शुक्रबार
२० मङ्सिर
२०७६

दक्षिण एसियाकै ठूलो मेला ‘गढीमाई मेला’ सुरु (फोटोफिचर)

सोमबार कार्तिक २५, २०७६/ Monday 11-11-19

काठमाडौं । बारामा रहेको प्रसिद्ध गढीमाईको पञ्चवर्षीय मेला आज (मंसिर १)बाट सुरु भएको छ । एक महिनाभर लाग्ने गढीमाई मेलामा धार्मिक पर्यटक, लाखौँ पशुबलि, भव्य मनोरन्जनसहित हुने छ । यो दक्षिण एसियाकै ठूलो मेला मानिन्छ ।पहिलो पटक गढीमाईको दर्शन, पूजाआजा गरेर आफनो भाकल गर्ने र अर्को मेलामा बली चढाउने परम्परा रहेको यस गढीमाइमा भारतको बिहार, उत्तर प्रदेश, पश्चिम बंगालसहित विभिन्न स्थान तथा बंगलादेश, भुटान र नेपालका विभिन्न क्षेत्रहरुबाट दर्शनार्थी आउने गर्छन् ।

मन्दिरबाट पूर्व दक्षिणतिर पीपलबोटसँगै रहेको ब्रहृमास्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँच दिनसम्मको पूजा गरिसकेपछि गढीमाइका बहिनीहरू कटबासीमाई, ककालीमाई, मनकामना, संसारी, साम्ये, राजदेवी, गढवाडा, जोरलाही, वनशक्ति आदिको पनि पूजा गरिन्छ ।

यसपछि अन्य दर्शनार्थीहरुका लागि दर्शन खुला गरिने मुल पुजारी मंगल चौधरीले जानकारी दिए । यसपटक एक करोड दर्शनार्थी गढिमाई पुग्ने गढीमाई मूल व्यवस्थापन समितिका महासचिव मोतीलाल कुशवाहले बताए । पुजारीहरुको समूहले १७ गते वनमा गई तान्त्रिक पूजा गरी भेटिएको सेतो मुसासहित बोका, लोकल कुखुरा भाले, सुगुंर, परेवा र मानव रगत ५ थोपा बलि दिएपछि यज्ञमा राखिएको दियो आफैँ प्रज्वलित हुने छ  । 

रातको २ बजेदेखि पूजा प्रारम्भ गरी दियो प्रज्वलित भएपछि लगतै हाँसको ५ वटा अण्डा बली दिइ अण्डामै त्रिशूल गाडिने छ अनि ५ बटा रागां मन्दिरकै मौलामा बली गरेपछि भाकल गरी ल्याएका श्रद्धालुहरुको पशु बली खुल्ला हुने प्रचलन रहेको पुजारी चौधरीको भनाइ छ ।