शनिबार
७ मङ्सिर
२०७६

अमिक शेरचनले प्रदेश प्रमुख खान मानेनन्, यी हुन् भाग्यमानी जो प्रदेश प्रमुख बन्दैछन्

सोमबार कार्तिक १८, २०७६/ Monday 11-04-19

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रदेश प्रमुख नियुक्तिका विषयमा छलफल हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सरकारको सिफारिसमा सातै प्रदेशका प्रमुखलाई हटाएपछि पद रिक्त रहेको छ । आइतबार नियुक्तिको तयारी गरिए पनि नेकपाभित्र सहमति हुन नसकेपछि आज बस्ने सचिवालय बैठकले सातवटै प्रदेश प्रमुखको नाम टुंगो लगाउने भएको छ । तिनै नाम आजै बस्ने मन्त्रिपरिषद् बैठकले नियुक्ति गर्ने बताइएको छ । मन्त्रिपरिषद्को बैठक दिउँसो १२ बजेका लागि बोलाइएको छ ।

आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा नाम टुंगो लगाउने तयारी थियो । बैठकमा सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, शर्मिला त्रिपाठी, अमिक शेरचन, खेमराज भट्ट मायालु, केशव बडाल, अमृतकुमार बोहरा, महेन्द्रबहादुर पाण्डेको नाम प्रस्तुत भएको बताइन्छ । ओली र प्रचण्डले ती नाम प्रस्तुत गरेका थिए । तर, अमिक शेरचन, अमृत बोहराले अझै सक्रिय राजनीति गर्ने चाहना व्यक्त गरेको स्रोतले बतायो ।

नेकपा उच्च स्रोतका अनुसार प्यासी, परियार, त्रिपाठी, पाण्डे र यादवको नाम प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस हुने छ । नेकपा सचिवालय बैठकले नाम टुंगो लगाएपछि मन्त्रिपरिषद् बैठक बसेर नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारले सिफारिस गरिने छ ।