शुक्रबार
२० मङ्सिर
२०७६

प्रचण्डको एक अभिव्यक्ति, जसले सारा नेपालीको मन दुखायो

सोमबार कार्तिक २५, २०७६/ Monday 11-11-19

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड तत्कालीन नेकपा माओवादीका अध्यक्ष पनि हुन् । उनको नेतृत्वमा मुलुकमा १० वर्ष सशस्त्र युद्ध भयो । उनी नेतृत्वको माओवादीले भारतीय विस्तारवादी र अमेरिकी साम्राज्यवादीविरुद्ध आवश्यक परे युद्ध गर्ने उद्घोष गरेको थियो । नेपालको भूमि कब्जा गर्न खोजे भारतसँग सुरुङ युद्ध गर्ने माओवादी उद्घोषले सारा नेपालीको मन छोएको थियो । तर, भारतले नेपाली भूमि मिच्न कहिल्यै छोडेन, बरु प्रचण्डले आफ्नो अभिव्यक्ति र धारणा फेर्दै गए । अहिले नेपालको भूमि मिचिएको मात्रै छैन, भारतले आफ्नो राजनीतिक नक्सामै नेपाली भूमि राखेको छ । आवश्यक परे सुरुङ युद्ध गर्ने बताएका प्रचण्डले अहिले युद्ध गर्ने कुरा गर्दैनन्, युद्ध गर्नु पनि हुँदैन । तर, भारतले सीमा मिचेकोबारेमा नेपालीले आवाज उठाउन नहुने तर्क प्रचण्डले गरेका छन् ।  

गत नोभेम्बर १ मा भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गर्‍यो । जसमा नेपालको दार्चुला जिल्लाको लिम्पियाधुरादेखि कालापानी र लिपुलेकसम्मको १७२ वर्ग किलोमिटर समेटिएको छ । भारतको सो दादागिरीप्रति नेपालीले विरोध प्रदर्शन गरिरहेका छन् । हालसम्म सत्तारुढ नेकपाबाट यसप्रति विरोध जनाउँदै औपचारिक रुपमा एउटा विज्ञप्तिसमेत आएको छैन । एकाध नेताले मात्रै विरोध जनाएका छन् । प्रधानमन्त्री ओलीले पहल लिन थालेको देखिन्छ । प्रधानमन्त्री ओलीले गएको शनिबार सर्वपक्षीय छलफल गरेका थिए । 

भारतको हेपाह प्रवृत्तिप्रति नेपाली नागरिक सडकमा उत्रिनु अस्वभाविक होइन । यसमा नेताहरुले साथ दिएर भारतलाई सच्याउन दबाब दिनु पर्ने, तर नेताहरु तैँ चुप मैँ चुप देखिएका छन् । भारतले नेपालको भूमि मिच्दा जनताले सास्ती पाएको हेरेर बस्ने नेताहरुका कारण अहिले उसले नेपालको अतिक्रमित नेपाली भूमि नक्सामा समेटेको जानकारहरु बताउँछन् । नेपालको राजनीतिमा भारतको ठूल्दाइ पारा चल्ने आरोप लाग्दै आएको छ । यसलाई पुष्टि गर्ने गरी सोमबार प्रचण्डले अभिव्यक्ति दिएका छन् । भारतले नेपालको अतिक्रमित भूमिलाई आफ्नो नक्सामा समेटेर दादागिरी देखाउँदा कूटनीतिक असर नपर्ने, तर नेपालीले यसको विरोध गर्दा अन्तर्राष्ट्रियकरण हुने हुँदा कूटनीतिमा असर पर्ने प्रचण्डको अभिव्यक्तिले सारा नेपालीको मन दुखाएको छ । 

भारतले आफ्नो नक्सामा नेपाली भूमि समेटेको विषयमा छलफल गर्न सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नेकपाका अध्यक्ष प्रचण्डसहित सरोकारवालालाई बोलाएको थियो । अध्यक्ष प्रचण्ड बैठकमा सहभागी भए । बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नेपाल र भारतको सीमाको समस्या अन्तर्राष्ट्रियकरण गर्ने बेला नभएको भन्दै आपसी छलफल र संवाद गरेर टुंग्याउनु पर्ने बताए। भारतले आफ्नो नक्सामा नेपालको अतिक्रमित भूमि समेटेर विश्वव्यापी बनाउँदा कूटनीति ख्याल गरेको देखिँदैन । नेपालले एकतर्फी कूटनीति ख्याल गरेर समस्या समाधान हुन्छ ? भन्ने आम मानिसको प्रश्न छ । 

‘सीमा समस्या अहिल्यै अन्तर्राष्ट्रियकरण गर्ने समय भएको छैन, अन्तर्राष्ट्रियकरण गर्‍यो भने झन् समस्या पैदा हुन्छ’, बैठकमा प्रचण्डले भने, ‘हामी एक इञ्च पनि भूमि छोड्न सक्दैनौं र हामीलाई कसैको एक इञ्च भूमि पनि चाहिएको छैन ।’ लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपाली भूमि नै भएको भन्दै उनले भने, ‘समस्या समाधानका लागि भारतसँग कुटनीतिक तहमा उच्चस्तरीय वार्ता गर्नुपर्छ, उच्चस्तरीय कुटनीतिक सम्वादबाट समाधान भएन भने दोस्रो चरणमा अन्तर्राष्ट्रिय अदालत वा अन्तर्राष्ट्रिय कुटनीतिक नियोगमार्फत समाधान खोज्न सकिन्छ। प्राथमिकता कुटनीतिक सम्वादमा जाउँ, त्यो सम्भव नभए दोस्रो बिकल्पमा जाउँला।’

गत नोभेम्बर १ मा भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक राखेकोप्रति नेपालभर विरोध प्रदर्शन भइरहेको हो।


यो पनि पढ्नुहोस:  

                          जब लिपुलेकमा भारतीय सेना बसेको खबर राजा महेन्द्रकहाँ पुग्यो...

                         भारतको मात्रै होइन नेपालकै नक्सा त्रुटिपूर्ण, कालापानी नसमेटिएको खुल्यो रहस्य

                          भारतले शिव र कालीको अस्थायी मन्दिर बनाएर महाकाली नदीको मुहान देखायो (भिडियो कुराकानी)