काठमाडौँ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आज (जनवरी २०) बिहान ११:३० बजे (अमेरिकी स्थानीय समयअनुसार ) पद तथा गोपनीयताको शपथ लिँदैछन्। पद ग्रहण गरे पश्चात उनी विश्वको सबैभन्दा शक्तिशाली देशको ४६औं राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन्। यद्यपि अमेरिकाको राष्ट्रपति विश्वकै सबैभन्दा शक्तिशाली व्यक्ति हुन्, तर उनी आफ्नो देशको संघीय कानूनको विधान र सीमामा बाँधिएका हुन्छन्।
यति शक्तिशाली व्यक्तिको पारिश्रमिक कति होला भन्ने आममानिसको चासो हुने गर्छ । अमेरिकी कानूनअनुसार राष्ट्रपतिले वार्षिकरुपमा चार लाख अमेरिकी डलर पारिश्रमिक पाउने व्यवस्था छ । जसलाई नेपाली मुद्रामा रुपान्तरण गर्दा करिब ४ करोड ६८ लाख हुन आउँछ।
यस बाहेक राष्ट्रपतिले वार्षिकरुपमा ५० हजार अमेरिकी डलर भत्ता स्वरुप पाउने गर्छन्। त्यसैगरी, उनलाई एक लाख अमेरिकी डलर नन ट्याक्सेबल ट्राभल अलाउन्सेस दिने गरिन्छ। साथै, १९ हजार डलर मनोरञ्जन भत्ताको रूपमा दिइन्छ, जुन राष्ट्रपतिले आफ्नो परिवारबीच मनोरन्जन गर्न खर्च गर्न सक्छन्। तर, राष्ट्रपतिकी श्रीमती अर्थात् प्रथम महिलालाई यस्तो कुनै सुबिधा हुँदैन।
अमेरिका स्वतन्त्र भएपछि राष्ट्रपतिको पारिश्रमिक ५ पटक मात्र वृद्धि गरिएको छ। सन् १७८९ मा जब जर्ज वाशिङटन अमेरिकाको पहिलो राष्ट्रपति बने, त्यससयमा राष्ट्रपतिको पारिश्रमिक २५ हजार अमेरिकी डलर थियो। अन्तिम पटक सन् २००१ मा पारिश्रमिक वृद्धि गरिएको थियो। त्यस समयमा अमेरिकी कंग्रेसले राष्ट्रपतिको तलब दुई गुणा गरेको थियो।
अमेरिकी राष्ट्रपतिले ४ लाख डलरको पारिश्रमिक बाहेक लिमोजीन कार, मरीन वान र एयरफोर्स वानको पनि सुबिधा पाउँछन्। जसमा, राष्ट्रपतिको यात्रा पूर्ण रूपमा स्वतन्त्र र निःशुल्क हुने गर्दछ। उनले ह्वाइट हाउसमा रहुन्जेल कुनै भाडा तिर्नुपर्दैन। सेवानिवृत्ति भएपछि पनि राष्ट्रपतिले वार्षिक दुई लाख अमेरिकी डलर पेन्सनको रुपमा पाउँदछन्। यसबाहेक, उनले बस्नका लागि घर, कार्यालय र स्वास्थ्य सेवाका सुबिधा पनि पाउने गर्छन्।
अमेरिकामा राष्ट्रपतिको पारिश्रमिक सबैभन्दा बढी हुन्छ। तर, अमेरिकामा यस्ता धेरै राष्ट्रपति छन्, जसले कहिल्यै पनि आफ्नो पारिश्रमिक लिएनन्। अमेरिकाका ३१ औं राष्ट्रपति हर्बर्ट हूवर पहिला राष्ट्रपति थिए, जसले आफ्नो पारिश्रमिक लिन अस्विकार गरे। उनले आफ्नो सम्पूर्ण पारिश्रमिक दान गरेका थिए।
यसपछि, अमेरिकाका ३५औं राष्ट्रपति जोन एफ केनेडीले पनि आफ्नो पारिश्रमिक लिन अस्विकार गरेका थिए। केनेडी पहिला अमेरिकी कंग्रेसका सदस्य थिए, जसपछि उनी राष्ट्रपति बनेका थिए। उनले दुबै पदमा रहँदा पारिश्रमिक लिएनन्। उनले खर्चको रुपमा केवल ५० हजार अमेरिकी डलर लिएका थिए। उनले पनि आफ्नो पारिश्रमिक परोपकारी संस्थालाई दान गरेका थिए।
यसैगरी, तीन बिलियन अमेरिकी डलर सम्पति भएका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो पूरा पारिश्रमिक दान गर्ने प्रतिज्ञा गरेका थिए। सन् २०१७ मा उनले आफ्नो आम्दानीको एक तिहाइ दान गरेका थिए।
माघ ७, २०७७ बुधवार
१८:४१:०१ बजे : प्रकाशित