• Nov 29 2020 | २०७७, मंसिर १४गते

२०७७, मंसिर १४गते

यो साता चर्चामा:

डा. रवीन्द्र पाण्डे भन्छन् -  सेल्फ मेडिकेसन अर्थात आफुखुसी औषधि सेवन नगरौं  

क्यानाडानेपाल कार्तिक १५ २०७७
  • 804
    SHARES
  • डा. रवीन्द्र पाण्डे भन्छन् -  सेल्फ मेडिकेसन अर्थात आफुखुसी औषधि सेवन नगरौं  

    काठमाडौं -  नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको समयमा डा. रवीन्द्र पाण्डेले कोरोनाको रोकथाम तथा नियन्त्रण र यसबाट बच्ने बिभिन्न उपायहरुको बारेमा सामाजिक सञ्जालमार्फत जानकारी दिइरहेका छन् ।

    यस्तै शनिवार डा. पाण्डेले सेल्फ मेडिकेसन अर्थात आफुखुसी औषधि सेवन नगर्ने सुझाव दिएका छन् । उनले भनेका छन् - कोरोना महामारी तीब्र गतिमा फैलिएसंगै भ्रम र हल्ला पनि बढिरहेका छन् । महामारीमा मान्छेको मन कमजोर हुन्छ, त्यहि मनोविज्ञानमाथि ब्यापार गर्नेको संख्या दिनानुदिन बढिरहेको छ । यसले गर्दा गलत औषधिको प्रयोग बढिरहेको छ। 
     
    - बिशेषज्ञ चिकित्सकको सल्लाहबिना बजारमा आएका एन्टिभाइरल औषधि, मलेरियाको औषधि, जुका तथा अमिबाको लागि प्रयोग गर्ने औषधि तथा ब्लडप्रेसर एबम उदासीपनमा प्रयोग हुने लगायतका औषधि आफैले किनेर खानेजस्तो जोखिम काम भइरहेको छ। यी औषधिहरु अस्पताल भर्ना भएको बिरामीलाई सम्बन्धित बिज्ञको निगरानीमा मात्र सेवन गर्नुपर्छ। अन्यथा गम्भीर साइड इफेक्ट भोग्नुपर्ने हुन्छ। 
     
    - रुघाको लागि एन्टीकोल्ड, ज्वरोको लागि पारासिटामोल तथा जीउ दुख्नेको लागि फ्लेक्सन ( Ibuprofen + Paracetamol ) यी मध्ये ३ वटा वा २ वटा औषधि खाँदा शरीरको तापक्रम न्युं भएर सिकिस्त हुनेको संख्या पनि धेरै छ | एन्टिकोल्डमा पनि पारासिटामोल ५०० मिग्रा मिसाएको हुन्छ | यी मध्ये एउटा मात्र चिकित्सकको सल्लाहमा आबश्यक भए लिनुपर्छ | आफैले सेवन गर्नु हुँदैन | त्यस्तै खोकीको प्रकृति अनुसारको मात्र औषधि चिकित्सकसंग परामर्श गरेर खानुपर्छ। 
     
    - कोरोना संक्रमणमा द्वितीय संक्रमण नभएसम्म एन्टिबायोटिक सेवन गर्नु हुँदैन। तर युट्युब हेरेर वा पसलमा किनेर आफै कडा एन्टिबायोटिक खाँदा त्यसले काम त गर्दैन नै झन् रोगसंग लड्ने क्षमता घट्दछ। चिकित्सकसंग जांच गराएर मात्र एन्टिबायोटिक सेवन गर्ने / नगर्ने निर्णय हुन्छ। 
     
    - इम्युनिटी पावर बढाउने भनेर अनेक कम्पनीका उस्तै भिटामिन सेवन गर्नेको संख्या धेरै छ। यसले पनि हानी गर्छ। बिभिन्न अध्ययनले देखाएका छन्, सन्तुलित आहार सेवन गर्ने व्यक्तिलाई कुनै सप्लिमेन्ट वा भिटामिनको आबश्यकता हुँदैन। शरीरमा तत्वको कमि भएमा वा संक्रमण भएमा भिटामिन सी, डी, बि १२ तथा जिंकले फाइदा गर्छ। 
     
    - इम्युनिटी पावर बढाउन हर्बल सप्लिमेन्ट तथा आयुर्बेद औषधि पनि अन्धाधुन्द प्रयोग गर्नु हुँदैन। जुन औषधिमा इफेक्ट हुन्छ, त्यसको साइड इफेक्ट पनि हुन्छ। आयुर्बेद औषधिमा साइड इफेक्ट कम हुन्छ। यी औषधि सेवन गर्दा मान्यताप्राप्त चिकित्सक / आयुर्बेद स्वास्थ्यकर्मीको सुझाबमा मात्र सेवन गर्नुपर्छ | त्यस्तै औषधि किन्दा औषधि ब्यबस्था बिभागमा दर्ता भएको, उत्पादन मिति र एक्सपायर मिति लेखेको तथा दर्तावाल कम्पनिमा बनेको मात्र सेवन गर्नुपर्छ। यस्ता औषधि सस्तो एबम उपयोगी हुन्छन्। अरुको देखासिकी गरेर दर्तावाल चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी जडिबुटीको सेवन गर्नुहुँदैन। 
     
    - प्रेसर, सुगर, थाइराइड, कोलेस्ट्रोल तथा अन्य नियमित खाइरहेका औषधि चिकित्सकको सल्लाहबिना फेरबदल गर्नु हुँदैन \ छोड्नु हुँदैन। 
     
    हरेक औषधि सहि तरिकाले चिकित्सकको सल्लाह बमोजिम सेवन गरे अमृतको काम गर्छन भने आफैले किनेर तथा चिकित्सकको सल्लाहबिना सेवन गर्दा बिषको काम गर्न सक्छन्। 


    कार्तिक १५, २०७७ शनिवार १३:२५:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डा. रवीन्द्र पाण्डे
  • # कोरोनाभाइरस

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    पार्टीका आयातित झण्डा बोक्नेहरू जनता हुने तर देशको राष्ट्रिय झण्डा बोक्नेहरू दलाल हुने चाहिँ कसरी हुन्छ र ?

    क्यानाडानेपाल

    मंसिर १३

  • 274
    SHARES
  • पार्टीका आयातित झण्डा बोक्नेहरू जनता हुने तर देशको राष्ट्रिय झण्डा बोक्नेहरू दलाल हुने चाहिँ कसरी हुन्छ र ?

    पार्टीका आयातित झण्डा बोक्नेहरू जनता हुने तर देशको राष्ट्रिय झण्डा बोक्नेहरू दलाल हुने चाहिँ कसरी हुन्छ र ?  तपाईं हामीलाई यिनको माग र नारा मन नपर्न सक्छ, हामी आफ्नो आफ्नो रङ्गका झण्डा बोकेर सड़कमा जान स्वतन्त्र पनि छौं । 

    तर, यस्तो महाविपत्तिमा पनि लेनदेन, लुछाचुँडी र गालीगलौजसँगै चिट्ठी लेखेर बस्ने सरकार र केही झर्छ कि भनेर टुलुटुलु ढुकेर बस्ने प्रतिपक्ष देखेर हामीलाई गर्व लाग्यो भन्दैमा कसैलाई क्षोभ लाग्नै हुन्न भन्ने त हुँदैन नि !

    तपाईं हामी सत्ता निकट हुनेलाई विश्व नै छक्क पर्ने खालको समृद्धि आएको होला तर बालुवाटारबाट खुमलटार या ईश्वर पोखरेलको कोटबाट कोटेश्वरसम्म पनि त्यो समृद्धि पुगेको छैन र दिनहुँको झगड़ा छ भने आम जनताचाहिँ सधैँ ताली ठोकेर बस्नुपर्छ भन्ने के छ र ? 

    आफ्नै देशको झण्डा बोक्नेलाई गद्दार, प्रतिगामी या दलाल देख्ने तन्त्र पनि लोकतन्त्र हुन्छ र ? सबै विचारको सम्मान र बहुमत विचारको कदर नै त हो लोकतन्त्र ! आजको व्यवस्था पनि जनताले नै ल्याएका हुन् । जनताले सहँदासम्म यो रहन्छ । नसहेको दिन अर्को व्यवस्था आउँछ । 

    हिजो भर्खर त सड़कमा ओर्लिएका जनतालाई सम्मान र कदर गर्न भनेर यो व्यवस्था ल्याएका थियौं, आजै सड़कमा ओर्लिएका जनतालाई दलाल देखेपछि यस्तो व्यवस्थाको औचित्य के रह्यो र ? - नारायण गाउँलेको फेसबुकबाट


    मंसिर १३, २०७७ शनिवार २०:००:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नारायण गाउँले

  • क्यानाडानेपाल डेस्क

    लोकतन्त्रको आवरणमा लुटतन्त्र मौलाउँदै, तासको घरझैँ संविधान गर्ल्यामगुर्लुम ढल्न सक्छ 

    क्यानाडानेपाल

    मंसिर १०

  • 584
    SHARES
  • लोकतन्त्रको आवरणमा लुटतन्त्र मौलाउँदै, तासको घरझैँ संविधान गर्ल्यामगुर्लुम ढल्न सक्छ 

    कमल थापा । हिन्दुराष्ट्र र राजसंस्थको एजेण्डा बोकेको कमल थापाले गणतन्त्र र धर्मनिरपेक्षता कायम गरेको वर्तमान नेपालको संबिधानलाई ‘उत्कृष्ट’ संबिधान भन्यो भन्ने आरोप मलाई अक्सर लाग्ने गरेको छ। वास्तविकता त्यो होईन। राष्ट्रिय अन्तर्राष्ट्रिय मंचहरूमा संबिधानवारे बोल्दा कहिल्यै पनि मैले ‘उत्कृष्ट’ शब्द प्रयोग गरेको छैन।

    विश्वको कुनैपनि संविधान शतप्रतिशत पूर्ण र उत्कृष्ट हँुदैन भन्ने मेरो स्पष्ट मान्यता छ। संविधान आफैँमा गतिशील र परिवर्तनिय दस्तावेज हो।हिन्दुराष्ट्र र राजसंस्था नसमेटिएको र अनावश्यक संघीयता कायम गरिएको कारणबाट मेरो नेतृत्वमा रहेको पार्टी राप्रपाले संविधानवारे मतदान हुँदा विपक्षमा मत हालेको र संविधानको परिधि भित्रबाटै जनताको अभिमत लिएर आफ्नो एजेण्डा स्थापित गर्न प्रतिबद्ध रहेको कुरा मैले देश विदेशमा भन्दै आएको तथ्य स्पष्ट छ। यो यथार्थ अभिलेखबाट प्रमाणित छ।  वस्तुतः मैले वर्तमान  संविधानमा समावेश भएका समावेशी र समानुपातिक व्यवस्था तुलनात्मकरूपले विश्वका अन्य कतिपय संविधानहरू भन्दा अग्रगामी र प्रगतिशील छ भनेको हुँ । यो भनाईमा म अहिले पनि दृढ छु। किनभने त्यो सत्य हो। साथै, वर्तमान संविधानले जनताको मतबाट गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता परिवर्तन गर्ने अधिकार दिएको छ  ।

    यो अधिकार हामीले संविधानसभामा लडेर लिएको  हो । यहि अधिकारको धरातलमा उभिएर एकदिन हिन्दुराष्ट्र् र राजसंस्थासहितको लोकतन्त्र स्थापित गर्छौँ र गर्न सक्छौँ भन्ने आत्मविश्वासका साथ नेपालको राजनीतिमा राप्रपा क्रियाशील छ। जसरी जनताको बहुदलिय जनवादको मान्यता अनुरूप तत्कालीन  एमालेले राजसंस्थासंग सहकार्य गरेको थियो तदनुरूप राप्रपाले सम्वर्द्धनवादको सिद्धान्त अनुरूप संविधानसँग सहकार्य गरेको हो। वर्तमान संविधानवारे मेरो थप धारणा बुझ्न यसै साथ संलग्न यो लेख पढिदिनु हुन अनुरोध गर्दछु । 

    ‘चुनौतु र सम्भावनाबीच नेपालको संविधान, २०७२’

    संविधानसभामा नेपालको संविधान ०७२ निर्णयार्थ प्रस्तुत हुँदा त्यसको विपक्षमा मतदान गर्ने एक मात्र दल राप्रपा नेपाल थियो । आफ्ना आधारभूत मान्यता हिन्दूराष्ट्र र राजसंस्थाजस्ता विषय संविधानमा नसमेटिएका कारण राप्रपा नेपाल विपक्षमा खडा उभिएको थियो । आफ्नो असहमतिका बाबजुद ९० प्रतिशतभन्दा बढीको बहुमतबाट संविधान पारित भएपछि प्रजातान्त्रिक मूल्य–मान्यताअनुरूप आफ्नो फरक मत कायम राख्दै राप्रपा नेपालले संविधानलाई आलोचनात्मक समर्थन गर्ने निर्णय गर्‍यो ।

    संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने रणनीति अख्तियार ग¥यो । राप्रपाको यस्तो नीतिको कतिपयले कठोर आलोचनासमेत गरेका छन् । तर, राप्रपाको यो नीति देश, जनता र पार्टीको बृहत्तर हितका पक्षमा छ । खेलको नियम मानेर खेलमा सहभागी हुने अनि परिणाम आफूअनुकूल नहुँदा विद्रोह गर्ने कार्य सर्वथा उपयुक्त होइन । यो हाम्रो कमजोरी होइन । जनताको सर्वोच्चता र आफ्नो सिद्धान्तप्रति आत्मविश्वासको अभिव्यक्ति हो ।

    पृष्ठभूमि : संविधानसभा निर्वाचनमा राप्रपाको सहभागिता, संविधान निर्माणमा सकारात्मक भूमिका र प्रतिकूल परिणामलाई सहजरूपमा स्वीकार गर्ने निर्णयको विशिष्ट महत्व छ । यो तथ्य बुझ्न विगतका केही सन्दर्भको चर्चा प्रासंगिक हुनेछ । ०६२÷६३ को आन्दोलन दरबार र आन्दोलनकारी दलबीच सम्झौता भएर टुंगिएको सर्वविदितै छ ।

    नेपालको संविधान ०४७ मा टेकेर संविधानसभाको चुनाव गर्ने र संविधानसभाबाट नयाँ संविधान बनाउने सो सम्झौताको मर्म हो । तर, सम्झौताविपरीत संविधानसभाको निर्वाचनअगावै ४ जेठ ०६४ मा हिन्दूराष्ट्रको पहिचान समाप्त गरी धर्मनिरपेक्षता लादियो । ०४७ को संविधान खारेज गरी ०६३ माघमा अन्तरिम संविधान ल्याइयो ।

    अन्तरिम संविधान संशोधन गरी क्रमशः संघीयतालाई संविधानको अंग बनाइयो तथा राजसंस्थालाई पाखा लगाएर प्रधानमन्त्रीलाई राष्ट्रप्रमुखको जिम्मेवारी दिइयो । त्यति मात्र होइन, संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र कार्यान्वयन गर्ने बाध्यकारी प्रावधान अन्तरिम संविधानमा राखियो । यो सबै कर्मकाण्ड संविधानसभाको चुनावअगावै सम्पन्न गरिए ।

    आन्दोलनको रापतापमा यी सबै काम सम्पन्न भए । यो प्रसंग यहाँ यसकारण उल्लेख गरिएको हो कि संविधानसभा निर्वाचनअगावै राप्रपाको मूलभूत मान्यतालाई पराजित गरिसकिएको थियो । चुनावमा हारिन्छ र संविधानसभाबाट आफ्नो एजेन्डा स्थापित गर्न सकिन्न भन्ने थाहा हुँदाहुँदै पनि हामी चुनावको अभ्यासमा सहभागी भयौँ । त्यसको मूल कारण जनताको शक्तिमाथिको विश्वास र सशक्त एजेन्डा भएकाले अहिले नभए पनि भविष्यमा स्थापित गर्न सकिन्छ भन्ने आत्मविश्वास नै हो ।

    फरक विचारबीचको प्रतिस्पर्धाले मात्र प्रजातन्त्र सुदृढ हुन्छ । नेपालको प्रजातान्त्रिक पद्धतिको विकासमा राप्रपाको यो नीतिले दूरगामी सकारात्मक महत्व राख्छ । तर, हाम्रो यस मान्यतालाई अवमूल्यन गर्दै यदाकदा संस्थापन पक्षले निषेध र अस्पृश्यताको मानसिकता र व्यवहार कायम राख्दा परिस्थिति जटिल बन्ने गरेको छ ।

    हिन्दूराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र स्थापना गर्न नसके पनि संविधानको परिधिभित्र रहेर प्रजातान्त्रिक ढंगले नेपाली जनताको अभिमतबाट आफ्नो एजेन्डा स्थापित गर्नसक्ने संवैधानिक अधिकार सुनिश्चित गर्न भने हामी सफल भयौँ ।

    ०६४ को निर्वाचनबाट गठित पहिलो संविधानसभाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताजस्ता मान्यता अपरिवर्तनीय हुने व्यवस्था गरेको थियो । तर, त्यसरी कुनै पनि विचार वा व्यवस्था अपरिवर्तनीय गरिनु जनताको सर्वोच्चता र लोकतान्त्रिक मान्यताविपरीत हुने हाम्रो अडान र प्रयासको परिणामस्वरूप अन्ततः राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताबाहेक अरू सबै विषय जनताको अभिमतका आधारमा परिवर्तन वा संशोधन गर्न सकिने संवैधानिक व्यवस्था कायम भएको छ । यो अधिकारको सुनिश्चितता हाम्रो आर्जन हो । यही अधिकारका कारण नै राप्रपा नेपालले नेपालको संविधान ०७२ मा हस्ताक्षर गरेको हो । फलस्वरूप यो संविधानमा हाम्रो समेत स्वामित्व कायम छ ।

    संविधानको आत्मा : ०६२/६३ को परिवर्तनका संवाहक र मुख्य रूपले तत्कालीन माओवादी गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई महान् उपलब्धिका रूपमा लिन्छन् । उनीहरू यी अवधारणालाई संविधानको आत्मा मान्छन् । तर, हाम्रो विश्लेषणमा यी अवधारणा केवल अवस्था र व्यवस्था मात्र हुन्, जुन परिवर्तनशील छन् । हाम्रो प्राचीन सनातन मान्यतामा परिवर्तन हुने विषय वा वस्तु आत्मा हुनै सक्दैन ।

    शरीर परिवर्तनशील हो, तर आत्मा अजेय, अमर र अपरिवर्तनीय हुन्छ । त्यसर्थ, वर्तमान संविधानको आत्मा भनेको जनताको सर्वोच्चता, राष्ट्रिय सार्वभौमिकता र अखण्डता हुन् । विचारको स्वतन्त्रता, फरक विचार बोकेका कारण पार्टी प्रतिबन्धित नहुने प्रावधान, आवधिक निर्वाचन र संविधान संशोधनको सरल व्यवस्था यो संविधानका आधारस्तम्भ हुन् । यही शाश्वत यथार्थका कारण संविधानमा रहेका कतिपय मान्यताका कारण इतर विचार बोक्नेसमेत संविधानको परिधिभित्र अटाएका छन् । जनतामा विश्वास गर्ने राजनीतिक शक्तिले आफ्नो सिद्धान्त स्थापित गर्न अब जंगल पसेर बन्दुक बोक्नु वा सिमानामा बसेर आर्थिक नाकाबन्दी गर्नु आवश्यक छैन ।

    यसो भनेर यो संविधान सर्वस्वीकार्य वा उत्कृष्ट छ भन्न खोजेको होइन । विश्वका कुनै पनि संविधान शतप्रतिशत पूर्ण हुँदैनन् । संविधान एक गतिशील दस्ताबेज हो । समय, काल र परिस्थितिअनुसार जनताको अभिमतबाट संविधानलाई परिमार्जित र परिस्कृत गर्दै लैजान सकिन्छ र सक्नु पनि पर्छ ।

    सबल र कमजोर पक्ष : नेपालको वर्तमान संविधानमा थुप्रै कमी कमजोरी छन् । संविधानभित्र प्रशस्त विरोधाभास छन् । भाषागत त्रुटि अनगन्ती छन् । अनावश्यक, महत्वाकांक्षी र अव्यावहारिक विषय समेटिएका छन् । मौलिक हक र कर्तव्य तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वबारे अनावश्यक ढंगले लामो फेहरिस्त राखिएको छ । राष्ट्रलाई दीर्घकालीन रूपमा आघात पु¥याउन सक्ने नागरिकतासम्बन्धी व्यवस्था कायम गरिएको छ । संविधानका कतिपय प्रावधानले जातीय र साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्न खोजेका छन् ।

    राजनीतिक दलहरूले निहित स्वार्थपूर्तिका लागि संविधान र लोकतन्त्रलाई माध्यम बनाउने हो भने वर्तमान संविधान पनि तासको घरझैँ गल्र्यामगुर्लुम ढल्न कत्ति बेर लाग्दैन

    समाजवादजस्तो पार्टी विशेषको विचारलाई संविधानको अंग बनाइएको छ । धर्मनिरपेक्षताको विवादास्पद र भ्रमपूर्ण स्पष्टीकरण राखिएको छ । परम्परागत संस्थालाई निषेध गर्ने प्रयास भएको छ । बहुसंख्यक जनताको भावनाको सम्मान भएको छैन । संविधानसभामा रहेका दलहरूको प्रतिष्ठा र तुष्टीकरणका कारण संविधान भद्दा बन्न पुगेको छ ।

    यस्ता कैयौँ कमी–कमजोरी तथा त्रुटिका बाबजुद अस्थिरता र अराजकतापूर्ण लामो संक्रमणपश्चात् देशले संविधान प्राप्त गरेको तथ्यलाई सकारात्मक रूपमा ग्रहण गर्नुपर्छ । जेजस्तो भए पनि यो संविधानले विश्वका प्रचलित प्रजातान्त्रिक मूल्य र मान्यता अंगीकार गरेको छ । समानुपातिक र समावेशी प्रतिनिधित्वका दृष्टिकोणबाट यो संविधान निःसन्देह प्रगतिशील छ । विभिन्न क्षेत्रमा महिला वर्गको प्रतिनिधित्वको दृष्टिकोणबाट विश्वका कुनै पनि संविधानभन्दा नेपालको संविधान अग्रगामी छ । इमानदार र उदार भावनाले काम गर्ने हो भने यो संविधान शान्ति, स्थायित्व र समृद्धिको प्रस्थानबिन्दु बन्न सक्छ ।

    चुनौती र भावी कार्यदिशा : उपर्युक्त सकारात्मक यथार्थविपरीत राजनीतिक दलले निहित स्वार्थ परिपूर्तिका निमित्त संविधान र लोकतन्त्रलाई माध्यम बनाउने हो भने वर्तमान संविधान पनि तासको घरझैँ गल्र्यामगुर्लुम ढल्न कत्ति बेर लाग्दैन ।

    संविधान जारी भएको चार वर्ष पूरा भएको छ । नयाँ संविधानबमोजिम चुनाव भएर सरकार गठन भएको पनि दुई वर्ष पूरा हुन लाग्दै छ । तर, यसबीच जनताले सकारात्मक परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । त्यसको ठीकविपरीत भ्रष्टाचार, गरिबी, बेरोजगारी, धर्मपरिवर्तन, सर्वसत्तावाद, राष्ट्र विखण्डन र माओवादी विद्रोहको पुनरुत्थानजस्ता चुनौती र समस्या देखापरेका छन् । यी सबै कारणले गर्दा सरकार, दल र नेता मात्र होइन, समग्र राजनीतिप्रति नै जनताको असन्तुष्टि, आक्रोश र वितृष्णा तीव्र गतिले बढिरहेको छ ।

    लोकतन्त्रको आवरणमा लुटतन्त्र मौलाउँदै गएको छ । बिस्तारै सर्वसत्तावादतर्फ देश अग्रसर भइरहेको आभास हुन्छ । यहाँ स्मरण गर्नु जरुरी छ कि ००७ सालमा प्रजातन्त्रको पहिलो बिहानी झुल्केको नेपालमा किन अझै स्थायी राजनीतिक प्रणाली र संविधान कायम हुन सकेको छैन ? मूलतः त्यसका तीन कारण छन् भन्ने पंक्तिकारलाई लाग्छ । पहिलो निषेधको मानसिकता, दोस्रो आर्थिक परिवर्तनको अभाव र तेस्रो बाह्य हस्तक्षेप ।

    सात सालदेखि हरेक परिवर्तनपछि विजेता शक्तिले सबैलाई सँगै लिएर हिँड्नुको सट्टा आफ्नो वर्चस्व सुरक्षित गर्न अन्य शक्तिमाथि विभेद र निषेध गर्ने कार्य जारी रह्यो । फलस्वरूप परिवर्तन संस्थागत हुन सकेन । साथै, राजनीतिक परिवर्तनपश्चात् जनतालाई आर्थिक दृष्टिकोणबाट समृद्ध तुल्याउने काम भएन । परिवर्तनको प्रतिफललाई सीमित वर्गले अपहरण गरे । जनताले परिवर्तनमा आफ्नो स्वामित्व र स्वार्थ स्थापित गर्न सकेन । यसैगरी नेपालका हरेक परिवर्तनमा बाह्य शक्तिको व्यापक प्रभाव र भूमिका रह्यो ।

    परिवर्तनपश्चात् बाह्य शक्तिले आफ्नो स्वार्थ पूरा गर्न गराउन प्रयास गर्‍यो । जसलाई परिवर्तनकारी शक्तिले सहजै पूरा गरिदिन सक्ने अवस्था भएन । फलस्वरूप केही कालपछि बाह्य शक्ति फेरि नयाँ अस्थिरता सिर्जना गर्ने दिशातर्फ उद्यत भयो । यो चक्र विगत सात दशकदेखि चलिरहेको छ । अहिले पनि त्यसका प्रारम्भिक संकेत देखिन सुरु भइसक्यो । यो तितो यथार्थ महसुस गरी सबै राजनीतिक शक्तिले परिपक्वता र उदारता देखाउन ढिलो गर्नु हुँदैन ।

    यस क्रममा संविधानकै परिधिभित्रबाट राजादेखि माओवादीसम्म अटाउन सक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास गर्न, राजनीतिक मतभेद छाडेर आर्थिक विकासमा राष्ट्रिय सहमति कायम गर्न तथा अल्पसंख्यकलाई खुसी पार्ने भोटको राजनीतिको सट्टा अल्पसंख्यकको सुरक्षा र बहुसंख्यकको सम्मानको सिद्धान्तअनुरूप धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र कायम गर्नेतर्फ अब बहस आरम्भ गरिनुपर्छ । अन्यथा, संविधान जारी गर्ने वेलामा अवरोध सिर्जना गर्ने, संविधानमा आफ्नो स्थान नदेख्ने, संविधान च्यातेर सिमानामा नाकाबन्दी गर्ने सबै देशी, विदेशी शक्ति एक भएर संविधान र व्यवस्था मात्र होइन, देशलाई नै धरापमा पार्न सक्ने खतरा रहन्छ ।


    मंसिर १०, २०७७ बुधवार १३:३४:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # संविधान
  • # कमल थापा

  • क्यानाडानेपाल

    नेकपा कार्यकर्ताको नाममा दुई शब्द !

    क्यानाडानेपाल

    मंसिर ४

  • 1.2K
    SHARES
  • नेकपा कार्यकर्ताको नाममा दुई शब्द !

    -नेकपाका दुबै अध्यक्ष जाली, भ्रष्ट, षड्यन्त्रकारी र पदलोलुप हुन् भन्ने अरू कसैले होइन, उहाँहरू आफैले परस्पर स्वीकार गर्नुभएको तथ्य हो । 

    -'यति'देखि वाइडबड़ी र ओम्नीसम्मका भ्रष्टाचारमा सरकारको संलग्नता पनि पार्टीकै सचिबालयको बहुमतले स्वीकार गरेको र दस्ताबेजीकरण गरेको अवस्था छ । 

    -राष्ट्रपति राष्ट्रको नभएर एउटा पार्टीको, त्यसमा पनि एउटा गुट या एउटा व्यक्तिको बढ़ी भएको सत्य पनि दलदास बाहेक सबैलाई थाहै छ । 

    -दलदेखि सरकारसम्मको रिमोट देशबाहिर रहँदै आएको त थाहा थियो तर यसअघि अलिकति पर्दा, अलिकति लाज र अलिकति डर हुन्थ्यो, आज त्यो पर्दा र लाज समेत हटेको पनि सबैले देखेकै सत्य हो । 

    -वैदेशिक हस्तक्षेप एकै दिनमा यत्तिकै हुने होइन, यसै गरी ढोका खोल्दै गएपछि त्यो संस्थागत बन्ने हो भन्ने पनि धेरैलाई थाहा नै होला । 

    -नक्कली सुकुम्बासी बनेर सरकारी जग्गा हडप्ने जस्तो उच्च नैतिक धरातल भएकाहरू जेलमा या ढुकुटीको मुखमा, कहाँ छन् भन्ने पनि नाङ्गो आँखाले देख्न सकिने सत्य हो । 

    -कोभिड़, जनस्वास्थ्य, गरिबी, बेरोजगारी, भ्याक्सिन, मल, खानेपानी र विकास जस्ता विषयमा रातदिन सिंहदरबारमा घोटिनुपर्ने प्रधानमन्त्री महिनौंदेखि बालुवाटारमा बसेर तोड्ने र फोड्ने षड्यन्त्रमा व्यस्त रहेको पनि नाङ्गो सत्य नै हो । 

    -ओम्नी र सेनामार्फ़त किनिएका स्वास्थ्य सामग्रीमा अनियमितता भएको त संसदीय समितिले समेत स्वीकार गरेकै थियो । तैपनि स्वास्थ्यमन्त्री नफेरिनु र पार्टी समहमति नै भङ्ग हुने गरी अर्थमन्त्रालयमा 'यसम्यान' राख्ने हठ आउँदै गरेको भ्याक्सिन खरिद र कमिशनको खेल हो भन्ने पनि नलुकेको सत्य हो । 

    अब भन्नुस्, मिलापत्र, सम्झौता या सहमतिले गर्ने के हो ? यिनै भ्रष्टाचार, षड्यन्त्र र स्वार्थलाई ढाकछोप गर्ने र अनियमिततालाई थप मजबुत बनाउने होइन ? यो लड़ाइँ तैंले मात्रै खाने र म किन हेरिरहने भन्नेमा होइन ? सम्झौता भनेको बाँडेर खाऊँ भन्ने होइन ? के तपाईंका नेताले भनेका शब्द र आरोप झूठा हुन् ? हुन् भने यस्तरी झुटो बोल्नेलाई फेरि महान् नेता मान्न तपाईंको 
    आत्माले सराप्दैन ?
    तपाईंहरूले बाकसमा भोट खसाल्नुभएको हो, विवेक होइन । पार्टीको शीर्ष तहमैं भ्रष्टाचारको पोल यसरी छताछुल्ल हुँदा घरको समस्या घरभित्रै हल गर्नुपर्छ भन्नु र मिलेर जानुपर्छ भन्नु प्रकारान्तरले विवेकको बलि दिनु हो । याद राख्नुस्, तपाईंको घर पार्टी होइन, देश हो । र पार्टी केही जालीहरूले एक्लै या मिलेर जालझेल गर्ने सम्झौता गर्दैमा बच्ने होइन । जालझेलमुक्त बनेर मात्रै बच्ने हो । - नारायण गाउँलेको फेसबुकबाट


    मंसिर ४, २०७७ बिहिवार १८:४१:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नारायण गाउँले

  • क्यानाडानेपाल डेस्क

    ओलीज्यू,  प्रचण्डलाई चिठ्ठी लेखेजस्तै एकपल्ट जनतालाई पनि चिठ्ठी लेखेर बताइदिनुहोस् न !

    क्यानाडानेपाल

    मंसिर १

  • 836
    SHARES
  • ओलीज्यू,  प्रचण्डलाई चिठ्ठी लेखेजस्तै एकपल्ट जनतालाई पनि चिठ्ठी लेखेर बताइदिनुहोस् न !

    ओलीजी, तपाईंमाथि भ्रष्टाचारका आरोप प्रचण्ड या तपाईंकै पार्टीको सचिबालयले मात्रै लगाएको होइन । 

    १-वाइडबड़ी काण्डमा संसदीय छानबिन समितिले अनियमितता भएको ठहर गरेर कारबाही गर्न सिफारिश समेत गरेकै हो ! तपाईंले व्यक्तिगत रूपमा सफाइ दिएर आफूखुसी छानबिन समिति गठन गर्नुभएको थियो । निष्कर्ष पहिल्यै आफैले तोकेर तपाईंले गठन गरेको छानबिन समितिले के प्रतिवेदन दियो भन्ने तपाईंले लुकाउनुभयो । 

    २-ओम्नीले कसरी र किन ठेक्का पाएको थियो भन्ने जगजाहेर छ । तपाईंले त्यसको पनि हत्तपत्त बचाउ गर्नुभो । गुणस्तरहीन सामान तीन गुना बढ़ी मूल्यमा ल्याइएको तथ्य प्रचण्ड या माधव नेपालले होइन, तपाईंकै सरकारी निकाय स्वास्थ्य विभागले स्वीकार गरेको हो । तपाईंले बचाउ गरेको ओम्नीको ठेक्का प्रचण्डले रद्द गरेको हो ? ओम्नी काण्ड फेल भएपछि सेना प्रयोग गरेर रक्षामन्त्रीले तिनै सामान झन बढ़ी मूल्यमा ल्याउने षड्यन्त्र गरेको त सेनाले समेत बुझेर हात झिकेको होइन ? विभाग आफैले खुला प्रतिष्पर्धा मार्फ़त् १५ रुपियाँमा किनेको मास्कलाई सोही समयमा सेनामार्फ़त ५२ रुपियाँ तिरिएको होइन ? यस्तो सस्तोमा किनेपछि बाँकी सामान पनि यसरी किन्नुपर्नेमा स्वास्थ्य विभागकै निर्देशकहरूलाई कोभिड़कै बीचमा सरूवा गरिएको होइन ?

    ३-यति बारेको आरोप माधव नेपालले हो र लगाएको ? तपाईंले चीन भ्रमण गर्दा सरकारी विमान छोडेर यतिकै लगानीको हिमालयन एअर किन चार्टर गर्नुभएको ? विदेशमा अलपत्र मजदुरको उद्धारको नाममा बीस हजार पर्ने भाड़ालाई पचास हजार तोकेर हिमालयनलाई किन पोस्नुभएको ? गोकर्ण रिसोर्टदेखि दरबार मार्गसम्म किन कुनै एउटा कम्पनीलाई नाफ़ा हुने गरी नीतिनियम फेरबदल गर्ने काम हुन्छ ?

    ४-बालुवाटार काण्डमा प्रत्यक्ष लाभग्राही नेता थिए विष्णु पौडेल । उनले चार चोटि पास भएको भनिए पनि सरकारी छानबिन समितिले नै भूमाफिया भनेर किटेका शोभाकान्त ढकालसँग सोझै जग्गा किनेका थिए । भूमाफियासँग उनको पुरानो दोस्ती र सम्बन्ध सार्वजनिक समेत भएको थियो । उनले तिरेको भनिएको मूल्यमा त्यहाँ एक बित्ता जग्गा पनि आउन्न भन्ने त दुनियाँलाई थाहा छ । फेरि उनी त प्रमाणित सुकुम्बासी । एउटा सुकुम्बासीले बालुवाटार किन्न सक्नु या बालुवाटार किन्न सक्नेले सुकुम्बासी बनेर राज्यसँग जग्गा उछिट्याउनु छानबिनसम्मको विषय पनि होइन ? सामान्य अध्ययन पनि पूरा नगरेका उनी कुन नैतिकता, छवि र योग्यताका आधारमा अर्थमन्त्री बनाइए ?

    एउटा चकलेट व्यापारी पोस्न नीति नै फेर्नेदेखि सरकारी गोप्य सूचना स्वार्थपूर्तिका लागि चुहाउनेसम्मका आरोप पनि मिडियामा सप्रमाण आएका आरोप हुन् । विश्व कोभिड़सँग लड्दै गर्दा राष्ट्रपतिलाई दुरुपयोग गरेर रातारात पार्टी फुटाउने विधेयक कस्ले ल्याएको हो ? हरेक पटक भ्रष्टाचारको विषय उठ्ने बित्तिकै छानबिन हुनुअघि नै सफाइ दिने को हो ? चोरको खुट्टा काट्ने कुरो सुन्नेबित्तिकै खुट्टा तान्ने को हो ?  

    होला, सुशासन र विकासभन्दा पनि प्रचण्ड समूहलाई सत्ता र शक्तिमा हिस्सा चाहिएको होला । तपाईंले मात्रै खाएकोमा ईर्ष्या लागेको होला । यी मुद्दा या आरोपहरू हतियार बनाइएका होलान् । तर, यी मुद्दा प्रचण्डले सिर्जना गरेका होइनन् । प्रचण्डलाई मात्रै जबाफ या भाग दिएर यो विषय पक्कै सकिँदैन । 

    ओलीज्यू,  प्रचण्डलाई चिठ्ठी लेखेजस्तै एकपल्ट जनतालाई पनि चिठ्ठी लेखेर बताइदिनुहोस् न !

    - महामारीदेखि आर्थिक सङ्कटसम्मका विषयमा हरेक दिन सिंहदरबारका बैठकमा सहभागी हुनुपर्ने व्यक्ति बालुवाटारमैं बसेर दिनहुँ पार्टीको भागबण्डामा षड्यन्त्र बुन्दै बस्ने कहिलेसम्म ?
    - र, चाडबाडमा देशका मुख्य मन्दिर र स्कुलहरू बन्द गरेर आमसभा गर्दै आत्मप्रसंशाको भाषणमा रमाउने कहिलेसम्म ?- नारायण गाउँलेको फेसबुकबाट


    मंसिर १, २०७७ सोमवार ०७:३१:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नारायण गाउँले

  • क्यानाडानेपाल डेस्क

    राम्रो काम गरे सरकारको प्रसंशा गर्न छोडिन्न

    क्यानाडानेपाल

    कार्तिक २७

  • 1.1K
    SHARES
  • राम्रो काम गरे सरकारको प्रसंशा गर्न छोडिन्न

    -केही महिना अगाडि खतिवडा सरले पुस्तक आयातमा समेत कर लगाउनुभो ! केही पत्रकार मित्रले विभिन्न तर्क दिएर त्यसको बचाउ र समर्थन गर्नुभो । 

    तर आज त्यो कर हटाएकोमा विष्णु पौडेल र केपी ओलीलाई ज्ञानविज्ञानवादी भन्दै लामालामा वाक्यमा बधाई लेख्नेमा त उहाँहरू नै अगाडि हुनुहुँदो रहेछ ! चिन्नुहुन्छ ?

    -कृषिमन्त्री घनश्याम भूसालले मल नल्याउने ठेकेदारलाई कारबाही गरेको भनेर प्रसंशामा स्ट्याटस लेख्ने पनि उहाँहरू नै हुनुहुन्थ्यो । तर कहिल्यै मलको कारोबार नै नगरेका र हरेक ठेक्कामा बदमासी गरेका घरबेटीले नै मल ल्याउने ठेक्का किन र कति कमिशनमा पाएका थिए भन्ने उहाँहरूले लेख्नुभएन ।  थप दिग्दारी त के छ भने, अझै पनि मलको ठेक्का उनैसँग छ । अनि धरौटी जफत भएको समाचार नि ? भन्नुहोला, त्यो सही हो । 

    मलमा करोडौंको अनुदान छ । ठेक्काको मोबिलाइजेशन भनेर २०-२५% पहिल्यै झिक्न र बाँड्न पाइन्छ । मल ल्याउनुपर्दैन । अनि सरकारले दुई तीन लाख धरौटी जफत गरेको र ठेक्का तोडेको अभिनय गर्छ, सकियो । ठेक्का दिने पनि आफै, पाउने पनि आफै, अनुदान पड्काउने पनि आफै, मल नल्याउने पनि आफै, कारबाही गरेको अभिनय गर्ने पनि आफै अनि बाँकी ठेक्का पनि आफ्नै । 

    धान रोप्ने बेला मल आएन । धरौटी जफत भन्ने समाचार आयो । कहिल्यै नसुनिएको मल पैँचो माग्ने खबर आयो । अहिले गहुँ छर्ने बेला फेरि मल आएन । समाचार आयो, मल नल्याउने त फेरि पनि त्यही ठेकेदार रहेछ । मल त पक्कै आउने छैन तर फेरि कारबाहीको खबर भने आउनेछ र सरकारको फेरि प्रसंशा गर्न भने पाइने नै छ । जय होस् ! - नारायण गाउँलेको फेसबुकबाट


    कार्तिक २७, २०७७ बिहिवार १९:२२:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नारायण गाउँले

  • क्यानाडानेपाल डेस्क

    कोरोना संक्रमण मुक्त भेषराज पोखरेलको सुझाव : यी नियमहरुको पालना गरे, आफन्तले चिरशान्तिको कामना गर्नु पर्दैन

    क्यानाडानेपाल

    कार्तिक २६

  • 2.3K
    SHARES
  • कोरोना संक्रमण मुक्त भेषराज पोखरेलको सुझाव : यी नियमहरुको पालना गरे, आफन्तले चिरशान्तिको कामना गर्नु पर्दैन

    भेषराज पोखरेल । न सरकारले सोच्यो न हामीले सोच्यौं यति भयावह अवस्था आउला भनेर! यो त शुरूवात मात्रै जस्तो छ। अझै कति विकराल अवस्था आउने हो? हिजोसम्म निर्धक्क भएर मलाई केही हुन्न भन्नेहरूको पनि ओठमुख सुक्न थालिसकेको छ मलाई जस्तै। 

    म कोरोना प्रतिरोध गर्न सक्षम भनाउँदोको पनि मन स्थिर छैन। एउटा अदृश्य डरले पुरै मस्तिष्कलाई लथालिङ्ग बनाइ दिएको छ। कल्पनानै नगरेका आफन्त र साथीभाइहरूको अकाल अनि भयानक अन्त्यको खबरले परिस्थिति विकराल नै भइ सकेको अनुभूत गराउन थालेको छ! बरु म आफू संक्रमित हुँदा यति डराएको थिइनँ जति दिनहुँ छापिने मृत्युका कठोर प्रहारहरूको समाचारहरूबाट डराएको छु! 

    आफूलाई आइपर्ने दुर्घटनाको आभासले भन्दा पनि समाजमा भइ रहेको दुर्घटनाको त्रासले मन आक्रान्त हुन पुगेको छ। नसम्झिन खोज्दा पनि बाध्य छु युरोप र अमेरिकाको आततायी नरसंहार अनि सामुहिक चिहानका डरलाग्दा परिदृश्यहरू।

    तर यी तमाम निराशाहरूको कालो बादल भित्र पनि एउटा आशाको झिनो र कमजोर उज्यालोको कल्पना गर्न चाहिँ छोडेको छैन।
    मैले कोरोनालाई जितिसकेँ अब मलाई केही हुन्न भन्नेहरू र मलाई त अहिलेसम्म लाग्दै लागेन अब के लाग्ला र भन्नेहरूलाई विनम्र अनुरोध गर्न चाहान्छु। तपाईंको घमण्ड र बल मिच्याइँ भन्दा कोरोना हजार गुना शक्तिशाली छ तर यसलाई बेलैमा थिच्न सकियो भने तपाईंको अगाडि यो जति निरीह कुनै रोग हुने छैन।

    म चिकित्सा क्षेत्रको विशेषज्ञ त होइन नै तर मेरो अनुभवजन्य परामर्शले समाजमा आशाको किरण छर्न सक्छ भन्ने कुरामा शतप्रतिशत विश्वस्त छु। कोरोनाले कुनै पनि मानिसमा प्रवेश गरेपछि शुरुको  ४/६  दिन नाक र घाँटीलाई मात्रै आफ्नो आश्रय स्थल बनाउने रहेछ। यो अवधिमा कसैमा सामान्य लक्षण देखिने, कसैमा लक्षण नै नदेखिने र कसैमा जटिल लक्षण पनि देखिने हुँदो रहेछ। 

    यदि शुरुवाती ६ दिनभित्र हामीले वरदान स्वरुप प्राप्त गरेको घरेलु जडिबुटीको भरपुर उपयोग गर्न सक्ने हो भने कोरोनाको असर कमिलाको टोकाइ बराबर पनि नहुने रहेछ। तर जब शुरुवाती दिनमा हामी लापर्वाह हुन्छौ र मलाई केही भएको छैन , यो जाबो कोरोनालाई त म यत्तिकै पचाइ दिन्छु भन्ने दम्भले दबाउन खोज्छौँ तब हामी आफ्नै चिहान खन्ने काममा लाग्दा रहेछौँ।

    मानिसहरूको दर्दनाक अन्त्यको प्रमुख कारण पनि शुरुवाती दिनमा देखिएको सामान्य अवस्थामा आवश्यक सजगता अपनाउन नसक्नु हो भन्ने कुरामा म विश्वस्त छु। यो रोगले फकाइफकाइ मानिसलाई मृत्युशैय्यामा पुर्याउने रहेछ। यसर्थ विज्ञानको दबदबालाई समेत तुच्छ प्रमाणित गर्न सक्ने, संसारकै सर्वशक्तिमान मानिएको प्राणीलाई नै कायल पार्न सक्ने कोभिड १९  को पहिलो आक्रमणलाई नै निस्तेज पार्नु हाम्रो जीवनरक्षाको निर्विकल्प उपाय हो।

    यसका लागि निम्न कुराहरूको अवलम्बनमा सदा सचेत र सजग रहनु हुन सम्बन्धित सबैमा हार्दिक अपिल गर्न चाहान्छु।

    १) तिर्खा लाग्दा या नलाग्दा जुनसुकै बेला पनि मनतातो भन्दा अलि बढी तातोपानी नै पिउने बानी बसालौँ।

    २) आँखा पोल्ने, दुख्ने, बिझाउने या सामान्य असजिलो अनुभव मात्रै भएमा पनि तातोपानी (खाने कपुर, असुरोको पात, तुलसीको पात र नून सहित) को वाफ दिनमा कम्तीमा ३ पटक नियमित लिने गरौँ।

    ३) खाने कपूरलाई धूलो पारी सफा कपडामा बेरेर जुनसुकै बेला नाकबाट गन्ध लिइ राख्ने गरौँ।

    ४) दिनमा ४/५ पटक एउटा टिम्मुर र एउटा मरिच मुखमा राखिराख्ने बानी बसालौँ

    ५) काँडापानी बनाउँदा सक्खर (गुण), तुलसी, ज्वानो, जिरा, दालचीनी, टिम्मुर, र अदुवाको प्रयोगलाई अनिवार्य बनाऔं।

    कोरोनाको आतंक रहुन्जेल चिसो पानी या अन्य चिसो पेय पदार्थको प्रयोग गर्नु भनेको मृत्युसँग मितेरी गाँस्नु सरह हो भन्ने कुरालाई गम्भीर रूपमा मनन गरौँ।
    यति मात्रै विधि अपनाउन सके पनि हाम्रा आफन्तले हाम्रो आत्माको चिरशान्तिको कामना गर्नु पर्दैन। हाम्रा फोटाहरूले अखबार र सामाजिक सन्जालका भित्ताहरू रङ्गिने छैनन्।

    कोरोना लागेपछि म धेरै पैसा खर्च गरेर बाँचिहाल्छु नि भन्नेहरूलाई पनि उनीहरूले कमाएको अथाह धनराशिले बचाउन सकेको पाइएन। प्रकृतिले हामीलाई कोरोनाको विरुद्ध सजिलै लड्न सक्ने प्रतिरोधात्मक उपायका लागि सहस्र स्रोत दिएको छ। यी स्रोतहरूको नियमित उपयोग गरौँ र सबैलाई उपयोग गर्न उत्प्रेरित गरौँ।

    (लेखक भेषराज पोखरेल प्राध्यापक तथा शिक्षावीद हुन्)


    कार्तिक २६, २०७७ बुधवार २०:००:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण मुक्त
  • # भेषराज पोखरेल

  • क्यानाडानेपाल डेस्क

    images
    images
    ताजा खबर