काठमाडौं । काठमाडौंमा सोमबार राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा प्रदर्शन भएको छ ।

उपत्यकाबाहिर विशाल प्रदर्शन भइरहेका बेला सोमबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म निकालिएको र्यालीमा सहभागीहरुले राजतन्त्र, हिन्दु राष्ट्र पुनर्स्थापना पक्षमा नारा लगाएका थिए ।

राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा भएको प्रदर्शनमा सहभागीले राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेर ‘राजा आऊ देश बचाऊ, ‘दल भन्दा देश ठूलो हो, दलीय झण्डा छोडेर देशको झण्डा बोकौँ’जस्ता नारा पनि लगाएका थिए ।
भारत र चीनको उच्चस्तरीय नेपाल भ्रमण र राजसंस्था पुनर्बहाली प्रदर्शनको संकेत

संघीय गणतन्त्रात्मक व्यवस्था खारेज गरि संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यको मागसहित काठमाडौँमै प्रदर्शन भएको हो ।


बर्दिया, धनगढी, पोखरा, विराटनगर, जनकपुर, हेटौँडासहित उपत्यकाबाहिर भएका प्रदर्शनमा राजतन्त्र र हिन्दू राष्ट्रको एजेण्डा बोकेको राप्रपाका नेता तथा कार्यकर्ता सहभागी थिए भने कांग्रेस र सत्तारुढ नेकपा समर्थक पनि सहभागी भए ।

तर, सोमबार काठमाडौंमा राजतन्त्र र हिन्दू राष्ट्र पक्षमा भएको प्रदर्शनमा कांग्रेस समर्थकमात्रै होइन नेता नै सहभागी भएका छन् ।


माइतीघर मण्डलाबाट राजतन्त्र, हिन्दूराष्ट्रको पक्षमा निकालिएको र्यालीमा कांग्रेसका नेता विपिन कोइराला सहभागी भएका हुन् ।

यद्यपि उनी हाल कांग्रेसको कुनै समितिमा भने छैनन् । तर, उनी नेपाल विद्यार्थी संघको संस्थापक समेत रहेका कोइराला कांग्रेसका नेता हुन् ।

मंसिर १५, २०७७ सोमवार
१६:०२:३२ बजे : प्रकाशित