपछि गरी जम्मा ११५ मिनेट म उनी सँगै बसेँ, तर फोटो खिच्न पाइनँ।" थापा सम्झिन्छन्। थापा भन्छन् - "त्यो बेला सेल्फीको जमाना थिएन। नत्र फोटो आफैँ खिचिन्थ्यो होला।"

    थापाका अनुसार त्यो बेला म्याराडोना निकै तनावमा थिए र बारम्बार बहुलाहा जसरी उफ्रिरहेका थिए। कारण उनले पछि बुझेछन् । "मेसीलाई बेञ्चमा राखेका थिए। त्यसैले म्याराडोना उनलाई खेलाएनन् भनेर रिसले उफ्रेका रहेछन्। आर्जेन्टिनाले त्यो खेल हार्‍यो पनि। हारेको झोकमा म्याराडोनासँगै आएका साथीहरूले मेच पनि भाँचिदिए।"

    आर्जेन्टिनाको अर्को खेलको लागि पनि म्याराडोना भीआईपी कक्षमा आउने कुरा थियो। तर मेच भाँच्ने उनका साथीहरूलाई भने आउन प्रतिबन्ध लगाइयो। अनि म्याराडोना पनि आएनन्। थापा भन्छन्- "अर्को दिन फोटो खिचाउने धुनमा कस्सिएको थिएँ। उनी त दर्शकदीर्घामा बसेर हेर्न गए। मेरो चाहना अपूरै रह्यो।" यो समाचार बिबिसि नेपाली सेवाबाट साभार गरिएको हो।  


    मंसिर १२, २०७७ शुक्रवार १६:२५:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # म्याराडोना
  • # नेपाली

  • क्यानाडानेपाल

    तस्बिरमा हेर्नुहोस्, आर्जेन्टिनी महान्‌ खेलाडी म्याराडोनाको फुटबल जीवन 

    क्यानाडानेपाल

    मंसिर १२

  • 476
    SHARES
  • तस्बिरमा हेर्नुहोस्, आर्जेन्टिनी महान्‌ खेलाडी म्याराडोनाको फुटबल जीवन 

    काठमाडौँ।  उनको जीवन रङ्गमय मात्रै भनेर पनि न्याय हुँदैन। डिएगो म्याराडोना फुटबल मैदानका असाधारण व्यक्तित्व थिए र मैदानबाहिर विवादास्पद व्यक्ति पनि। उनको गृह नगर आर्जेन्टिनादेखि इटली सम्मको सफलतासम्म, विश्व कपको किर्तीदेखि लागुऔषधको दलदलसम्म, उनको जीवनका केही तस्बिरहरू।

    1.1.jpg

    शुरूवात: म्याराडोनाले आर्जेन्टिनाका लागि सन् १९८२ मा स्पेनमा भएको विश्वकप खेलेका थिए तर चार वर्ष पछिको विश्वकपमा उनको प्रभाव प्रस्ट भयो...

    1.2.jpg

    आँधी आउनु अघिको शान्ति: मेक्सिकोमा भएको विश्वकप क्वार्टर फाइनलमा इङ्गल्यान्डका गोलरक्षक पीटर शिल्टनसँग हात मिलाउँदै डिएगो म्याराडोना

    1.3.jpg

    इङ्गल्यान्डविरुद्ध ह्यान्ड अफ गड 'ईश्वरको हात 'गोल गरेपछि उनले शताब्दी गोल (गोल अफ सेन्चुरी) गरेका थिए।

    1.5.jpg

    विश्वस्तर: म्याराडोना सन् १९८६ को विश्व कपमा आर्जेन्टिनालाई जिताएपछि प्लेयर अफ द टुर्नामेन्ट घोषणा गरिए। चार वर्ष पछिको विश्वकपमा पनि आर्जेन्टिनालाई फाइनलमा पुर्‍याउन उनको भूमिका थियो।

    1.6.jpg

    इटलीको फुटबल क्लब नापोलीमा म्याराडोना एक प्रतीकका रूपमा स्थापित भए: सन् १९८९ मा उनले यूइएफए कप जिते र दुईवटा लीगमा पनि जित हासिल भयो। उनको सम्मानमा नम्बर १० को शर्ट लगाउन रोकियो।

    1.7.jpg

    सन् २००१ मा म्याराडोना लागुऔषधको कुलत र अत्यधिक तौलसँग जुझिरहेका थिए।

    1.8.jpg

    आर्जेन्टिनाको टीम: राष्ट्रिय टोलीको व्यवस्थापकका रूपमा आफ्नो ज्ञान लियोनेल मेसीलाई दिँदै सन् २०१० को विश्वकपमा म्याराडोना। तर उनीहरू जर्मनीसँग क्वार्टर फाइनलमा ४-०ले पराजित भए।

    1.9.jpg

    पोस्टर बोइ: रुसमा सन् २०१८ मा भएको आर्जेन्टिना र नाइजेरियाबीचको विश्वकप फुटबलका बेला आफ्नो फोटो भएको ब्यानर अगाडि बसेर फोटो खिचाउँदै म्याराडोना समाचार : बीबीसी नेपाली सेवा 

     


    मंसिर १२, २०७७ शुक्रवार १३:५९:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डिएगो म्याराडोना
  • # तस्बिरमा
  • # फुटबल जीवन

  • क्यानाडानेपाल डेस्क

    ट्रम्पले गरे ह्वाइट हाउड छाड्ने संकेत

    क्यानाडानेपाल

    मंसिर १२

  • 306
    SHARES
  • ट्रम्पले गरे ह्वाइट हाउड छाड्ने संकेत

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इलेक्टरल कलेजले आफ्ना प्रतिस्पर्धी जो बाइडनले जितेको प्रमाणीकरण गरेमा आफूले ह्वाइट हाउस छाड्ने घोषणा गरेका छन्।

    तर उनले आफ्नो पराजय अझै स्वीकार गरिसकेका छैनन्। यसअघि उनले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्नेमा सहमति जनाएका थिए।

    राष्ट्रपति ट्रम्पको पछिल्लो अभिव्यक्तिले उनी पराजय स्वीकारको नजिक पुगे जस्तो देखिन्छ। उनले भनेका छन्, यदि बाइडनले जितेको कुरा इलेक्टरल कलेजले पुष्टि गरेमा उनी ह्वाइट हाउसबाट बाहिरिने छन्।

    इलेक्टरल कलेजको बैठक आउँदो डिसेम्बर महिनाको १४ तारिखमा हुँदैछ।तर ट्र्म्पले सिधै पराजय स्वीकार गरिसकेका छैनन्। उनले प्रमाण प्रस्तुत नगरेरै मतदानमा धाँधली भएको दाबी दोहर्‍याइरहेका छन्।

    यसअघि उनले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण सुरु हुने कुरामा सहमति जनाएका थिए।

    त्यस कामको जिम्मेवारी रहने सङ्घीय निकाय जनरल सर्भिसेस एड्मिनिस्ट्रेशन (जीएसए) ले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु पनि गरिसकेको छ।

    बाइडनले त्यसको स्वागत गरेका छन्।उनलाई राष्ट्रिय सुरक्षाका दैनिक जानकारी दिन थालिएको छ भने राष्ट्रपति निर्वाचित र उनको समूहले पाउने बजेट र साधन स्रोतहरू उपलब्ध गराइएको छ।

    बाइडनले आफ्नो नेतृत्वको सरकार र प्रमुख निकायहरूमा मुख्य जिम्मेवारी दिइने केही व्यक्तिहरूको नाम पनि सार्वजनिक गरिसकेका छन्।

    ट्रम्पले सिनेटको दोस्रो चरणको प्रतिस्पर्धामा रहेका दुईजना रिपब्लिकनको पक्षमा जोर्जिया राज्यमा शनिवार र्‍याली आयोजना गर्ने जनाए।

    उनीहरूको जीतले माथिल्लो सदनमा रिपब्लिकनको पकड सुदृढ गर्नेछ जसले तल्लो सदनमा जो बाइडनको प्रभावमाथि दबाव सिर्जना गर्न सक्छ।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    मंसिर १२, २०७७ शुक्रवार १०:००:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डोनाल्ड ट्रम्प

  • images
    images
    ताजा खबर