शुक्रबार
२० मङ्सिर
२०७६

कालापानीबारे सांसदको प्रश्नको जवाफ नदिइ प्रचण्ड एक्कासी बैठकबाट बाहिरिए, भने– इमरजेन्सी पर्‍यो

सोमबार कार्तिक २५, २०७६/ Monday 11-11-19

काठमाडौं । भारतले आफ्नो नक्सामा नेपाली भूमि समेटेपछि नेपालभर विरोध प्रदर्शन भइरहेको छ । यसबारे छलफल गर्न सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सरोकारवालालाई बोलाएको थियो । तर, नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली स्वास्थ्यका कारण देखाउँदै आएनन् । अर्का अध्यक्ष प्रचण्ड बैठकमा सहभागी भए । 

बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नेपाल र भारतको सीमाको समस्या अन्तर्राष्ट्रियकरण गर्ने बेला नभएको भन्दै आपसी छलफल र संवाद गरेर टुंग्याउनु पर्ने बताए। ‘सीमा समस्या अहिल्यै अन्तर्राष्ट्रियकरण गर्ने समय भएको छैन, अन्तर्राष्ट्रियकरण गर्‍यो भने झन् समस्या पैदा हुन्छ’, उनले भने । 

एक इञ्च पनि भूमि नछोड्ने र अरूहरूको पनि एक इञ्च भूमि नलिने भन्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी एक इञ्च पनि भूमि छोड्न सक्दैनौं र हामीलाई कसैको एक इञ्च भूमि पनि चाहिएको छैन’, उनले भने।
तर, सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने बेलामा भने प्रचण्ड बैठकबाट उठेर हिँडेका छन् ।

उनले आफूलाई इमरजेन्सी परेको भन्दै बैठकबाट बाहिरिएका हुन् । गत नोभेम्बर १ मा भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक राखेकोप्रति नेपालभर विरोध प्रदर्शन भइरहेको हो।