मंगलबार
२० जेठ
२०७७

जब लिपुलेकमा भारतीय सेना बसेको खबर राजा महेन्द्रकहाँ पुग्यो...

आइतबार कार्तिक २४, २०७६/ Sunday 11-10-19

भारतसँग ऐतिहासिक सम्बन्ध छ । भारतसँग अनुपम र युनिक सम्बन्ध छ । तिर्थाटनदेखि प्रत्येक पक्षसँग भारतसँग सम्बन्ध छ । यो बहुमल्य सम्बन्धलाई विश्वासको आधारमा अघि बढाउनु पर्छ । भारत र चीन दुवै छिमेकी देशको मन जितेर मुलुकको विकास गर्दै नेपालीको जीवनस्तर उकास्नु पर्छ । भारतसँगको सम्बन्धलाई अरु देशसँगको सम्बन्धसँग तुलना गर्नु हुँदैन । एकअर्का देशप्रतिको  विश्वास र मित्रताका कारण नेपाल–भारतबीचको सिमाना खुल्ला गरिएको हो । कसैलाई पनि असुविधा नहुने गरी सीमाबाट को कति आउने जाने गर्छन्, यसको अब रेकर्ड राख्नुपर्छ । नेपालका केही यस्ता क्षेत्र छन्, जुन भारत भूमि भएर आफ्नो मुलुक आउनु पर्ने बाध्यता छ । 

नेपालको कमजोरी नेपाल नै हो, नेपाली धेरै कुरा गर्ने, कामतिर ध्यान नदिने ।  चार दशक भन्दा अघिको भन्दा उदयमान विश्व शक्ति भारतको चासो र चिन्तामा बदलाव आएको छ । चीनको जस्तै भारतको पनि विश्वमा बढ्दै गएको सम्बन्धले उसको योजना र चासोमा बद्लाव आएको हो । भारतको जायज चासोलाई सम्बोधन गर्ने  र नेपालको अहित हुने विषयलाई इन्कार गर्दै नेपालले आफ्नो राष्ट्रहितको विषयलाई सम्बोधन गर्न लगाउनुपर्छ । तर नेपाली नेताहरुको इतिहासबाट सिक्ने नखोज्ने र सहमतिलाई कार्यान्वयन गराउन अग्रसर नहुने ठूलो समस्या नै नेपालको समस्या हो । 

भारतले नेपाली भूमि लिपुलेक, कालापानी अतिक्रमण गर्न थालेको ६० वर्ष अघिदेखि हो । अहिले देखिएको समस्या रातारात भएको पनि होइन । ६० वर्ष अघिदेखिको यो समस्या किन नेपालले समाधान गर्न सकेन ? यसैको कारण अहिले यो समस्या आएको हो । सन् १९६२ मा भारत र चीनको लडाइँ भयो । त्यत्तिखेर उनीहरु आफ्नो रणनीतिक स्थानमा बसे । यसैबेला भारतले कालापानीलाई आफ्नो रणनीतिक स्थान देख्यो । त्यहाँबाट हामीले उत्तर (चीन)तिरको गतिविधि बुझ्न सक्छौँ भन्ने भारतले बुझ्यो । कालापानी रणनीतिक स्थान देखेपछि भारतीय सेना आएर बसे । भारतीय कालापानीमा आएर बसेका बेला नेपालमा प्रजातान्त्रिक व्यवस्थालाई मासेर राजाले तानाशाही व्यवस्था लादेका थिए । यो कुरा राजा महेन्द्रलाई जानकारी गराउँदा आएर बस्न देउ भन्ने आदेश दिएको भन्ने मैले पढेको थिएँ । प्रजातन्त्र आएपछि यसप्रति चासो र चिन्ता बढेको हो । अहिले भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा राख्ने कार्य गलत हो ।

नेपालले ती आफ्नै भूमि हो भनेर विज्ञप्ति निकालेरमात्रै हुँदैन । कूटनीतिक पहलबाट नेपालको अतिक्रमित भूमि भारतबाट छुटाउनु पर्छ । त्यहाँ अहिले भारतीय सेना बसेका छन् । नेपालले आफ्नो सेना पठाएर भारतीय सेनालाई फिर्ता पठाउन मिल्दैन । नेपालले आफ्नो भूमिबाट भारतीय सेना हटाउनु पर्छ । यसका लागि कूटनीतिक पहल आवश्यक छ, भइरहेको पनि छ । परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय हितका कुरालाई नेपालीको एउटै आवाज हुनुपर्छ । राष्ट्रिय आवाज एउटै भयो भने राष्ट्रिय ताकत बढ्छ । क्षणिक फाइदाका लागि राष्ट्रिय हित र परराष्ट्र नीतिलाई  सडकमा ल्याएर पोखियो, सडकको विषय बनाइयो ।  भोटका लागि कुरा उठाउने, भोट पाएपछि चुप लागेर बस्ने, राजनीतिक दल र नेताहरुमा एकअर्कालाई होच्याउने प्रवृत्ति छ, यसले पनि असर गरेको छ । सरकारमा बस्दा सब ठिक देख्ने र सरकारबाट बाहिरिएपछि सबै गलत देख्ने राजीतिक प्रवृत्ति पनि मुलुकको लागि अहित भइरहेको छ । 

विश्वको भू–राजनीतिमा बद्लाव भइरहेको छ । नेपालको छिमेकी शक्तिशाली भइरहेका छन् । उनीहरुको प्रभाव विश्वभर फैलिँदै गएको छ । भारत र चीनको प्रभावले आत्तिएका तेस्रो पक्षले नेपालमा खेलिरहेका छन् । नेपालले परराष्ट्र नीति बलियो बनाउनु पर्छ । सरकारले राष्ट्रिय हितलाई उजागर गर्दै जानुपर्छ र सरकारी संस्थाहरुले अगाडि बढाउनु पर्छ । सबै नेपालीमा यो नेपाल सबैको हो भन्ने भावना जगाउनु पर्छ, तब मात्रै राष्ट्रियता बलियो हुन्छ ।  सडकमा नाराबाजी गरेर र पेपरबाजी गरेर राष्ट्रियता बलियो हुँदैन । अहिलेका नेताहरुले सडकमा नाराबाजी गराउने र पेपरबाजी गराइरहेका छन् । 

विगतलाई बिर्सेर अघि बढ्न सक्दैनौँ । नेताहरुको स्वार्थ जनताले थाहा पाइसके, अब छाड्दैँनन् । जनताले कुरा उठाइराख्छन्, सरकारलाई दबाब दिइरहन्छन् । भारतसँग समस्या कुन कुन समय र परिस्थितिमा भयो भन्नेबारेमा बुझेर र प्रमाण बटुलेर कुटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ । वामपन्थी दलहरु भारत विरोधी नाराले दुई तिहाइ सरकार बनाउन सके, अब दलको मात्रै भएन यो सरकार, नेपाल र नेपालीको वर्तमान सरकारले यसबारे कुरा उठाउने विश्वास लिएको छु । 

– डा. भट्टराईसँगको कुराकानीमा आधारित

                                                                                                                                          ooooooo

डा. दिनेश भट्टराई परराष्ट्र मामिलाका जानकार हुन् । परराष्ट्र मन्त्रालयको सहसचिव हुँदै संयुक्त राष्ट्रसङ्घीय नियोगहरूका लागि स्थायी प्रतिनिधि भएर काम गरेका उनले अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन् । उनै भट्टराईसँग क्यानाडानेपालका सन्तोष निरौलाले लिएको यो भिडियो अन्तर्वार्ता :