• Mar 02 2021 | २०७७, फाल्गुण १८गते

२०७७, फाल्गुण १८गते

गर्भावस्थामा यौन सम्पर्क गर्न हुन्छ ? बेहोस हुने समस्यालाई वीर्यले कम गर्ने 

क्यानाडानेपाल माघ १२ २०७७
  • 1.3K
    SHARES
  • गर्भावस्थामा यौन सम्पर्क गर्न हुन्छ ?  बेहोस हुने समस्यालाई वीर्यले कम गर्ने 

    काठमाडौं । अधिकांश दम्पत्ति गर्भावस्थामा यौन सम्पर्क गर्न हुने वा नहुने विषयले चिन्तित् रहने गर्छन् । गर्भावस्थामा यौन सम्पर्क राख्दा शिशु र महिला दुवैलाई नकारात्मक असर गर्ने बुझाइ आम दम्पत्तिमा पाइन्छ  । यसलाई स्वभाविक चिन्ता पनि मान्छि । गर्भावस्थामा यौन सम्पर्क राख्दा पाठेघर खुम्चिनेदेखि शिशुलाई छोपेर राखेको झिल्ली च्यातिएर संक्रमण हुनेसम्मको तर्क हुने गर्छ । 

    गर्भावस्थामा यौन सम्पर्क 

    स्वस्थ गर्भावस्थामा यौनसम्पर्क राख्न सकिन्छ ।  स्वस्थ गर्भावस्थामा हुने यौन सम्पर्कले महिला तथा गर्भमा रहेको शिशुमा नकारात्मक असर नगर्ने चिकित्सकहरु बताउँछन् । 

    गर्भवती महिलाले इच्छा गरेमा वा उनलाई कुनै असजिलो महसुस नभएमा यौन सम्पर्क राख्न अफ्ठ्यारो मान्नु पर्दैन । तर, यसबेला पुरुषले यौन सम्पर्कका लागि दबाब दिनु भने हुँदैन । 

    यौन सम्पर्कले आपसी सम्बन्ध प्रगाढ हुने

    यौन सम्पर्कले दम्पत्तिबीचको सम्बन्धलाई प्रगाढ बनाउने गर्छ । तर, गर्भावस्थामा यौन सम्पर्क नहुँदा सम्बन्धमा बिग्रिने डरमा महिलाहरु रहेका देखिन्छन् । गर्भवती अवस्थामा पनि कुनै न कुनै रुपमा दम्पतीबीचको सम्बन्ध सुमधुर राख्न असल सञ्चारको आवश्यकता पर्ने गर्छ । 

    यसका लागि गर्भावस्थामा पनि यौन क्रियाकलाप आवश्यक पर्छ । तर, यसका लागि गर्भ रहेको कति महिना भयो भन्नेले अर्थ राख्ने गर्छ । गर्भ रहेको महिनाको आधारमा यौन आसन प्रयोग गर्नुपर्ने हुन्छ भने सोहीअनुसारको सावधानी पनि अपनाउनु पर्छ । यौनसम्पर्कपछि रक्तश्राव, पेट दुखेमा, असहज महसुस भएमा,  योनीबाट पानी बगेमा यौन सम्पर्क तत्काल बन्द गर्नुपर्छ ।  

    शिशुलाई असर नगर्ने, बेहोस हुने समस्या हटाउने

    स्वस्थ गर्भावस्थमा यौन सम्पर्क राख्दा गर्भको शिशुलाई असर नगर्ने चिकित्सकहरुले बताउने गरेका छन् । उनीहरुकाअनुसार भ्रुणको थैली र गर्भाशयका मांशपेशीले गर्भको शिशुलाई सुरक्षा प्रदान गर्ने भएकाले यौन सम्पर्कका कारण गर्भको बच्चामा असर गर्दैन । 

    सेक्सका बेला उत्सर्जन हुने अक्सिटोसिन हर्मोनका कारण पति पत्नीबीचको सम्बन्ध आत्मीय तथा प्रेमपूर्ण बन्ने विज्ञहरुको भनाइ छ । गर्भावस्थामा हुने यौन सम्पर्कले महिलालाई चिन्तामुक्त गराउने र पर्याप्तमात्रा निद्रा पर्ने र रक्तचाप सन्तुलित गर्न सहयोग गर्छ । 

    गर्भावस्थामा बेहोस हुने समस्याबाट पीडित गर्भवती महिलालाई यस समयमा हुने यौन सम्पर्क लाभदायक बन्न सक्छ । यस समस्याबाट पीडित महिलाहरुका लागि पुरुषको वीर्यमा हुने प्रोटिनले फाइदा गर्ने चिकित्सकको भनाइ छ । उनीहरुकाअनुसार वीर्र्यले महिलामा विशेष एन्टीबडी उत्पादन गरी गर्भावस्थामा बेहोस हुने समस्या कम गर्छ ।

    गर्भमा रहेको बच्चालाई असर नगर्ने गरी पेटलाई दबाब सृजना नहुने गरी यौन सम्पर्क गर्नुपर्ने हुन्छ । यसका लागि उचित यौन आसन चयन गर्नुपर्ने हुन्छ । 

    तर, गर्भ रहेको सुरुको तीन महिना र अन्तिमको एक महिना यौन सम्पर्क नराख्दा नै राम्रो हुन्छ । अन्य सामान्य अवस्थामा वा गर्भवती महिलामा कुनै असहज अवस्था नरहेको खण्डमा यौन सम्पर्क गर्न सकिन्छ । 


    माघ १२, २०७७ सोमवार २१:०५:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गर्भावस्थामा यौन सम्पर्क

  • क्यानाडानेपाल

    अर्कोसमाचार

    अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने

    क्यानाडानेपाल

    फाल्गुण १७

  • 262
    SHARES
  • अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने

    काठमाडौँ – अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो ।

    यसका लागि आधुनिक भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा जनशक्ति अस्पतालमा रहेको छ । बीएण्डसी अस्पताल परिसरमा रु ६०० करोडको लगानीमा क्यान्सर उपचार सेवाका लागि आवश्यक आधुनिक पूर्वाधार तयार भएको हो । निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो सो क्यान्सर अस्पताल रहेको दाबी गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले रासससँग भन्नुभयो, “अब क्यान्सर उपचारका लागि विदेश धाउनु पर्दैन । पूर्वाञ्चल क्यान्सर अस्पतालमा गुणस्तरीय सेवा र सुलभरुपमा उपलब्ध गराइरहेका छौँ ।”

    तीन सय श्ययाको स्वीकृति पाएको सो अस्पतालमा क्यान्सर उपचारका आगि आवश्यक रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत सम्पूर्ण सेवा उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो । गत वर्षदेखि नै उपचार सेवा सञ्चालनमा ल्याएको सो अस्पतालले एक वर्षका अवधिमा २६ हजारभन्दा बढीका बिरामीलाई ओपिडी सेवा प्रदान गरेको छ । अस्पतालमा पेट स्क्यान, एमआरआइ, सिटी स्क्यानलगायत अत्याधुनिक उपकरण सञ्चालनमा रहेका अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार नवनिर्मित अस्पताल भवनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको उहाँले बताउनुभयो । कार्यक्रममा वरिष्ठ अभिनेत्री मनिषा कोइराला, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि सहभागिता रहने जनाइएको छ ।

    “यो क्यान्सर उपचारका लागि सेवा दिने अवसर हो, सेवामा केही कमी रहँदैन । उपकरण उही हो, ज्ञान उही हो । अमेरिका तथा भारत गए पनि पाउने सुविधा यही हो ।” अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले भन्नुभयो । ‘मुस्कुराउँछ नयाँ जीवन…’ भन्ने नाराका साथ गत वर्षदेखि सो अस्पतालले आफ्नो सेवा थालनी गरेको थियो । यसबाट पूर्वाञ्चल क्षेत्रलगायत नेपालबाट क्यान्सर पहिचान तथा उपचार गर्न भारत तथा अन्यत्र देश जानुपर्ने अवस्थासमेत अन्त्य भएका बताइएको छ ।

    ब्रेची थेरापी, पेट सिटी, गामा क्यामेरा, फोर डि पेटसिटी सिमुलेटर, म्यामोग्राम, ब्रेन ल्याब, न्युरो नेभिगेसन सिष्टम, क्याथ ल्याब, डेक्सा स्क्यानको सेवा बिरामीले पाइरहेका छन् । पाठेघरको मुखको क्यान्सर उपचारमा ब्रेची थेरापी र स्तन क्यान्सरमा म्यामोग्राम अचुक उपकरण मानिन्छ । शरीरभित्रमा ट्युमरका क्यान्सरका सेल पहिचान गर्न क्याथल्याब उपकरणको सहायता लिइने गरिन्छ । ‘पेट सिटीलाई आई अफ अङ्कलोजी’ भन्ने गरिन्छ । यो उपकरण काठमाडौँ उपत्यका बाहिर पहिलोपटक अस्पतालले सञ्चालमा ल्याएको छ । सरकारले हालसम्म आफ्ना अस्पतालबाट पेट सिटी सेवा उपलब्ध गराउन सकेको छैन । यसले क्यान्सर रोग पहिचान र उपचार गर्न कोशेढुङ्गाका रुपमा काम गर्छ ।

    अमेरिका र जर्मनीमा बनेका ती केही उपकरणलाई हालसम्म नेपालका कुनै अस्पतालले सञ्चालनमा ल्याउन सकेका छैनन् । उपकरणको मूल्यमात्र करिब एक अर्बभन्दा माथि खर्च भएका जनाइएको छ । “क्यान्सरको उपचार नपाएर कोही अकालमा मृत्यु हुन नपरोस् भन्नका लागि अस्पताल बनाउने सपना देखेको हुँ । करिब ३०० श्ययाको अस्पताल सञ्चालमा आउने छ । झापालाई ‘मेडिकल हब’ बनाउने मेरो सपना छ ।” उहाँ भन्नुभयो ।

    भारतमा उहाँले केही वर्ष अगाडि घाँटीको क्यान्सरको उपचार गराउनुभएको थियो । “मेरो पीडाजस्तो अरुले खेप्न नपरोस् । समयमा उपचार पाएर पो म कालको मुखबाट बाँचे नत्र । यसपछि सबै कुरा त्यागेर देशलाई क्यान्सर मुक्त बनाउने अभियानको आधार तयार गर्न दृढताले लागेँ”, उहँले आफ्ना भोगाइ सुनाउनुभयो । पछिल्लो समय मेदान्त तथा राजीवगान्धी क्यान्सर अस्पतालका बिरामीमध्ये तेस्रो सङ्ख्यायामा नेपाली हुने गरेको बताइन्छ । नेपालबाट ती दुई अस्पतालमा मात्र बर्सेनि कति नेपाली क्यान्सर उपचारमा जान्छन् भन्ने तथ्याङ्क छैन । जनस्वास्थ्य स्वास्थ्य कार्यालय झापाबाट गत वर्षमात्र ४०० क्यान्सर रोगीले सिफारिस लिएका थिए ।

    नेपालमा बर्सेनि विभिन्न प्रकारका क्यान्सरबाट मात्र १५ हजारभन्दा बढीको अकालमा मृत्यु हुने प्रक्षेपण विश्व स्वास्थ्य सङ्गठनले गरेको छ । क्यान्सर पहिचान भई उपचारबाट ३० प्रतिमात्र जोगिएका छन् । सत्तरी प्रतिशतको अकालमा मृत्यु हुने गर्दछ । विकसित देशमा यो अवस्था ठीक उल्टो रहेको छ ।

    मुटु प्रत्यारोपणको तयारी
    कार्यकारी निर्देशक प्रसाईले बीएण्डसी अस्पतालमा मुटु तथा मिर्गाैला प्रत्यारोपणका लागि तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार मुटु उपचार सेवाका लागि ‘क्याथ ल्याब’ सञ्चालनमा आइसकेको छ । पूर्वाञ्चलमा पहिलोपटक रु ५० करोडको लगानीमा सो ल्याब सञ्चालनमा ल्याइएको जनाइएको छ । अस्पतालले मिर्गाैला रोगीका लागि उपचार तथा डायलाइसिस सेवा प्रदान गरिरहेको छ ।

    बीएण्डसी अस्पतालका निर्देशक प्रा डा उमेश शर्माले पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर उपचारका लागि आवश्यक सबै प्रकारका सेवा उपलब्ध रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “क्यान्सर उपचारका लागि विदेश जानुपर्र्दैन ।”रासस 


    फाल्गुण १७, २०७७ सोमवार १०:५४:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # क्यान्सर

  • क्यानाडानेपाल डेस्क

    सरकारले पूर्ण जिम्मेवारीका साथ खोप अभियान सञ्चालन गरेको छ : मन्त्री त्रिपाठी

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 220
    SHARES
  • सरकारले पूर्ण जिम्मेवारीका साथ खोप अभियान सञ्चालन गरेको छ : मन्त्री त्रिपाठी

    काठमाडौँ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेस त्रिपाठीले आगामी फाल्गुण २३ गतेदेखि सुरु हुने कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियानलाई प्रभावकारी बनाउन तीनै तहको सरकारले संयुक्त प्रयास अघि बढाएको बताएका छन्  ।

    मन्त्रालयले आज काठमाडौँमा गरेको प्रधान सम्पादकहरुसँंगको अन्तर्क्रियामा मन्त्री त्रिपाठीले ५५ वर्षदेखि माथि उमेर समूहका व्यक्तिहरू संवेदनशील र बढी जोखिमको क्षेत्र पनि भएकाले सरकारले पूर्ण जिम्मेवारीका साथ खोप अभियान सञ्चालन गर्न थालेको जानकारी दिए ।

    उनले हालसम्म ४ लाख २९ हजारभन्दा बढी मानिसले कोरोना विरुद्धको खोप लगाएका मध्ये कसैलाई पनि जटिल समस्या नदेखिएको र नेपालले प्रयोग गरेको खोप विश्वका ५७ देशले प्रयोग गरिरहेकाले कोभिशिल्ड खोपको सुरक्षालाई लिएर सरकार पूर्णतः विश्वस्त रहेको बताएका छन्।  

    विश्वका एक सयभन्दा बढी देशले अझै खोप कार्यक्रम सुरु गर्न नसकिरहेको अवस्थामा नेपाल सरकारले खोपको आवश्यक बन्दोबस्त गरी अभियान सञ्चालनमा ल्याएको र क्रमशः सबैलाई खोप कार्यक्रममा समावेश गरिने भएकाले ढुक्क भएर यो अवसरको सदुपयोग गर्न आग्रह गरेका छन्। 

    मन्त्री त्रिपाठीले आफ्नो उमेर पनि ५५ वर्षमाथिको भएकाले नियम मिचेर पहिलो चरणमा खोप नलगाएको बताउँदै अबको कार्यक्रममा आफूले पनि खोप लगाउने जानकारी दिएका छन् । मन्त्री त्रिपाठीले खोप खरिददेखि लगाउनेसम्मका सबै प्रक्रिया पारदर्शी, न्यायसङ्गत र कानुनबमोजिम हुने पनि स्पष्ट पारेका छन्।

    उनले अब निरन्तर रुपमा खोप अभियान अघि बढाउने सरकारको योजना रहेको बताउँदै प्राथमिकता प्राप्त समुदायलाई सरकारका तर्फबाट निःशुल्क खोप लगाइसकेपछि निजी क्षेत्रलाई खोप आयात र खोप कार्यक्रम सञ्चालन गर्न दिइने बताएका छन्  ।

    कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले २० लाख मात्रा खोप खरिद गरिएको मध्ये १० लाख मात्रा आइसकेको, १० लाख मात्रा आउने क्रममा रहेको र थप ५० लाख मात्रा खरिदको तयारी करिब अन्तिममा पुगेको जानकारी दिएका छन् ।

    उनले फाल्गुण २३ देखि सुरु हुने अभियान देशका ६ हजार खोप केन्द्रमा सञ्चालन हुने, उमेरका कारणले खोप केन्द्र जान नसक्नेहरूका लागि विशेष व्यवस्था गरिने र त्यसका लागि खोप, जनशक्तिलगायतका सबै बन्दोबस्त भइसकेको बताएका छन्  । समाचार : रेडियो नेपाल अनलाइन 


    फाल्गुण १६, २०७७ आइतवार १७:५१:३३ बजे : प्रकाशित

    काठमाडौं उपत्यकामा ३७ सहित मुलुकभर ७८ जनामा कोरोना संक्रमण

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 274
    SHARES
  • काठमाडौं उपत्यकामा ३७ सहित मुलुकभर ७८ जनामा कोरोना संक्रमण

    काठमाडौँ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । आइतबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। 

    मन्त्रालयका अनुसार आज २,५३२ वटा नमुनाको परीक्षण गर्दा ७८ जना सङ्क्रमितहरू फेला परेका हुन्। अहिले फेला परेका सङ्क्रमितमध्ये ३७ जना काठमाडौं उपत्यकाका हुन्। जसमा काठमाडौँका २६ जना, भक्तपुरका ६ जना र ललितपुरका ५ जना रहेका छन्। 

    योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ७४ हजार १४३ पुगेको छ । पछिल्लो २४ घण्टामा ८२ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ४ सय ७ पुगेको छ । नेपालमा ९ सय ६२ सक्रिय संक्रमित रहेका छन् ।

    यसैगरी पछिल्लो २४ घण्टामा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७४ रहेको छ । 


    फाल्गुण १६, २०७७ आइतवार १६:४८:५२ बजे : प्रकाशित

    आज देशभर ९४ जनामा कोरोना संक्रमण

    क्यानाडानेपाल

    फाल्गुण १४

  • 344
    SHARES
  • आज देशभर ९४ जनामा कोरोना संक्रमण

    काठमाडौँ।  सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ११२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थपिएका ११२ सहित कूल संक्रमितको संख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको छ । 

    साथै पछिल्लो २४ घण्टामा ५४ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ७० हजार २ सय ७७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।  

    मन्त्रालयकाअनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय ३६ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ४ जना संक्रमितले ज्यान गुमाउनु परेको मन्त्रालयले जानकारी दिएको छ । नेपाल आजसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २,७७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    फाल्गुण १४, २०७७ शुक्रवार १६:२६:१३ बजे : प्रकाशित

    एकै डोज लगाउँदा हुने कोभिड-१९ को खोप 'सुरक्षित र प्रभावकारी'

    क्यानाडानेपाल

    फाल्गुण १३

  • 382
    SHARES
  • एकै डोज लगाउँदा हुने कोभिड-१९ को खोप 'सुरक्षित र प्रभावकारी'

    काठमाडौँ।  अमेरिकी औषधि नियामक निकायले गरेको जाँचमा जोनसन एन्ड जोनसनको एक मात्रा (डोज) लगाउँदा हुने कोभिड-१९ विरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको पाइएको छ। सम्भवत: केही दिनभित्रै अमेरिकामा आधिकारिकता पाउने यो कोभिडविरुद्धको तेस्रो खोप हुनेछ।

    यो खोप फाइजर र मोडेर्नाकोभन्दा सस्तो र भण्डारण गर्न सहज हुनेछ। यसलाई सामान्य रेफ्रिजेरेटरमा भण्डारण गर्न सकिन्छ। जोनसन एन्ड जोनसनले गत महिना आफ्नो परीक्षणको नतिजा सार्वजनिक गरेको थियो।

    उक्त औषधि उत्पादकको मालिक बेल्जियन कम्पनी जोनसनले परीक्षण नतिजाको विवरणले उसको उत्पादन गम्भीर रोगका लागि उच्च प्रभावकारी भएको देखाएको बताएको थियो। जोनसन एन्ड जोनसनबारेको यो नयाँ खबर कोभ्याक्स कार्यक्रम अन्तर्गत खोप प्राप्त गर्ने घाना पहिलो देश बनेका बेला आएको हो।

    यूएस फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले प्रकाशित गरेको विवरण पुस्तिकाले उक्त नियामकसमक्ष जोनसन एन्ड जोनसनले पेस गरेका विस्तृत विवरणहरूको जानकारी दिन्छ।

    एफडीएको निष्कर्ष छ- लक्षण देखिएका र गम्भीर बिरामीलाई रोग घटाउन जोनसन एन्ड जोनसनको खोपका "देखिने फाइदाहरू" पाइएका छन्। अमेरिका, दक्षिण अफ्रिका र ब्राजिलमा गरिएको परीक्षणमा भाइरसको सबैभन्दा खराब परिणाममा प्रभावकारिता "उस्तैखाले उच्च" रहेका थिए।

    तर दक्षिण अफ्रिका र ब्राजिलमा समग्रमा रोगबाट बचाउने कुरामा यसको प्रभावकारिता कम देखिएको थियो किनकी त्यहाँ नयाँ प्रकारका कोरोनाभाइरसहरू देखिएका छन्। परीक्षण विवरणले गम्भीर बिरामीलाई बचाउनका लागि उक्त खोप ८५ प्रतिशत प्रभावकारी रहेको देखाएको छ।

    तर समग्रमा भने यो ६६ प्रतिशत मात्र प्रभावकारी देखिएको छ। समग्रमा गरिएको परीक्षण नतिजामा खोप लगाएको २८ दिनपछिका मानिसहरू र सामान्यखाले लक्षण भएका मानिसहरूलाई हेरिएको थियो।

    खोप लगाएको २८ दिनपछि सहभागीमध्ये कसैको पनि निधन भएन भने कोही पनि अस्पताल भर्ना हुनु पनि परेन। विज्ञहरूको एउटा बाह्य समितिले शुक्रवार एफडीएले यो खोपलाई आधिकारिकता दिनुपर्छ कि पर्दैन भनेर सुझाव दिनेछ। ह्वाइट हाउसका एक जना अधिकारीले बाइडन प्रशासनले आगामी साता कम्तिमा ३० लाख मात्रा जोनसन एन्ड जोनसनको खोप बाँड्ने अनुमान गरेका छन्। कम्पनीले मार्च अन्त्यसम्ममा २ करोड मात्रा खोप आपूर्ति गर्ने योजनामा रहेको जनाएको छ। बीबीसी 


    फाल्गुण १३, २०७७ बिहिवार १२:२९:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोभिड-१९ को खोप
  • # एकै डोज

  • क्यानाडानेपाल

    आज देशभर ९४ जनामा कोरोना संक्रमण

    क्यानाडानेपाल

    फाल्गुण १२

  • 474
    SHARES
  • आज देशभर ९४ जनामा कोरोना संक्रमण

    काठमाडौँ।  सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ९४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थपिएका ९४ सहित कूल संक्रमितको संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ । 

    साथै पछिल्लो २४ घण्टामा ७१ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ७० हजार १ सय ३९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।  

    मन्त्रालयकाअनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ५५ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा एक जना संक्रमितले ज्यान गुमाउनु परेको मन्त्रालयले जानकारी दिएको छ । नेपाल आजसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २,०६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    फाल्गुण १२, २०७७ बुधवार १६:५५:२६ बजे : प्रकाशित