बिहीबार
२२ जेठ
२०७७

भारतको मात्रै होइन नेपालकै नक्सा त्रुटिपूर्ण, कालापानी नसमेटिएको खुल्यो रहस्य

आइतबार कार्तिक २४, २०७६/ Sunday 11-10-19

काठमाडौं । नेपाल सरकारले आफ्नो भूमि नसमेटिकन नक्सा सार्वजनिक गरेको रहस्य खुलेको छ । नेपाल सरकारले हाल कायम गरेको नक्सामा नेपाली भू्भाग पूरै नसमेटिएको दाबी गरिएको छ । भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूभाग समेटेपछि मुलुकभर विरोध भइरहेका बेला नेपाल स्वयम्ले आफ्नो भूभाग पुरै नसमेटिकन नक्सा सार्वजनिक गरेको रहस्य खुलेको हो । 

नेपाली भूभाग समेटेर भारतले नयाँ नक्सा सार्वजनिक गर्नुमा नेपालको सहमति हुन सक्ने आशंका गरिएको छ । नेपाल सरकार नापी विभागले जारी गरेको नक्सामै लिम्पियाधुरादेखि लिपुलेक (कालापानी)सम्मको ३७२ वर्ग किलोमिटर भन्दा धेरै नेपाली भूभागलाई नसमेटिएको अधिवक्ता सुजित केसीले क्यानाडानेपाललाई जानकारी दिए । अहिले सोही भूभाग (लिम्पियाधुरादेखि लिपुलेक)लाई भारतले आफ्नो नक्सामा समेटेको हो । ‘
नेपालले जारी गरेको नक्सामा कालापानी उल्लेख गरे पनि त्यो त्रुटि छ, उल्लेख भएको भन्दा माथि कालापानी हुनुपर्ने हो, तर छैन । कालापानी नै नसमेटिएको नक्सा नापी विभागले जारी गरेको हो’, अधिवक्ता केसीले भने । 

उनको दाबीप्रति ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले सहमति जनाए । ‘नेपाल सरकारले कालापानी नसमेटिकन नक्सा जारी गरेपछि विरोध गरौँ, फेरि कालापानी उल्लेख गरेर नक्सा जारी गर्‍यो, तर त्यो पनि त्रुटि छ’, क्यानाडानेपालसँग उनले भने, ‘नेपालको नक्सामा कालापानीसहितका नेपाली भूभाग पूरै समेटिएको छैन ।’

नेपाल सरकारले जारी गरेको आफ्नो मुलुकको नक्सामा कालापानीको पुरै भूभाग नसमेटिएकोबारे जानकारी लिन खोज्दा नापी विभागका सूचना अधिकारी दामोदर ढकालले यसबारे आफूले अध्ययन गर्न बाँकी रहेको क्यानाडानेपाललाई बताए । उनले आफू अहिले विराटनगरमा गोष्ठीमा रहेको र कालापानी भूभाग नसमेटिएको भन्नेबारे अध्ययन गर्न बाँकी रहेको बताए । नापी विभागकै अधिकारीबाटै आफ्नो नक्साको अध्ययन गर्न बाँकी रहेको जवाफ आउनु आश्चर्यजनक छ ।

फेरि उनलाई सोधियो, ‘विभागको वेबसाइटमा राखेको नक्सा सहि छ कि गलत छ ? जसमा कालापानीको पूरा भूभाग नसमेटिएको बताइएको छ त ?’ त्यसपछि विभागका सूचना अधिकारी ढकालले भने, ‘यसबारे अध्ययन नगरी भन्न सकिँदैन । तर नेपाल सरकारले जारी गरेको नक्सा नै नेपालको आधिकारिक नक्सा हो ।’

एकसाता अघि भारतले जारी गरेको नक्सामा नेपालको लिक्पियाधुरादेखि लिपुलेकलाई समेटेको छ । भारतको सो कदमप्रति नेपालभर विरोध प्रदर्शन भइरहेको छ । आफ्नो भूमि भारतको नक्साबाट हटाउन नेपाल सरकारबाट हालसम्म कूटनीतिक पहल भएको देखिँदैन । मुलुकभर विरोध हुन थालेपछि नेपाल सरकार परराष्ट्र मन्त्रालयले हस्ताक्षर बिनाको कर्मकाण्डी विज्ञप्ति जारी गर्नु र शनिबार प्रधानमन्त्री ओलीले सर्वपक्षीय रुपमा छलफल गर्नुबाहेक कूटनीतिकस्तरबाट कुनै कदम चालिएको छैन ।