शनिबार
७ मङ्सिर
२०७६

आलम काण्डमा नयाँ ट्वीस्ट : ओसी अख्तर नमारिएको भन्दै उनकी श्रीमती पुगिन् अदालत

शुक्रबार कार्तिक २२, २०७६/ Friday 11-08-19

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहम्मद आफताव आलमद्वारा मारिएका भनिएका ओसी अख्तर नमारिएको भन्दै अख्तरकी पत्नी रौतहट जिल्ला अदालतमा निवेदन दिन पुगेकी छन् ।पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते बम विस्फोट हुँदा घाइते भएका भनिएका ओसी अख्तर र त्रिलोक सिंह बमलाई इँट्टा भट्टामा हालेर जिउँदै जलाएर मारेको आरोपमा तत्कालीन कांग्रेसका उम्मेदवार रहेका आलमलाई गएको असोज २६ गते पक्राउ गरि रौतहट जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिएको छ ।

आलतविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणसम्बन्धि तीन वटा अभियोग लगाइएको छ । बयान सकिएपछि बिहीबार अदालतमा थुनछेक बहस सुरु भएको छ । यही बेला सो घटनामा मारिएका भनिएका ओसी अख्तर वैदेशिक रोजगारीमा गएर हालसम्म नफर्केको भन्दै अख्तरकी श्रीमती अमना खातुन निवेदन दिन अदालत पुगेकी हुन् । 

जिल्ला न्यायाधीश दीपक दाहालको इजलासमा आलमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने, धरौटीमा छोड्ने वा तारेखमा छोड्ने भन्नेबारेमा बहस चलिरहँदा अमना खातुन आफ्नो श्रीमान वैदेशिक रोजगारीबाट घर नफर्केको भन्दै सो घटनामा नमारिएको दलिलसहित निवेदन अदालत पुगेकी हुन् । 

सरकारी वकिलले बहस गर्दागर्दै खातुन निवेदन दिन पुगेकी हुन् । तर, जाहेरी पक्षका वकिलले सो स्वीकार गर्न कानुनले नदिने भन्दै प्रतिकार गरेपछि न्यायाधीशले उक्त निवेदन पछि हेर्ने अहिले नहेर्ने भनेका छन् ।