काठमाडौं । पछिल्लो समय बच्चा नभएको समस्या लिएर अस्पताल धाउने दम्पत्तिहरुको संख्या बढ्न थालेको छ । बाँझोपन महिलामा मात्रै हुने भन्ने धारण गलत रहेको चिकित्सकहरु बताउँछन् । बाँझोपन समस्या महिला र पुरुष दुवैमा देखिन सक्छ ।
विभिन्न कारणमध्ये जीवनशैलीले पनि बाँझोपनको समस्या निम्ताउने गरेको छ । अत्याधिक मात्रामा धूमपान र मदिरा सेवन, जंक फुडजस्ता कुरा खाँदा पनि बाँझोपनको समस्या बढाउने चिकित्सकहरु बताउँछन् ।
के हो बाँझोपन ?
विवाह गरेको पहिलो वर्ष परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा पनि बच्चा नभएको अवस्थालाई बाँझोपन भनिन्छ । विवाह भएको पहिलो वर्ष परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा ८५ दम्पत्तिको बच्चा हुने चिकित्सकहरु बताउँछन् ।
बाँझोपन हुन नदिन ध्यान दिनुपर्ने कुराहरू
गर्भ नरहँदा दम्पत्तिहरुमा तनाव सृजना हुने गर्छ । सन्तान प्राप्तिका लागि दम्पत्तिहरु विभिन्न उपाय खोजिरहेका छन् । बाँझोपनबाट जोगिन सुरुमा मानसिकतामै परिवर्तन ल्याउन जरुरी रहेन चिकित्सकहरुले बताउने गर्छन् । विभिन्न अध्ययनकाअनुसार धेरै गर्भपतन, गर्भनिरोधक चक्कीको जथाभावी प्रयोग, बढ्दो प्रदूषण, असन्तुलित खानपान, अनिन्द्राजस्ता कुराले पनि बाँझोपनको समस्या निम्तायने भएकाले यसतर्फ सचेत रहनु आवश्यक छ ।
२५ देखि ३० वर्षको उमेरमा विवाह गर्नु सन्तान प्राप्तिका लागि उपयुक्त उमेर मानिन्छ । यही उमेरमा विवाह गर्ने, जंकफुड नखाने, प्रदूषणबाट बच्ने, स्वस्थ जीवनशैली जिउने, तनावमुक्त हुने, अस्वभाविक मटोपन हुनबाट जोगिन, यौनरोग लाग्न नदिने, मद्यपान तथा धूमपान नगर्ने, पोषिलो र स्वास्थ्यवद्र्धक खानेकुरा खाने । साथै हरियो सागसब्जी र फलफूल, दही दूधमा खाने बानी गर्नुपर्छ ।
उपचार
बाँझोपनको समस्या भएका दम्पत्तिले पनि सन्तान प्राप्त गर्न सक्छन् । तर, यसका लागि स्वास्थ्य परीक्षणपछि सोहीअनुसार उपचार गर्नुपर्ने हुन्छ । बाँझोपनको समस्या भएकी महिलाको सबैभन्दा पहिला महिनावारी भएको दास्रो वा तेस्रो दिनमा हार्मोनको जाँच, भित्री अल्ट्रासाउन्डद्वारा अण्डाको जाँच, पाठेघरको झिल्लीमा क्षयरोग भएको हो या होइन परीक्षण, दुरबिन प्रविधिद्वारा पाठेघरको भित्री भाग तथा नलीको जाँच, रगतको सामान्य जाँच र यौन सम्पर्कपछि शुक्रकीटको परीक्षण गर्नुपर्ने हुन्छ ।
बाँझोपन के हो र किन हुन्छ ? महिला र पुरुष दुवैमा समस्या
यस्तै पुरुषको वीर्यको विशेष परीक्षण, आवश्यकताअनुसार टेस्टिकुलर बायोप्सी गर्ने, हार्मोनको परीक्षण र रगतको सामान्य परीक्षण गर्नुपर्ने हुन्छ ।
यसपछि निःसन्तान दम्पतिलाई चिकित्सकले परामर्श गर्नुपर्ने हुन्छ । महिलामा अन्डाको मात्रा बढाउन र ओभुलेसन गराउन गोनाडोत्रोफिन औषधि प्रयोग गर्नुपर्ने हुन्छ । पुरुषका लागि भने शुक्रकिटको मात्रा बढाउन मद्दत गर्ने ऐन्टी अक्सिडेन्ट, भिटामिनसहितका औषधि सेवन गर्नु पर्छ ।
साथै आइयुआई र आइभिएफ प्रविधिबाट पनि सन्तान प्राप्त गर्न सकिन्छ । आइयुआई विधिमा पुरुषको विर्यलाई चालेर महिलाको पाठेघरमा सिधै राख्ने गरिन्छ । यस विधिबाट सन्तान प्राप्त गर्न करिब २० प्रतिशतमात्रै सफल हुने चिकित्सक बताउँछन् । यो विधि चारदेखि ६ पटकसम्म गर्न सकिन्छ।
आइभिएफ प्रविधिमा भने महिलाको डिम्बासयबाट डिम्बलाई अलग गरी शरीर बाहिर ल्याबमा पुरुषको शुक्रकिटसँग निषेचित (फर्टिलाइज) गरेर तयार भएकोे भ्रुणलाई महिलाको पाठेघरमा प्रत्यारोपित गरि गर्भधारण गराएर बच्चा जन्माउने गरिन्छ । यो करिब ४०–५० प्रतिशत व्यक्तिमा सफल हुने मानिन्छ ।
माघ ७, २०७७ बुधवार
१८:१९:१२ बजे : प्रकाशित