चितवन - गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी भरतपुर महानगरले थप चार करोड रुपैयाँ सहयोग गरेको छ ।
बुधबार महानगर कार्यालयमा मेयर रेनु दाहालले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई चार करोड रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।
धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका १५ मा निर्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालका लागी महानगरले उक्त रकम दिएको हो ।
चेक हस्तान्तरणको क्रममा भरतपुर महानगर प्रमुख दाहालसँगै उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायतको उपस्थिति रहेको थियो ।
रकम प्राप्त भएको बारे धुर्मुस सुन्तली फाउण्डेसनले सामाजिक सञ्जलामार्फत पनि जानकारी गराएको छ । -
जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि भरतपुर महानगरपालिकाको तर्फबाट आ.ब २०७७ / ७८ मा बिनियोजित बजेट मध्य यस अघि ४ करोड रकम अनुदान स्वरुप धुर्मुस सुन्तली फाउण्डेशन लाई प्राप्त भैसकेको छ भने आज मिति २०७७ माघ १४ गते अनुदान स्वरुप थप ४ करोड रुपैयाँ प्राप्त भएको छ ।
यो रकम सहित अभियान को लागि हाल सम्म सहयोगिमन , विभिन्न संघ सँस्था , प्रदेश सरकार , तथा विभिन्न स्थानीय निकायहरु मार्फत रु. ३१ करोड ४७ लाख ३० हजार ९ सय ७७ रुपैयाँ ८७ पैसा सहयोग स्वरूप प्राप्त भएको छ भने आज मिति २०७७ माघ १४ गते सम्म बिल भर्पाइ पेश भएको आधारमा खर्च तर्फ रु . ३९ करोड ३ लाख ४ सय ९९ .११ पैसा खर्च पेश भैसकेको छ साथै काम सम्पन्न भइ बिल भर्पाइ पेश हुन बाँकी करिब रु . १ करोड ७५ लाख रुपैयाँ गरि एकमुष्ट करिब रु .९ करोड ३३ लाख रकम बजारमा तिर्नुपर्ने रहेको छ ।
अभियानको लागि घोषित रकमहरु पनि पुर्ण तया आउन सकिरहेका छैनन् भने धनधान्यान्चल मुल समारोह समितिको आयोजनामा मिति २०७६ साल माघ १९ गते देखि २७ गते सम्म सम्पन्न भएको धनधान्यान्चल महायज्ञ मा बोलकबोल भएको ६९ करोड रकम मध्य फाउण्डेशन लाई आजको मिति सम्म ८ करोड ८४ लाख ९८ हजार ४ सय ४७ रुपैयाँ मात्र प्राप्त भएको छ ।
बाँकी रकम यथासक्य उपलब्ध हुन सकेमा परियोजना तोकिएकै समयमा सम्पन्न गर्न सकिनेछ । अत : यो संकटकालिन अवस्थामा घोषणा तथा बोलकबोल गर्नुहुने ब्यक्ति तथा संघ सँस्थाहरु लाई हार्दिकता का साथ अपिल गर्दछौं ।
साथै हाल सम्म ८ करोड रुपैयाँ बिनियोजन गरि रंगशाला निर्माण अभियानको लागी अनुदान स्वरुप उपलब्ध गराइदिनु भएकोमा भरतपुर महानगरपालिका , महानगरपालिका प्रमुख रेणु दाहाल ज्यु , उप - प्रमुख पार्वती शाह ठकुरी ज्यु र प्रशासकीय अधिकृत प्रेमराज जोशी ज्यु लगायत सिङ्गो भरतपुर महानगरपालिका परिवार प्रति हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं ।
माघ १४, २०७७ बुधवार
२०:३४:२२ बजे : प्रकाशित