• Nov 24 2020 | २०७७, मंसिर ९गते

२०७७, मंसिर ९गते

यो साता चर्चामा:

शान्ति सम्झौताको १४ वर्ष : नेतालाई सत्ताको भर्‍याङ, पीडितको मुद्दा प्रथामिकतामै परेन  

क्यानाडानेपाल मंसिर ५ २०७७
  • 500
    SHARES
  • शान्ति सम्झौताको १४ वर्ष : नेतालाई सत्ताको भर्‍याङ, पीडितको मुद्दा प्रथामिकतामै परेन  

    काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष पूरा भएको छ । माओवादी युद्ध प्रभावितहरुले अझै न्याय पाउन सकेका छैनन् । विस्थापित घर फर्कन सकेका छैनन् । लुटिएको सम्पत्ति फिर्ता भइसकेको छैन । बेपत्ता भएकाहरुकोबारेमा अझै स्पष्ट जानकारी दिन सकिएको छैन । बेपत्ता भएकाहरु घर फर्कने आशमा आफन्त बसिरहेका छन् । तर, द्वन्द्व पीडितलाई न्याय दिन सरकार र राजनीतिक दलहरु गम्भीर बन्न सकेन । 

    माओवादी युद्धलाई अन्त्य गर्दै भएको विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुसार काम हुन नसकेन । युद्धको नेतृत्व गरेको पार्टी र नेताहरु पटक पटक सरकारमा सहभागी भए । तर, पीडितले न्याय पाएनन् ।  

    तत्कालीन विद्रोही नेकपा माओवादी र सरकार दुवै पक्षबाट भएका पीडितहरु अझैसम्म समाजमा पुनस्र्थापित हुन सकेका छैनन् भने बेपत्ता आफन्तजनकोबारेमा धेरैजना अनविज्ञ छन् । जस कारण शान्ति सम्झौतामा उल्लेख भएका शब्दहरु नै पीडितका लागि पीडादायी बन्न पुगे । 

    तत्कालीन युद्धको नेतृत्व लिएको माओवादीले तीन पटकसम्म सरकारको नेतृत्व लिइसकेको छ भने माओवादी र एमालेबीच भएको पार्टी एकीकरणपछि गठन भएको नेकपा अहिले सरकारको नेतृत्व लिइसकेको छ । 

    सो युद्धका कमाण्डर तथा विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्ता पुष्पकमल दाहाल प्रचण्ड दुईपटक प्रधानमन्त्री भए भने अहिले सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष छन् ।  

    शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक खोजबिन आयोग ढिलो गरी स्थापना हुनु र आयोगमाथि राजनीतिक हस्तक्षेप हुनुले पनि पीडितले न्याय पाउन ढिलो भएको हो ।  राजनीतिक तहबाट उचित काम हुन नसक्नुले अझैपनि युद्धको पीडा कायमै छ ।

    शान्ति प्रक्रियाको प्रमुख कार्य ‘सेना समायोजन’ बाहेक पीडितले न्यायको अनुभूति गर्न सकेका छैनन् । पीडितलाई न्याय दिन तत्काल सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक खोजबिन आयोगलाई स्वतन्त्र रुपमा काम गर्न दिनु पर्ने र उसलाई राज्यले सहयोग गर्नुपर्ने देखिन्छ । 

    के छ शान्ति प्रक्रियामा ?

    नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौता 

    प्रस्तावना

    नेपाली जनताले २००७ साल पहिलेदेखि हालसम्म पटक पटक गर्दै आएका ऐतिहासिक संघर्ष र जनआन्दोलन मार्फत लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा प्रकट भएको जनादेशको सम्मान गर्दै,

    सात राजनीतिक दल र ने.क.पा.(माओवादी) बीच सम्पन्न १२ बुँदे समझदारी, ८ बुँदे सहमति, नेपाल सरकार र नेकपा (माओवादी) बीच सम्पन्न २५ बुँदे आचारसंहिता, २०६३ साल कार्तिक २२ गते सात राजनीतिक दल र नेकपा माओवादीका शीर्ष नेताहरुको बैठकका निर्णयहरु लगायत नेपाल सरकार र ने.क.पा.(माओवादी) बीच सम्पन्न सबै सम्झौता, सहमति, आचारसंहिता र संयुक्त राष्ट्र संघलाई प्रेषित समान धारणाको पत्राचारप्रति पूर्ण प्रतिवद्धताको पुनर्पुष्टि गर्दै,

    देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक समस्याहरुलाई समाधान गर्न राज्यको अग्रगामी पुर्नसंरचना गर्ने संकल्प गर्दै,

    प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन व्यवस्था, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता तथा कानूनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्यमान्यताप्रतिको पूर्ण प्रतिवद्धतालाई दोहोर्‍याउदै,

    मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ तथा अन्तर्राष्ट्रिय मानवीय कानुन तथा मानव अधिकार सम्बन्धी आधारभूत सिद्धान्त र मान्यताहरुप्रति प्रतिवद्ध रहँदै,

    स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा संविधान सभाको निर्वाचनमा सहभागी हुन पाउने नेपाली जनताको आधारभूत अधिकारको प्रत्याभूति गर्दै,

    लोकतन्त्र, शान्ति, समृद्धि, अग्रगामी आर्थिक–सामाजिक परिवर्तन तथा देशको स्वतन्त्रता,अखण्डता, सार्वभौमिकता र स्वाभिमानलाई केन्द्रमा राख्दै,

    २०६४ साल जेठ महिनाभित्र स्वतन्त्र र निष्पक्ष रुपले संविधान सभाको निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धतालाई कार्यान्वयन गर्ने दृढता व्यक्त गर्दै ,

     

    संविधान सभा मार्फत् नेपाली जनताको सार्वभौमसत्ताको सुनिश्चितता, अग्रगामी राजनीतिक निकास, राज्यको लोकतान्त्रिक पुनर्संरचना र आर्थिक–सामाजिक–सांस्कृतिक रुपान्तरण गर्न दुवै पक्षबीच भएको राजनीतिक सहमतिका आधारमा देशमा २०५२ सालदेखि चल्दै आएको सशस्त्र द्वन्द्वलाई अन्त्यगरी शान्तिपूर्ण सहकार्यको नयाँ अध्याय प्रारम्भ भएको घोषणा गर्दै,

    नेपाल सरकार र नेकपा (माओवादी) का बीच भएको युद्धविरामलाई दीर्घकालीन शान्तिमा परिणत गर्ने प्रतिवद्धताका साथ नेपाल सरकार र नेकपा (माओवादी) का बीच यो विस्तृत शान्ति सम्झौता सम्पन्न गरिएको छ ।

    १. प्रारम्भिक

    १. यस सम्झौताको नाम “विस्तृत शान्ति सम्झौता, २०६३” रहेको छ । छोटकरीमा यस सम्झौतालाई शान्ति सम्झौता भनिने छ ।

    १.२ यो सम्झौता सरकार पक्ष र माओवादी पक्षको सार्वजनिक घोषणा मार्फत् आजैका मितिदेखि लागू हुनेछ ।

    १.३ दुवै पक्षले आ–आफ्नो मातहतका सबै निकायलाई यो सम्झौता तत्काल कार्यान्वयन तथा पालना गर्न आवश्यक निर्देशन जारी गर्नेछन् र कार्यान्वयन गर्ने गराउने छन् ।

    १.४ अनुसूचीमा सङ्लग्न सात राजनीतिक दल, सरकार र माओवादी पक्ष बीच भएका सबै सहमति, समझदारी, आचारसंहिता र निर्णयहरु यस सम्झौताको अभिन्न अङ्ग मानिनेछन् ।

    १.५ यो सम्झौता कार्यान्वयन गर्न आवश्यकता अनुसार पछि गरिने सहमति र सम्झौताहरु पनि यसैका अंग मानिने छन् ।

    २. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस सम्झौतामाः–

    (क) “युद्धविराम” भन्नाले नेपाल सरकार तथा ने.क.पा. (माओवादी) बीच एक अर्कालाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमण, अपहरण, बेपत्ता, थुनछेक, सशस्त्र बलहरुको परिचालन, सुदृढीकरण, आक्रामक एवं हिंसात्मक कारवाही तथा जुनसुकै माध्यमबाट समाजमा विध्वंश फैलाउने, उत्तेजित पार्ने एवम् भड्काउने क्रियाकलाप निषेध गर्ने कार्यलाई जनाउँछ ।

    (ख) “अन्तरिम संविधान” भन्नाले संविधान सभाद्वारा नयाँ संविधान निर्माण भई लागू नभएसम्मको लागि जारी गरिने “नेपालको अन्तरिम संविधान २०६३” लाई जनाउँछ ।

    (ग) “अन्तरिम मन्त्रिपरिषद्” भन्नाले अन्तरिम संविधान बमोजिम गठन हुने “अन्तरिम मन्त्रिपरिषद्” लाई जनाउँछ ।

    (घ) “दुवै पक्ष” भन्नाले नेपाल सरकार पक्ष र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) पक्षलाई जनाउँछ ।

    (ङ) ‘प्रचलित कानुन’ भन्नाले नेपालको अन्तरिम संविधान २०६३ र यससँग नबाझिएका प्रचलित नेपाल कानुनलाई जनाउँछ । तर यस परिभाषाले अन्तरिम संविधान २०६३ जारी हुनु अघिको कानुनी व्यवस्थालाई वाधा पुर्‍याउने छैन ।

    (च) ‘प्रमाणीकरण’ भन्नाले संयुक्त राष्ट्र संघले सेना, लडाकु र हतियारको प्रमाणीकरण गरी यथार्थ लगत तयार पार्ने विषयलाई जनाउँछ ।

    ३. राजनीतिक –आर्थिक– सामाजिक रुपान्तरण र द्वन्द्व व्यवस्थापनः दुवै पक्ष देहाय बमोजिम राजनीतिक–आर्थिक– सामाजिक रुपान्तरणको नीति तथा कार्यक्रम अवलम्वन गर्न र देशमा विद्यमान द्वन्द्वको सकारात्मक ढङ्गले व्यवस्थापन गर्न सहमत छन्ः

    ३.१. २०६३ कार्तिक २२ गते सम्पन्न सात दल र नेकपा (माओवादी)का शीर्ष नेताहरुको बैठकका निर्णयहरु (अनुसूची–६) का आधारमा देशमा अग्रगामी राजनीतिक, आर्थिक र सामाजिक परिवर्तन सुनिश्चित गर्ने ।

    ३.२ अन्तरिम संविधानका आधारमा अन्तरिम व्यवस्थापिका –संसद गठन गर्ने र अन्तरिम सरकारद्वारा आगामी २०६४ जेठ महिनाभित्र स्वतन्त्र र निष्पक्ष रुपमा संविधान सभाको निर्वाचन सम्पन्न गर्ने र नेपाली जनतामा अन्तरनिहित सार्वभौमसत्ताको व्यवहारिक प्रत्याभूति गर्ने ।

    ३.३ मुलुकको शासन व्यवस्था सम्बन्धी कुनै पनि अधिकार राजामा नरहने । स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याई ट्रष्ट बनाएर राष्ट्रहितमा प्रयोग गर्ने । राजाको हैसियतले राजा ज्ञानेन्द्रलाई प्राप्त भएका सबै सम्पत्तिहरु (जस्तै विभिन्न स्थानका दरबारहरु, वन तथा निकुञ्जहरु, ऐतिहासिक रपुरातात्विक महत्वका सम्पदाहरु आदि) राष्ट्रियकरण गर्ने । राजसंस्था कायम राख्ने यान राख्ने बारे संविधान सभाको पहिलो बैठकद्वारा साधारण बहुमतले टुंगो लगाउने ।

    ३.४ विश्वव्यापी रुपमा स्वीकृत आधारभूत मानव अधिकार, बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणाली, जनतामा निहित सार्वभौमसत्ता र जनताको सर्वोच्चता, संवैधानिक सन्तुलन र नियन्त्रण, विधिको शासन, सामाजिक न्याय र समानता, स्वतन्त्र न्यायपालिका,आवधिक निर्वाचन, नागरिक समाजको अनुगमन, पूर्ण प्रेस स्वतन्त्रता, जनताको सूचनाको अधिकार, राजनीतिक दलहरुका क्रियाकलापहरुमा पारदर्शिता र जवाफदेहीता, जनसहभागिता, निष्पक्ष, सक्षम तथा स्वच्छ प्रशासनतन्त्रका अवधारणाहरुको पूर्ण परिपालना गर्ने राजनीतिक प्रणाली अवलम्वन गर्ने र भ्रष्टाचार तथा द्वन्दहिनताको अन्त्य गर्दै सुशासन कायम गर्ने ।

    ३.५ वर्गीय, जातीय, भाषिक, लैङ्गिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावको अन्त्य गर्दै महिला, दलित, आदिवासी जनजाति,मधेशी, उत्पीडित, उपेक्षित र अल्पसङ्ख्यक समुदाय,पिछडिएका क्षेत्र लगायतका समस्याहरुलाई संवोधन गर्न राज्यको वर्तमान केन्द्रीकृत र एकात्मक ढाँचाको अन्त्य गरी राज्यको समावेशी, लोकतान्त्रिक र अग्रगामी पुनर्सरचना गर्ने ।

    ३.६ सामन्तवादका सवै रुपहरुको अन्त्य गर्ने आर्थिक सामाजिक रुपान्तरणको न्यूनतम साझा कार्यक्रम आपसी सहमतिले तय गरेर लागू गर्दै जाने ।

    ३.७ सामन्ती भूस्वामित्वको अन्त्य गर्दै वैज्ञानिक भूमिसुधार कार्यक्रम लागू गर्ने नीति अवलम्वन गर्ने ।

    ३.८ राष्ट्रिय उद्योगधन्दा र साधन श्रोतको संरक्षण र प्रवर्धन गर्ने नीति अनुसरण गर्ने ।

    ३.९ शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र खाद्य सुरक्षामा सवै नागरिकको अधिकार स्थापित गर्ने नीति लिने ।

    ३.१० सुकुम्बासी, कमैया, हलिया, हरवाचरवा लगायतका आर्थिक सामाजिक रुपले पछाडि परेका वर्गलाई जग्गा लगायत आर्थिक सामाजिक सुरक्षाको व्यवस्था गर्ने नीति लिने ।

    ३.११ सरकारी लाभको पदमा रहेर भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गर्नेहरु उपर कडा कारबाही गरी दण्डित गर्ने नीति लिने ।

    ३.१२ देशको आर्थिक–सामाजिक रुपान्तरण एवं न्यायका साथै देशलाई छिटो समुन्नत र आर्थिकरुपले समृद्धशाली वनाउन एक साझा विकास अवधारणा निर्माण गर्ने ।

    ३.१३ श्रमिकका पेशागत अधिकारको सुनिश्चितता गर्दै उद्योगधन्दा, व्यापार, निर्यात प्रवर्धन आदिका लागि लगानी वृद्धि गरी रोजगारी एवं आय आर्जनका अवसरहरुको व्यापक वृद्धि गर्ने नीति अनुसरण गर्ने ।

    ४. सेना र हतियार व्यवस्थापनः संविधान सभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न र सेनाको लोकतान्त्रिकरण तथा पुनर्संरचना गर्न विगतमा भएका बाह बुँदे समझदारी, आठ बुँदे सहमति, पच्चीस बुँदे आचारसंहिता, संयुक्त राष्ट्र संघलाई पठाइएको पाँच बुँदे पत्र र कार्तिक २२ गते सम्पन्न शीर्ष नेताहरुको बैठकका निर्णयहरु अनुरुप निम्न कामहरु गर्ने –

    माओवादी सेनाको सम्बन्धमा –

    ४.१. २०६३ साल साउन २४ गते नेपाल सरकार र ने.क.पा.(माओवादी) को तर्फबाट संयुक्त राष्ट्र संघलाई पठाइएको पत्रमा व्यक्त प्रतिवद्धता अनुसार माओवादी सेनाका लडाकुहरु( combatants ) निम्न लिखित स्थानहरुमा अस्थायी शिविरहरु (cantonments) मा सीमित रहने । संयुक्त राष्ट्र संघद्वारा उनीहरुको प्रमाणीकरण र अनुगमन गर्ने । मुख्य शिविरहरु निम्न स्थानहरुमा रहनेछन्ः–

    १. कैलाली २. सुर्खेत ३. रोल्पा ४. नवलपरासी ५. चितवन ६. सिन्धुली ७. इलाम

    मुख्य शिविरहरु वरिपरि ३/३ वटाका दरले सहायक शिविरहरु रहनेछन् ।

    ४.२. माओवादी सेनाका लडाकुहरु शिविरमा रहेपछि शिविरको सुरक्षार्थ चाहिने हातहतियार र गोलीगठ्ठा वाहेक अन्य सवै हतियारहरु शिविर भित्रै सुरक्षित भण्डारण गर्ने र एकल ताल्चा लगाई चावी सम्बन्धित पक्षले नै राख्ने । सो ताल्चा लगाउने प्रक्रियामा संयुक्त राष्ट्र संघको निगरानीका लागि उसको रेकर्ड, साइरन सहितको संयन्त्र (device) सम्मिलित गर्ने । भण्डारण गरिएका हातहतियारहरुको आवश्यक जाँच गर्नु पर्दा संयुक्त राष्ट्र संघले सम्बन्धित पक्षको रोहवरमा गर्ने । क्यामरा अनुगमन लगायत यस सम्बन्धका अन्य विस्तृत प्राविधिक विवरण संयुक्त राष्ट्र संघ, ने.क.पा. (माओवादी) र नेपाल सरकारका सहमतिले तयार गर्ने ।

    ४.३. माओवादी सेनाका लडाकुहरु अस्थायी शिविरमा बसिसकेपछि उनीहरुको रसदपानी लगायत अन्य आवश्यक व्यवस्था नेपाल सरकारले गर्ने ।

    ४.४ माओवादी सेनाका लडाकुहरुको रेखदेख, समायोजन र पुनस्र्थापना निम्ति अन्तरिम मन्त्रिपरिषद्ले विशेष कमिटी बनाएर काम गर्ने ।

    ४.५ माओवादी नेताहरुको सुरक्षा व्यवस्था सरकारसँगको सहमतिले गर्ने ।

    नेपाली सेनाको सम्बन्धमा –

    ४.६ संयुक्त राष्ट्र संघलाई प्रेषित पत्रमा व्यक्त प्रतिवद्धता अनुसार नेपाली सेना ब्यारेकभित्र सीमित रहने । उसका हतियारहरु कसैको पनि पक्ष या विपक्षमा प्रयोग नहुने कुराको प्रत्याभूति गर्ने । माओवादी सेनाका तर्फबाट भण्डारण भएका हतियारको बराबरी संख्यामा नेपाली सेनाले पनि आफ्ना हतियारहरु सुरक्षित भण्डारण गर्ने र एकल ताल्चा लगाई चावी सम्वन्धित पक्षले नै राख्ने । सो ताल्चा लगाउने प्रक्रियामा संयुक्त राष्ट्रसंघको निगरानीको लागि उसको रेकर्ड, साइरन सहितको संयन्त्र (device) सम्मिलित गर्ने । भण्डारण गरिएका हातहतियारहरुको आवश्यक जाँच गर्नु पर्दा संयुक्त राष्ट्र संघले सम्बन्धित पक्षको रोहवरमा गर्ने । क्यामरा अनुगमन लगायत यस सम्बन्धका अन्य विस्तृत प्राविधिक विवरण संयुक्त राष्ट्र संघ, नेपाल सरकार र ने.क.पा.(माओवादी) को सहमतिले तयार गर्ने ।

    ४.७. नेपाली सेनाको नियन्त्रण, परिचालन र व्यवस्थापन नयाँ सैनिक ऐन बमोजिम मन्त्रिपरिषद्ले गर्ने । अन्तरिम मन्त्रिपरिषद्ले राजनीतिक सहमति र अन्तरिम व्यवस्थापिकाको सम्बन्धित समिति समेतको सुझाव लिएर नेपाली सेनाको लोकतान्त्रिकरणको विस्तृत कार्ययोजना तर्जुमा र कार्यान्वयन गर्ने । यस अन्तर्गत नेपाली सेनाको उपयुक्त संख्या, लोकतान्त्रिक संरचना, राष्ट्रिय र समावेशी चरित्र निर्माण गर्दै लोकतन्त्र र मानवअधिकारको मूल्यद्वारा सेनालाई प्रशिक्षित गर्ने लगायतका कामहरु गर्ने ।

    ४.८ नेपाली सेनाले गर्दै आएका सीमा सुरक्षा, आरक्ष, निकुञ्ज, बैंक, विमानस्थल, विद्युतगृह, टेलिफोन टावर, केन्द्रीय सचिवालय, विशिष्ट व्यक्तिहरुको सुरक्षा लगायतका कामहरुलाई निरन्तरता दिने ।

    ५. युद्धविरामः

    ५.१ सैन्य कारवाही र सशस्त्र परिचालनको अन्त्यः

    ५.१.१. दुवै पक्ष देहायमा उल्लिखित कार्य नगर्ने प्रतिवद्धता व्यक्त गर्दछन्ः–

    क) प्रत्यक्ष वा अप्रत्यक्षरुपमा एक अर्काेप्रति लक्षित कुनै पनि किसिमको हातहतियारको प्रयोग वा आक्रमण गर्ने कार्य,

    ख) दुवै पक्षको सहमतिले हातहतियार भण्डारण गरिएको स्थानमा हातहतियारसहित या रहितरुपमा अर्को पक्षको हातहतियार खानतलासी वा वरामदी गर्ने कार्य,

    ग) कुनै व्यक्तिलाई नोक्सानी गर्ने वा मानसिक दवाव पुर्‍याउने कार्य,

    घ) एक अर्कालाई लक्षित गरी धराप (एम्बुस) थाप्ने कार्य,

    ङ) हत्या तथा हिंसात्मक कारवाहीहरु

    च) अपहरण/पक्राउ/ थुनछेक/बेपत्ता पार्ने कार्य

    छ) सार्वजनिक/निजी/सरकारी वा सैनिक सम्पत्ति नोक्सानी,

    ज) हवाई आक्रमण वा बम्बारी,

    झ) जमिन मुनी बारुद विछ्याउने कार्य (माइनिङ्ग) र विध्वंसात्मक कार्य (स्यावोटेज),

    ञ) एक अर्काको सैनिक गतिविधिको सुराकी गर्ने कार्य ।

    ५.१.२ दुवै पक्षले थप सैन्य भर्ती गर्ने छैनन् र हातहतियार, गोलीगठ्ठा तथा विष्फोटक पदार्थ ओसार पसार वा एक अर्का विरुद्ध सैनिक हर्कत गर्ने छैनन् । तर, अन्तर्राष्ट्रिय सीमा र भन्सार विन्दुमा हात हतियार, विष्फोटक पदार्थ वा त्यसको अंश वा कच्चा पदार्थ जस्ता सामानहरु गैरकानूनी रुपमा ओसारपसार गर्ने कार्य रोक्ने सम्बन्धमा अन्तरिम सरकारले सुरक्षा निकाय परिचालन गरी गस्ती गर्न, खानतलासी गर्न वा वरामदी गर्न सक्नेछ ।

    ५.१.३ कुनै पनि व्यक्ति वा समूह अवैध हात हतियार, गोलीगठ्ठा र विष्फोटक पदार्थ साथमा लिई आवतजावत गर्ने छैनन् ।

    ५.१.४ दुवै पक्ष युद्धको समयमा प्रयोग गरिएका धराप तथा बारुदी सुरुङ्गहरुको रेखाङ्कन, भण्डारण ३० दिनभित्र एक अर्कालाई जानकारी दिन र ६० दिनभित्र निष्कृय र निर्मूल गर्न एक अर्कालाई सहयोग गर्नेछन् ।

    ५.१.५ कुनै पनि नागरिक सभा वा राजनैतिक सभा वा सार्वजनिक कार्यक्रममा दुवैपक्षका सेना हतियार वा कम्व्याट पोशाकसहित उपस्थित हुने छैनन् ।

    ५.१.६ नेपाल प्रहरी र सशस्त्र प्रहरीले जनआन्दोलन र शान्ति सम्झौताको मर्म र भावना अनुरुप तथा प्रचलित कानूनबमोजिम कानून व्यवस्था र शान्ति सुव्यवस्था एवं अपराध अनुसन्धानको कार्य चालु राख्नेछ ।

    ५.१.७ एक पक्षका सशस्त्र व्यक्तिले अर्काे पक्षका सशस्त्र व्यक्तिलाई ‘शत्रु’ भनी सम्बोधन गर्न र व्यवहार गर्न समेत रोक लगाउने गरी आ–आफ्ना सशस्त्र निकाय र व्यक्तिलाई परिपत्र गर्नेछन् ।

    ५.१.८ सशस्त्र द्वन्द्वको क्रममा कब्जा गरिएका, ताला लगाइएका वा प्रयोग गर्न नदिइएका सरकारी, सार्वजनिक, निजी भवन, जमिन तथा अन्य सम्पत्तिहरु लगत खडा गरी तत्काल फिर्ता गर्न दुवै पक्ष सहमति व्यक्त गर्दछन् ।

    ५.२ स्थिति सामान्यीकरणका उपायहरुः

    ५.२.१ इच्छा विपरीत तथा प्रचलित कानुन प्रतिकूल नगद तथा जिन्सी संकलन र कर असूली गर्न पाइने छैन ।

    ५.२.२ आफ्ना कब्जामा रहेका मानिसहरुको बारेमा जानकारी सार्वजनिक गरी १५ दिनभित्र सबैलाई मुक्त गर्न दुवै पक्ष मञ्जुर गर्दछन् ।

    ५.२.३ दुवै पक्षद्वारा वेपत्ता पारिएका व्यक्तिहरुको तथा युद्धको समयमा मारिएकाहरुको वास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिनभित्र सूचनाहरु सार्वजनिक गरी परिवारजनलाई समेत जानकारी उपलब्ध गराउन मञ्जुर गर्दछन् ।

    ५.२.४ दुवै पक्ष सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गराउन तथा युद्धबाट पीडित र विस्थापित व्यक्तिहरुको लागि राहतकार्य र पुनस्र्थापन गराउन राष्ट्रिय शान्ति तथा पुनस्र्थापन आयोग गठन गर्न र त्यसमार्फत् यससम्बन्धी काम अगाडि बढाउन सहमत छन् ।

    ५.२.५ दुवै पक्ष सशस्त्र द्वन्द्वका क्रममा मानव अधिकारको गंभीर उल्लंघन गर्ने तथामानवता विरुद्धको अपराधमा संलग्नहरुको बारेमा सत्य अन्वेषण गर्न र समाजमामेलमिलापको वातावरण निर्माण गर्न आपसी सहमतिबाट उच्चस्तरीय सत्यनिरुपण तथा मेलमिलाप आयोगको गठन गर्न सहमत छन् ।

    ५.२.६ दुवै पक्ष नेपाली समाजमा लोकतन्त्र, शान्ति र अग्रगामी परिवर्तन सुनिश्चित गर्ने प्रतिवद्धताकासाथ देशमा विद्यमान सबै स्वरुपका युद्ध, आक्रमण, प्रत्याक्रमण,हिंसा र प्रतिहिंसा परित्याग गर्ने प्रतिज्ञा गर्दछन् । शान्ति स्थापना र शान्ति सुरक्षाको व्यवस्थामा दुवै पक्षले एक अर्कालाई सहयोग गर्ने कुरामा सहमति रहेको छ ।

    ५.२.७ दुवै पक्ष विभिन्न व्यक्तिहरुलाई राजनीतिक कारणले लगाइएका आरोप, दावी,उजुरी र विचाराधीन रहेका मुद्दा मामिला फिर्ता लिन र थुनामा राखिएकाबन्दीहरुको स्थिति तत्कालै सार्वजनिक गरी तुरुन्त रिहा गरिने ग्यारेन्टी गर्दछन् ।

    ५.२.८ दुवै पक्ष सशस्त्र द्वन्द्वको क्रममा विस्थापित व्यक्तिहरुलाई राजनीतिक पूर्वाग्रह बिनास्वेच्छाले आ–आफ्नो पैतृक वा पूर्व बसोबासको स्थानमा फर्कन दिन, युद्धका कारणले नष्ट भएका पूर्वाधारहरु पुनर्निर्माण गर्न र विस्थापित व्यक्तिहरुलाई ससम्मान पुर्नस्थापना तथा सामाजीकरण गर्न प्रतिवद्धता व्यक्त गर्दछन् ।

    ५.२.९ उपरोक्त सन्दर्भमा उत्पन्न समस्याहरु आपसी सहमतिको आधारमा समाधान गर्न एवंआपसी सम्बन्ध सामान्यीकरण तथा मेलमिलाप गर्न अनुकुल वातावरण श्रृजना गर्ने कार्यमा सबै राजनितिक दलहरु, नागरिक समाज र स्थानीय संघ संस्थाहरु समेतको सहयोगमा व्यक्तिगत तथा सामुहिक रुपमा उत्तरदायित्व लिई कार्यान्वयन गर्न गराउन दुवै पक्ष सहमत छन् ।

    ५.२.१० दुवै पक्ष परिवारका कुनै सदस्य एक अर्का पक्षसँग सम्वद्ध भएका आधारमा परिवारका अन्य सदस्यहरुमाथि कुनै पनि विभेद नगर्न र कुनै पनि दवाव नदिन प्रतिबद्धता जाहेर गर्दछन् ।

    ५.२.११ नेपाल सरकार तथा सार्वजनिक निकायका कर्मचारीहरुलाई देशको कुनै पनि भागमा स्वतन्त्र रुपमा आवतजावत गर्न, आफ्नो कर्तव्य पालन गर्न तथा आफ्नो कार्यसम्पादनको क्रममा तिनीहरुलाई कुनै पनि किसिमको वाधा अवरोध खडा नगर्न र त्यस्तो अवरोध खडा हुन नदिन तथा उनीहरुको काममा सहयोग गर्न दुवै पक्ष सहमत छन् ।

    ५.२.१२ संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय दातृ समुदाय लगायत नेपाल स्थित कूटनैतिक नियोग, राष्ट्रिय वा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, प्रेस, मानव अधिकारवादीहरु,निर्वाचन पर्यवेक्षक तथा विदेशी पर्यटकहरुलाई नेपाल राज्यभित्र कानुन बमोजिम निर्वाध आवत जावत गर्न दिने कुरामा दुवै पक्ष सहमत छन् ।

    ५.२.१३ दुवै पक्ष प्रचार–प्रसारका कार्यक्रमहरु शिष्ट र मर्यादित ढङ्गले संचालन गर्न प्रतिबद्ध छन् ।

    ६.६. युद्ध समाप्ति :

    ६.१ २०६३ कार्तिक २२ गते सात राजनीतिक दल र नेकपा (माओवादी) बीच सम्पन्न ऐतिहासिक सहमतिको आधारमा सरकार माओवादीबीच चालू युद्धविरामलाई स्थायी रुपदिदै २०५२ सालदेखि चलिआएको सशस्त्र युद्ध समाप्त भएको घोषणा गर्दछौं ।

    ६.२ सात दल र नेकपा (माओवादी) का शीर्ष नेताहरुको २०६३ साल कार्तिक २२ गतेको बैठकबाट भएका निर्णयहरु दीर्घकालीन शान्तिको लागि मूल नीतिगत आधार हुनेछन् ।

    ६.३ नेपाली सेना ब्यारेकमा र माओवादी सेनाका लडाकुहरु अस्थायी शिविरमा आइसकेपछि सहमति, सम्झौता र कानुन प्रतिकूल हतियार राख्न, प्रदर्शन, डरत्रास र कुनै पनि रुपमाहिंसा र हतियारको प्रयोग गर्न कानूनतः दण्डनीय हुनेछ ।

    ६.४ दुवै पक्षका सेनाले कसैको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न र पक्ष विपक्षमा लाग्न पाउने छैनन् । तर उनीहरुलाई मताधिकारबाट वञ्चित गरिनेछैन ।

    ७.७. मानव अधिकार, मौलिक अधिकार र मानवीय कानूनको परिपालनाः मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ तथा अन्तर्राष्ट्रिय मानवीय कानून र मानव अधिकार सम्बन्धी आधारभूत सिद्धान्त र मान्यताहरुप्रति प्रतिवद्ध रहँदै दुवै पक्ष देहायका विषयहरुमा आफ्नो सहमति जनाउँछन्ः

    ७.१ मानव अधिकार ः

    ७.१.१ दुवै पक्षले मानव अधिकारप्रतिको सम्मान र संरक्षण तथा अन्तर्राष्ट्रिय मानवीय कानूनप्रतिको प्रतिवद्धताको पुनःपुष्टि गर्दछन् र कुनै पनि व्यक्ति उपर वर्ण, लिङ्ग,भाषा, धर्म, उमेर, जात जाति, राष्ट्रिय वा सामाजिक उत्पत्ति, सम्पत्ति, अपाङ्गता, जन्म र अन्य हैसियत, विचार वा आस्थाको आधारमा भेदभाव हुनु हुँदैन भन्नेकुरालाई स्वीकार गर्दछन् ।

    ७.१.२ दुवै पक्ष नेपाली जनताको नागरिक, राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको उपभोग गर्ने वातावरण सिर्जना गर्न सहमत छन् र भविष्यमा कुनैपनि अवस्थामा यस्ता अधिकार हनन नहुने वातावरण बनाउन प्रतिवद्ध छन् ।

    ७.१.३ दुवै पक्ष सम्झौता पत्रमा उल्लेख भएका अधिकारको उपभोगमा बाधा पुर्‍याउने जिम्मेवार व्यक्तिहरु माथि कानुन अनुसार निष्पक्ष छानवीन तथा कारवाही हुनेछ भनी प्रतिवद्धता जाहेर गर्दछन् र दण्डहिनतालाई प्रश्रय नदिने सुनिश्चितता प्रदान गर्दछन् । यसका साथै द्वन्द्व र यातना पीडित तथा वेपत्ता पारिएकाहरुको परिवारको राहत प्राप्त गर्ने अधिकारलाई समेत सुनिश्चित गर्दछन् ।

    ७.१.४ दुवै पक्षले सर्वसाधारणलाई यातना दिने, अपहरण गर्ने, जबरजस्ती कुनै काममा लगाउने काम गर्ने छैनन् र त्यस्ता कार्यलाई निरुत्साहित गर्न आवश्यक कारबाहीसमेत गर्नेछन् ।

    ७.१.५ दुवै पक्षले धर्म निरपेक्षताको मूल्य मान्यताका आधारमा कुनै पनि सामाजिक, सांस्कृतिक, धार्मिक संवेदनशीलता, धार्मिक स्थल र व्यक्तिको धार्मिक आस्थाको सम्मान गर्नेछन् ।

    ७.२ बाँच्न पाउने अधिकारः

    ७.२.१. दुवै पक्षले व्यक्तिको बाँच्न पाउने आधारभूत अधिकारको सम्मान र संरक्षण गर्दछन् । कसैलाई पनि यो आधारभूत अधिकारबाट वञ्चित गरिने छैन तथा मृत्युदण्ड दिइने गरी कुनै पनि कानुन बनाइने छैन ।

    ७.३ वैयक्तिक मर्यादा, स्वतन्त्रता र आवतजावतको अधिकार

    ७.३.१. दुवै पक्षले वैयक्तिक मर्यादाको अधिकारको सम्मान र रक्षा गर्दछन् । यस सिलसिलामा कानून बमोजिम स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित व्यक्तिलगायत कोही पनि यातना वा अन्य क्रुर, अमानवीय वा अपमानजनक व्यवहार वा सजायका पात्र हुने छैनन् । कानुनतः नागरिकको गोपनीयताको अधिकारलाई सम्मान गरिनेछ ।

    ७.३.२. दुवै पक्षले व्यक्तिको स्वतन्त्रता र सुरक्षाको अधिकारको पूर्ण सम्मान गर्दै कसैलाई पनि स्वेच्छाचारी वा गैरकानूनी थुनामा राख्ने, अपहरण गर्ने वा बन्धक बनाउने छैनन् । दुवै पक्षले बेपत्ता पारेका र कब्जामा राखेका प्रत्येक व्यक्तिको अवस्था सार्वजनिक गर्न र तिनीहरुका परिवारजन, कानूनी सल्लाहकार र अन्य आधिकारिक व्यक्तिलाई यससंग सम्बन्धित जानकारी दिन सहमत छन् ।

    ७.३.३ दुवै पक्षले प्रत्येक नागरिकको स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउने अधिकार तथा आफ्नो बसोबासको स्थान कानुनी मर्यादामा रही छान्ने स्वतन्त्रतालाई सम्मान तथा संरक्षण गर्दै द्वन्द्वबाट विस्थापित भएका व्यक्ति र निजका परिवारहरु आफ्नो मूल बासस्थानमा फर्कन पाउने वा तिनीहरुले चाहे अनुसार अन्य कुनै ठाउँमा बसोबास गर्न पाउने अधिकारको सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्दछन् ।

    ७.४ नागरिक तथा राजनीतिक अधिकार

    ७.४.१ दुवै पक्ष प्रत्येक व्यक्तिको विचार, अभिव्यक्ति, संघसंस्था खोल्ने तथा शान्तिपूर्वक भेला हुने स्वतन्त्रता तथा शोषण विरुद्धको हकको सम्मान र संरक्षण गर्न प्रतिवद्ध छन् ।

    ७.४.२ दुवै पक्ष प्रत्येक नागरिकलाई प्रत्यक्ष वा आफूले इच्छाएको प्रतिनिधि मार्फत सार्वजनिक सरोकारको विषयमा भाग लिने, मतदान गर्ने, निर्वाचित हुने र सार्वजनिक सेवामा प्रवेशको समानताको अधिकारको सम्मान गर्दछन् ।

    ७.४.३ दुवै पक्ष व्यक्तिको सुसूचित हुने अधिकारको सम्मान गर्न प्रतिवद्ध छन् ।

    ७.५ आर्थिक– सामाजिक अधिकार

    ७.५.१ व्यक्तिले स्वतन्त्ररुपले छानेको वा स्वीकारेको रोजगारी गरी जीवन यापन गर्ने अधिकारको सम्मान तथा संरक्षण गर्न दुवै पक्ष प्रतिवद्ध छन् ।

    ७.५.२. दुवै पक्ष सबै जनताको खाद्य सुरक्षा सम्बन्धी हकको सम्मान एवम् प्रत्याभूति गर्न प्रतिवद्ध छन् । खाद्यवस्तु, खाद्य उत्पादन, खाद्यान्नको प्रयोग, ओसारपसार तथा वितरण कार्यमा कुनै हस्तक्षेप नगरिने सुनिश्चितता गर्दछन् ।

    ७.५.३ दुवै पक्ष नागरिकको स्वास्थ्य सम्बन्धी हकको सम्मान र संरक्षण गर्नुपर्छ भन्ने कुरालाई आत्मसात गर्दछन् । दुवै पक्षले औषधिको आपूर्ति, सहायता एवम स्वास्थ्यसम्बन्धी अभियानमा वाधा पुर्‍याउने छैनन् र द्वन्द्वको कारणबाट घाइते भएकाहरुको औषधि उपचार गर्न एवं पुर्नस्थापनाको कार्य गर्न प्रतिवद्धता व्यक्त गर्दछन् ।

    ७.५.४ दुवै पक्षले सबैलाई शिक्षासम्बन्धी अधिकारको प्रत्याभूति र सम्मान गर्नुपर्छ भन्ने कुरालाई आत्मसात गर्दै शिक्षण संस्थामा उपयुक्त शैक्षिक वातावरण कायम गर्न प्रतिवद्ध छन् । दुवै पक्ष शिक्षासम्बन्धी हकको उल्लंघन नहुने कुराको सुनिश्चितता गर्न सहमत छन् । शिक्षण संस्थालाई कब्जामा लिने एवम् प्रयोग गर्ने र शिक्षक विद्यार्थीहरुलाई बेपत्ता पार्ने वा कब्जा वा अपहरण गर्ने कार्य तत्काल रोक्न र विद्यालय तथा अस्पताललाई असर पार्ने गरी सैन्य व्यारेक नराख्न सहमति व्यक्त गर्दछन् ।

    ७.५.५ कानून बमोजिम बाहेक कसैको पनि व्यक्तिगत सम्पत्ति जफत वा कब्जा गरिने छैन भन्ने कुरामा दुवै पक्ष सहमति व्यक्त गर्दछन् ।

    ७.५.६ दुवै पक्ष मुलुकमा औद्योगिक वातावरणलाई नखल्वल्याई उत्पादन कार्यलाई निरन्तरता दिन, औद्योगिक प्रतिष्ठानमा सामूहिक सौदावाजीको हक एवं सामाजिक सुरक्षाको सम्मान गर्न, औद्योगिक प्रतिष्ठान र श्रमिकबीच कुनै समस्या उत्पन्नभएमा उनीहरुलाई शान्तिपूर्ण रुपमा समस्याको समाधान गर्न प्रेरित गर्ने कुरामा विश्वास गर्दछन् र अन्तर्राष्ट्रिय श्रम संगठनले तय गरेको कामको अधिकारका सम्मान गर्दछन् ।

    ७.६ महिला तथा बालबालिकाको अधिकार

    ७.६.१ दुवै पक्ष महिला तथा बालबालिकाका अधिकारहरुको विशेष संरक्षण गर्न, कुनै पनि प्रकारको यौनजन्य शोषण तथा दुव्र्यवहार लगायत महिला तथा बालबालिका विरुद्ध हुने वालश्रम लगायतका सबै खाले हिंसात्मक कार्यहरुमाथि तत्काल रोक लगाउन र अठार वर्ष वा सोभन्दा मुनिका केटाकेटीहरुलाई कुनै पनि सैन्यबलमा समावेश वा उपयोग नगर्न पूर्ण रुपमा सहमत छन् । यसरी प्रभावित बालबालिकाहरु तुरुन्त उद्धार गरिने छन् र तिनीहरुको पुनस्र्थापनको लागि आवश्यक र यथोचित सहयोग प्रदान गरिनेछ ।

    ७.७. वैयक्तिक स्वतन्त्रताको अधिकार

    ७.७.१. दुवै पक्ष आस्था र विचारको स्वतन्त्रता, वाक तथा प्रकाशन स्वतन्त्रता, शान्तिपूर्वक र बिना हातहतियार भेला हुने स्वतन्त्रता, आवागमनको स्वतन्त्रता,आफूखुशी पेशा व्यवसाय गर्न, सम्पत्ति आर्जन र भोगचलन गर्ने स्वतन्त्रता, शान्तिपूर्ण राजनीतिक कृयाकलापमा सहभागी हुने स्वतन्त्रता, कानुनको नजरमा सबै समान हुने र सहिष्णुतापूर्ण न्याय व्यवस्था सञ्चालन गर्न गराउन सहमत छन् ।

    ८. मतभेद निरुपण तथा कार्यान्वयन संयन्त्रः

    ८.१ दुवै पक्ष विगतमा भए गरेका त्रुटिहरुलाई भविष्यमा नदोहोर्‍याउने र क्रमिक रुपमा सच्यांउदै लैजाने गरी वैयक्तिक एवम् सामुहिक रुपमा उत्तरदायी हुने सहमति प्रकट गर्दछन् ।

    ८.२ राष्ट्रिय शान्ति तथा पुनस्र्थापन आयोगले शान्ति अभियानलाई सफल बनाउन आवश्यकता अनुसार संयन्त्रहरुको निर्माण गर्न सक्नेछ । आयोगको गठन र कार्यविधि अन्तरिम मन्त्रिपरिषद्ले तय गरे बमोजिम हुनेछ ।

    ८.३ दुवै पक्ष वर्तमान र भविष्यमा हुन सक्ने सबै किसिमका पारस्परिक मतभेद वा समस्यालाई आपसी सम्वाद, समझदारी, सहमति तथा वार्ताको माध्यमबाट समाधान गर्न प्रतिबद्ध छन् ।

    ८.४ यो सम्झौता, अन्तरिम संविधान तथा सात दल एवं नेपाल सरकार र नेकपा (माओवादी)बीच भएका सबै निर्णय, सहमति र समझदारीहरु कार्यान्वयन गर्न अन्तरिम मन्त्रिपरिषद्ले राष्ट्रिय शान्ति तथा पुनस्र्थापन आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोग, राज्यको पुनर्संरचना सम्बन्धी उच्चस्तरीय सुझाव आयोग लगायत आवश्यकता अनुसारका अन्य संयन्त्रहरुको गठन गर्ने र तिनीहरुको कार्यविधि निर्धारण गर्न सक्ने कुरामा दुवै पक्ष प्रतिबद्धता व्यक्त गर्दछन् ।

    ९. कार्यान्वयन तथा अनुगमनः

    यस सम्झौतामा उल्लेख गरिएका सहमतिको कार्यान्वयन तथा त्यसको अनुगमनको लागि निम्न व्यवस्था गर्न दुवै पक्ष सहमत भएका छन्–

    ९.१ दुवै पक्ष संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको नेपाल स्थित कार्यालयबाट यस सम्झौतामा उल्लेखित मानवअधिकार सम्बन्धी प्रावधानहरुकोे अनुगमनको कामलाई निरन्तरता दिन सहमत छन् ।

    ९.२ दुवै पक्ष संयुक्त राष्ट्र संघको नेपाल स्थित मिशनबाट पूर्व प्रेषित पाँच बुँदे पत्र र यस सम्झौतामा उल्लेख भए अनुसार सैन्य तथा हतियार व्यवस्थापनको अनुगमन गराउन सहमत छन् र त्यस कार्यमा सहयोग पुर्‍याउन प्रतिवद्धता व्यक्त गर्दछन् ।

    ९.३ दुवै पक्ष संयुक्त राष्ट्र संघबाट संविधान सभाको निर्वाचनको पर्यवेक्षण गराउन सहमतछन् ।

    ९.४ राष्ट्रिय मानव अधिकार आयोगले कानून बमोजिम निर्वाह गर्नु पर्ने दायित्वका साथैयस सम्झौतामा उल्लेख गरिएका मानव अधिकार अनुगमन सम्बन्धी कार्यहरु पनि सम्पादन गर्नेछ । आयोगले आफ्नो कार्य सम्पादन गर्ने क्रममा मानव अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग आवश्यक समन्वय गरी सहयोग लिनसक्नेछ ।

    ९.५ माथि उल्लेखित सबै निकायले दिएका प्रतिवेदनहरु बुझ्न, अनुरोध गरेका सूचनाहरु उपलब्ध गराउन तथा तिनले दिएका सुझाव तथा सिफारिसहरुको कार्यान्वयन सहमति र छलफलको आधारमा गर्न दुवै पक्ष सहमत छन् ।

    १०. विविधः

    १०.१ कार्तिक २२ गतेको निर्णयको मर्म र शान्ति सम्झौताको भावना अनुरुप सरकार वा राज्यसंयन्त्रका कुनै पनि क्षेत्रमा समानान्तर वा अन्य स्वरुपको संयन्त्र सञ्चालन नगर्न दुवै पक्ष सहमत छन् ।

    १०.२ दुवै पक्ष प्रस्तुत सम्झौताको कार्यान्वयनका लागि आवश्यकतानुसार अन्य पूरक सहमतिहरुमा हस्ताक्षर गर्न मञ्जुर गर्दछन् ।

    १०.३ दुवै पक्षको सहमतिबाट प्रस्तुत सम्झौतामा कुनै पनि समयमा संशोधन गर्न सकिने छ । संशोधन गर्न चाहेमा सो को लिखित सूचना अर्को पक्षलाई प्रदान गर्न दुवै पक्ष सहमत छन् । त्यसरी सूचना प्राप्त भएपछि दुवै पक्षको सहमतिबाट संशोधन गर्न सकिनेछ । त्यस्तो संशोधनले गर्ने व्यवस्था मान्यता प्राप्त न्यूनतम अन्तर्राष्ट्रिय मानव अधिकार, मानवीय कानूनको मापदण्ड तथा शान्ति स्थापनाको मूल मर्मभन्दा न्यून हुने छैन ।

    १०.४ यो सम्झौताको कुनै व्याख्यामा कुनै विवाद उत्पन्न भएमा यो सम्झौताको प्रस्तावना र अनुसूचीमा सङ्लग्न दस्तावेजहरुका आधारमा दुवै पक्ष सम्मिलित संयुक्त संयन्त्रले व्याख्या गर्ने छ र यो व्याख्या अन्तिम हुनेछ ।

    १०.५ अन्तरिम व्यवस्थापिका –संसद गठन भए पछि यस सम्झौतामा उल्लेखित ‘दुई पक्ष’ को अवधारणा तथा स्थिति स्वतः समाप्त हुनेछ । यसपछि यस सम्झौतामा उल्लेखित सम्पूर्ण अभिभारा कार्यान्वयन गर्ने गराउने दायित्व अन्तरिम मन्त्रिपरिषद्ले व्यवस्था गरे बमोजिमहुनेछ । सम्झौताको पालना तथा कार्यान्वयनमा सहयोग पुर्‍याउनु सबै राजनीतिक दलहरुको कत्र्तव्य तथा जिम्मेवारी हुनेछ ।

    १०.६ सिङ्गो मुलुक संविधान सभाको निर्वाचनको मुख्य अभियानमा केन्द्रित भइरहेको बेला आफ्ना समस्या र मागहरुलाई संवाद र वार्ताको माध्यमबाट समाधान गर्न तथा संविधान सभाको निर्वाचन तथा शान्ति सुरक्षाको स्थितिलाई सहयोग पुर्‍याउन सबैमा हार्दिक अनुरोध गर्दछौं।

    १०.७ सशस्त्र द्वन्द्वलाई अन्त्य गर्दै संविधान सभाको निर्वाचनद्वारा नयाँ लोकतान्त्रिक नेपालको निर्माण तथा दिगो शान्ति स्थापनाको यो ऐतिहासिक अभियानमा सकृय सहभागिता जनाई सफल बनाउन नागरिक समाज, पेशागत समुदाय, जनवर्गीय सङ्गठनहरु, पत्रकार जगत, वुद्धिजीवीहरु र आम नेपाली जनसमुदायमा हार्दिक अपील गर्दछौं ।

    १०.८ पूर्ण लोकतन्त्र र दिगो शान्ति स्थापनाको यो अभियानमा नेपाललाई सहयोग पुर्‍याउन सबैमित्र राष्ट्रहरु तथा संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय समुदायलाई हार्दिक आग्रह गर्दछौं ।

    देश र जनताको भविष्यप्रतिको जिम्मेवारी बोध गर्दै र यस विस्तृत शान्ति सम्झौता प्रति पूर्ण प्रतिबद्ध हुंदै हामी–नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का तर्फबाट हस्ताक्षर गरी यो विस्तृत शान्ति सम्झौता सार्वजनिक गर्दछाै ।

    प्रचण्ड                                                                          गिरिजा प्रसाद कोइराला

    अध्यक्ष                                                                          प्रधानमन्त्री

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी)                                     नेपाल सरकार

    हस्ताक्षर मितिः– २०६३/८/५


    मंसिर ५, २०७७ शुक्रवार ११:०९:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विस्तृत शान्ति सम्झौता

  • क्यानाडानेपाल

    अर्कोसमाचार

    बाबुराम भट्टराईले भने - ओली प्रवृत्ति अग्रगमनको मुख्य बाधक हो, काधँ थाप्ने गल्ती नगरौं

    बाबुराम भट्टराईले भने - ओली प्रवृत्ति अग्रगमनको मुख्य बाधक हो, काधँ थाप्ने गल्ती नगरौं

    काठमाडौं - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली प्रवृत्ति देशको मुख्य मुद्दा भएको बताएका छन् । 

    सोमबार सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले देशको मुख्य मुद्दा व्यक्ति ओली नभई ओली प्रवृत्ति भएको बताएका हुन् । 

    उनले ओली व्यक्तिको रूपमा मनपर्ने मान्छे भए पनि ओली प्रवृत्ति प्रतिगमन, कुशासन र अल्पविकासको मुख्य वाहक भएको बताए ।

    डा. भट्टराईले ओली प्रवृत्ति अग्रगमनको मुख्य बाधक भएकोले कुनैपनि वहानामा काधँ थाप्ने गल्ती नगर्न भनेका छन् ।  

    उनले भनेका छन् - 'आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन,ओली प्रवृत्ति हो।व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन्।तर ओली प्रवृत्ति यतिवेला प्रतिगमन,कुशासन,अल्पविकासको मुख्य वाहक हो।अग्रगमनको मुख्य वाधक हो।यो एउटा पार्टीको मुद्दा मात्र हैन।कुनैपनि वहानामा यसलाई काॅध थाप्ने गल्ती नगरौं!'


    मंसिर ८, २०७७ सोमवार २०:४७:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डा. बाबुराम भट्टराई
  • # केपी शर्मा ओली

  • क्यानाडानेपाल डेस्क

    नेकपा विवादः ओलीले जबाफ दिएपछि सत्तारूढ दल विभाजनको मुखबाट उम्किएला, कि झन् संकटमा पर्ला ?

  • 1.4K
    SHARES
  • नेकपा विवादः ओलीले जबाफ दिएपछि सत्तारूढ दल विभाजनको मुखबाट उम्किएला, कि झन् संकटमा पर्ला ?

    बीबीसी। प्रधानमन्त्री पनि रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंसिर १३ गतेका लागि तय गरिएको पार्टी बैठकमा पेस गर्ने भनिएको प्रतिवेदनले सङ्कटमा पुगेको पार्टी एकतालाई पुनर्जीवन दिन सक्ने विश्वास नेकपाका नेताहरूले व्यक्त गरेका छन्। तर दुवै पक्षले पार्टी विभाजन भए आफ्नो कारणले नभई अर्को पक्षका कारणले हुने भन्दै विद्यमान सङ्कट टरिनसकेको सङ्केत दिएका छन्।

    "उहाँ (ओली)ले प्रस्ताव ल्याएपछि प्रस्तावहरूको बीचमा छलफल गरेर जाने वातावरण बन्छ भन्ने हाम्रो विश्वास छ। उहाँले कसरी निकास दिनुहुन्छ भन्नेमा बाँकी कुरा निर्भर रहन्छ," प्रचण्ड निकटस्थ मानिने नेता नारायणकाजी श्रेष्ठले बीबीसी न्यूज नेपालीसँग भने।

    यसअघि मंसिर ३ गतेको बैठकमा प्रचण्ड पक्षसँग रुष्ट देखिएका प्रधानमन्त्री ओलीले सरकार र आफूमाथि लगाइएका आरोपबारे "छिनोफानोका लागि मात्रै" बैठक हुने र ती आरोप गलत ठहरिए अर्का अध्यक्ष (प्रचण्ड) पदबाट हट्नुपर्ने भन्दै आफ्नो प्रतिरक्षा गरेका थिए।

    "उहाँले छफफल गरेर टुङ्गो लगाउनुपर्छ भन्नुभएको भए त्यो हामीले माग गरेकै कुरा भयो, राम्रो भयो। तर पार्टीलाई नै फुटाउने कुरा गर्नुभएको भए त्यो हाम्रो कोणबाट सही हुन सक्दैन, हामी त्यसो गर्न दिँदैनौँ," श्रेष्ठले भने। उनी पार्टी प्रवक्ता पनि हुन्।

    के नेकपा विभाजनको मुखमा पुगेकै हो त ?

    कार्तिक महिनाको अन्तिम साता बसेको बैठकमा प्रचण्डले लिखित रूपमा सरकार र प्रधानमन्त्रीबारे प्रश्न उठाएपछि नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो। केही समययता शीर्षस्थ नेताहरूले सार्वजनिक माध्यमबाट पार्टी एकता खतरामा रहेको भन्दै नेकपा दुई टुक्रा हुनसक्ने सङ्केत गरेका थिए।

    आफूलाई लगाइएका आरोपमा जबाफसहित प्रतिवेदन ल्याउन प्रधानमन्त्री ओलीले १० दिनको समय मागेपछि नेकपा विभाजनको खतरा तत्कालका लागि टरेको सरकारभित्र र बाहिर भएका नेताहरूले बताउने गरेका छन्। तर पछि के हुने हो अझ भन्न सकिने अवस्था नभएको उनीहरूको बुझाइ छ।

    "दुर्घटनातिर जान लागेको परिस्थितिलाई रोकिएको छ। सङ्कट पूरै समाधान भइसक्यो भन्ने अवस्था छैन," पर्यटनमन्त्री समेत रहेका नेकपा नेता योगेश भट्टराईले भने। उनका अनुसार यो बीचमा संवाद र विमर्शका लागि समय प्राप्त भएको छ।

    "दुवै अध्यक्षले आ-आफ्ना प्रस्ताव समितिमा ल्याउँछौँ भनेका छन्। त्यसले छलफलको दायरा अझै फराकिलो हुन्छ, त्यो राम्रो कुरा हो।"

    प्रधानमन्त्री ओलीको पार्टी तथा सरकार सञ्चालन गर्ने कार्यशैलीबारे तीन पूर्वप्रधानमन्त्री प्रचण्ड, माधव नेपाल रझलनाथ खनाल तथा अन्य नेताको समूहको असन्तुष्टिसँगै चर्किएको विवादको शृङ्खला त्यति सजिलै नटुङ्गिने सम्भावना विभिन्न नेताहरूको भनाइबाट प्रतविम्बित हुन्छ। दुवै विषयमा पार्टी स्थायी समिति र केन्द्रीय समितिमा आगामी साताहरूमा बहसको तयारी गरिएको छ।

    पार्टी फुटे दोष कसको ?

    प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहाल दुवै पक्षले एकअर्कालाई पार्टी फुटाउन खोजेको दोषारोपण गर्ने गरेका छन्। तर आफ्नो पक्षबाट भने नेकपा कुनै हालतमा नफुट्ने दुवै पक्षको दाबी छ। प्रचण्ड निकटस्थ नेता श्रेष्ठ आफूहरू नभई प्रधानमन्त्री ओली नै पार्टी फुटाउन उद्यत देखिएको आरोप लगाउँछन्।

    "पहिलो, पार्टी फुट्न वैचारिक राजनीतिक लाइनमा आधारभूत मतभेद भयो र यो पार्टीलाई फेर्न सकिन्न भन्ने निष्कर्षमा क्रान्तिकारीहरू पुगे भने विद्रोह गर्ने हो, त्यो स्थिति अहिले होइन," उनले भने।

    "दोस्रो, सबैले पार्टीको निर्णय मान्नुपर्ने हुन्छ, मान्दिनँ भन्नेले पार्टी फुटाउँछ," प्रधानमन्त्रीले स्थायी समितिको निर्णय नमानेको विषयलाई इङ्गित गर्दै उनले भने।उता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा नेकपा फुटिहाले पनि प्रधानमन्त्रीलाई असहयोग गर्ने पक्षको कारण फुट्ने बताउँछन्।

    "पार्टी फुटाउन आफू लाग्ने अनि प्रधानमन्त्रीले पार्टी फुटाउन लाग्नुभयो भनेर हल्ला गर्ने उहाँहरूको गुरिल्ला शैली हो," उनले कटाक्ष गर्दै भने। "प्रधामन्त्रीलाई पार्टी फुटाउन किन परेको छ? उहाँ पहिलो अध्यक्ष, उहाँको पक्षमा प्राप्त जनादेश छ र देशको प्रधानमन्त्रीलाई पार्टी फुटाएर उहाँहरूजस्तो हातमा टोपी लिएर हिँड्नुपर्ने के जरुरी छ?" उनको जिकिर छ। नेकपाको प्रचार विभाग प्रमुख र उपप्रमुख थापा सामाजिक सञ्जालमा आफ्नो पक्षबारे आक्रामक रूपमा प्रस्तुत हुने गरेका छन्।

    के छ केपी शर्मा ओलीको तयारी ?

    प्रत्युत्तरका लागि प्रतिवेदन तयार पार्न दिइएको १० दिनको अवधिलाई प्रधानमन्त्री ओलीले शक्ति सञ्चयको लागि प्रयोग गर्न सक्ने आशङ्का केही नेताहरूको छ। तर उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले प्रचण्डलाई समेत पार्टीमा अभिभावकत्व महसुस हुनेगरी "भिन्न उचाइको प्रतिवेदन" आगामी पार्टी बैठकमा ल्याउने तयारी गरेका छन्।

    "प्रधानमन्त्री पार्टीको पहिलो अध्यक्ष र प्रचण्डजीको पनि अभिभावक हो, प्रचण्डजीकै तहमा गालीगलौज र आलोचनाको तहमा प्रधानमन्त्री प्रस्तुत हुनुहुन्न," उनले भने "प्रधानमन्त्रीले प्रचण्डलाई पनि अभिभावकत्व प्रदान गर्ने काम गर्नुहुन्छ र उहाँको प्रतिवेदन भिन्न उचाइमा आउँछ।" "तर प्रचण्डजीले उठाएका कुरा कृत्रिम छन्, ती नक्कली बहानाबाजीबारे त्यही हिसाबले स्पष्ट पार्ने कुरा हुन्छ।"

    प्रचण्ड र माधव नेपाल पक्षले सचिवालयमा राखेका दुवै प्रतिवेदन पार्टीका समितिहरूमा छलफल गर्न लैजान चाहेको छ। तर प्रचण्डको प्रतिवेदनलाई छलफलमा लैजान नदिने मनसायमा ओली छन्।

    "पार्टी अध्यक्षलाई गालीगलौज गरेर ल्याइएका कुराहरू तल छलफलमा लैजान मिल्दैन," सल्लाहकार थापा भन्छन्, "ती लाञ्छना र आधारहीन कुराहरु कायमै राखेर जाने अवस्था छैन।"

    पार्टीको निर्णायक तहमा असन्तुष्ट पक्षको बहुमत भए पनि सर्वसम्मत हुन नसकेका विषयहरू दुई अध्यक्ष बसेर टुङ्ग्याउनुपर्ने सहमति पार्टी एकताकै बेला भएको थियो। तर प्रधानमन्त्रीले पार्टीमा बहुमतबाट मात्रै निर्णय हुन नसक्ने जिकिर गर्दै आएका छन्।

    केही नेताहरूले आफू अप्ठ्यारो परे ओलीले संसद् विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गर्ने आशङ्का व्यक्त गरेका छन्। संविधानमा त्यस्तो व्यवस्था नभएकाले त्यसको संभावना क्षीण रहेको संविधानविद्हरू बताउँछन्।

    के छ प्रचण्ड-माधव नेपाल पक्षको तयारी ?

    प्रचण्ड र माधव नेपालजस्ता नेताहरूको समूह ओलीलाई आत्मालोचनासहित पार्टीको नियन्त्रणमा राख्न सचिवालय र स्थायी समितिबाट दबाव दिने तयारीमा जुटेको छ। "सकेसम्म सहमतिको निष्कर्ष निकाल्ने नभए पार्टीले भनेको सबैले मान्ने, त्यही हो अबको समाधान," श्रेष्ठले भने।

    यो विषय अब सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा पनि जान सक्ने भन्दै उनले भने, "हामी सुरुमै 'बहुमतको निर्णयमा जाऔँ' भन्दैनौँ, तर समिति निर्णयविहीन हुँदैन।" "सहमति भएन भने के निर्णय नै गर्दैन त पार्टीले?" उनको प्रतिप्रश्न छ।

    माधव नेपालनजिक मानिने मन्त्री भट्टराई आगामी बैठकबाट विवादको मध्यमार्गी निकास आउन सक्ने दाबी गर्छन्। उनका अनुसार पार्टी समितिले दुवै अध्यक्षका ठिक कुरा राखेर एउटै प्रतिवेदन बनाउन सक्छ।

    "दुईमध्ये एक रोज्ने होइन, दुवैका राम्रा कुरा रोज्ने हुनसक्छ। दुईमध्ये एक रोज्नेतिर बहस गयो भने समस्या झन् जटिल बन्दै जान सक्छ। पार्टी बहुमत अल्पमतभन्दा पनि तथ्य र सत्यमा जान्छ," उनले भने।

    के छ दलभित्रको अवस्था ?

    झन्डै अढाई वर्षअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघि फरकफरक पार्टीको नेतृत्वमा रहेका ओली र दाहाल दुवै एकीकृत दलका अध्यक्ष बने। तर अधिकार बाँडफाँटबारे बारम्बार उनीहरूबीच विवाद हुँदै आएको छ।

    तेस्रो समूहको नेतृत्व गरिरहेका माधव नेपालसहितका नेताहरू प्रचण्डसँग नजिक हुँदा नेकपाको शक्तिशाली भनिएको स्थायी समिति र शीर्ष नेताहरू भएको सचिवालय दुवैमा प्रधानमन्त्री अल्पमतमा छन्।

    नेपाल पक्षधर नेताहरू ओलीलाई नहटाई सच्चिन दबाव दिनुपर्ने पक्षमा देखिएपछि उनको राजीनामा माग्दै आएका प्रचण्डपक्षीय नेताहरूले त्यसलाई थाती राखेका थिए। तर ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने आफ्नो माग यथावत् रहेको नेपाल समूहका एक नेताले बताए।

    यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूले पार्टी नेतृत्व त्याग गर्न परे अहिलेका नेताभन्दा पनि "दोस्रो पुस्ताका नेताहरूलाई" हस्तान्तरण गर्न सकिने बताएका थिए।

    तर पार्टी नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने विषय आसन्न महाधिवेशनअघि केवल "सार्वजनिक खपत" का लागि मात्र भन्ने गरिएको दोस्रो पुस्ताका नेताहरूको बुझाइ छ। तीन पूर्वप्रधानमन्त्रीसहित कम्तीमा छ जना पार्टीको नेतृत्व गरिसकेका नेता रहेको नेकपामा अर्को पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने बहस बेलाबेला हुने गरेको छ।

    नेकपामा सहमति र विवादको शृङ्खला

    • असोज १७, २०७४: तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच छबुँदे सहमति, निर्वाचनमा सहकार्य गर्दै एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणा
    • मंसिर २०७४: प्रतिनिधिसभा निर्वाचनमा एमाले-माओवादी केन्द्रको मोर्चालाई झन्डै दुईतिहाइ बहुमत, ६ प्रदेशमा संयुक्त सरकार
    • फागुन ७, २०७४: एमाले-माओवादी केन्द्रबीच एकता अघि बढाउने लगायत सातबुँदे सहमति, एकीकृत पार्टीको नाम नेकपा राख्ने निश्चय
    • फागुन ७, २०७५: पार्टी एकताको औपचारिक घोषणा, चुनाव चिह्नआदि विषयमा आठबुँदे निर्णय
    • जेठ २०७६: आलोपालो सरकारको नेतृत्व गर्ने गोप्य सहमतिबारे ओली र प्रचण्डबीच विवाद सुरु
    • भदौ १, २०७६: पार्टीमा माधव नेपालको तेस्रो वरीयता खोसिएपछि ओली र नेपाल पक्षबीच तिक्तता सुरु
    • मंसिर ४, २०७६: ओलीले नै पाँच वर्ष सरकार चलाउने सहमति, प्रचण्ड पार्टीको कार्यकारी अध्यक्ष
    • असोज २५, २०७७: प्रचण्ड निकटस्थ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता
    • कात्तिक ४, २०७७: ओली र प्रचण्डबीच चारबुँदे सहमतिपछि शाहीविरुद्ध प्रस्तुत अविश्वास प्रस्ताव फिर्ता
    • कात्तिक २२, २०७७: पार्टीको बैठक बोलाउन लिखित माग लिएर प्रचण्डपक्षीय नेताहरू बालुवाटार पुगेपछि विवाद उत्कर्षमा


    मंसिर ८, २०७७ सोमवार १७:४६:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा विवाद
  • # ओली
  • # पार्टी विभाजन

  • क्यानाडानेपाल

    कस्तो छ ओली र प्रचण्ड समूहको तयारी ?

  • 840
    SHARES
  • कस्तो छ ओली र प्रचण्ड समूहको तयारी ?

    काठमाडौं । सत्तारुढ नेकपाको आन्तरिक विवाद साम्य हुने या थप जटिल बन्ने भन्ने आगामी सचिवालय बैठकबाट थाहा हुने भएको छ ।

    यही मंसिर ३ गते बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएका आरोपबारे दस्तावेजमार्फज जवाफ दिने भन्दै १० दिनको समय मागेका थिए । सोही मागअनुसार अब सचिवालय बैठक मंसिर १३ गते शनिबार बस्ने भएको छ । 

    सो बैठकमा अध्यक्ष ओलीले पेस गर्ने भनिएको प्रतिवेदनले पार्टीको भविष्य कोर्ने नेताहरुले बताएका छन् ।  कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुले अध्यक्ष ओलीमाथि लिखित रुपमा गम्भीर आरोप लगाएका छन् ।

    जसको आफूले पनि लिखित रुपमै जवाफ दिने भन्दै अध्यक्ष ओलीले आरोप प्रमाणित भए आफू प्रधानमन्त्री र अध्यक्षबाट हट्ने र प्रमाणित नभएमा प्रचण्ड अध्यक्षबाट हट्नु पर्ने बताएका छन् । जस कारण अहिले दुवै समूह तयारीमा जुटिरहेका छन् । 

    ओली समूहको तयारी 

    आफूमाथि लागेको आरोपबारे जवाफ दिने मागिएको १० दिनको समयलाई शक्ति सञ्चयका रुपमा ओलीले लिएको नेकपाका नेताहरुले बताएका छन् ।

    यही मंसिर ३ बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफूमाथि लागेको आरोपको जवाफ लिखित रुपमा दिने र दस्तावेज बनाउन १० दिनको समय मागेका थिए । 

    सोहीअनुसार अब १३ गते सचिवालय बैठक बस्दैछ । यस अवधिमा शक्ति सञ्चयदेखि आरोप खण्डन गर्ने उपयुक्त उपाय खोजीमा ओली समूह लागेको छ ।

    तर, अध्यक्ष ओलीले  प्रचण्डलाई समेत पार्टीमा अभिभावकत्व महसुस हुनेगरी “भिन्न उचाइको प्रतिवेदन“ आगामी पार्टी बैठकमा ल्याउने तयारी गरेका उनको निजी सचिवालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

    “प्रधानमन्त्री पार्टीको पहिलो अध्यक्ष र प्रचण्डजीको पनि अभिभावक हो, प्रचण्डजीकै तहमा गालीगलौज र आलोचनाको तहमा प्रधानमन्त्री प्रस्तुत हुनुहुन्न,“ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बीबीसीलाई भने, “प्रधानमन्त्रीले प्रचण्डलाई पनि अभिभावकत्व प्रदान गर्ने काम गर्नुहुन्छ र उहाँको प्रतिवेदन भिन्न उचाइमा आउँछ।“

    प्रचण्ड–नेपाल समूहको तयारी 

    अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोपमा पुष्टि नभए प्रचण्डले कार्यकारी अध्यक्षबाट राजीनामा दिनुपर्ने बताएपछि यसको प्रतिरक्षाका लागि प्रचण्ड नेपाल समूहले तयारी गरिरहेका छन् ।

    ओलीलाई आत्मालोचनासहित पार्टीको नियन्त्रणमा राख्न सचिवालय र स्थायी समितिबाट दबाव दिने तयारीमा प्रचण्ड नेपाल समूह जुटेको छ । 

    पार्टी विवाद समाधानमा सहमति खोज्ने, तर सहमति नभएमा पार्टीको निर्णय मानेर अघि बढ्नुपर्ने गरी ओली समूहलाई दबाब दिने रणनीतिमा प्रचण्ड नेपाल समूहको तयारी छ । 


    मंसिर ८, २०७७ सोमवार १६:५६:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा विवाद

  • क्यानाडानेपाल

    के विप्लव समूहबाट राज्यलाई अझै खतरा छ ? 

  • 466
    SHARES
  • के विप्लव समूहबाट राज्यलाई अझै खतरा छ ? 

    बीबीसी।  विप्लव समूह भनेर चिनिने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले यो साता आफ्नो सातौँ पुनर्गठन दिवस मनाइरहेको छ। राज्यले उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको पृष्ठभूमिमा सो पार्टीका क्रियाकलापमाथि निगरानी राख्नु 'स्वाभाविक' नै भएको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायत बताउँछन्।

    विगतमा उक्त पार्टीले काठमाण्डू उपत्यकामै मान्छेको ज्यान जाने गरी बम विस्फोट गराएको दृष्टान्त पनि छ। गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीले 'आफ्ना हिंसात्मक गतिविधि नसच्याए सरकारले नियन्त्रण गर्ने' चेतावनी दिएका थिए। 

    हिंसात्मक गतिविधि गर्नेलाई वामपन्थीकै सरकार भए पनि 'नछोडिने' भन्दै प्रधानमन्त्रीले 'मान्छे मार्ने गतिविधि गर्नेलाई राजनीतिक दल भन्न नमिल्ने' टिप्पणी गरेका थिए।

    चन्दको पार्टीबाट कस्तो खतरा छ ?

    बेलाबखत ठाउँठाउँमा विस्फोट गराई भौतिक संरचनाहरूमा क्षति पुर्‍याउँदै आएको चन्द नेतृत्वको नेकपाबाट अझै सुरक्षा खतरा रहेकोमा नेपाल प्रहरीदेखि सुरक्षा मामिलाका जानकारसम्म सहमत देखिन्छन्। तर सो पार्टीबाट ठूलै सुरक्षा खतरा चाहिँ नरहेको नेपाल प्रहरीका प्रवक्ता कडायतले सोमवार बीसीसी न्यूज नेपालीसित भने।

    "हिजै [आइतवार सो समूहले] उदयपुरमा विस्फोट गराएको छ, चन्दाका कुरा पनि आइरहेका छन्।" "जनतालाई धम्की दिने यस्ता कुरा पनि सुरक्षासँगै जोडिन्छन्। त्यसैले ठूलै मात्रामा सुरक्षा चुनौती त छैन तर सामान्य हिसाबले भन्दा पनि सुरक्षामा त्यसको केही असर त पर्छ नै," उनले थपे। चन्दको नेकपाबाट सुरक्षा खतराको तहबारे प्रवक्ता कडायतको भनाइसँग नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यात पनि सहमत देखिन्छन्।

    "शान्ति सुव्यवस्थाका लागि चुनौती हो तर राष्ट्रिय सुरक्षामै खतराको रूपमा त्यसलाई म देख्दिनँ,"उनले भने। पूर्वगृहसचिव सूर्य सिलवाल विद्यमान विधिसँग असहमति राख्ने कुनै पनि समूह वा पार्टी खतराको रूपमा रहने बताउँछन्।

    "एकैजना मान्छेको पार्टीले केही समयसम्म अप्ठ्यारो पारेको अनुभव त हामीसँगै छ नि। त्यसो भएर सरकार अथवा उसका सुरक्षा अङ्गहरू सक्रिय हुनु वा सतर्क हुनु स्वाभाविक प्रक्रिया नै हो,"उनी थप्छन्। ठूल्ठूला घटना [हिंसात्मक] नगराए पनि ससाना घटना गराएर राज्यलाई आफ्नो उपस्थिति जनाइरहने सम्भावनालाई नकार्न नसकिने पूर्वगृहसचिव सिलवालको ठम्याइ छ।

    दश वर्षसम्म सशस्त्र द्वन्द्वसँग जुझेको राज्यले अब कुनै पनि नाममा थप हिंसाका गतिविधि झेल्न नसक्ने सुरक्षा मामिलाका जानकारहरूको तर्क छ।पूर्वगृहसचिव सिलवाल र नेपाली सेनाका पूर्वउपरथी बस्न्यात दुवैजना चन्द नेतृत्वको नेकपासँग सम्बन्धित अहिलेको समस्यालाई सम्बोधन गर्न ढिलाइ गर्न नहुने सुझाउँछन्।


    मंसिर ८, २०७७ सोमवार १५:१८:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विप्लव समूह
  • # राज्य

  • क्यानाडानेपाल

    नवनिर्वाचित सांसद पाण्डेले लिए शपथ

    नवनिर्वाचित सांसद पाण्डेले लिए शपथ

    काठमाडौँ - प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेले शपथ लिएका छन् ।

    सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा सोमबार पाण्डेले सभामुख अग्निप्रसाद सापकोटाबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

    उक्त समारोहमा सभामुख सापकोटाले नवनिर्वाचित सांसद् पाण्डेलाई सघीय संसद्को प्रतीकचिह्न प्रदान गर्दै बधाई दिएका छन् । 

    पाण्डेले समानुपातिक निर्वाचन प्रणालीमार्फत नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । सांसद सूर्यबहादुर केसीको निधन भएपछि रिक्त स्थानमा निर्वाचन आयोगले पाण्डेलाई निर्वाचित गरेको हो ।  


    मंसिर ८, २०७७ सोमवार १४:५५:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मोहनबहादुर पाण्डे

  • क्यानाडानेपाल डेस्क

    प्रधानमन्त्री ओली घुन्सामा, सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन

    प्रधानमन्त्री ओली घुन्सामा, सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको फक्ताङ्लुङ घुन्सा पुगेका छन् । उनले आज घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन गरेका छन् ।

    आज बिहान ताप्लेजुङ र इलाम भ्रमणमा निस्किएका प्रधानमन्त्री ओलीले घुन्सा फाउण्डेशनद्वारा निर्मित उक्त भवनको उद्घाटन गरेका हुन् । 

    घुन्सा क्षेत्रमा प्रधानमन्त्री ओलीसँगै पर्यटनमन्त्री योगेशकुमार भट्टराई, मुख्यमन्त्री शेरधन राई लगायतका नेताहरु पुगेका छन् । 

    प्रधानमन्त्री ओलीले आज नै चीनसँगको सीमा क्षेत्र ओलाङचुङगोला क्षेत्रको अवलोकन गरिसकेका छन् । प्रधानमन्त्री ओली आज नै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।  


    मंसिर ८, २०७७ सोमवार १४:२९:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री केपी शर्मा ओली

  • क्यानाडानेपाल डेस्क