काठमाडौँ। टर्कीका एक मुस्लिम धार्मिक नेता अदनान ओक्तरलाई इस्तानबुल अदालतले यौन उत्पीडन सम्बन्धी १० विभिन्न मुद्दामा १०७५ वर्षको कैद सजाय सुनाएको छ।
अदनान ओक्तरलाई १० वटा छुट्टाछुट्टै आरोप लगाइएको थियो जसमा बाल यौन शोषण, आपराधिक गिरोहको नेतृत्व, बलात्कार, ब्ल्याकमेल, धोखाधडी, राजनीतिक तथा सैनिक जासुसी र यातना दिने कामहरु समावेश छन्। यी आरोपलाई पुष्टि गर्दै अदालतले उनलाई १०७५ वर्षको कैद सजाय सुनाएको हो ।
उनी टेलिभिजनमार्फत इस्लामिक उपदेशहरू प्रचार प्रसार गर्थे। र मानिसहरूलाई कट्टरपन्थी दृष्टिकोणबारेमा प्रचार गर्ने गर्थे। उनी महिलाहरुलाई ’किट्टेन’ अर्थात् बिरालीहरु भनेर बोलाउने गर्थे।
अदनान यी महिलाहरूसँग टिभी कार्यक्रमहरूमा नृत्य पनि गर्थे जसले प्लास्टिक सर्जरी गरेका थिए। ६४ वर्षीय अदनानको एनाइन टेलिभिजन च्यानल सन् २०११ बाट प्रसारणमा आएको थियो। जसलाई टर्कीका धार्मिक नेताहरुले कडा आलोचना पनि गरेका थिए।
अदनान पहिलोपटक सन् १९९० को दशकमा विश्व सामु चिनिएका थिए। त्यस समय उनी एक यस्तो सम्प्रदायका नेता थिए, जो थुप्रै यौन जन्य अपराधमा फसिसकेको थियो। अदालतको सुनुवाइको क्रममा अदनानको बारेमा धेरै गोप्य कुरा र डरलाग्दो यौन अपराधहरू उजागर भएको थियो।
डिसेम्बरको सुनवाइमा अदनानले न्यायाधीशलाई आफ्नो एक हजार प्रेमिका रहेको बताएका थिए। उनले भने, ’ मेरो हृदयमा महिलाप्रतिको प्रेम अनन्त छ, प्रेम भनेको मानिसको विशेषता हो। र यो एक मुसलमानको गुण पनि हो।’ त्यसैगरी अर्को प्रश्नमा उनले आफु सँग बुवा बन्ने असाधारण क्षमता रहेको बताएका थिए।
त्यसैगरी, एक महिलाले सुनवाइको क्रममा अदनानले आफु लगायत अन्य थुप्रै महिलाहरुलाई धेरै पटक यौन दुर्व्यवहार गरेको आरोप लगाइन् । उनले महिलालाई जबरजस्ती बलात्कार गर्ने र गर्भ निरोधक औषधि खान बाध्य पार्ने गरेको बताएकी थिइन्।
प्रहरीद्वारा अदनानको घरबाट ६९ हजार गर्भ निरोधक चक्की बरामद गरिएको थियो । यसबारेमा प्रश्न गर्दा अदनानले उक्त औषधि छाला विकार र मासिक धर्म अनियमितताको उपचार गर्न प्रयोग गरिएको बताएका समाचार माध्यम डेली मेलले लेखेको छ ।
अदनानसहित उनका तेह्र सहयोगीहरूलाई पनि त्यस्तै आरोपमा लामो सजाय सुनाइएको टर्कीको सरकारी एजेन्सीले रिपोर्ट गरेको छ। यसक्रममा करिब २३६ जना संदिग्धहरुमाथि मुद्दा चलाइएका थियो। जस मध्ये ७८ जना पक्राउ परेका छन्।

पौष २९, २०७७ बुधवार
१५:५७:०९ बजे : प्रकाशित