• Apr 11 2021 | २०७७, चैत्र २९गते

२०७७, चैत्र २९गते

कानुनविपरीत अन्तर्वार्ताको तयारी गर्ने तीन म्यानपावर कम्पनी कारबाहीमा 

क्यानाडानेपाल मंसिर १० २०७७
  • 1.5K
    SHARES
  • कानुनविपरीत अन्तर्वार्ताको तयारी गर्ने तीन म्यानपावर कम्पनी कारबाहीमा 

    काठमाडौं । वैदेशिक रोजगार विभागलाई जानकारी नदिई अन्तर्वार्ताको तयारी गरेको आरोपमा तीन वटा म्यानपावर कम्पनी कारबाहीमा परेका छन् । 

    नेपाल सरकारलाई जानकारी नदिई अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाएको भन्दै विभागले एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलको कारोबार रोक्का गरेर कारबाही गरेको हो । साथै ती कम्पनीका सञ्चालकलाई २४ घण्टाभित्र कागजातसहित विभागमा उपस्थित हुन अल्टिमेटम दिइएको छ । 

    वैदेशिक रोजगार ऐनविपरीत कतार प्रहरीमा जान इच्छुक नेपालीको अन्तर्वार्ता लिन थालेपछि विभागले कारबाही प्रक्रिया अघि बढाएको हो । विभागले सोमबार र मंगलबार छापा पारेको थियो । 

     


    मंसिर १०, २०७७ बुधवार १२:२३:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # म्यानपावर कम्पनी कारबाही

  • क्यानाडानेपाल

    अर्कोसमाचार

    नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित

    क्यानाडानेपाल

    चैत्र २४

  • 244
    SHARES
  • नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित

    पोर्चुगल - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ । सङ्घले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई पदबाट निलम्बन गरेको हो ।

    राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक तथा एनआरएनएका कोषाध्यक्ष कुँवरले नक्कली हवाई टिकट बेचेको सेवाग्राहीहरुले आरोप लगाएका थिए । कुँवरको ट्राभलमार्फत पोर्चुगलबाट नेपाल जान ११ जनाले काटेको हवाई टिकटसहित विमानस्थलमा बोर्डिङ पासका लागि अनुरोध गर्दा डेस्कमा रहेका कर्मचारीले टिकट नक्कली भएको भन्दै फिर्ता गरेपछि घटना सार्वजनिक भएको हो । 

    फिर्ता भएका सेवाग्राहीहरु गुनासोसहित ट्राभलको ढोका पुगेका र नेपाली समुदायका प्रतिनिधि र पत्रकारहरु पीडितको आवाज सुन्न जम्मा भएका थिए । फर्काइएका ११ जनाले प्रतिव्यक्ति ६२० यूरो अर्थात् करिब रु ७० हजार तिरेर टर्किस एयरलाइन्सको टिकट काटेको भक्तपुर घर भई पोर्चुगल बस्दै आउनुभएका पीडित विजय धिमालले बताउनुभयो ।

    सञ्चालकले ठगेको भन्दै पीडितहरुले पोर्चुगाली प्रहरीमा रिपोर्ट गरेपछि प्रहरीले छापा मारेको छ । प्रहरीले ट्राभलमा रहेका कागजपत्रहरु पनि जफत गरेको छ । सञ्चालक कुँवरले भने आफ्नो एजेन्सीलाई टिकट जारी गर्ने निकाय कालो सूचीमा परेकोले समस्या आएको बताउनुभएको छ । पोर्चुगलमा अवस्थित नेपाली सङ्घ सङ्गठनहरुले पीडितलाई न्याय दिलाउन माग गर्दै समाजको नेतृत्व गर्ने व्यक्तिबाट यस्ता क्रियाकलाप हुनु घोर आपत्ति भएको बताएका छन् ।रासस
     


    चैत्र २४, २०७७ मंगलवार ०८:१७:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पोर्चुगल

  • क्यानाडानेपाल डेस्क

    मलेशियाका नेपाली श्रमिकलाई सुरक्षा योजनामा आबद्ध गराउने बाटो खुला

    क्यानाडानेपाल

    माघ २९

  • 1.1K
    SHARES
  • मलेशियाका नेपाली श्रमिकलाई सुरक्षा योजनामा आबद्ध गराउने बाटो खुला

    काठमाडौँ – मलेशियामा कार्यरत नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने बाटो खुलेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले मलेशियाको सामाजिक सुरक्षा संस्थासँगको समझदारीपत्र स्वीकृत गरी सो समझदारीपत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेसँगै मलेशियामा रहेका श्रमिकलाई उक्त योजनामा सहभागी गराउने बाटो खुलेको हो ।

    मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै मलेशियाको सामाजिक सुरक्षा सङ्गठन (सोक्सो) र नेपालको वैदेशिक रोजगार बोर्डबीच योजनालाई थप व्यवस्थित गर्न सम्झौता हुनेछ । मलेशिया सरकारले त्यहाँ कार्यरत नेपाली श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने योजनालाई प्राथमिकता दिएपछि बोर्डले सम्झौताका लागि पहल गरेको थियो ।

    उक्त समझदारी स्वीकृत गरी सम्झौता गर्न मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको बोर्डका प्रवक्ता दीनबन्दु सुवेदीले बताउनुभयो । अब छिट्टै उक्त समझदारी गर्ने प्रक्रिया अगाडि बढ्ने पनि उहाँले जानकारी दिनुभयो । मलेशियाले सन् २०२० देखि नै त्यहाँ कार्यरत नेपाली श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गर्ने काम शुरु गरेको थियो ।

    सोक्सो मलेशियाको मावन संशाधन मन्त्रालयअन्तर्गत मलेशियामा काम गर्ने सबै श्रमिकलाई सामाजिक सुरक्षा प्रदान गर्ने उद्देश्यले स्थापित संस्था हो । रोजगारदाताले मासिकरूपमा गर्ने योगदानका आधारमा विदेशी कामदारलाई सोक्सोअन्तर्गत दर्ता गरिने व्यवस्था रहेको छ । मलेशिया सरकारले सन् २०२० देखि सबै विदेशी श्रमिकलाई अनिवार्यरूपमा लागू हुने निर्णय गरेको थियो ।

    मलेशियाले इन्डोनेशिया र पाकिस्तानसँग उक्त कार्यक्रममा आफ्ना श्रमिकलाई आबद्ध गराउन समझदारी गरिसकेको छ । बोर्डमार्फत पीडित श्रमिक र परिवारको विवरण प्रमाणीकरण तथा सम्पर्क, समन्वय गरी सिधैँ क्षतिपूर्ति प्रदान गर्ने उद्देश्यले समझदारीका लागि प्रस्ताव प्राप्त भएको थियो । सोक्सोमा दर्ता भएका श्रमिकले स्वास्थ्योपचार, अस्थायी तथा स्थायी अशक्तता सुविधा, आश्रित परिवार सुविधा, शव फिर्ती तथा अन्तिम संस्कार सुविधा, सहयोगी भत्ता र पुनःस्थपना सुविधा प्राप्त गर्न सक्नेछन् ।

    यो सङ्गठनमा आबद्ध भएपछि कुनै पनि श्रमिकले अतिरिक्त शुल्क व्यहोर्नु नपर्ने बोर्डले जनाएको छ । रोजगारदाताले विदेशी कामदारको तलबको १.२५ प्रतिशत मासिकरूपले योगदान गर्नुपर्ने छ । श्रमिकको प्रवेशाज्ञालगायत अन्य कागजात तयार भइसकेपछि मात्र दर्ता हुन पाइने व्यवस्था रहेको छ । उक्त कार्यक्रममा आबद्ध भएपछि कार्य समयभित्र मृत्यु भएमा विदेशी श्रमिकको परिवारजन (आमा बाबु, श्रीमान् वा श्रीमती र २१ वर्षमुनिका छोराछोरी मात्र) ले तलबको ९० प्रतिशत आजीवन मासिकरूपमा पाउने व्यवस्था रहेको छ ।

    श्रमिक आंशिक अपाङ्गता भएमा वा कामको सिलसिलामा दुर्घटनामा परी पूर्ण अपाङ्गता भएमा आजीवन आर्थिक सहयोग पाउने, मृत्यु भई मलेशियामा नै दाहसंस्कार हुनेको हकमा नेपालका परिवारजनले दुई हजार मलेशियन रिंगिटसम्म खर्च पाउने तर मृतकको शव नेपाल पठाउनुपरेमा छ हजार ५०० रिंगिट तथा श्रमिक बिरामी भएमा औषधोपचार सुविधा पाउने व्यवस्था छ ।

    सोक्सोअन्तर्गत पाउने यो सामाजिक सुरक्षा सुविधा वैधानिक श्रमिकले मात्र पाउनेछन् । साविकको कम्पनी छाडेर भागेमा तथा अवैधानिक भएमा त्यस्ता कामदार सामाजिक सुरक्षावापतको सेवा सुविधा पाउनबाट बञ्चित हुनेछन् ।

    त्यहाँ रहेका नेपाली श्रमिकलाई उक्त प्रक्रियामा सामेल गराउन मलेशियाले दुई वर्षअघि नेपाललाई अनुरोध गरेको थियो । मलेशियाले पठाएको प्रस्तावलाई कानून र परराष्ट्र मन्त्रालयको राय समेटेर बोर्डले प्रस्तावलाई अन्तिम रूप दिएको थियो रासस


    माघ २९, २०७७ बिहिवार १८:५०:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मलेशिया
  • # नेपाली श्रमिक

  • क्यानाडानेपाल डेस्क

    भिसा लागेर पनि नेपालमै रोकिएका युवालाई पुनः कोरिया लैजाने पहल शुरु

    क्यानाडानेपाल

    माघ २५

  • 962
    SHARES
  • भिसा लागेर पनि नेपालमै रोकिएका युवालाई पुनः कोरिया लैजाने पहल शुरु

    सउल - कोभिड–१९ का कारण कोरिया जान रोकिएका नेपाली युवालाई पुनः ल्याउन कोरियाले सकारात्मक पहल थालेको छ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतका नेपालसहित विदेशी श्रमिकलाई ल्याउने सम्बन्धमा मानव संसाधन बोर्ड कोरियाले श्रम रोजगार मन्त्रालय, कानून मन्त्रालयलगायत अन्य सरकारी कार्यालयहरुमा छलफल अघि बढाएको बताइएको छ ।

    नेपाल सरकारले भिसा लागेर बसेका श्रमिकलाई लैजान बारम्बार अनुरोध गर्दै आए पनि मानव संसाधन विभाग (एचआरडी) ले छलफल र अध्ययन गरिरहेको बताउँदै आएको थियो तर कोरियाको सङ्क्रमण रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले विदेशी श्रमिकको आगमन अनुमतिलाई रोक्का गरेका कारण यो प्रक्रिया रोकिएक थियो । पछिल्लो समय एचआरडीले खुलाउने सम्बन्धमा पहल अघि बढाएको हो ।

    हाल प्रवेशाज्ञा प्रक्रियाका लागि कानून मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले सहजीकरण गर्दै आइरहेको छ । यो निकायले विदेश श्रमिक ल्याउँदा हुने जोखिम र अवसरका सम्बन्धमा रोग नियन्त्रण तथा रोकथाम एजेन्सीसँग छलफल गरिरहेको छ ।

    कोरियाले पहिलो चरणको कोभिड नियन्त्रण गरेपछि कम्बोडिया र श्रीलङ्काबाट श्रमिक लैजान शुरु गरे पनि पछिल्लो समय पुनः रोकेको थियो । नेपाललगायत विदेशी श्रमिकलाई लैजानेबारे तयारी भइरहेका बेला कोरियामा कोभिड भाइरस सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेपछि विदेशी श्रमिकलाई रोक्ने निर्णयलाई निरन्तरता दिएको थियो ।

    कोरियाले गैरश्रमिक नागरिकलाई स्वास्थ्य मापदण्ड पालन गरेर आगमन र प्रस्थान अनुमति दिए पनि श्रमिकको सम्बन्धमा भने कडाइ गर्दै आएको छ । यसबाट कोरिया जाने तयारीमा रहेका हजारौँ नेपाली युवा स्वदेशमा छ्न् तर प्रवेशाज्ञा सकिएर नेपाल फर्कने युवाहरू भने हवाई यात्रा खुलेसँगै कोभिड–१९ को मापदण्ड पूरा गरी नेपाल फर्किरहेका छन् ।

    गत चैतयता प्रतिबद्ध छ हजार ५०० नेपाली युवाले कोरिया प्रवेशमा अनुमति पाएका छैनन् । नेपालसहित १६ राष्ट्रबाट बर्सेनि ५० हजार युवा कोरिया प्रवेश गर्ने गरेको भए पनि १० महिनायता सो क्रम रोकिएको छ । कोभिड सङ्कट लम्बिएपछि भिसा पाएका प्रतिबद्ध श्रमिक, श्रम सम्झौता गरेका र बिदामा आएका छ हजार ५०० नेपालीमध्ये ७०० को रद्द भएको शाखाले जनाएको छ । कोरियाबाट हालसम्म दुई हजार ५३६ नेपाली उद्धार उडानमार्फत नेपाल फर्किसकेका छन् ।रासस


    माघ २५, २०७७ आइतवार २१:११:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरिया

  • क्यानाडानेपाल डेस्क

    वैदेशिक रोजगारीका क्षेत्रमा कोरोनाको सङ्क्रमणपछि ठगीका घटना बढ्दै

    क्यानाडानेपाल

    पौष २८

  • 1.2K
    SHARES
  • वैदेशिक रोजगारीका क्षेत्रमा कोरोनाको सङ्क्रमणपछि ठगीका घटना बढ्दै

    काठमाडौँ।  देशिक रोजगारीका क्षेत्रमा कोभिड–१९ को सङ्क्रमणपछि ठगीका घटना बढ्न थालेका छन् ।  गत वर्ष वैदेशिक रोजगार विभागमा दैनिक २५ वटासम्म ठगीका घटना दर्ता हुने गरेकामा हाल ४० वटासम्म घटना दर्ता हुन थालेको विभागका सूचना अधिकारी टीकामणि न्यौपानेले जानकारी दिए । युरोप,अमेरिकाजस्ता महादेशका विकसित मुलुकमा पठाउने भन्दै काठमाडौँ उपत्यकाका युवासमेत विभागमा उजुरी दिन आउने गरेको उनले बताए । 

    “वैदेशिक रोजगार विभागमा नै दर्ता भएको एक मेनपावर कम्पनीले एक युवालाई अमेरिका पठाउने भन्दै रु १५ लाख ७५ हजार ठगी गरेको उजुरी सोमबार मात्रै विभागमा परेको छ”, उनले भने, “विशेषगरी विकसित मुलुकमा भन्दै २० वर्षमुनिका युवायुवती ठगिएको पाइएको छ ।”

    त्यस्ता प्रकृतिका युवा अरूको लहलहैमा लागेर ठगिने गरेको उनले बताए । उनका अनुसार खाडी मुलुकमा पठाउने नाममा ठगीका बढी घटना दर्ता हुने गरेका छन् । विभागमा स्वदेशभित्र भएका उजुरी मात्र नभई वैदेशिक रोजगारीमा गइसकेका श्रमिकले समेत सम्बन्धित दूतावासमार्फत उजुरी गर्न पाउने प्रावधान छ । भने अनुसारको सेवासुविधा र काम नपाएको खण्डमा विदेशमा रहेका श्रमिकले उजुरी गर्न पाउने प्रावधान रहेको उनले बताए । 

    कोभिड–१९ को सङ्क्रमणपछि लकडाउनका कारण केही समय उजुरी दर्ता र फछ्र्यौटको काम बन्द भए पनि सो समयपछि भने ठगीका उजुरीहरु बढ्ने गरेको विभागले जनाएको छ । उजुरीका आधारमा दण्डजरिवाना गराउन सक्ने र मुद्दा चलाउन सक्ने सम्पूर्ण अधिकार विभागको छ । 

    विभागको कार्यविधिअनुरुप मेनपावर कम्पनीले रु दुई करोड धरौटी अनिवार्य राख्नुपर्छ । उजुरीका आधारमा मेनपावर कम्पनीमार्फत तथ्याङ्क लिइसकेपछि सो धरौटी रकममार्फत विभागले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ । 

    वैदेशिक रोजगारीका क्रममा भनेअनुसारको तलब, काम र सेवासुविधा नपाएको खण्डमा पनि पीडितले स्वदेश फर्किइसकेपछि विभागमा उजुरी गर्न पाउँछन् । यदि ६ महिनामा नै पीडित फर्किएको खण्डमा एक वर्षभित्र र सेवाअवधि पूरा गरेर फर्किएको एक वर्षभित्र मेनपावर कम्पनी विरुद्ध पीडितले उजुरी गर्न पाउने प्रावधान छ । 

    विभागबाट इजाजत प्राप्त मेनपावरका कतिपय उजुरी फोनमार्फत सुनुवाइ गर्ने गरेको सूचना अधिकारी न्यौपानेको भनाइ छ । विभागले पटकपटक ताकेता गर्दा मेनपावरबाट कुनै प्रतिक्रिया नआएको खण्डमा विभागले पक्राउ पुर्जी जारी गरी सम्बन्धित मेनपावर कम्पनीका व्यक्तिलाई जेल चलान गर्दै आएको छ । 

    इजाजत प्राप्त मेनपावर कम्पनीले गर्ने गरेको ठगी र व्यक्तिगत ठगी घटनाका उजुरीहरु दर्ता हुने गरको विभागले जनाएको छ । सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयले वैदेशिक रोजगारी ठगीका उजुरीको सुनुवाइ गर्दै आइरहेका छन् । जिल्लाबाट सुनुवाइ गर्न नसकिएका उजुरीहरु भने विभागमा जाने गर्छन् । त्यसैगरी विभागको कारबाही चित्त नबुझेको खण्डमा पीडितले सो उजुरी पुनरावेदनमार्फत उच्च अदालतमा दर्ता गराउन पनि पाउँछन् । रासस 


    पौष २८, २०७७ मंगलवार १७:३५:४२ बजे : प्रकाशित

    कोरियामा नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउने

    क्यानाडानेपाल

    पौष २४

  • 1.5K
    SHARES
  • कोरियामा नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउने

    सउल - दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा(प्रवेशाज्ञा) हो । 

    यहाँ अध्ययनरत विज्ञान र इञ्जिनीयरिङ विषयमा स्नातक प्राप्त विदेशी विद्यार्थीलाई रोजगारी प्रदान गर्ने हेतुले सो भिसा प्रदान गर्न लागिएको यहाँको श्रम मन्त्रालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले बताउनुभयो ।

    यहाँको  रोजगार तथा श्रम मन्त्रालयले तयार पारेको अवधारणाका विषयमा कानून मन्त्रालयसँगको समन्वयमा यो वर्षभित्र नयाँ कानून कार्यान्वयनमा ल्याउने गरी काम शुरु भएको छ । यस अवधारणालाई कार्यान्वयन गर्नुअघि कानून मन्त्रालयले सर्वेक्षण गर्नेछ र आवश्यक निर्णय लिनेछ ।

    इपिएस प्रक्रियामार्फत रोजगारीका लागि कोरिया आउने प्रवासी श्रमिकले पहिलोपटक चार वर्ष १० महिनाको लागि भिसा प्राप्त गर्दछन् र सो अवधिको समाप्तिपछि श्रमिक अनिवार्य स्वदेश फर्किनुपर्ने प्रावधान छ । प्रवासी विद्यार्थीलाई प्रदान गर्ने भनिएको भिसामा भने विद्यार्थीका लागि पनि एउटै नियम हो या अन्य नियम हो भन्ने कुरा भने थाहा हुन सकेको छैन । यस विषयमा यहाँको कानून मन्त्रालय र रोजगार मन्त्रालयले संयुक्त रुपमा निर्णय गरी लागू गर्ने छन् । 

    हाल इपिएसमार्फत इ–९ भिसामा आएका नेपाली औद्यौगिक र कृषि क्षेत्रमा श्रम गरिरहेका छन् । विद्यार्थीका लागि पनि दिने भनिएको भिसा सोही क्षेत्रमा हुनेछ । यदि यस अवधारणा कार्यान्वयन भएमा दक्षिण कोरियामा एक हजार ५०० को सङ्ख्यामा रहेका स्नातक प्राप्त नेपाली विद्यार्थीले इपिएस प्रक्रियामार्फत कोरियामा आएर श्रम गरिरहेका श्रमिकले झैँ रोजगारीको अवसर पाउने छन् ।

    यहाँका केही विद्यार्थीले भने यो अवधारणा स्वागतयोग्य नभएको बताएका छन् । अध्ययन गरेर दक्ष भएका विद्यार्थीलाई उनीहरूको अध्ययनकै क्षेत्रमा अवसर दिनुपर्नेमा मजदूरको भिसा दिने अवधारणा उचित नभएको भनाइ उनीहरूको छ ।रासस
     


    पौष २४, २०७७ शुक्रवार ११:५८:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरिया

  • क्यानाडानेपाल डेस्क

    कोरियाली भाषा परीक्षाको टुङ्गो लागेन, तयारीमा जुटेका युवा अलमलमा 

    क्यानाडानेपाल

    पौष १८

  • 1.4K
    SHARES
  • कोरियाली भाषा परीक्षाको टुङ्गो लागेन, तयारीमा जुटेका युवा अलमलमा 

    काठमाडौं - कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुङ्गो नलाग्दा परीक्षाको तयारीमा जुटेका युवा अलमलमा परेका छन् । आकर्षक रोजगारीको गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली कामदार लैजाँदै आएको थियो । परीक्षा कहिले गर्ने भन्ने टुङ्गो नलाग्दा परीक्षाको तयारी गरेका युवामा भने निराशा छाएको छ । कोरियाले प्रत्येक वर्ष भाषा परीक्षा उत्तीर्ण हुने नेपाली युवालाई त्यहाँ रोजगारीको अवसर प्रदान गर्दै आएको छ । कोरियाले अझै पनि भाषा परीक्षा कहिले गर्ने भनेर टुङ्ग्याउन सकेको छैन । 

    यस्तै परीक्षा प्रणालीका बारेमा पनि निक्र्योल हुन सकेको छैन । कोभिड–१९ का कारण सन् २०२० मा पनि भाषा परीक्षा सञ्चालन हुन सकेन । गत वर्ष भाषा परीक्षा सञ्चालन हुन नसके पनि यस वर्ष (सन् २०२१ मा) परीक्षा सञ्चालन गर्ने मौखिक जानकारी आएको इपिएस कोरिया शाखाले जनाएको छ । कोरियाले भाषा परीक्षा सञ्चालन गर्ने भने पनि कहिले र कसरी गर्ने भन्ने विषयमा अझै स्पष्ट पारेको छैन । 

    “भाषा परीक्षा सञ्चालन गर्ने तयारी गर्दैछौँ भन्ने जानकारी आएको छ”, शाखाका निर्देशक इन्द्र गौतमले भन्नुभयो, “लिखित पत्राचार तथा छलफल भएर यो समयमा परीक्षा गर्ने भन्ने तोकिएको छैन ।” यसघि सन् २०१२ मा पनि भाषा परीक्षा रोकिएको थियो । यद्यपि कोरियाले सन् २०२१ को पहिलो त्रैमासमै भाषा परीक्षा सञ्चालन गर्ने तयारी गरेको बुझिएको छ । कोरियाले यसपटकदेखि ‘कम्प्युटर बेस्ड टेस्ट’ (सिबिटी) परीक्षा लिने तयारी गरेको छ । यसअघि ‘पेपर बेस्ड टेस्ट’ (पिबिटी) परीक्षा हुँदै आएको थियो । 

    यसपटकदेखि पिबिटी नगरी सिबटी परीक्षा गर्ने जानकारी आएको उहाँले बताउनुभयो । “पिबिटी नगरी सिबिटी परीक्षा गर्ने औपचारिक निर्णय भइसकेको अवस्था होइन्”, निर्देशक गौतमले भन्नुभयो, “पिबिटी परीक्षामा पनि डेस्कटपभन्दा पनि ‘ट्याब’बाट अनलाइन परीक्षा लिने गरी तयारी गरिएको बुझिएको छ ।” कोरियाली पक्ष सिबिटी परीक्षाका लागि सफ्टवेर निर्माणमा जुटेको छ । सफ्टवेयरको परीक्षण गर्ने काम पनि भइरहेको छ । परीक्षा भवन निर्माणको काम पनि लगभग अन्तिम चरणमा पुगेको छ । कोरियाली टोली आएर अनलाइन परीक्षाको सम्भाव्यता हेर्ने काम भइरहेको छ । 

    अबदेखि पिबिटी परीक्षा नगर्ने कोरियाली पक्षले स्पष्ट पारिसकेको छ । “यो मितिमा परीक्षा गर्ने भन्ने छैन तर अब परीक्षा हुँदा ट्याबबाटै हुने कुरा छ”, उहाँले भन्नुभयो, “त्यहीअनुसारको पूर्वाधार तयारीको काम चल्दै छ, सिबिटीबाट परीक्षा सञ्चालन गर्नका लागि आन्तरिक तयारी भइरहेको छ ।” कोटा छुट्टयाउन बाँकी दक्षिण कोरियाले सन् २०२१ मा विभिन्न १६ मुलुकबाट ५२ हजार आप्रवासी कामदार लिने घोषणा गरेको छ । कोरोनाका कारण कोरियाले गतवर्षको तुलनामा चार हजार कम विदेशी कामदार लिन लागेको बताइएको छ । कोरियाले गत वर्षको तुलनाका आप्रवासी कामदारको कोटा केही कटौती गरेको भन्ने खबर सावर्जनिक भए पनि औपचारिकरुपमा इपिएस कोरिया शाखालाई जानकारी आएको छैन । 

    देशगतरुपमा कामदारको कोटा बाँडफाँड गरेर अहिलेसम्म नपठाएको निर्देशक गौतमले जानकारी दिनुभयो । कोरोनापछि भाषा परीक्षा उत्तीर्ण गरेर रोष्टरमा रहेका युवा कोरिया जाने क्रम रोकिएको छ । “कोभिड–१९ पछि नेपाली पठाउने क्रम रोकिएको छ”, उहाँले भन्नुभयो, “नेपाल तथा कोरियामा पनि ‘लकडाउन’ थियो, हवाई उडान बन्द थियो, त्यही कारण जान बन्द भएको हो ।” लकडाउन हटेर हवाई उडान नियमित भएपछि रोष्टरमा रहेका युवालाई कोरिया पठाउन पहल गरिरहेको उहाँले बताउनुभयो । 

    कोरियाले कोभिड पछाडि आफ्नो मुलुकमा स्वास्थ्य सुरक्षासम्बन्धी नियम परिवर्तन भएकाले सोहीअनुसार कामदार पठाउन भन्दै पत्राचार गरेको छ । “कोरोना बीमा, हवाई उडान, क्वारेन्टाइन, ४८ घण्टाभित्रको कोरोना परीक्षण रिपोर्टलगायत शर्त पूरा गर्नुपर्ने विषय उल्लेख गरेर पत्र आएको छ”, उहाँले भन्नुभयो, “हामी सबै विषय सम्बोधन गर्न तयार छौँ भनेर पत्राचार गरिसकेका छौँ, तर कोरियाबाट स्पष्ट जानकारी आएको छैन ।” नेपालले भाषा परीक्षा पास भएका सबै युवालाई रोजगारीका लागि मार्ग प्रशस्त गर्न कोरियासँग आग्रह पनि गरेको छ । 

    “पास भएका सबै युवा कोरिया जाऊन् भन्ने हो”, निर्देशक गौतमले भन्नुभयो, “तर कोरियासँग भएको श्रम समझदारीको अवस्थाले त्यो देखिँदैन ।” कोरियासँगको श्रम समझदारी नवीकरणका समयमा नेपालले उक्त विषयलाई सम्बोधन गर्न औपचारिक आग्रह गर्ने पनि बताइएको छ । सन् २००८ देखि हालसम्म भाषा परीक्षा उतीर्ण गरी ६२ हजार ८५२ पुरुष र चार हजार २० महिला गरी कुल ६६ हजार ८७२ युवा कोरिया गइसकेका छन् । कोरोना महामारीका बीच सन् २०२० मा एक हजार २७ जना कोरिया पुगेका छन् । भाषा परीक्षा उत्तीर्ण गरेर रोष्टरमा रहेका युवा जाने क्रम हुँदाहुँदै नेपालमा लकडाउन शुरु भएको थियो । अझै पनि भाषा परीक्षा पास गरे रोष्टरमा रहेका १२ हजार युवा कोरिया जाने प्रतीक्षामा छन् । तीमध्ये छ हजार हाराहारी छनोटमा परिसकेका छन् । रोष्टर अवधि दुई वर्षको हुन्छ । 

    दुई वर्षभित्र कोरियाली रोजगारदाताले छनोट गरेनन् भने उनीहरु कोरिया जान पाउँदैनन् । कोरियाले कृषि र औद्योगिक क्षेत्रमा नेपालबाट कामदार लैजाँदै आएको छ । नेपालबाट वार्षिक औषत आठ हजारको हाराहारीमा नेपाली युवा कोरिया जाने गरेका छन् । सन् २०१९ मा सात हजार १३६ नेपाली रोजगारीका लागि कोरिया गएका थिए । हाल कोरियामा लगभग ३१ हजार नेपाली कार्यरत रहेका छन् । रासस


    पौष १८, २०७७ शनिवार २०:१६:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरियाली भाषा

  • क्यानाडानेपाल डेस्क