• Jan 17 2021 | २०७७, माघ ४गते

२०७७, माघ ४गते

अस्पतालमा बिरामीको शल्यक्रिया गर्न लागेका चिकित्सकको मृत्यु भएपछि… 

क्यानाडानेपाल मंसिर ९ २०७७
  • 810
    SHARES
  • अस्पतालमा बिरामीको शल्यक्रिया गर्न लागेका चिकित्सकको मृत्यु भएपछि… 

    काठमाडौँ।  साउदी अरबस्थित एउटा सरकारी अस्पतालमा बिरामीको शल्यक्रिया गर्न लागेका एक चिकित्सकको मृत्यु भएको छ। साउदी सञ्चारमाध्यमहरूले जनाएअनुसार हाडजोर्नीसम्बन्धी शल्यक्रिया गर्न गएका बेला ती चिकित्सकको आफैँ अस्वस्थ भएका थिए।

    अल वतन दैनिक वेवसाइटले खामिस मुशैट सिभिल हस्पिटलमा डा. महदी अल इमारीलाई हृदयाघात भएको उल्लेख गरेको छ। शल्यकक्षमा असहज भएको देखेपछि सहकर्मीहरूले ती चिकित्सकको मुटु जाँच्न लगाएका थिए ।

    शल्यक्रिया गर्ने अडान

    इलेक्ट्रोकार्डियोग्राम गरिएपछि उनले बिरामीको अपरेशन गरे कि गरेनन् भन्ने स्पष्ट भएको छैन। अस्पतालका अर्थोपेडिक विभागका प्रमुख डा. मजिद अल शहरीलाई उद्धृत गर्दै अल वतनले लेखेको छ, "एक बिरामीको शल्यक्रिया गर्न उपस्थित भएका इमरीलाई हामीले थकित भएको र पेटको पीडाले सताएको सङ्केत देख्यौँ।"

    इमरीले सुरुमा आफ्नो परीक्षण गर्न अस्वीकार गरेको र बिरामीको शल्यक्रिया गर्ने कुरामा जोड दिएको कुरा विभाग प्रमुख शहरीले बताएका छन्। अन्तत: उनलाई इलेक्ट्रोकार्डियोग्राम गर्न मनाइयो। त्यसमा उनलाई हृदयाघात भएको देखिएको अस्पतालले जनाएको छ।

    "आफ्नो कर्तव्य निर्वाहका क्रममा उनको मृत्यु भयो," गल्फ न्यूज वेवसाइटका अनुसार डा. शहरीले भनेका छन्। यो समाचार बीबीसी नेपाली सेवाबाट साभार गरिएको हो। 


    मंसिर ९, २०७७ मंगलवार ११:३७:०५ बजे : प्रकाशित

    अर्कोसमाचार

    इन्डोनेसियामा शक्तिशाली भूकम्प : ८ सय भन्दा बढी घाइते, १५ हजार विस्थापित

    क्यानाडानेपाल

    माघ ३

  • 228
    SHARES
  • इन्डोनेसियामा शक्तिशाली भूकम्प : ८ सय भन्दा बढी घाइते, १५ हजार विस्थापित

    जाकार्ता, सिन्ह्वा - इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् ।भूकम्पका कारण अरु १५ हजार मानिस विस्थापित समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । देशको पश्चिम सुलावेसी प्रान्तमा ६.२ म्याग्नीच्युडको भूकम्प गएको हो ।भूकम्पपछि सयौँ घर तथा भौतिक संरचनाहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन ।

    भूकम्पमा परी गम्भीर घाइते भएकाहरुलाई अस्पतालमा उपचार गराइएको छ भने सामान्य घाइतेहरुको सङ्ख्या धेरै भएकाले उनीहरुलाई अस्पताल बाहिर नै उपचार गरिएको छ । भूकम्पले सवैभन्दा धेरै मामुजु सहर र मजेने जिल्ला सवैभन्दा बढी प्रभावित भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ता राडित्या जाटीले बताउनुभयो । 

    उहाँका अनुसार मामुजुमा १८९ जना गम्भीर घाइते भएका छन् भने मजेनेमा ६३९ जना मध्यम घाइते भएका छन् । मध्यम घाइतेहरुलाई अस्पतालमा उपचारपछि चाडो चाडो निकाल्ने र अरुलाई लैजाने गरिएको अधिकारीहरुले जनाएका छन् । भूकम्पमा परी कम्तीमा ३५ व्यक्तिको मृत्यु भएको विवरण शुक्रबार नै सार्वजनिक गरिएको थियो । यस द्वीपमा साढे दुई वर्षअघि आएको भूकम्प र सुनामीमा परी हजारौँ व्यक्तिको मृत्यु भएको थियो ।
    \

    अहिले प्रभावित क्षेत्रमा खोजी तथा उद्धारकार्य जारी रहेको र भूकम्पको कारण भएको धनजनको क्षतिलगायतका विवरण पनि संकलन गर्ने क्रम चलिरहेको अधिकारीहरुले जनाएका छन् ।सन् २०१८ मा इन्डोनेसियाको सुलावेसी र पालुमा आएको ७.५ म्याग्नीच्युडको भूकम्प र त्यसपछिको  सुनामीमा परी ४ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । 

    सन् २००४ को डिसेम्बर २६ मा गएको ९.१ म्याग्नीच्युडको भूकम्प र त्यसपछि आएको शक्तिशाली सुनामीमा परी २ लाख २० व्यक्तिको मृत्यु भएको थियो । त्यसमा एक लाख ७० हजार इन्डोनेसियाली नागरिक रहेका थिए । 


    माघ ३, २०७७ शनिवार १४:४५:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इन्डोनेसियामा शक्तिशाली भूकम्प

  • क्यानाडानेपाल डेस्क

    भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, तीन करोड मानिसलाई लगाउने तयारी  

    क्यानाडानेपाल

    माघ ३

  • 204
    SHARES
  • भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, तीन करोड मानिसलाई लगाउने तयारी  

    नयाँदिल्ली – भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गर्नु भएको हो । यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको छ । अभियानअन्तर्गत सवैभन्दा पहिला कोरोनाविरुद्धको लडाईमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउने मापदण्ड बनाइएको छ ।
     
    अग्रपक्तिका सेवाप्रदायकसहित पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई खोप लगाउने भारतीय सरकारको तयारी छ ।खोप लगाउनका लागि देशभरी तीन हजार ६ ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको र ती सवै भर्चुअल माध्यमबाट एक अर्कामा सम्पर्कमा रहने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । आज पहिलो दिन हरेक खोप केन्द्रमा सय जनाको दरले खोप लगाउन सक्ने जनाइएको छ ।

    खोपका लागि एकिकृत बालविकास सेवाका कर्मचारीसहित सरकारी तथा नीजि क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई सवैभन्दा पहिलो प्राथमिकतामा राखिएको छ ।दैनिक विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप सेवा उपलब्ध गराइने केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्ष बर्धनले जानकारी दिनुभयो । उहाँले कोरोनाविरुद्धको खोप अभियान सुरु हुनुलाई “कोरोनाको अन्त्य नै सुरु भएको” रुपमा लिनु भएको छ ।

    अर्को चरणमा ५० बर्षभन्दा बढी उमेरका व्यक्तिलाई मात्रै खोप दिइने मापदण्ड बनाइएको सरकारी अधिकारीहरुले जनाएका छन् । बृद्धबृद्धाहरु कोरोनाभाइरसबाट सङ्क्रमणको उच्च जोखिम हुने र सङ्क्रमित भइसकेपछि जित्न पनि गाह्रो हुनेभएकाले उनीहरुलाई प्राथमिकतामा राखिएको उनीहरुले जनाएका छन् । उमेरले ५० बर्षभन्दा कम भएकाहरु पनि गम्भीर अवस्थाका विरामी छन् भने पनि उनीहरुलाई खोप लगाइने मापदण्डमा उल्लेख छ ।

    भारतमा दुई प्रकारका खोप लगाउनका लागि सरकारले अनुमति दिएको छ । यही ३ जनवरीमा खोप लगाउन अनुमति दिने निर्णय सरकारले गरेको थियो । भारत बायोटेकले बनाएको कोभ्याक्सीन र अक्सफोर्ड विश्वविद्यालयसँग एस्ट्राजेनेका कम्पनीले बनाएको कोभिशिल्ड प्रयोग गर्न सरकारले अनुमति दिएको हो ।
    खोप अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले कोरोना महामारी विरुद्धको सङक्रमण भारतीयहरु एकताबद्ध भएर लडेको बताउँदै खोपका लागि पनि भारतले कडा परिश्रम गरिरहेको बताउनु भयो ।

    “यती धेरै जनसंख्या भएको भारतमा महामारीका समयमा मानिसहरुले स्वास्थ्य मापदण्ड अपनाउँदा क्षति कम भएको छ । एक करोडभन्दा बढी मानिसहरुले महामारीसँग लडेका छन् र जितेका छन् । अन्य मुलुकभन्दा भारतमा महामारीको प्रभाव निकै न्युन छ” उहाँले भन्नुभयो । एएनआई 
     


    माघ ३, २०७७ शनिवार १३:४८:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # भारत
  • # कोरोनाविरुद्धको खोप

  • क्यानाडानेपाल डेस्क

    भारत किसान आन्दोलनः प्रधानमन्त्री मोदीले कसरी भारतीय किसानहरूको आक्रोश बुझ्न सकेनन्

    क्यानाडानेपाल

    माघ ३

  • 202
    SHARES
  • भारत किसान आन्दोलनः प्रधानमन्त्री मोदीले कसरी भारतीय किसानहरूको आक्रोश बुझ्न सकेनन्

    झन्डै ५० दिन लामो प्रदर्शन र सरकारसँगको आठ चरणको वार्तापछि पनि भारतीय किसानहरूले डगमग गर्न मानेनन्।

    कृषि उपजको मूल्य निर्धारण, विक्री र भण्डारणसम्बन्धी तीनवटै कानुन फिर्ता नलिँदासम्म राजधानी दिल्लीमा विरोधको स्वर गुन्जाइरहेका आन्दोलनकारी किसान पछि हट्न तयार छैनन्।

    सर्वोच्च अदालतले त्यसबारे परेका केही निवेदनमा सुनुवाइ गर्दै ती कानुनमा अस्थायी रोक लगाइदिएको छ। तर अन्योल बढ्दो छ।

    सरकारका भनाइमा बजारमैत्री ती कानुनले किसानको हित गर्छ। तर प्रधानमन्त्री नरेन्द्र मोदी र उनको भारतीय जनता पार्टी सरकार किन प्रभावित राज्यहरू पन्जाब र हरियाणाका मानिसको मनस्थिति बुझ्न र कानुन आफ्नो निम्ति प्रत्युत्पादक हुने अनुमान गर्न विफल भए त?

    के पन्जाबस्थित सहयोगी दलले कानुनको समर्थन गरेकाले उनीहरू निर्धक्क भएका थिए? अकाली दलले पछि आफ्नो अडान र सरकार पनि त्याग्यो। के कानुनका कारण आफ्नो लोकप्रियतामा कुनै चोट पुग्दैन भन्ने सरकारको विश्वास थियो?

    प्रधानमन्त्री मोदी खरो कुरा गर्छन् र आफ्ना आलोचकलाई वास्ता गर्दैनन् भन्ने उनको छवि छ। अनि उनको पार्टीले धरातलको कुरा सुन्छ भन्ने व्यापक विश्वास पाइन्छ।

    गत सेप्टेम्बरमा कोरोनाभाइरसको महामारीकाबीच पनि संसद्ले कानुन पारित गर्नुअघि नै पन्जाबमा विरोध प्रदर्शन सुरु भइसकेको थियो। प्रदर्शनका क्रममा आक्रोशित किसानहरूले रेलमार्ग नै अवरूद्ध गरिदिएका थिए।

    त्यही महिनाको अन्त्यमा अकाली दल सत्तापक्षीय गठबन्धनबाट अलग भयो। त्यसो भए मोदीले के गलत बाटो समाते जसले गर्दा किसानको विरोध 'विश्वको ठूलो प्रदर्शन' बन्न पुग्यो?

    एउटा कारण: धेरैलाई मोदीले आफ्नो शासनकालमा ठूलो आन्दोलनको सामना गरेका छैनन् भन्ने लाग्छ।

    सन् २०१५ मा गुजरातमा त्यहाँको प्रभावशाली पटेल समुदायले सरकारी सेवामा आरक्षणको माग गर्दै प्रदर्शन गरेका थिए। त्यसको सुनुवाइ हुन चार वर्ष लाग्यो।

    नागरिकता कानुन संशोधनको विरोधमा दिल्लीमा खासगरी मुस्लिम महिलाहरूको नेतृत्वमा एक महिना लामो प्रदर्शन भयो। त्यो पनि गत मार्च महिनामा कोरोनाभाइरस महामारीका कारण रोकियो।

    तर ती कुनै अहिले जारी विरोध जस्तो ठूलो र चर्को थिएन र किसानहरूले जस्तो अटेर गरेर सरकारलाई चुनौती पनि दिएका थिएनन्।

    नागरिक अधिकार कार्यकर्ता प्राध्यापक परमिन्दर सिंह भन्छन्, "मोदीले अवस्थालाई गलत रूपमा बुझेको भन्ने मलाई लाग्दैन, किनकि पञ्जाबमा भएको विरोधबारे उनलाई जानकारी थिएन।"

    समूहिक प्रदर्शनप्रति गर्ने व्यवहारबारेको उनको अनुभवहीनताले अत्यधिक आत्मविश्वास बढाएको जस्तो लाग्छ।"

    दोस्रो कारण: भारतीय इतिहासका समान आन्दोलनभन्दा जारी प्रदर्शन निकै भिन्न छ। उपनिवेशकालीन भारतमा शोषणकारी नियमविरुद्धको किसान विद्रोह धेरैजसो हिंसामा बदलिने गरेका थिए।

    सन् १९४७ मा देश स्वतन्त्र भएपछि किसानहरूले कृषि उत्पादनको घट्दो मूल्य, ऋण र खेतीको बिजोगलाई लिएर प्रदर्शनहरू गरेका छन्। तर ती कुनैमा ४० वटा किसान सङ्गठनहरूको संलग्नतामा अहिले चलिरहेको आन्दोलनमा जस्तो एकता र परिचालन देखिएको थिएन।

    पाँच लाखभन्दा धेरै प्रदर्शनकारीहरूले नागरिक समाजको साथ पाएका छन्। यो प्रदर्शन तुलनात्मक रूपमा भारतको 'समृद्ध कृषि भूमि' पन्जाबबाट जन्मिएको हो।

    भारतको कृषि नीतिको धेरै लाभ पन्जाब र उसको छिमेकी हरियाणाले नै पाएको छ। तर अहिले त्यहाँका किसानहरू स्थिर र घट्दो कृषि आम्दानीलाई लिएर रुष्ट छन्।

    उनीहरूलाई कृषिमा निजी क्षेत्रको व्यापारको प्रवेशले आफ्नो भविष्यलाई अप्ठेरो पार्ने डर छ।

    भारतमा खुम्चिँदै गएको कृषि भूमि, घट्दो उत्पादन, कृषि उपजको अस्थितर मूल्य र मुख्यतया राज्यतहसँग सम्बन्धित कृषिबारे केन्द्रीय तहबाट कानुन बनाउने लगायतका विषयप्रतिको असन्तोषले आन्दोलनकारीलाई एकाकार बनाएको छ।

    अशोक विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक प्रताप भानु मेहता भन्छन्, "किसानको गुनासो धेरै छ। तर यो सरकारको अविश्वास र सङ्घीयताको मुखर अभिव्यक्तिको अभावसँग सम्बन्धित पनि छ।"

    भारतीय किसानहरूबारे दशकौँ देखिको बुझाइ भनेको उनीहरू कम पढेका सङ्घर्षशील र थकाइ नमानेर खेतमा काम गर्नेहरू हुन् भन्ने छ।

    तर वास्तविकता के हो भने १५ करोड किसान विभिन्न किसिमका छन्। जस्तै - साना र ठूला अनि भूमिपति र भूमिहीन।

    त्यसैले प्रदर्शनकारीहरूले पिज्जा खाइरहेको खबर प्रकाशमा आएपछि कतिपयले सामाजिक सञ्जालमा प्रश्न उठाए, के यी मानिसहरूले साँच्चिकै खेती गर्छन्?

    यसले फेरि नगरवासी भारतीयहरू ग्रामीण क्षेत्रमा बस्ने मानिसबारे कति अनभिज्ञ छन् भन्ने छर्लङ्ग पारिदिएको छ।

    अर्को कुरा प्रधानमन्त्री मोदी, उनको सरकार र कैयौँ सहरी बासिन्दाले प्रदर्शनकारी किसानको सहरीकरणसँग निकै गहिरो सम्बन्ध रहेको कुरा बुझ्न सकेनन्। आन्दोलनकारी धेरैका सन्तान सेना र प्रहरीमा छन्।

    उनीहरू अङ्ग्रेजी बोल्छन् र समाजिक सञ्जालको प्रयोग गर्छन्। नातागोता विदेशमा छन् र उनीहरूले पनि विदेशको भ्रमण गरेका छन्।

    विरोध प्रदर्शनस्थल निकै व्यवस्थित छ। क्लिनिकको व्यवस्था छ। एम्बुलेन्सहरू तैनाथ गरिएका छन्। भान्सा बनाइएको छ। पुस्तकालय र आफ्नै समाचारपत्र पनि छन्।

    "यो किसान आन्दोलनले भारतको मध्यम वर्गको भाषा अभिव्यक्त गर्छ, उनीहरूले आफूहरू देशभक्त भएको र आफ्नो अधिकारको निम्ति लडिरहेको बताइरहेका छन्," इतिहासकार महेश रङ्गराजनको भनाइ छ।

    यो कृषि सङ्कट वा सुक्खाको सामना गर्नुपर्दाको परम्परागत आन्दोलन होइन् जसलाई सरकारले सजिलै व्यवस्थापन गर्न सकोस्। यो कृषिमा पन्जाबको सफलताको परिणाम पनि हो।

    जसले सरकारद्वारा निश्चित गरिएको गहुँ र धानको मूल्य अनि राज्यद्वारा सहयोग गरिएको बजारीकरण संरचनाको ठूलो लाभ उठाएको छ।

    ती दुई बाली अहिले उनीहरूका निम्ति व्यापक उत्पादन, स्थिर मूल्य र घट्दै गएको जमिनको पानीको सतहका कारण गलपासो बनेका छन्।

    प्राध्यापक मेहताका भनाइमा पन्जाबले कृषिलाई पर्यावरणीय दृष्टिले दिगो र औद्योगिकीकरणमा रूपान्तरण गर्न नसक्नु अहिलेको चुनौती हो।

    भारतमा ८५ प्रतिशत किसान साना र सीमान्तकृत छन्। जसले कुल कृषि योग्य भूमिमध्ये ४७ प्रतिशतमा काम गर्छन्।

    सरकार र किसान दुवै कृषिमा सुधारको खाँचो रहेकोमा सहमत छन्। तर उनीहरू निश्चित विषयमा सहमत छैनन्।

    "समाधान छ तर किसानहरूले सरकारलाई विश्वास गर्दैनन्," प्राध्यापक मेहताको ठम्याइ छ। अनि मूल समस्या त्यहीँ नै छ।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    माघ ३, २०७७ शनिवार १३:१५:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत किसान आन्दोलन

  • क्यानाडानेपाल डेस्क

    लकडाउनका कारण बोलायतको अर्थतन्त्रमाथि नकारात्मक असर

    क्यानाडानेपाल

    माघ ३

  • 194
    SHARES
  • लकडाउनका कारण बोलायतको अर्थतन्त्रमाथि नकारात्मक असर

    लन्डन – बोलायतको अर्थतन्त्र गत नोभेम्बर महिनामा २.६ प्रतिशतले खुम्चिएको सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ । कोरोनाभाइरसको दोस्रो लहर फैलिएपछि लकडाउन र कडा प्रतिबन्ध गरेको बेलायतमा अर्थतन्त्रमाथि नकारात्मक असर परेको हो । 

    बेलायती तथ्याँक कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा देशको कूल गार्हस्थ्य उत्पादनमा व्यापक गिरावट आएर अघिल्लो महिनाको भन्दा ०.६ प्रतिशतले कमी आएको जनाइएको छ । 

    प्राप्त विवरण अनुसार बेलायती अर्थतन्त्रको आकार गत वर्ष सन् २०२० को फेब्रुअरीको तुलनामा ८.५ प्रतिशतले सानो भएको छ । 

    कार्यालयले लगातार ६ महिनादेखि सामान्य वृद्धि देखिए पनि नोभेम्बर २०२० मा कूल गार्हस्थ्य उत्पादन २.६ प्रतिशतले घटेको जनाएको छ । नोभेम्बर महिनामा संयुक्त अधिराज्यका सबै चार देश –– बेलायत, वेल्स, स्कटल्यान्ड र उत्तरी आयरल्यान्ड –– मा लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएका थिए । 

    बेलायतले अघिल्लो वर्ष मार्चदेखि जुनसम्म लगाएझैं यसै महिना (जनवरी) को शुरुमा पनि कडा लकडाउन घोषणा गरेको थियो ।एएफपी


    माघ ३, २०७७ शनिवार १२:२३:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बोलायतको अर्थतन्त्र

  • क्यानाडानेपाल डेस्क

    भारतले आजदेखि कोरोनाविरुद्ध खोप अभियान शुरु गर्दै

    क्यानाडानेपाल

    माघ ३

  • 294
    SHARES
  • भारतले आजदेखि कोरोनाविरुद्ध खोप अभियान शुरु गर्दै

    काठमाडौं - भारत सरकारले आजदेखि कोरोनाभाइरसविरुद्ध खोप अभियान शुरु गर्दैछ । आजदेखि भारतका सर्वसाधारणले कोरोनाभाइरसविरुद्ध खोप लगाउन पाउने भएका छन् । 

    खोप अभियानको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने बताइएको छ । भारतको औषधि नियामक निकायले दुईवटा खोपलाई प्रयोगको अनुमति दिएको छ। 

    तीमध्ये कोभिशील्ड नाम दिइएको खोप एस्ट्राजेनेकाले अक्सफर्ड यूनिभर्सिटीसँग मिलेर बनाएको हो भने कोभ्याक्सीन भारतीय कम्पनी भारत बायोटेक आफैँले निर्माण गरेको हो। भारतिय मिडियाका अनुसार भारतले पहिलो प्राथमिकतामा ३० करोड मानिसलाई जुलाईसम्ममा खोप दिने बताएको छ । 

    भारतमा हालसम्म कोराना संक्रमितको संख्याएक करोड ५ लाख ४३ हजार ६ सय ५९ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ५२ हजार एक सय ३० पुगेको छ । त्यस्तै कोरोनाको उपचारपछि निको हुनेको संख्या एक करोड एक लाख ७८ हजार ८ सय ८३ पुगेको छ । 

    भारतमा कोरोनाविरुद्धको प्रति खोपलाई २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने अनुमान गरिएको छ । केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले प्रत्येक खोपको खर्च २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने गएको मंगलबार जानकारी दिएका हुन् । 


    माघ ३, २०७७ शनिवार ०९:१०:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # भारत
  • # कोरोनाविरुद्ध खोप

  • क्यानाडानेपाल डेस्क

    विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ४३ लाख नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    क्यानाडानेपाल

    माघ ३

  • 266
    SHARES
  • विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ४३ लाख नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं - कोरोनाभाइरसका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् । विश्वका विभिन्न देशमा हरेक दिन कोरोनाको संक्रमणबाट ज्यान गुमाउने र संक्रमितको संख्या बढ्दै गइरहेको छ ।  

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ४३ लाख ९ हजार ७ सय ३२ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० लाख १७ हजार ७ सय ९८ पुगेको छ । 

    त्यस्तै हालसम्म विश्वमा ६ करोड ७३ लाख ४१ हजार ५ सय ४८ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।

    त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ४ लाख १ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ करोड ४१ लाख २ हजार ४ सय २९ पुगेको छ ।  त्यसैगरी निको हुनेको संख्या एक करोड ४२ लाख २८ हजार ९ सय ६९ पुगेको छ ।

    त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २ लाख ८ हजार २ सय ९१ पुगेको छ भने संक्रमितको संख्या ८३ लाख ९४ हजार २ सय ५३ पुगेको छ ।

    Capture.PNG


    माघ ३, २०७७ शनिवार ०८:५३:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क