शनिबार
७ मङ्सिर
२०७६

सरकार छाड्न उपेन्द्र यादवलाई प्रधानमन्त्रीको दबाब, गौर हत्याकाण्ड ब्यूँत्याउने डर

मंगलबार कार्तिक १९, २०७६/ Tuesday 11-05-19

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवबीच सम्बन्धमा खटपट देखिएको छ । संघीय समाजवादी पार्टीका अध्यक्ष यादवले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउन थालेपछि प्रधानमन्त्री ओली रुष्ट बनेका हुन् । प्रदेश प्रमुख बर्खास्त गर्ने सरकारको निर्णयप्रति सार्वजनिक रुपमै असन्तुष्टि पोखेका यादवलाई दशैं अघि नै सरकार छाड्न प्रधानमन्त्री ओलीले  भनेका थिए । 

संविधान दिवस मनाउने विषयलाई लिएर यादवलाई सरकार छाड्न दबाब दिएका प्रधानमन्त्री ओली प्रदेश प्रमुख बर्खास्तप्रति असन्तुष्टि पोखेपछि यादवसँग झनै रुष्ट बनेको स्रोतको भनाइ छ । यही कात्तिक १७ गते आइतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन् ।  पदमुक्त हुनेमा प्रमुख मध्ये प्रदेश २ का रत्नेश्वरलाल कायस्थ उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी कोटाका थिए । उनी पदमुक्त भएपछि यादवले असन्तुष्टि जनाएका हुन् ।

तर, यसबारे यादवसँग छलफल भएको सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगञ्जमा मंगलबार पत्रकारहरुलाई जानकारी दिएका छन् । सरकारको नीतिअनुसार नै प्रदेश प्रमुखलाई हटाएको बताएका प्रचण्डले यसबारे उपप्रधानमन्त्री यादवले मन्त्रिपरिषद् बैठकमा पनि छलफल गरेका बताए । तर, सातवटै प्रदेश प्रमुख हटाउने निर्णयको विरोध गरेपछि प्रधानमन्त्री ओलीले सरकार छाड्न फेरि दबाब दिएका छन् । सरकार छाड्दा गौर हत्याकाण्ड ब्यूँतिन सक्ने त्रास यादवमा देखिएको छ । 

२०६३ चैत्र ७ गते रौतहटको गौरस्थित राईसमिलको मैदानमा उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरम र तत्कालीन नेकपा माओवादी एउटै स्थानमा छुट्टै मञ्च बनाएर सभा गर्न लाग्दा दुई पक्षबीच झडप हुँदा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यू भएको थियो । सोही झडपमा कैयाँै घाईते भएका थिए । उक्त घटनालाई ‘गौर हत्याकाण्ड’ नामले चिनिन्छ । 

रौतहटकै राजपुर बम काण्डले सांसद मोहम्मद आफ्ताव आलम पक्राउ परेका बेला यादवलाई सो घटना ब्यूँत्याउने डरले सताएको छ । सरकार छाड्दा उक्त घटना ब्यूँताउने सम्भावना देखेपछि यादव त्रसित बनेका हुन् ।