• Nov 25 2020 | २०७७, मंसिर १०गते

२०७७, मंसिर १०गते

यो साता चर्चामा:

खोप र औषधि छिटो ल्याउन बाटो खोल्ने अध्यादेश कत्तिको प्रभावकारी ?

क्यानाडानेपाल मंसिर ५ २०७७
  • 260
    SHARES
  • खोप र औषधि छिटो ल्याउन बाटो खोल्ने अध्यादेश कत्तिको प्रभावकारी ?

    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार जारी गरेको औषधि (तेश्रो संशोधन) अध्यादेशले विदेशमा आपत्‌कालीन प्रयोगका लागि अनुमति पाउने बित्तिकै कोभिड-१९ को खोप नेपालमा भित्र्याउन बाटो खोलेको अधिकारीहरूले बताएका छन्। त्यसबाहेक अध्यादेशको एउटा व्यवस्थाले विदेशमा सरकारी वा निजी स्तरबाट परीक्षणमा रहेका कोभिड-१९ का खोपको परीक्षण पनि नेपालमा गर्न सकिने व्यवस्था गरेको छ।

    हाल तेश्रो चरणको परीक्षणमा रहेका कतिपय खोपले ९० प्रतिशतभन्दा बढी सकारात्मक परिणामहरू दिइरहेका विवरण माझ नेपाल सरकारले त्यस्ता खोपले नियामक निकायको अनुमति पाउने बित्तिकै ल्याउन मिल्ने गरी कानुनी व्यवस्था गरेको हो। विज्ञहरूले खोप भित्र्याउन सहज होस भनेर सरकारले पछिल्लो कानुनी व्यवस्था गरेको भएपनि अझै धेरै काम गर्न बाँकी रहेको जनाएका छन्।

    नयाँ अध्यादेशमा कस्तो व्यस्था छ ?

    राष्ट्रपतिले बुधवार जारी गरेको अध्यादेशले औषधि ऐन २०३५ मा केही प्रावधानहरू संशोधन गरेको हो। त्यसमा आपत्‌कालीन अवस्थामा औषधि तथा खोपहरू आयात गर्दा नेपाल सरकारले निर्णय गर्ने व्यवस्था गरिएको अधिकारीहरू बताउँछन्। उक्त अध्यादेशमा महामारीको रूपमा फैलिएको सङ्क्रामक रोगको रोकथाम, नियन्त्रण वा निर्मूल गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका वा आपत्‌कालीन प्रयोगको अनुमति प्रदान गरेका औषधि वा खोपलाई नेपालमा औषधि व्यवस्था विभागले दर्ता गर्ने व्यवस्था गरिएको छ।

    स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको औषधि सल्लाहकार समूहको सिफारिसमा आपत्‌कालीन प्रयोगको लागि ती औषधि वा खोपहरू दर्ता गरिने अध्यादेशमा उल्लेख छ। त्यस्ता खोप वा औषधिको आयात गर्नका लागि सिफारिस पत्र दिने क्रममा विभागले परिमाण तोक्न सक्ने र प्रयोग, विक्री र वितरणको हकमा आवश्यक सर्त राख्न सक्ने उल्लेख गरिएको छ।

    त्यसरी भित्र्याइएको औषधि र खोपको प्रभावका कारण प्रयोगमा रोक लगाउने अवस्था आएमा वा सूचीकृत गर्ने वा अनुमति दिने निकायले नै उनीहरूलाई रोक लगाएको अवस्थामा विभागले त्यस्ता औषधि वा खोपको दर्ता खारेज गर्न सक्ने उक्त कानुनमा व्यवस्था छ। अध्यादेशमा विदेशमा परीक्षणमा रहेका कोरोनाभाइरसका खोपहरूलाई नेपालमा परीक्षणका लागि बाटो खोल्ने हिसाबमा पनि कानूनी व्यवस्था गरिएको छ।

    औषधि ऐनको धारा ३१ मा अध्यादेशबाट थपिएको व्यवस्थामा भनिएको छ, “..कुनै विदेशी मुलुकको सरकार वा सम्बन्धित नियामक निकायको अनुमतिमा क्लिनिकल ट्रायलमा रहेको खोप विकास गर्ने संस्था वा कम्पनीले त्यस्तो खोपको नेपालमा क्लिनिकल ट्रायल गर्न चाहेमा नेपाल सरकारले अनुमति दिन सक्नेछ।” संसदको अधिवेशन सञ्चालनमा नरहेकाले कोरोनाभाइरसको खोप र औषधि आयातको कानूनी गाँठो फुकाउन सरकारले अध्यादेशबाट पछिल्लो व्यवस्था गरेको देखिन्छ।

    नयाँ अध्यादेशबारे अधिकारीहरू के भन्छन्

    स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल औषधि र खोप आपत्‌कालीन प्रयोगका लागि अन्यत्र स्वीकृत भएपछि नेपालमा पनि आपत्‌कालीन प्रयोग गर्न पाउने व्यवस्था उक्त अध्यादेशले गरेको बताउँछन्।

    उनले भने, “यो भएपछि अब हामीलाई खोप ल्याउन पनि सजिलो हुन्छ र अरू कुनै औषधि ल्याउन पनि सहज हुन्छ। खोपको हकमा तेश्रो चरण अनुमति पाएपनि डब्लूएचओले प्रयोगका लागि अनुमति दिइसकेको छैन। यदि कुनै संस्थाले आपत्‌कालीन प्रयोगका लागि अनुमति दियो भने हामीले पनि ल्याएर चलाउन पाउँछौँ।”

    उनले थपे, “अन्य कुनै औषधि विदेशमा तत्कालै प्रयोगमा आएको छ भने हाम्रोमा पनि ल्याउन मिल्छ। अस्ति नै जसरी रेम्डिसिभिर ल्याउन गाह्रो भएको थियो अब त्यस्तो हुँदैन। सजिलो हुन्छ।” यसअघि स्पष्ट कानुनी व्यवस्था नहुँदा कोभिड-१९ का बिरामीहरूका लागि आपत्‌कालीन प्रयोगमा रहेको औषधि रेम्डेसिभिर कालोबजारी गरेर नेपाल भित्र्याइएका विवरण आएका थिए।

    त्यसपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफूले तोकेका निश्चित अस्पतालहरूमा चिकित्सकको सिफारिस र प्रत्यक्ष निगरानीमा विरामीको अनुमति लिएर मात्रै उक्त औषधि प्रयोग गर्न मिल्ने गरी मापदण्ड तय गरेको थियो। औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईका अनुसार अध्यादेशले आपत्‌कालीन प्रयोगका लागि ‌औषधि र खोप नेपाल भित्र्याउन कानूनी रूपमा बाटो खोलिदिएको छ।

    उनले भने, “आपत्‌कालीन रूपमा व्यवस्था गर्नुपर्ने औषधि र खोपको हकमा स्वास्थ्य सचिव ज्यूको अध्यक्षतामा रहको सल्लाहकार समितिको सिफारिसमा विभागले त्यसलाई दर्ता गर्छ। भोलि ती औषधि वा खोप प्रभावकारी नभएको अवस्थामा त्यसको दुरूपयोग नहोस भनेर औषधि वा खोपको दर्ता खारेज पनि गर्न सकिन्छ भन्ने व्यवस्था राखिएको छ।”

    विज्ञ के भन्छन् ?

    स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. सुशीलनाथ प्याकुरेल सरकारी कदमले कानुनी अडचन फुकेपनि खोप भित्र्याउन पर्याप्त तयारी नभएको बताउँछन्। उनले भने, “जे जति खोप ल्याइन्छ त्यसलाई तापक्रम मिलाएर भण्डारण गर्नुपर्छ। हाल राम्रो परिणाम देखाएका भनिएका खोपका लागि आवश्यक फ्रिजहरू स्वास्थ्य मन्त्रालयसँग नभएको कुरा छन्। व्यवस्थापकीय चुनौती धेरै छन्।”

    उनले थपे, “अहिले खोप चाहिँ ल्याउन पाउने भनेर व्यवस्था गरियो तर किनेर ल्याएर राख्ने ठाउँको व्यवस्था नभएसम्म त्यसको के अर्थ? देशैभरी कसरी खोप पुर्‍याउने त्यो केही योजना नै बनाएको मैले देखिन।”

    गएको साता बीबीसीसँग कुरा गर्दै अधिकारीहरूले अत्याधिक चिसो तापक्रममा राख्नुपर्ने भनिएको अमेरिकी कम्पनी फाइजर र बायोएनटेकका खोप भण्डारण गर्ने क्षमता नेपालसँग नरहेको अधिकारीहरूले बताएका थिए।

    माइनस सत्तरी डिग्री सेल्सियसको तापक्रममा राख्नुपर्ने भनिएको उक्त खोप ९० प्रतिशतमा प्रभावकारी देखिएको शुरूमा बताइएपनि यसै हप्ता उक्त खोप ६५ वर्षभन्दा बढी उमेरका व्यक्तिमा अझ प्रभावकारी पाइएको विवरण आएको छ।

    अर्को अमेरिकी औषधि उत्पादक कम्पनी मोडेर्नाले आफ्नो खोप लगभग ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको छ भने रूस र चीनमा विकास भएका खोपको परीक्षणले पनि सकारात्मक परिणाम दिइरहेका भनिएको छ।

    अघिल्लो साता बीबीसीसँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले खोपको भण्डारण सहित आवश्यक तयारीबारे सरकारले गृहकार्य अघि बढाएको बताएका थिए।

    खोपको परीक्षणको व्यवस्था अहिले किन राखियो ?

    अध्यादेशमा अहिले आएर नेपालमा खोप परीक्षण गर्न दिने भनेर गरिएको व्यवस्थालाई डा. प्याकुरेलले ‘उल्टो गङ्गा’ हिँड्ने प्रयासका रूपमा चित्रण गरे। उनी भन्छन्, “यो त पहिल्यै सोच्नुपर्ने र गर्नुपर्ने काम हो। हाम्रो नेपालमा भएको कोभिड १९ को अनुवंशिक विश्लेषण हुनुपर्‍यो भनेर हामीले भनिरहेकै छौँ। सबैतिर अलमल मात्रै देखिन्छ।”

    तर स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवाली त्यसलाई अस्वीकार गर्छन्। उनले भने, “खोपको परीक्षण भनेको जहिल्यै पनि शुरू अवस्थामा नै रहन्छ। करौडौँ मानिसहरूले लगाइरहने हुनाले परीक्षणमा ढिलाई कहिल्यै पनि हुँदैन। कुन कम्पनी आउँछन्, उनीहरूले कति पैसामा दिन्छन् त्यो पनि निश्चित छैन। भोलि प्रतिष्पर्धा हुँदै जान्छ र परीक्षण गर्दा बजारमा सस्तो खोप आउँछ।”

    यसअघि नेपालमा चीन, रूस र अष्ट्रेलिया जस्ता देशबाट कोभिड-१९ को खोप परीक्षण गर्ने इच्छा व्यक्त भएपनि त्यसबारे ठोस प्रगति नभएको बुझिन्छ। ती निकायहरूले अन्तर्राष्ट्रिय अभ्यास अनुरूप परीक्षण गर्दाका खोपको खर्च बेहोर्ने र परीक्षण सफल भए आवश्यक मात्रामा नेपाललाई खोपहरू उपलब्ध गराउने प्रतिबद्धता सहित प्रस्ताव पेश नगरेको राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का एक उच्च अधिकारीले बताए। नयाँ कानूनी व्यवस्थाबाट आफू उत्साहित भएको र थप छलफल अघि बढाउने सदस्यसचिव ज्ञवालीले बताए।

    बीबीसी


    मंसिर ५, २०७७ शुक्रवार ११:२३:३१ बजे : प्रकाशित

    अर्कोसमाचार

    कोरोनाको खोप बजारमा आउने वित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउँछन् - स्वास्थ्यमन्त्री ढकाल

    कोरोनाको खोप बजारमा आउने वित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउँछन् - स्वास्थ्यमन्त्री ढकाल

    काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोरोनाविरुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने बताएका छन् । 

    विश्व प्रतिजैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री ढकालले सो कुरा बताएका हुन् । उनले कोरोनाविरुद्धको खोप अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुनेबित्तिकै नेपाल भित्राउने तयारी भएको बताए । 

    उनले भने - भ्याक्सिन अन्य देशले आफ्ना नागरिकमा प्रयोग गर्ने वित्तिकै नेपाली जनताले सजिलै प्रयोग गर्न सकियोस भनेर सरकारी र गैरसरकारी तर्फबाट पहल गरिनेछ ।

    कोरोनाको भ्याक्सिनको व्यवस्थापन र सहज उपलब्धताका लागि कानून संशोधन गरेर सरकार अगाडी बढेको पनि स्वास्थ्यमन्त्री ढकालले बताए । 

    उनले औषधि व्यवस्थापन र उपलब्धताका लागि सहज होस् भनेर कानुनी रूपमा अध्यादेशबाट औषधि आयात गर्न सजिला्े बनाइएको र भ्याक्सिन सजिलै प्रयोगमा ल्याउन कानुनी बाटो पनि खुला गरिएको बताए ।  

     


    मंसिर ९, २०७७ मंगलवार १८:२३:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    नेपालमा एकैदिन २७ सय ९१ जनाले जिते कोरोना, २४ जनाले ज्यान गुमाए

    नेपालमा एकैदिन २७ सय ९१ जनाले जिते कोरोना, २४ जनाले ज्यान गुमाए

    काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा २७ सय ९१ जना कोरोना संक्रमणमुक्त भएका छन्।

    मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २७ सय ९१ जनाले कोरोनालाई जितेको जानकारी दिएको हो । यससँगै नेपालमा कोरोना जित्नेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ । 
     
    यस्तै पछिल्लो २४ घण्टामा १७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  यससँगै कोरोना संक्रमित संख्या दुई लाख २४ हजार ७८ पुगेको छ ।

    यसैबीच पछिल्लो २४ घण्टामा २४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १,३६१ पुगेको छ । 


    मंसिर ९, २०७७ मंगलवार १७:५६:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    काठमाडौँ उपत्यकामा कोरोनाभाइरस फैलिनुका कारण के हुन् ?

  • 340
    SHARES
  • काठमाडौँ उपत्यकामा कोरोनाभाइरस फैलिनुका कारण के हुन् ?

    काठमाडौँ।  नेपालमा विगत दुई महिनादेखि दैनिक परीक्षण गरिने व्यक्तिमध्ये २० प्रतिशतसम्ममा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ। तीमध्ये आधाजसो सङ्क्रमित काठमाण्डू उपत्यकाका तीन जिल्लामा फेला पर्ने गरेका छन्।

    धेरै जनघनत्व र मान्छेको हिँडडुल तथा गतिविधि बढी हुने भएकाले राजधानीमा बढी सङ्क्रमित देखिएको विज्ञहरूले औँल्याएका छन्। केही समयदेखि उपत्यकाका तीन जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या देशभरि भएका सक्रिय सङ्क्रमितको कुल सङ्ख्याको ५० प्रतिशत भन्दा बढी कायम हुने गरेको छ।

    सङ्क्रमणको प्रवृत्ति कस्तो ?

    जोन हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कमा नेपाल कोरोनाभाइरस सङ्क्रमणबाट प्रभावित देखो सूचीमा ३६औँ स्थानमा छ भने दक्षिण एशियामा भारत, बाङ्ग्लादेश र पाकिस्तानपछि चौथो स्थानमा छ। तर पर्याप्त परीक्षण नहुँदा नेपालमा सङ्क्रमणको वास्तविक स्थिति ठ्याक्कै बताउन कठिन भएको जनस्वास्थ्यविद्‌हरू बताउँछन्।

    स्वास्थ्य मन्त्रालयको अवैतनिक सल्लाहकार डा. सुरेश तिवारीका अनुसार यद्यपि परीक्षण गरिएकामध्ये सङ्क्रमितको प्रतिशत हेर्दा सङ्क्रमण दर उच्च छ। "पछिल्लो दुई महिनाकै तथ्याङ्क हेर्नुभयो भने औसतमा दैनिक २० प्रतिशतसम्ममा सङ्क्रमण पुष्टि हुने गरेको छ जुन एकदम उच्च हो," उनले बीबीसी न्यूज नेपालीसित भने।

    जनघनत्व र मानवीय गतिविधिका आधारमा ठाउँअनुसार सङ्क्रमणको स्थिति फरक देखिएको अर्का जनस्वास्थ्यविद्‌ डा. शरदराज वन्त बताउँछन्। "सबै ठाउँमा सङ्क्रमण दर समान देखिएको छैन। जहाँ जनघनत्व धेरै छ र मुभमेन्ट धेरै भएको छ, त्यहाँ सक्रिय सङ्क्रमित पनि बढी देखिएका छन्," उनले भने।यसमा डा. तिवारी पनि सहमत छन्।

    के फेरि लकडाउन गर्नुपर्छ?

    कोरोनाभाइरस महामारीको गम्भीरतालाई लिएर नेपालमा जनस्वास्थ्यका मापदण्डहरूको खासै पालना नभएकोमा जनस्वास्थ्यविद्‌ले चिन्ता व्यक्त गर्दै आएका छन्। खासगरी लकडाउनको अन्त्य गरिएपछि मानिसहरूले सामाजिक दूरी कायम गर्ने, भिडभाड नगर्ने तथा मास्क लगाउने बानीमा गम्भीर नबनेको जनस्वास्थ्यविद्‌ डा. वन्तको ठम्याइ छ।

    अर्का जनस्वास्थ्यविद्‌ डा. तिवारीको विचारमा कतिपय सार्वजनिक गतिविधिहरू त खुला गर्ने समय नै भएको थिएन। 

    उसोभए के फेरि लकडाउन गर्नुपर्छ त? डा. वन्तले भने, "पहिलाजस्तै एकै पटक सबैतिर त गर्न नपर्ला। सक्रिय सङ्क्रमणको स्थिति हेरेर ठाउँठाउँमा गर्नुपर्ने हुन्छ।" 

    सङ्घीय र प्रादेशिक सरकारहरू 'स्मार्ट लकडाउन'बारे योजना बनाएर अघि बढ्नुपर्ने डा. तिवारीको सुझाव छ। "मलाई लाग्छ अन्तरप्रदेशसम्बन्धी गतिविधिबारे सङ्घीय सरकारले गर्नुपर्ने हुनसक्छ। स्थानीय तहमा गर्नुपर्ने कुरा प्रदेश सरकार आफैँले गर्न सक्छन्।"

    "कति सक्रिय सक्रिय सङ्क्रमित भए भने लकडाउन गर्ने लगायतका विषयमा एउटा मापदण्ड बनाएर स्थानीय तहमा त्यसको कार्यान्वयन गर्न सकिन्छ,"उनले थपे। हालै काठमाण्डू उपत्यका मेयर फोरमले सङ्क्रमणको विस्तार रोक्न चाडबाड सकिएलगत्तै कडा लकडाउन गर्नुपर्ने सुझाव दिएको थियो।

    तर ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले फेरि निषेधाज्ञा वा लकडाउन गर्ने विषयमा कुनै छलफल नभएको दुई दिनअघि बीबीसीलाई बताएका थिए। 

    अहिलेको अवस्था के छ?

    पीसीआर विधिबाट परीक्षण गरिएका सबै नमुनामध्ये १३.३ प्रतिशतमा कोरोनाभाइरस पाइएको मन्त्रालयले जनाएको छ। सङ्क्रमणदर उच्च देखिए पनि कोभिड-१९ सँग सम्बन्धित कारणले थोरै सङ्क्रमितको मृत्यु भएको बताइन्छ। तर ६० वर्षभन्दा माथिको उमेरका सङ्क्रमितमा मृत्युदर उच्च छ। हालसम्मको तथ्याङ्कलाई हेर्दा नेपालमा निको हुने दर झन्डै ९० प्रतिशतभन्दा बढी छ।

    समाचार : बीबीसी नेपाली सेवा 


    मंसिर ९, २०७७ मंगलवार १७:४४:५६ बजे : प्रकाशित

    कोरोनाको कुन खोप कति प्रभावकारी ? यसरी निर्धारण गरिन्छ प्रभावकारिता

    रोहित शर्मा

    मंसिर ९

  • 342
    SHARES
  • कोरोनाको कुन खोप कति प्रभावकारी ? यसरी निर्धारण गरिन्छ प्रभावकारिता

    काठमाडौँ। विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसले संसारभरका मानिसहरुलाई सकस बनाएको छ। गत वर्ष चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलिन सुरु भएको कोरोनाभाइरस संक्रमण अहिलेसम्म विश्वभर ५ करोड ९५ लाख ६३ हजार ९ सय ६० जना संक्रमित बनाएको छ भने ज्यान जानेको संख्या १४ लाख २ हजार ९ सय ५१ पुगेको वर्ल्डोमिटरको मंगलबार अपरान्हको तथ्यांकले देखाएको छ।

    यसैगरी सफल उपचारपछि निको हुनेको संख्या ४ करोड १२ लाख १३ हजार ९ सय १८ रहेको छ। संक्रमितहरुको उपचार गरे पनि उनीहरुले प्रभावकारी खोप पाएका छैनन्। उनीहरुको उपचार चिकित्सा विज्ञानका थुप्रै वैकल्पिक पद्दति मार्फत गरिएको छ। यद्यपि अहिले विश्वका थुप्रै देशहरुमा भाइरसविरुद्धको सुरक्षित र प्रभावकारी खोप निर्माण गरिएको छ।

    खोप विकास गर्ने क्रममा रुसले सबैभन्दा पहिला कोरोना भाइरसविरुद्धको खोप स्पुतानिक फाइभ निर्माण गरेको दावी गरेको थियो। तर, अहिले खोप विकास गर्ने कम्पनीहरुको लिष्ट थपिँदै गर्दा आ–आफ्नोे खोपको प्रभावकारिता र उपयोगिताबारे वर्णन गर्दै उपचारमा सफलता हात लाग्ने दाबी गरिरहेका छन् । जसमा फाइजर र बायोटेकले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप ९५ प्रतिशत, मोडर्नाको खोप ९४ दशमलव ५ प्रतिशत, रुसको स्पुतानिक फाइभ ९० प्रतिशत र अक्सफोर्डको एस्ट्राजेनेका ९० प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको छ ।

    अर्कोतर्फ खोपको निर्माण भइरहँदा अधिकांश विज्ञहरूले यी खोपहरू ५० देखि ७० प्रतिशतसम्म प्रभावकारी हुने अपेक्षा गरिरहेका थिए। त्यसैगरीअमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले ५० प्रतिशत प्रभावकारितामा पनि आपतकालीन प्रयोगका लागि खोपको प्रयोगमा अनुमति दिने भएको थियो।

    यस्तो अवस्थामा के औषधि कम्पनीहरूले परीक्षणको आधारमा गरेका दाबीहरू सहि छन् ? आखिर प्रभावकारिताको आधार के हो ? यी यस्तै प्रश्नहरुले अहिले विश्वभरका आममानिसमा उत्सुकता बढाइरहेको छ।

    यी खोपहरु अबका केहि हप्तामै मानिसहरुमा लगाउने अपेक्षा गरिएको छ। यदि कम्पनीहरुले गरेको दाबी सही हो भने यस्तो अवस्थामा उदाहरणका लागि यदि एक सय जनालाई खोप लगाइयो भने ९० देखि ९५ जनालाई कोरोनाभाइरस संक्रमण हुनबाट जोगाउने छ । यद्यपि, कम्पनीले दाबी गरेको परीक्षणको तथ्यांक अनुसार वास्तविकतामा विश्वास गर्न कठिन हुने विशेषज्ञहरु बताउँछन् ।

    खोप प्रयोगात्मक रुपमा कति प्रभावकारी हुन्छ भन्ने निर्क्योलबारे धेरै मापदण्डहरुले निर्धारण गर्ने विज्ञहरु बताउँछन् ।

    आखिर ९० र ९५ प्रतिशत प्रभावकारी भन्नुको अर्थ के हो ?

    लगभग १०० वर्षभन्दा अघि विद्वानहरूले खोप परीक्षण गर्ने नियमहरू विकशित गरेका थिए। जस अन्तर्गत अध्ययनहरूले परीक्षणमा संलग्न केहि स्वयंसेवकहरुलाई वास्तविक खोप दिइने गरिन्थ्यो भने केही स्वयंसेवकहरुलाई प्लेसीबो अर्थात् कृत्रिम खोप दिइन्थ्यो। दुवै समूहलाई खोप दिइसकेपछि विज्ञहरुले कुन समूहमा कस्तो प्रभाव ग¥यो भनेर मुल्यांकन गर्थे।

    यस्तै, फाइजरले ४८ हजार ६६१ जना स्वयंसेवकलाई परीक्षणमा सहभागी गराएको थियो। जसमा १७० जनामा कोरोना भाइरसको लक्षण देखापर्यो भने बाँकीलाई लक्षण देखिएन । १७० जना मध्ये ८ जनालाई मात्र वास्तविक खोप दिइएको थियो भने बाँकी १६२ जनालाई प्लेसीबो अर्थात् कृत्रिम खोप दिइएको थियो।

    यस भिन्नतालाई आधार मानेर कम्पनीले आफ्नो खोप ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको हो। यद्यपि, यसमा लक्षण बिनाका संक्रमितहरुलाई समावेश गराइएको थिएन। तसर्थ, यदि एक व्यक्तिलाई खोप दिइयो, तर ऊ संक्रमित हुने सम्भावना कति हुन्छ भनेर भन्न नसकिने अनुसन्धानकर्ताहरु बताउँछन्।

    खोप लगाएपछि पनि सतर्क रहनुपर्ने

    अमेरिकाका येल विश्वविद्यालयका प्राध्यापक डेभिड पालकाअनुसार ’खोपले जीवन बचाउँदैन, खोपको अभियानले जीवन बचाउने हो। ’ उनी भन्छन्, ’खोप लगाइसकेपछि केहि समयको लागि मास्क र सामाजिक दूरी अनिवार्यता आवश्यक पर्दछ र यस नियमलाई सावधानीपूर्वक अपनाउनु पर्दछ। खोप तब प्रभावकारी हुन्छ, जब यो ठूलो मात्रामा आममानिसहरुमा पुग्छ।’


    मंसिर ९, २०७७ मंगलवार १६:४९:२० बजे : प्रकाशित

    जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, चार घाइते 

  • 252
    SHARES
  • जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, चार घाइते 

    बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

    मंगलबार दिउँसो दशरथचन्द नगरपालिका १० बुड्डामा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको सो नगरपालिकाकी उपमेयर मिना चन्दले क्यानडानेपाललाई जानकारी दिइन् । 

    मृत्यु हुनेमा स्थानीय पार्वती चन्द, भगिरथ पाण्डेय, कृष्ण लावड र पार्वती चन्द तथा सुनर्या गाउँपालिकाकी कलावती चन्द रहेका छन् । उपमेयर चन्दकाअनुसार घाइते भएका चार जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । 

    ना १ ज २१९६ नम्बरको जिप सडकबाट एक सय मिटर तल खस्दा सो हताहती भएको हो । भारतीय बजार झुलाघाटबाट पेन्सन बुझेर फर्किएकाहरु सवार सो जिपको ब्रेक फेल भएर दुर्घटना भएको सूचना आएको उपमेयर चन्दले जानकारी दिइन् । 


    मंसिर ९, २०७७ मंगलवार १५:२३:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जिप दुर्घटना

  • क्यानाडानेपाल

    दोलखा भीमसेनलाई पसिना आयो 

  • 598
    SHARES
  • दोलखा भीमसेनलाई पसिना आयो 

    काठमाडौं । दोलखाको सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना आएको छ । मंगलबार दिउँसो २ बजेदेखि भीमसेनको शीलामा  पसिना आइरहेको हो ।

    भीमसेनलाई पसिना आएको भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले क्यानडानेपालसँग पुष्टी गरेका छन् । भीमेश्वरको शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आएको छ  । 

    भीमसेनलाई पसिना आउँदा मुलुकका शुभ तथा अनिष्ट हुने संकेतको रुपमा लिइने गरिएको छ । दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ ।

    भीमसेनको शीलामा पसिना आएपछि कपासले पुछेर राष्ट्र प्रमुखलाई पठाउने र राष्ट्र प्रमुखबाट क्षमा पूजाका लागि दान दक्षिणासहित पूजा सामग्री पठाउने चलन रहँदै आएको छ । 

    यसअघि पछिल्लोपटक २०७६ फागुन ८ गते भीमसेनलाई पसिना आएको थियो । मुलुकमा ठूल्ठूला घटना हुँदा पनि दोलखा भीमसेनलाई पसिना आएको स्थानीयहरु बताउँछन् । 


    मंसिर ९, २०७७ मंगलवार १५:०२:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भीमसेन
  • # पसिना

  • क्यानाडानेपाल