शनिबार
७ मङ्सिर
२०७६

जब अदालतबाट शीर निहुर्‍याउँदै महरा कारागार जाँदा...(भिडियो)

सोमबार कार्तिक १८, २०७६/ Monday 11-04-19

काठमाडौं । काठमाडौंसहित मुलुकभर चिसो बढिरहेको छ । तर, कृष्णबहादुर महरा काण्डले मुलुक भने तताइरहेको छ । सोमबार पनि मुलुकको ध्यान महरा काण्डले नै तान्यो । सोमबार दिउँसो महरा काण्डको रिपोर्टिङका लागि म पनि काठमाडौं जिल्ला अदालतमा गएँ । मसँगै सहकर्मी एलिसा विष्ट पनि थिइन् । हामी दुवै महरामाथि लागेको आरोपबारे अदालतको आउने आदेशको रिपोर्टिङका लागि अदालत पुगेका हौँ ।

मुलुकको पाँचौँ वरियतामा रहेका तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि लागेको यौनदुराचारको आरोप पत्याउन जति कठिन थियो, त्यत्ति नै शंका पनि थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दायर गरेको जबरजस्ती करणी प्रयासको मुद्दामा सरकारी वकिल र महरा पक्षका वकिलको बहसपछि अदालतले दिन लागेको आदेश कुरेर हामी दुई दर्जनबढी पत्रकार अदालत परिसरमा बसिरह्यौँ । तुलानात्मकरुपमा धेरै मानिसको भीड बढिरहेको थियो भने सुरक्षाकर्मीहरु पनि उत्तिकै थिए ।

अफिसमा अपडेट गराउनु पर्ने भएकाले भित्र भइरहेका कुराबारे जानकारी लिनुपथ्र्याे । थुनछेक बहस सकिएको र अब अदालतले आदेश तयार गर्न लागेको सूचना डेक्सलाई जानकारी गराएपछिको अवस्था भने अदालत परिसरमा फरक देखियो । मानिसहरुको उपस्थिति बढिरहेको थियो भने अदालतभित्रै ओहोरदोहोर चलिरहेको थियो । यसबीचमा कोही भन्दै थिए महरा छुट्ने भए, कोही भन्थे महरा जेल जाने भए । तर, हामी आधिकारिक धारणा कुरिरहेका थियौँ । आइरहेका सूचना भेरिफाइ गरिरहेका थियौँ । अरु पत्रकार साथीहरुलाई पनि अफिसबाट फोन आइरहेको थियो । त्यहाँ भइरहेको गतिविधिबारे टिपाइरहेका थिए ।

मुलुककै ध्यान तानेको विषयमा सञ्चार माध्यमको चासो बढ्नु स्वभाविक थियो । थुनछेक बहस सकिएको करिब तीन घण्टापछि महरालाई जेल चलान गरेको आदेश अदालतले दिएको खबर पायौँ । त्यहाँ उपस्थित सबैले आ–आफ्नो अफिसमा जानकारी गरायौँ । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले पूर्पक्षका लागि महरालाई डिल्लीबजार कारागारको थुनामा राख्न आदेश दियो । तत्काल प्राप्त प्रमाण हेर्दा महरालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने देखिएको निष्कर्ष निकालेको इजलासले उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको छ । सो आदेशपछि महरा अब कारागार जाने निश्चित भएपछि हामी उनको केही धारणा आउँछकि भनेर कुरेर बस्यौँ । निकैबेरपछि शीर निहु¥याउँदै महरा सुरक्षाकर्मीको घेराभित्र रहेर बाहिरिए ।

सहकर्मी एलिसाले महराको भिडियो र फोटो लिने प्रयास गरिन् । बाक्लो सुरक्षाकर्मी र दुई दर्जनबढी पत्रकारको भीडबाट महराको स्पष्ट देखिने फोटो र भिडियो क्यामेरामा कैद गर्न नसकिए पनि हामी पत्रकारसहित उपस्थित सबैको आँखाले भने महराको शीर निहुरिएको तस्विर लियो । 

मुलुकको परिवर्तन र समाजमा रहेका विभेद, अत्याचार, कुरीतिविरुद्ध सशस्त्र संघर्ष गरेका र राज्यको पाँचौँ वरियतामा रहेका महरा जबरजस्ती करणीको प्रयास आरोपमा जेल जाँदा म जस्ता लाखौँ महिला अझै पनि असुरक्षित रहेको महसुस गरेर अदालतबाट अफिस तर्फ लागेँ ।