शनिबार
७ मङ्सिर
२०७६

जब ५२ वर्षपछि डा. बाबुराम भट्टराईले शारदालाई भेटे...

शुक्रबार कार्तिक २२, २०७६/ Friday 11-08-19

काठमाडौं । विद्यालय तह सकेपछि उच्च शिक्षा अध्ययन गर्ने बाहनामा विद्यार्थीले गाउँ छाड्छन् । गाउँसँगै बुवाआमा, आफन्त, सहपाठी छाड्छन् । उच्च शिक्षा हासिल गर्न सहर पसेका उनीहरु जीवन संघर्षको दौरानमा गाउँ फर्कन सबै सक्दैनन् । पेशा व्यवसाय गर्दा गर्दै कोही सहरमै घरबार जमाएर बस्छन् । बेला बेला गाउँ फर्के पनि सबैलाई भेट्न भ्याउँदैनन्, सम्भव हुँदैन । विद्यालय तहका सहपाठी सधैँ यादगार रहने गर्छ । अचानक भेटिँदाको खुसीको सीमा रहँदैन । उच्च शिक्षा अध्ययन गर्न सहर पस्न क्रम अहिले मात्रै होइन दशकौँ अघिदेखि चल्दै आएको छ । 

पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी अध्यक्ष डा. बाबुराम भट्टराई पनि उच्च शिक्षा हासिल गर्न भन्दै गोरखाबाट सहर पसे । उनले पनि आफन्तसहित सहपाठीलाई गाउँमै छाडे । अध्ययनसँग सँगै राजनीतिमा होमिएका डा भट्टराई प्रधानमन्त्रीसमेत भए । उनले चाहेर कतिलाई भेट्ने सके कतिलाई भेट्न सकेनन् लेखाजोखा छैन । तर, बिहीबार ५२ वर्षअघि सँगै पढेकी शारदा खनाल (पराजुली) सँगको भेट भएको सामाजिक सञ्जालमा तस्विरसहित पोष्ट गरेर डा. भट्टराईले आफ्नो खुसी सार्वजनिक गरे । 

गोरखाको अमरज्योति हाइस्कूलमा पढ्दाकी सहपाठी शारदालाई भेटेको तस्विर पोष्ट गर्दै डा. भट्टराईले फेसबुकमा लेखेका छन्, १३÷१४ बर्षको उमेरमा स्कूलमा ८ क्लास पढ्दादेखि छुट्टिएकी सहपाठीसँग ५२ बर्षपछि सेतै कपाल फुलेको अवस्थामा भेट्दा कस्तो अनुभूति होला ? गोरखाको अमरज्योति हाइस्कूलमा पढ्दा कक्षामा एक मात्र केटी सहपाठी शारदा खनाल (पराजुली)सँग आज अकस्मात् भेट्दा गजबको अनुभूति भयो ।’