काठमाडौँ। असुरो औषधीय गुण भएको बुट्यान वर्गमा पर्ने वनस्पति हो । यो वनस्पति नेपालमा १२०० मिटरसम्मको उचाइमा विशेष गरेर बाटा, धाराको छेउछाउ र वन जंगलको किनाराको खुला क्षेत्रमा पाइन्छ । फूलहरू एउटै डाँठमा गुच्चमुच्च हुन्छन्।
फूलको रंग सेतोमा प्याजी नसाका धर्का देखिन्छ। पूर्ण रूपले फूलेको फूल हेर्दा भ्यागुतो वा छेपारोले मुख बाएको जस्तो देखिन्छ। बिरुवाको खासगरि प्रयोगमा आउने भाग पात हो। यो तीतो हुन्छ । यो बिरुवा वर्षै भरी हरियो हुने हुनाले यसको पात बराबर सङ्कलन गर्न सकिन्छ । तर, फूल फूल्नु अघि सङ्कलन गरेका पात बढी उपयोगी हुन्छ ।
कोरोनाभाइरस संक्रमण भएका बिरामीलाई असुरो एक चमत्कारिक आयुर्वेदिक औषधि हुन सक्छ। यसले श्वास मार्गमा जमेर रहेको कफलाई पातलो बनाइ सजिलै बाहिर निकाल्न मद्दत गर्छ । रुघाखोकी लागेमा असुरोको पात वा फूलको रस १० देखि १५ मिलिलिटर र सुपको रुपमा ४० देखि ८० मिलि प्रयोग गर्न सकिने आयुर्वेदिक चिकित्सकहरुले बताउने गर्छन् ।
ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग मिलाएर खाने गर्दा पुरानो खोकीको लागि पनि उत्तिकै उपयोगी हुन्छ। यद्यपि, यसको प्रभावकारिता र उचित नतिजा प्राप्त र यसलाई कति मात्रमा प्रयोग गर्न अनुभवी वैद्य वा चिकित्सकको परामर्श निकै आवश्यक पर्छ।
त्यसैगरी, असुरोलाइ मुख्य गरेर श्वासप्रश्वास प्रणालीका रोगहरूमा प्रयोग गरिन्छ। असुरोमा एन्टिइन्फ्लेमेन्टरी, एन्टिबायोटिक र एक्सपेक्टोरन्ट गुणहरु भरपुर मात्रामा पाइने भएकाले यसले रुघा, खोकी र फ्लूको उपचारमा महत्त्वपूर्ण भूमिका खेल्दछ।
यसले छाती र नाकमा जमेका फोहोर, कफ आदिबाट छुट्कारा दिन्छ भने यसले रुघा लागेका बेला नाकबाट निरन्तर बग्ने तरल पदार्थलाई पनि रोक्द छ।
जानिराखौं बहुउपयोगी असुरो कुन–कुन रोगमा प्रयोग गर्न सकिन्छ ?
असुरो सहि मात्र र सन्तुलन मिलाएर यसको पातबाट काढा पकाएर सेवन गरेमा यसले रुघाखोकी, दम, बाथ, ज्वरो, पिसाव पोलेमा, पित्तथैलीमा गडबडी, हृदयरोग, जण्डिस, नाक र मुखबाट रगत आउने, रक्त विकार, पेटमा जुका परेमा, छातीको रोग, क्षयरोग, ब्रोङकाइटिस, जोर्नी दुखेमा र सुन्निएमा, घाँटी दुखेमा, आँखा पोलेमा, जीउ र काखी गन्हाएका समस्याहरुलाई निर्मूल गर्न मद्दत गर्दछ।
त्यसैगरी, चर्मरोग भएकाहरुले यसको पातको लेदो बनाइ शरीरमा लगाउन सक्छन्। यसको फूल रक्त प्रवाह बढाउन निकै उपयोगी हुन्छ। अन्तत : फेरि पनि यसको शत प्रतिशत नतिजा प्राप्त गर्न र यसको सहि मात्रा र सन्तुलन बनाउनका लागि अनुभवी वैद्य वा चिकित्सकको परामर्श निकै आवश्यक पर्छ।
मंसिर ९, २०७७ मंगलवार
१४:१०:४४ बजे : प्रकाशित