शनिबार
७ मङ्सिर
२०७६

महरा काण्डको नजिर : अब आरोपी भीआईपीहरु प्रहरी हिरासतमा बस्नु पर्दैन

आइतबार कार्तिक १७, २०७६/ Sunday 11-03-19

काठमाडौं । न्यायालयले न्याय सम्पादन गर्दा अपाउने शैली र निर्णय तथा अनुसन्धानका क्रममा प्रहरीले गर्ने कार्यलाई नजिरको रुपमा लिन सकिन्छ । अदालतले गरेको फैसला र निर्णयलाई विश्वभरको न्यायालयले नजिरको रुपमा लिने गरेका छन् । निर्वतमान सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपका विषयमा प्रहरीले गरेको अनुसन्धानले फरक नजिर राखेको छ । सामान्य रोगको उपचारका लागि तीन हप्तासम्म अस्पताल बस्नुले उनी प्रहरी कार्यालयमा बसेर प्रहरीलाई अनुसन्धान गर्न दिन नचाहेको र यसलाई प्रहरीले पनि स्वीकार्दा गलत नजिर बसेको हो । 

संघीय संसदकी कर्मचारी रोशनी शाहीले यौनदुराचारको आरोपमा उजुरी दिएपछि असोज १९ गते पक्राउ परेका महरा तीन हप्तादेखि उपचारको बाहनामा थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा बसेका छन् । उच्च रक्तचाप, मधुमेह र स्वासप्रस्वासमा समस्या देखिएपछि महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ । असोज २३ गते अस्पताल भर्ना भएका महरामाथिको अनुसन्धान र बयान अस्पतालभित्र र सरकारी वकिलको कार्यालयमा लिइयो । उच्च रक्तचाप र स्वासप्रस्वासको समस्यामा तीन हप्तासम्म अस्पताल बस्नु पर्ने अवस्था देखिँदैन, किनकि उनले पाँच घण्टाभन्दा लामो बयान दिन सकेका छन् । घण्टौँ बयान दिन सक्ने महराको अस्पताल बसाइ स्वास्थ्यका कारण भन्दा पनि प्रहरी कार्यालयमा बस्न नचाहेको देखिन्छ । 

आइतबार (कात्तिक १७) काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ । यसअघि शुक्रबार करिब ५ घण्टा बयान दिएर महरा पुनः नर्भिक अस्पताल गएका थिए । विशिष्ट व्यक्तिहरुको उपचारका क्रममा स्वास्थ्य अवस्थाकाबारेमा विज्ञप्ति जारी गर्दै आएको नर्भिक अस्पतालले महराको विषयमा विज्ञप्ति जारी नगर्नुले पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको अड्कल काट्न गाह्रो छैन । 

‘नेपालको कानुन दैवले जानून’भन्ने उखान भन्दै आएका नेपालीले सोझासिधालाई मात्रै कानुन लाग्ने बताउने गरेका छन् । ठीक यस्तै महरा काण्डमा पनि देखियो । उच्च रक्तचाप र स्वासप्रस्वासको समस्यालाई लिएर प्रहरीले सर्वसाधारणलाई तीन हप्तासम्म अस्पतालमा राखेर अनुसन्धान गर्न चाहन्छ ? यो प्रश्न टड्कारोरुपमा उठेको छ । यद्यपी मेडिकल रिपोर्टमा भने महरा अस्पताल बस्नु पर्ने देखिएको छ । तर, मुलुककै जेठो अस्पताल वीरको भीभीआईपीका लागि छुट्याइएको क्याबिन साढे दुई दशकदेखि खाली रहेको छ । तर, महरा वीर नगएर निजी अस्पताल नर्भिक गएका हुन् । नर्भिक जानुमा आफू अनुकुलको रिपोर्ट बनाउन सहज हुने भएकाले गएको आलोचकहरुले बताएका छन् । सरकारी अस्पतालमा आफू अनुकुलको रिपोर्ट बनाउन असहज हुने भएपछि नर्भिक महराको रोजाइमा परेको हो । 

अस्पतालभित्र गरिएको महरामाथिको अनुसन्धानमा कति न्यायोचित ढंगबाट प्रमाण जुटे होलान्, यसबारे प्रहरी र पछि न्यायालयले बताउने छ । तर, सबैको सहज पहुँच हुने अस्पतालमा तीन हप्तासम्म आरोपी महरालाई राखेर प्रहरीलाई अनुसन्धान गर्न सहज भने पक्कै भएन । मुलुकको पाँचौँ वरियतामा रहँदा लागेको आरोपबारे आफ्नो कार्यालयमा बाहिर अस्पतालमा राखेर अनुसन्धान गर्नु प्रहरीकै लागि ठूलो चुनौती बन्यो । प्रहरीलाई बिना अवरोध अनुसन्धान गर्न दिनु सबैको दायित्व हो, तर महरा यसबाट चुके । सरकारी वकिलको कार्यालय वा अदालत आउँदा महरा अस्पताल बस्नु पर्ने अवस्था नरहेको देखिन्छ । घण्टौंसम्म बयान दिन सक्ने महराको अस्पताल बसाइले अब आरोपी भीभीआईपी प्रहरी कार्यालयमा होइन अस्पतालको सुविधान सम्पन्न बेडमा बसेर प्रहरीले अनुन्धान गर्न लगाउने नजिर बसेको छ ।