शनिबार
७ मङ्सिर
२०७६

आज हरिबोधनी एकादशी : कसरी बस्यो तुलसीको विवाह गर्ने प्रचलन ?

बिहीबार कार्तिक २१, २०७६/ Thursday 11-07-19

प्रत्येक वर्ष कार्तिक शुक्लपक्षको एघारौं दिन (एकादशी)मा हरिबोधनी वा प्रबोधिनी एकादशी वा देवउठनी एकादशी (देव उत्थनी एकादशी) मनाउने गरिन्छ । हिन्दु धर्मशास्त्रअनुसार भगवान विष्णु सुत्न गएको दिनलाई देवशयनी एकादशी र उठ्ने दिनलाई देवउठनी वा प्रबोधिनी एकादशी भन्ने गरिन्छ । हरिबोधनी एकादशीका दिन हिन्दु धर्मावलम्बीहरुले तुलसीको विवाह गरेर  भव्यताकासाथ मनाउने चलन छ।  यसैगरी तुलसी विवाहले नेपालमा मनसूनको अन्त्य भएको जनाउँद छ र यसले हिन्दुहरूका लागि विवाहको मौसम सुरु भएको संकेत पनि गर्दछ। 

कसरी बस्यो तुलसीको विवाह गर्ने चलन ?

यस चाडको उत्सवको पछाडि एउटा रोमाञ्चक पौराणिक कथा छ। एक पटक जालन्धर नामको एक राक्षस राजा थियो। उनी आफ्नो कुकर्मको लागि कुख्यात थिए र उनको सफलता उनको प्रिय पत्नी ब्रिन्दाको सद्गुण र पतिव्रता चरित्रमा लुकेको थियो।  ब्रिन्दा भगवान विष्णुकी भक्त थिइन् र आफ्नो पति जालन्धरको कल्याणका लागि निरन्तर प्रार्थना गर्थिन्। तसर्थ, ब्रिन्दाको सद्गुणका कारण जालन्धरको दुष्कर्म र शक्ति रोक्न देवीदेवता हरेकपल असफल भैरहेका थिए र छिटो भन्दा छिटो यसलाई अन्त्य गर्न चाहन्थे। त्यसकारण, भगवान विष्णुले जालन्धरको रूप धारण गरी ब्रिन्दाको पतिव्रता धर्म नष्ट गर्दै सती डगाएपछि लडाईंमा जालन्धर पराजित मात्रै भएनन् उनको मृत्युसमेत भयो ।  

जब सबै घटनाक्रम भगवान विष्णुले गरेको भनेर ब्रिन्दाले थाहा पाइन्, उनि क्रोधित भै भगवान विष्णुलाई चारवटा सराप दिइन् । जसमध्ये एक ढुंगा (शालिग्राम) बन्ने सराप दिईन् । आफ्नो पति  जालन्धरको शोकमा उनले प्राण त्यागिन् । अन्ततः भगवान विष्णुले आफ्नो शक्तिले उनको प्राणलाई तुलसीको बोटमा परिणत गरेर विवाह गर्ने वाचा गरे । यसरी शालिग्राम पत्थर र  तुलसीको विवाह गर्ने प्रचलन बसेको धार्मिक विश्वास छ।

कसले गर्ने तुलसीको विवाह पूजा ?

भगवान श्रीकृष्णको तुलसीसँग विवाह समारोह कुनै पनि परम्परागत हिन्दू विवाह जस्तै भव्यताका साथ मनाउने गरिन्छ। उक्त विवाह समारोह  विभिन्न मन्दिरहरूमा वा घरमै पनि धार्मिक विधिका साथ गर्ने चलन छ। यस विवाहको पूजा सबै हिन्दु अनुयायीहरुले गर्ने गर्छन् । यी व्यक्तिहरुले तुलसीको विवाहको पूजा गरे भने विशेष लाभ हुने धार्मिक विश्वास छ।  

१. अविवाहित महिलाहरु जसले उपयुक्त वर खोजिरहेको भए तुलसीको विवाह पूजा गरे, उक्त समस्या समाधान हुने विश्वास गरिन्छ।  

२. महिला जसको विवाह एक वा अर्को कारणले ढिलाइ भइरहेको भए यस विवाह पूजाले लाभ हुने गर्दछ।  

३. निसन्तान जोडी जसले सन्तान प्राप्तिका अनेकौँ विधि अपनाइरहेको बेला यस विवाह पूजा फाइदा हुने गर्दछ।  

तुलसीको विवाहका विभिन्न लाभहरुः

१. तुलसी विवाह पूजाले परिवारमा भइरहेका कुनै पनि अवरोध र दुर्भाग्यहरूलाई हटाउन सहयोग गर्दछ।

२. अविवाहित महिलाहरुले  राम्रो वर पाउने योग बन्ने गर्छ ।  

३. तुलसीको कन्यादान गर्दा निसन्तान दम्पतीहरुले विशेष आशिष् पाउने गर्छन् ।

४. तुलसी विवाह पूजाले घरमा खुशी समृद्धि र धन ल्याउने गर्दछ।

५. पूजा गर्नाले अविवाहित व्यक्तिहरूको लागि विवाहको सम्भावना बढ्ने गर्दछ।