• Nov 25 2020 | २०७७, मंसिर १०गते

२०७७, मंसिर १०गते

यो साता चर्चामा:

कोरोनाभाइरसको खोप ल्याउन के छ नेपालको तयारी ?   

  • 464
    SHARES
  • कोरोनाभाइरसको खोप ल्याउन के छ नेपालको तयारी ?   

    नेपालमा १५ वर्ष उमेरभन्दा माथिका सबै मानिसलाई कोरोनाभाइरसविरूद्ध खोप लगाउन अर्बौँ रुपैयाँ आवश्यक पर्न सक्ने आकलन गरिएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गठन गरेको एउटा विज्ञ समितिका संयोजकले कोभिड-१९ को खोप उपलब्ध भए त्यसका लागि ६० अर्ब रुपैयाँ लाग्न सक्ने अनुमान गरिएको बताएका छन्।

    उनका अनुसार मन्त्रिपरिषद्ले अनुमोदन गरेको खोपसम्बन्धी एउटा प्रस्तावअन्तर्गत कुल लागतको कम्तीमा २० प्रतिशत सरकारले बेहोर्ने र बाँकी रकमका लागि दातृनिकाय र विकास साझेदारलाई आग्रह गरिने योजनामा सरकार छ।

    केही दिनअघि सरकारले अर्थ, परराष्ट्र तथा स्वास्थ्य मन्त्रालयका सचिव सम्मिलित समिति गर्दै कोभिड-१९ को खोप प्रभावकारी देखिनेबित्तिकै नेपाल भित्र्याउन पहल गर्ने जिम्मेवारी दिएको थियो।

    स्वास्थ्य मन्त्रालयअन्तर्गत रहको बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक तथा खोपविज्ञ डा. श्यामराज उप्रेतीको नेतृत्वमा गठित विज्ञ समितिको सुझावअनुसार उक्त सहजीकरण संयन्त्र बनाइएको गरिएको अधिकारीहरू बताउँछन्।

    नेपालमा खोपका लागि खर्च कति?
    डा. उप्रेतीका अनुसार अहिले गरिएको खर्चको लेखाजोखा अनुमानित हो र कतिपय विकास साझेदार र दातृनिकायले सहयोग उपलब्ध गराए यो खर्च कम हुनसक्छ।

    उनले भने, "स्वास्थ्य मन्त्रालयसँगको छलफलमा हामीले १५ वर्षभन्दा माथिका सबैलाई कोभिड-१९ विरूद्धको खोप लगाउने हो भने ६० अर्ब रुपैयाँ जति खर्च हुने अनुमान गरिएको छ। हामीलाई केही सुविधा खोपसम्बन्धी विश्वव्यापी गठबन्धन गाभीले दिन्छ। त्यसो भए भने खर्च अलिकति कम हुन्छ।"

    "स्वास्थ्य मन्त्रालयले सम्भावित खर्चको स्रोतबारे पनि अध्ययन गरेको छ। सबै दातृनिकाय र विकास साझेदारहरूलाई तिमीहरूले गर्ने सहयोगमा कोभिड-१९ को खोपका लागि पनि सहायता गर्न भनिरहेको छ।"

    अहिले कोरोनाभाइरसविरूद्ध निर्मित खोपको परीक्षणमा विश्वभरि महत्त्वपूर्ण प्रगति भएको देखिन्छ। एक दर्जनभन्दा बढी खोप तेस्रो चरणको क्लिनिक्ल परीक्षणमा छन्।

    तर अहिलेसम्म कुनै पनि खोपले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) वा कुनै देशको नियामक निकायबाट सर्वसाधारणमा प्रयोगका लागि अनुमति पाइसकेको छैनन्।

    सहयोगको अपेक्षा
    तर खोपको विश्वव्यापी गठबन्धन गाभीले कोभ्याक्स कार्यक्रमअन्तर्गत सन् २०२१ सम्ममा कोभिड-१९ खोपको दुई अर्ब मात्रा आफूसँग हुने बताएको छ। उसले कम र मध्यम कम आय भएका नेपालसहित ९२ देशलाई खोप उपलब्ध गराउन सहयोग गर्ने बताएको छ।

    सरकारले गठन गरेको विज्ञ समितिका संयोजक डा. उप्रेतीले गाभीसँग संयुक्त लगानीको ढाँचामा नेपालको जनसङ्ख्याको २० प्रतिशतलाई पुग्ने खोप उपलब्ध गराउन सहमति भएको जानकारी दिए।

    उनी भन्छन्, "गरीब वा धनी सबै देशलाई गाभीले जनसङ्ख्याको २० प्रतिशतलाई खोप दिने भनेको छ। त्यो सहुलियत दरमा पनि हुनसक्छ वा निःशुल्क पनि हुनसक्छ। हाम्रो अहिलेको हिसाबमा त्यो २० प्रतिशतका लागि खोप लगाउन छ अर्ब रुपैयाँ लाग्छ। रकम तिर्नुपरेन भने हामीलाई दुई अर्ब रुपैयाँभन्दा बढी लाग्दैन होला।"

    विगतमा गाभीसँगको छलफलमा सहुलियत दरमा खोप खरिद गर्दा प्रतिमात्रा दुई डलर तिर्ने विषयमा छलफल भए पनि निर्णय नभइसकेको उनले बताए। गत जुलाई महिनामा गाभीको बोर्ड बैठकले नेपाललाई पनि खोप सहायता उपलब्ध गराउने निर्णय गरेको त्यसपछि जारी भएको एउटा विज्ञप्तिमा उल्लेख छ।

    खोप खरिदमा निजी क्षेत्र पनि
    खोप खरिदको विषयमा नेपाल सरकारले निजी क्षेत्रलाई पनि अनुरोध गरेको बताइन्छ। सरकारी विज्ञ समितिका संयोजक उप्रेतीका अनुसार मन्त्रिपरिषद्ले निजी क्षेत्रलाई पनि खोप भित्र्याउन बाटो खोल्ने हिसाबमा निर्णय गरेको छ।

    उनले भने, "सरकारले हामी कम्तीमा २० प्रतिशत राख्छौँ भनेको छ। विकास साझेदार र निजी क्षेत्रलाई पनि अनुरोध गरेको छ। निजी क्षेत्रले खोप ल्याउँछ भने उसलाई कर मिनाहा दिने भन्ने कुरा पनि अर्थ मन्त्रालयको निर्णयमा छ।"

    अर्थमन्त्रालयका प्रवक्ता रामेश्वर दङ्गालले अर्थ, परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवहरूले नियमित छलफल गरिरहेको भन्दै खोप भित्र्याउने प्रक्रिया सहजीकरण गर्न सरकारले काम गरिरहेको बताए।

    उनले भने, "यसै हप्ता ऐनमा देखिएको गाँठो फुकाउन अध्यादेश जारी गरिएको छ। खोप कसरी भित्र्याउन सकिन्छ र त्यसमा लगानी र साझेदारीको ढाँचा कस्तो हुनुपर्छ भनेर छलफल चलिरहेको छ।"

    गत अक्टोबरमा एउटा औषधिको खुद्रा विक्रेताका रूपमा सूचीकृत कम्पनी ट्रिनिटी फर्मास्यूटिकल्सले नेपालको जनसङ्ख्याको ९० प्रतिशतका लागि खोप भित्र्याउन आफूले रुसी खोप निर्माता कम्पनीसँग सम्झौता गरेको बताएको थियो।

    तर मस्कोमा रूस सरकारी निकायद्वारा जारी गरिएको उक्त आपूर्तिबारेको सूचनाबारे नेपाल सरकारलाई औपचारिक जानकारी नभएको नेपाली अधिकारीहरूले बताएका थिए। 
    फणीन्द्र दाहाल बीबीसी न्यूज नेपालीका संवाददाता हुन् । यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    मंसिर ६, २०७७ शनिवार ११:३८:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    निकारागुवामा ट्रक दुर्घटना हुँदा १७ जनाको मृत्यु, २५ जना घाइते

    निकारागुवामा ट्रक दुर्घटना हुँदा १७ जनाको मृत्यु, २५ जना घाइते

    मनागउ - निकारागुवामा ट्रक दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । मंगलबार निकारागुवाको मोन्टानिटा भन्ने स्थानको राजमार्गमा भएको उक्त दुर्घटनामा १७ जनाको मृत्यु भएको हो भने अन्य २५ जना घाइते भएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

     सञ्चारमाध्यमहरुमा यात्रुहरु लिएर हिँडेको ट्रक दुर्घटनामा परेको र त्यसमा रहेका यात्रुहरुको मृत्यु भएको बताइएको छ । 

    दुर्घटनामा घाइते भएकाहरुको अस्पतालमा उपचार जारी रहेको बताइएको छ । उक्त दुर्घटनाको अनुसन्धान शुरु भएको जनाइएको छ । 


    मंसिर ९, २०७७ मंगलवार २२:१७:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • क्यानाडानेपाल डेस्क

    बिल गेट्सलाई पछि पार्दै एलन मस्क बने विश्वको दोस्रो सबैभन्दा धनी व्यक्ति 

    बिल गेट्सलाई पछि पार्दै एलन मस्क बने विश्वको दोस्रो सबैभन्दा धनी व्यक्ति 

    काठमाडौँ। स्पेसएक्स का प्रमुख कार्यकारी अधिकारी र टेस्लाका प्रमुख एलन मस्क, माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पछि पार्दै विश्वको दोस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन्। 

    ४९ वर्षीय मस्क  कुल सम्पत्ति अहिले १२७ दशमलव ९ अर्ब अमेरिकी डलर भएको छ।  टेस्लाको सेयरमा भएको ठुलो मुनाफाका कारण उनको कुल सम्पत्ति ७ दशमलव २ अर्ब डलरले वृद्धि भएको हो।  

    कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र ठप्प भएको बेला एलन मस्कलाई यो साल निकै फाइदाजनक देखियो। उसले यो वर्ष मात्र १०० अरब डलर कमाएका छन्। 

    ब्लूमबर्गको इन्डेक्सका अनुसार यस वर्षको जनवरी महिनामा विश्वको सबैभन्दा धनी व्यक्तिको सुचीमा ३५औँ स्थानमा राखिएको थियो।  तर, सालको अन्त्य तिर आइसक्दा उनी विश्वको दोस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन्।  


    मंसिर ९, २०७७ मंगलवार १८:०४:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सबैभन्दा धनी व्यक्ति
  • # एलन मस्क

  • क्यानाडानेपाल डेस्क

    संक्रमण बढेपछि चीनले गर्‍याे लाखौं मानिसको स्वास्थ्य परीक्षण

    संक्रमण बढेपछि चीनले गर्‍याे लाखौं मानिसको स्वास्थ्य परीक्षण

    काठमाडौँ। चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि लाखौं मानिसको परीक्षण गरिएको छ। संक्रमणका केहि घटना देखिएपछि चीनका तीन शहरका लाखौं मानिसहरुको स्वास्थ्य परीक्षण गरिएको छ।

    संक्रमणको रोकथाम गर्न यी शहरहरुमा विद्यालय तथा सामूहिक रुपमा भिडभाड गर्न प्रतिवन्ध लगाइएको छ। अमेरिका तथा अन्य देशहरूमा संक्रमणको नयाँ लहरको तुलनामा चीनको शहर टियानजिन, शंघाई र मनजौलीमा थोरै केसहरु भए पनि भाइरसको रोकथाम गर्न विभिन्न कदम उठाइएको चिनियाँ अधिकारीहरुले घोषणा गरेका छन् ।

    यसैगरी, चीनका विज्ञ तथा सरकारी अधिकारीहरूले जाडो मौसममा संक्रमणको उच्च जोखिम हुने चेतावनी दिएका छन्। चीनले कोरोना भाइरस संक्रमण नियन्त्रणमा प्रगति गरे पनि अहिले देखिएका घटनाहरूबाट हुन सक्ने सम्भावित भयावहको अवस्था रोक्न आवश्यक कदम चालिएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

    त्यसैगरी, आयोगका अनुसार शांघाईमा पछिल्लो २४ घण्टामा २ जनामा संक्रमण देखिएको छ भने शुक्रबारदेखि यहाँ सात जनामा संक्रमण भएको छ। गत वर्ष वुहानमा पहिलोपटक संक्रमणको संक्रमण भएदेखि चीनमा कूल ८६ हजार ४ सय ४२ जनामा संक्रमण भएको छ भने ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ।


    मंसिर ९, २०७७ मंगलवार १२:१०:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # संक्रमण बढेपछि
  • # चीन

  • क्यानाडानेपाल डेस्क

    अस्पतालमा बिरामीको शल्यक्रिया गर्न लागेका चिकित्सकको मृत्यु भएपछि… 

  • 270
    SHARES
  • अस्पतालमा बिरामीको शल्यक्रिया गर्न लागेका चिकित्सकको मृत्यु भएपछि… 

    काठमाडौँ।  साउदी अरबस्थित एउटा सरकारी अस्पतालमा बिरामीको शल्यक्रिया गर्न लागेका एक चिकित्सकको मृत्यु भएको छ। साउदी सञ्चारमाध्यमहरूले जनाएअनुसार हाडजोर्नीसम्बन्धी शल्यक्रिया गर्न गएका बेला ती चिकित्सकको आफैँ अस्वस्थ भएका थिए।

    अल वतन दैनिक वेवसाइटले खामिस मुशैट सिभिल हस्पिटलमा डा. महदी अल इमारीलाई हृदयाघात भएको उल्लेख गरेको छ। शल्यकक्षमा असहज भएको देखेपछि सहकर्मीहरूले ती चिकित्सकको मुटु जाँच्न लगाएका थिए ।

    शल्यक्रिया गर्ने अडान

    इलेक्ट्रोकार्डियोग्राम गरिएपछि उनले बिरामीको अपरेशन गरे कि गरेनन् भन्ने स्पष्ट भएको छैन। अस्पतालका अर्थोपेडिक विभागका प्रमुख डा. मजिद अल शहरीलाई उद्धृत गर्दै अल वतनले लेखेको छ, "एक बिरामीको शल्यक्रिया गर्न उपस्थित भएका इमरीलाई हामीले थकित भएको र पेटको पीडाले सताएको सङ्केत देख्यौँ।"

    इमरीले सुरुमा आफ्नो परीक्षण गर्न अस्वीकार गरेको र बिरामीको शल्यक्रिया गर्ने कुरामा जोड दिएको कुरा विभाग प्रमुख शहरीले बताएका छन्। अन्तत: उनलाई इलेक्ट्रोकार्डियोग्राम गर्न मनाइयो। त्यसमा उनलाई हृदयाघात भएको देखिएको अस्पतालले जनाएको छ।

    "आफ्नो कर्तव्य निर्वाहका क्रममा उनको मृत्यु भयो," गल्फ न्यूज वेवसाइटका अनुसार डा. शहरीले भनेका छन्। यो समाचार बीबीसी नेपाली सेवाबाट साभार गरिएको हो। 


    मंसिर ९, २०७७ मंगलवार ११:३७:०५ बजे : प्रकाशित

    कानुनी लडाइँ यथावत राख्दै सत्ता हस्तान्तरण गर्न ट्रम्प सहमत 

    कानुनी लडाइँ यथावत राख्दै सत्ता हस्तान्तरण गर्न ट्रम्प सहमत 

    बीबीसी।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण सुरु हुनसक्ने स्वीकार गरेका छन्। उनले त्यसका निम्ति जिम्मेवार सङ्घीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेशन (जिएसए) लाई 'गर्नुपर्ने आवश्यक काम गर्न' सिफारिस गरेको बताए।

    तर चुनावको परिणामविरुद्ध आफ्नो कानुनी लडाइँ जारी रहने ट्रम्पको भनाइ छ। जिएसएले पनि बाइडनलाई 'स्पष्ट विजेता'को रूपमा आफूले स्वीकार गरेको जनाएको छ। अमेरिकी राज्य मिशिगनमा राष्ट्रपति निर्वाचित जो बाइडनको जित औपचारिक रूपमा प्रमाणित भएसँगै मत परिणामलाई चुनौती दिने डोनल्ड ट्रम्पको प्रयासमा गम्भीर धक्का लागेको छ।

    जिएसएले बाइडन समूहलाई प्रक्रिया सुरु गर्ने भनी जानकारी दिएपछि ट्रम्पले ट्वीट गरेका छन्। ट्रम्पद्वारा नियुक्त प्रशासक इमिली मर्फीले राष्ट्रपति निर्वाचित बाइडनका निम्ति ६३ लाख डलरको कोष उपलब्ध गराउने बताएकी छन्। उनले प्रक्रियागत ढिलाइ गर्न आफूलाई ह्वाइट हाउसबाट कुनै दबाव नआएको जनाएकी छन्।

    मिशिगनमा धक्का

    बाइडनको समूहले पनि महामारी र राष्ट्रिय सुरक्षाका मुद्दामा सरकारी अधिकारीहरू सँगको बैठकहरूपछि सत्ता हस्तान्तरण सुरु हुने कुरा वक्तव्यमार्फत् जनाएको छ। उसले मर्फीको पत्रको स्वागत गरेको छ।

    ट्रम्पलाई धक्का लागेको मिशिगन राज्यको मत परिणाम घोषणालाई अन्तिम रूप दिन त्यहाँको दुईमध्ये एक रिपब्लिकनले दुईजना डेमोक्र्याटलाई साथ दिएका थिए। अर्का रिपब्लिकन भने त्यसबाट अलग्गिएका थिए। ट्रम्पको कानुनी समूहले अझै पनि मिशिगनको परिणामलाई चुनौती दिने बताएका छन्। ट्रम्पकी कानुनी सल्लाहकार जेना एल्लिसले प्रमाणीकरणलाई समान्य प्रक्रियागत कदम भनेकी छन्।

    उनले भनिन्, "अन्तिम परिणाम वैध र स्वच्छ भएको कुरामा अमेरिकीहरू सुनिश्चित हुनुपर्छ।" तर समय घर्किँदै गइरहेको छ। डिसेम्बर १४ मा बाइडनको जित अमेरिकी इलेक्टरल कलेजबाट प्रमाणित हुँदैछ।

    बाइडनका भावी सहकर्मीको अनुहार

    बाइडनले ज्यानुअरी २० मा शपथ लिएपछि आफूले सरकारमा प्रमुख भूमिका दिने चाहेका व्यक्तिहरूको नाम चयन गर्न सुरु गरेका छन्। पूर्वविदेश मन्त्री जोन केरीले जलवायुसम्बन्धी विशेष दूतको भूमिका निर्वाह गर्ने छन्।

    चार वर्षअघि अमेरिकाको तर्फबाट उनैले प्यारिस सम्झौतामा हस्ताक्षर गरेका थिए। तर ट्रम्प उक्त सम्झौताबाट पछि हटेका थिए। यसअघि सशक्त रूपमा अन्तर्राष्ट्रियवादमा विश्वास गर्ने एन्टोनी ब्लिङ्केनको नाम विदेशमन्त्रीको रूपमा प्रस्तुत गरिसकिएको छ।


    मंसिर ९, २०७७ मंगलवार ११:२४:३६ बजे : प्रकाशित

    भारतमा कोरोना संक्रमित घट्दै 

    भारतमा कोरोना संक्रमित घट्दै 

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण घट्दै गइरहेको छ भने निको हुनेको संख्या बढ्दै गइरहेको छ । 
     
    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ४ सय १० जना कोरोना संक्रमित फेला परेका छन् ।  यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ९१ लाख ७७ हजार ७ सय २२ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ४ सय ८१  जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३४ हजार २ सय ५४ पुगेको छ ।  पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार १ सय ३१ जना कोरोना संक्रमित निको भएका छन् । 

    त्यस्तै हालसम्म ८६ लाख ३ हजार ५ सय ७५ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।  भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतका ठुला शहरहरुमा कोरोना सक्रमितको संख्या बढी रहेका छन् । 


    मंसिर ९, २०७७ मंगलवार ०९:३४:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क