शनिबार
७ मङ्सिर
२०७६

न्यायाधीश र आलमबीच प्रश्नोत्तर, इजलासमा के के भने आलमले ? (प्रश्नोत्तरसहित)

शुक्रबार कार्तिक २२, २०७६/ Friday 11-08-19

काठमाडौं । मोहम्मद आफताव आलमविरुद्ध विभिन्न तीनवटा आरोपमा अभियोग पत्र दर्ता भएपछि बिहीबारबाट थुनछेक बहस भइरहेको छ । पहिलो संविधानसभाको निर्वाचन अघिल्लो दिन २७ चैत २०६४ मा रौतहटको राजपुरमा बम विस्फोट भएको र विस्फोट हुँदा घाइते भएकाले इँट्टा भट्टामा हालेर जिउँदै जलाएर मारेको आरोप आलमलाई गएको असोज २६ गते पक्राउ गरिएको थियो । त्यसपछि आलमविरुद्ध रौतहट जिल्ला अदालतमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणसम्बन्धि अभियोग पत्र दर्ता भएपछि जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो । 

केही दिन अघि आफताब आलमले जिल्ला न्यायाधीश दीपक ढकाल सहभागी इजलासमा बयान दिएका थिए । न्यायाधीश ढकालले गरेको प्रश्न दिँदै उनले आफ्नो राजनीतिक चरित्र हत्या गर्न आरोप लगाएको दाबी गर्दै आफू निर्दाेष रहेको जिकीर गरेका छन् । 

प्रश्न– नेपालको संविधानले तपार्इं आफ्नोविरुद्ध बोल्न कर नलाग्ने र चुप लागेर बस्न पाउने मौलिक हक प्रदान गरेको छ । यदि तपार्इंले आफ्नोविरुद्ध बोल्नुभयो भने त्यो तपार्इंको विरुद्धमा प्रमाण लाग्ने कुराको जानकारी गराइएको छ । यसको मतलब बुझ्नुभयो नि ? 

उत्तर–  नेपालको संविधानले आफ्नो विरुद्ध बोल्न कर नलाग्ने र चुप लागेर बस्न पाउने मौलिक हक प्रदान गरेको कुरा मलाई थाहा छ । मैले आफ्नो विरुद्ध बोल्यो भने मेरो विरुद्धमा प्रमाणमा लाग्ने कुरा मलाई बुझाउँदा बुझेँ । जानकारी पाएँ ।

प्रश्न– मो मुद्दाबाहेक तपार्इंउपर फौजदारी मुद्दा परेको छ–छैन, परेको भए फैसला भई सजाय पाएको तथा हाल कारबाही अवस्थामा चलिरहेको छ–छैन ? 

उत्तर– प्रस्तुत मुद्दाबाहेक मउपर कुनै फौजदारी मुद्दा परेको छैन । कारबाही अवस्थामा नरहेको हुँदा सजाय पाउने कुरा भएन । कुनै सजाय पाएको छैन । 

प्रश्न– प्रतिवेदकहरू प्रहरी निरीक्षक पपु नायक, प्रनानि दीपककुमार गुप्ता तथा जाहेरवालाहरू श्रीनारायण सिंह राजपुत, रोक्साना खातुन, सफी अमम्द, शंकर भनिने गौरीशंकर राम चमारसँग चिजान, लेनदेन, कारोबार, रिसइबी छ–छैन ? 

उत्तर– प्रतिवेदकहरू प्रहरी निरीक्षक पपु नायक, प्रनानि दीपककुमार गुप्ता र जाहेरवालाहरू श्रीनारायणसिंह राजपुत, रोक्साना खातुन, सफी अमम्द, शंकर भनिने गौरी शंकर राम चमारलाई मैले चिनेको छैन । नचिनेको हुँदा नाता, लेनदेन, रिसइबी, कारोबार केही पनि छैन । 

प्रश्न– तपार्इंउपर वादी नेपाल सरकारले दायर गरेको प्रस्तुत मुद्दाको अभियोगपत्रको प्रतिलिपि तपाईंले प्राप्त गर्नुभयो, पढ्नुभयो, अभियोगका सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिन तयार हुनुहुन्छ ? 

उत्तर– मउपर वादी नेपाल सरकारले दायर गरेको प्रस्तुत मुद्दाको अभियोगपत्रको प्रतिलिपि मैले प्राप्त गरेँ । अभियोगको सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिन म तयार छु । दिन सक्छु । 

प्रश्न– तपाइँ वारदात भएको भनिएको २७ चैत ०६४ बिहानदेखि बेलुकासम्म कुन कुन ठाउँमा के गर्दै हुनुहुन्थ्यो ? तपार्इंको को–कोसँग भेटघाट भएको थियो ? 

उत्तर– वारदात भएको भनिएको मितिमा निर्वाचन प्रचारप्रसार गर्न बन्द थियो । त्यसैले म सो दिन बिहानदेखि बेलुकासम्म म राजपुरअन्तर्गतको आफ्नै निवासमा थिएँ । साथीहरूसँग निर्वाचनको अवस्थाबारेमा व्यवस्थापन गर्ने विषयमा छलफल गरी बसेको थिएँ । 

प्रश्न– मृतक ओसी अख्तर मियाँको जुत्ता, मोजा, स्विटरसमेत मेरो छोराको हो भन्ने ६ वैशाख ०६५ मा निजकी आमा रोक्साना खातुनले गरी दिएको सनाखत कागजातमा उल्लिखित व्यहोराको सम्बन्धमा तपार्इं के भन्नुहुन्छ ? 

उत्तर– प्रस्तुल मुद्दाको वारदात भनिएकोमा सो वारदात भएकै छैन, तर कसरी जुत्ता, स्विटरसमेत सनाखत गरेको कुरा हुन्छ र ? उक्त कागज झुटा हो । 

प्रश्न–  २७ चैत ०६४ मा वारदातको सम्बन्धमा ३० चैत ०६४ मा तत्कालीन उम्मेदवार शैलेन्द्र साहसमेतले जिल्ला प्रहरी कार्यालयमा दिएको संयुक्त निवदेनमा उल्लिखित व्यहोराको सम्बन्धमा तपाईंको भनाइ के छ ? 

उत्तर– त्यस दिन तत्कालीन उम्मेदवार शैलेन्द्र साहसमेतले जिल्ला प्रहरी कार्यालय रौतहटमा दिएको संयुक्त निवेदनमा उल्लिखित व्यहोरा मलाई पढी सुनाउँदा सुनेँ । निजसमेतले दिएको उक्त निवेदन व्यहोरा झुटा हो । ०६४ सालको चुनावमा निज शैलेन्द्र साह एमालेको तर्फबाट मेरो प्रतिद्वन्द्वी भई चुनावमा उम्मेदवार भएको र निज लगभग बाह्र हजारको अन्तरले पराजित भएको कारण सोही रिसइबीले मउपर सो निवदेन दिएका हुन् । निवेदनमा लेखिएबमोजिमको व्यहोरा झुटा हो । 

प्रश्न– विस्फोट भएको भनिएको सेख इद्रिसको गोठघरमा १४ वैशाख ०६५ मा भएको घटनास्थल मुचुल्कामा उल्लिखित व्यहोराको सम्बन्धमा तपार्इंको भनाइ के छ ? 

उत्तर – प्रस्तुत मुद्दामा कुनै घटना घटेकै छैन । तसर्थ उक्त मितिमा भएको घटनास्थल मुचुल्काबारे मलाई थाहा छैन । 

प्रश्न – अन्य प्रतिवादीहरू मोहम्मद महताव आलम, मोहम्मद मोविन आलम, शेख भदई, शेख सेराज भनिने शेख सराज, शेख फजेल हक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्री सहनी, मुक्ति साहसँग तपाईको चिनजान छ छैन ? नाता सम्वन्ध पर्छ पर्दैन ? चिनजान भए निजहरूको वतन खुलाइदिनुस् । 

उत्तर – प्रतिवादीमध्ये मोहम्मद महताव आलम मेरा सहोदर भाइ हो । अन्यलाई म चिन्दिनँ । त्यसो हुँदा उनीहरूको बतन म खुलाउन सक्दिनँ । 

प्रश्न – हत्या गरिएको भनिएको ओसी अख्तर, त्रिलोकप्रताप सिंह चिन्नु हुन्छ ? निजहरू तपाइको चुनाव प्रचारमा थिए ? 

उत्तर – उनीहरूलाई मैले चिनेको छैन । त्यसो हुँदा ०६४ को चुनावमा मेरो प्रचारमा सहभागी गराएको छैन । 

प्रश्न – ०६४ को चुनावमा तपाईको प्रचारमा भारतीय नागरिक पनि समेत थिए थिएनन् ? 

उत्तर – ०६४ को चुनावमा मेरो प्रचार प्रसारमा भारतीय नागरिक कोही पनि  सामेल थिएनन् । 

प्रश्न – १८ वैशाख ०६५ मा ओसी अख्तरकी आमा रोक्साना खातुनले दर्ता गराएको जाहेरी दरखास्तमा उल्लेखित व्यहोराको सम्वन्धमा तपाईको राय के छ ? 

उत्तर – ओसी अख्तरको आमा रोक्साना खातुनले दर्ता गराएको जोहरी दरखास्तमा उल्लेखित  व्यहोरा सुनेँ । घटना भएको छैन । सवै काल्पनिक र झुटा हुन् । 

प्रश्न – ९ असार ०६५ मा अनुसन्धानका क्रममा गरेको बयान पढी सुनाइन्छ । त्यो बयान के हो ? त्यसमा लगाईको सही छाप तपाईको हो ? 

उत्तर –  बयान सुने । ठिक छ । बयान म आफैले गरेको हुँ । बयानमा गरेको सहीछाप मेरै हो । 

प्रश्न – २० बैशाख ०६५ मा सराजुल मियाँको कागजमा उल्लेखित बयानको बारेमा तपाइको भनाइ के छ ? 

उत्तर – २० वैशाख ०६५ मा सराजुल मियाँको कागजमा उल्लेखित बयान सुनेँ । घटना भएको छैन । सवै काल्पनिक र झुटा हुन् । 

प्रश्न – घटनाको प्रत्यक्षदर्शी सराजुलले झुटा व्यहोरा लेखाउनुपर्ने कारण के छ ? 

उत्तर – पटक पटक विद्यार्थीकालदेखि राजनीति गरी ०५४ सालदेखि भारी मत ल्याई निर्वाचित भइ सांसद र पटक पटक मन्त्री भई काम गरेको र हाल पनि सांसद भएको हुँदा मेरो विरोधीहरूले सो कुरा देख्न सकेनन् । त्यसैले फसाएका हुन् । मेरा राजनीतिक पृष्ठभूमि सक्न यसो गरेका हुन् । 

प्रश्न – विस्फोट हुँदा घाइते सफी अहम्मदको घाउजाँच रिपोर्टमा उल्लेखित व्यहोराको सम्वन्धमा तपाई के भन्नुहुन्छ ? 

उत्तर – वरदात भएको छैन । उनले कहाँ के गरेर घाइते भई कुन कुन चोट लागि कहाँबाट उपचार गराई घाउँजाँच फराम भराए मलाई थहा छैन । 

प्रश्न –  राजा इँटा उद्योगमा भएको १५ वैशाख ०६५ मा भएको मुचुल्का पढी सुनाइन्छ । यसमा तपाईको भनाइ के छ ? 

उत्तर – घटना भएको छैन । त्यसो हुँदा राजा इँटा उद्योगबाट प्रहरीले खरानी लगे नलगेको थाहा भएन ।