शनिबार
७ मङ्सिर
२०७६

वृहत राष्ट्रिय भेला : गोर्खा सैनिकको न्यायका लागि लड्न नेताहरु तयार

बिहीबार कार्तिक २१, २०७६/ Thursday 11-07-19

काठमाडौं । भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको न्यायको विषय समग्र मुलुकको स्वाभिमानको लडाइँ भएको वृहत राष्ट्रिय भेलाका सहभागीहरुले बताएका छन् । काठमाडौंमा यही कात्तिक १८ र १९ गते भएको वृहत राष्ट्रिय भेलाका सहभागीहरुले भूपू ब्रिटिस गोर्खा सैनिकको न्याय भनेको नेपालको स्वाभिमानको विषय भएको बताए ।  बेलायती नागरिकसरह पेन्सन र सुविधालगायतका माग राखेर भूपू ब्रिटिस गोर्खा सैनिकले लामो समयदेखि संघर्ष गर्दै आएका भए पनि दुवै देशका सरकारले उनीहरुको माग पूरा गर्न प्रभावकारी रुपमा कुनै कार्य गरेनन् । अब निर्णायक रुपमा संघर्षमा उत्रिन लागेका भूपू ब्रिटिस गोर्खा सैनिकले नेपाल सरकारलाई तत्काल वार्ता कमिटी गठन नगरे आमरण अनशन थाल्ने चेतावनी दिएका छन् । 

यसअघि सोमबार र मंगलबा दुई दिन काठमाडौंमा चलेको बृहत राष्ट्रिय भेलामा पूर्वप्रधानमन्त्रीहरुले उनीहरुको माग राष्ट्रिय स्वाभिमानको विषय भएकाले समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नेशनल सिम्पोसियम अन ह्युमेन राइट्स मोभमेन्ट फर क्वाइलिटी एण्ड डिगनिटी अफ एक्स ब्रिटिस गोर्खाले गरेको सो भेलामा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खीलराज रेग्मी, कांग्रेस नेता डा. प्रकाशशरण महत, संघीय समाजवादीका नवराज सुवेदीले उनीहरुको माग सम्बोधनका लागि आ–आफ्नो स्थानबाट पहल गर्ने जानकारी दिए ।

‘हिजो बेलयातका लागि लडौँ अब आफ्नै देशको आत्मसम्मानका लागि संघर्ष गर्छाैं’ भन्ने भूपू ब्रिटिस गोर्खा सैनिकले बेलायती नागरिक (सैनिक)सरह सुविधाको माग गर्दै आएका छन् । सम्मेलनलाई नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, जनउत्तरदायित्वका लागि चिकित्सकका अध्यक्ष डा. शरव वन्त, ईन्जिनियर एसोसिएसन प्रदेश ३ का अध्यक्ष इन्जिनियर नन्दलाल बन्जाडे, गोर्खा ब्रिगेड एसोसिएसनका अध्यक्ष क्याप्टेन भीमबहादुर गुरुङ, पूर्वराज्यमन्त्री दिलमान पाख्रिन, पूर्वसांसद जयन्ती राई र पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सम्बोधन गरेका थिए । उनीहरुले भूपू ब्रिटिस गोर्खा सैनिकको माग पूरा गर्न बेलायत र नेपाल सरकार तयार हुनुपर्ने बताए ।