काठमाडौं । सत्तारुढ नेकपाको आन्तरिक विवाद समाधान भइसकेको छैन ।
अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि साधारण सदस्यबाटै निलम्बन गरेपछि विवाद झनै उत्कर्षमा पुगेको छ ।
नेपाल–खनाल समूहले मुलुकभर सामान्तर कमिटी गठन गर्न थालेको छ । तर, यस अवस्थामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । अध्यक्ष ओलीले वैशाख ६ गते बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको हो ।
पार्टीभित्रको विवाद छलफल र संवादबाट अन्त्य गर्न सकिने नेता नेपालको सार्वजनिक अभिव्यक्तिपछि अध्यक्ष ओलीले सो बैठक बोलाएका हुन् । संवाद र छलफलबाटै विवादको समाधान र
गुट उपगुटको अन्त्य गर्नुपर्नेमा जोड दिँदै नेता नेपालले पार्टी भित्रको विवाद अन्त्य गर्न विधि र पद्धतिअनुसार बैठक र छलफल राख्नु पर्ने बताएका थिए । नेता नेपालको सो अभिव्यक्तिपछि अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । यो संयोग हो वा दुई नेताबीचको आपसी कुराकानीबाट बैठक बोलाइएको हो, यसबारे केही खुलेको छैन ।
माधवकुमार नेपालको लचकता
तर, आइतबार पर्साको वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा नेपालले पार्टीभित्रको विवाद समाधान गर्न सकिने र यसका लागि बैठक र छलफल राख्नुपर्ने बताएका थिए । यसको भोलिपल्ट सोमबार अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक आउँदो वैशाख ६ गतेका लागि बोलाएका हुन् ।
सो बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने नेताहरुको अपेक्षा छ ।
चैत्र ३०, २०७७ सोमवार
१४:१९:४९ बजे : प्रकाशित