• Mar 06 2021 | २०७७, फाल्गुण २२गते

२०७७, फाल्गुण २२गते

मङ्गल ग्रहमा पर्सिभिअरन्स अवतरण गर्दै गरेको भिडियो सार्वजनिक

क्यानाडानेपाल फाल्गुण ११ २०७७
  • 474
    SHARES
  • मङ्गल ग्रहमा पर्सिभिअरन्स अवतरण गर्दै गरेको भिडियो सार्वजनिक

    अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले उसको पर्सिभिअरन्स रोभर मङ्गल ग्रहमा अवतरण गर्दै गरेको एउटा अद्‌भुत भिडिओ सार्वजनिक गरेको छ।

    उक्त भिडियोमा गत साता मङ्गल ग्रहमा पर्सिभिअरन्स रोभर अवतरण गर्दाको अन्तिम क्षणलाई देखाइएको छ। त्यसमा रोबटका चक्काले मङ्गल ग्रहको सतहमा टेक्दासम्मको दृश्य समेटिएको छ।

    उक्त भिडिओमा धुलोको फन्का देखिन्छ र मोटर गाडीझैँ देखिने रोबट अवतरण नजिक पुग्दा धुलोका कणहरू उछिट्टिएर उसतर्फ आएको देखिन्छ।

    पर्सिभिअरन्सलाई रकेटले झुलाउँदै जेजेरो क्रेटर नाम दिइएको मङ्गल ग्रहको सतहमा राखेको हो। उक्त यन्त्र जेजेरो क्रेटर नाम दिइएको मङ्गल ग्रहको एउटा लक्षित सतहमा अवतरण गरेको हो।

    पर्सिभिअरन्समा क्यामेराहरू बाँधेर पठाइएको थियो। तीमध्ये सात वटा क्यामेरा उसको अवतरणको रेकर्डिङका लागि खटाइएका थिए।

    ती क्यामेराका तस्बिरहरूले इन्जिनियरहरूका लागि महत्त्वपूर्ण सुझाव दिनेछन्। त्यसले उक्त रातो ग्रहको सतह अध्ययनका लागि थप प्रविधि सुधारमा सहयोग गर्नेछ।

    नासाको मङ्गल मिसनको नियन्त्रण केन्द्र रहेको क्यालिफोर्नियास्थित जेट प्रोपल्सन ल्याबरोटरीका निर्देशक माइक वाट्किन्स यी भिडिओहरूमा उक्त रोभरको कार्य हेरेर आफूहरूले केही कुरा सिक्ने बताउँछन्।

    त्यसमा जडान गरिएका क्यामेराहरूलाई मुख्य घटनाहरूको पूर्ण रेकर्ड गर्न सकिने गरेर राखिएको थियो।

    यो भिडिओले रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गर्ने अन्तिम सात मिनेटमध्येमा पनि सबैभन्दा पछिल्ला चार मिनेटको जानकारी दिएको थियो।उक्त ल्याबरोटरीका क्यामेराको काम हेर्ने नेतृत्वकर्ता डेभ ग्रुएलका अनुसार उनीहरूले मङ्गलको सतहमा अवतरण हुँदै गर्दाको ३० गिगाबाइट्स सूचना र २३ हजार वटाभन्दा बढी तस्बिरहरू सङ्कलन गरेका छन्।

    प्यारासुटतर्फ खिच्ने तीनमध्ये एक क्यामेरा असफल भए पनि अन्य ६ वटा क्यामेराहरूले कुनै पनि त्रुटीविना काम सम्पन्न गरेका थिए। नासाले अवतरणको आवाज पनि रेकर्ड हुने आशा राखेको भए पनि त्यो चाहिँ सफल हुन सकेन।

    यद्यपि उक्त समूहले सतहमा एउटा माइक सञ्चालन गर्न सफल भएकाले आगामी दिनमा पर्सिभिअरन्सको कामलाई सुन्न सकिने सम्भावना रहेको छ।

    एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ। छ वटा पाङ्ग्रा भएको उक्त रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहमा पुगेको हो।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    फाल्गुण ११, २०७७ मंगलवार ०८:३९:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मङ्गल ग्रह

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    भारतको एक रहस्यमय ताल, जहाँ सयौँ मानिसको अस्थिपञ्जर छरपस्ट छ

    क्यानाडानेपाल

    फाल्गुण १८

  • 1.0K
    SHARES
  • भारतको एक रहस्यमय ताल, जहाँ सयौँ मानिसको अस्थिपञ्जर छरपस्ट छ

    भारतीय हिमालयस्थित एउटा हिमाली उपत्यकामा रहेको विकट तालमा सयौँ मानव अस्थितपञ्जर छरिएका छन्।

    उत्तराखण्ड राज्यस्थित भारतको एउटा अग्लो हिमाल त्रिशूलको चुचुरोको ठाडो भिरालोमा रहेको रूपकुण्ड समुद्र सतहबाट ५०२९ मिटर उचाइमा छ।

    'अस्थिपञ्जरको ताल'मा मानव अवशेषहरू छरिएको र हिउँमा दबेको कुरा सन् १९४२ मा एउटा ब्रिटिस रेन्जरको गस्तीले पत्ता लगाएको हो।

    वर्षको अधिकांश समय हिउँ जमिरहने उक्त तालको आकार मौसमअनुसार घट्ने र बढ्ने हुन्छ। हिउँ पग्लिएका बेला अस्थिपञ्जर देखिन्छन्। कहिलेकाहीँ त त्यसमा मासु टाँसिएको र सग्लै रहेको देखिन्छ।

    अहिलेसम्म त्यहाँ ६०० देखि ८०० जना मानिसको शरीरको अवशेष फेला परेको अनुमान छ।

    'रहस्य'मा पुरिएका को थिए ती?
    पर्यटन प्रवर्द्धनका निम्ति स्थानीय सरकारले त्यसलाई 'रहस्यपूर्ण ताल' भन्ने गरेको छ।

    आधा शताब्दीभन्दा लामो समयदेखि मानवशास्त्री र वैज्ञानिकहरूले अवशेषको अध्ययन गरेका छन् तर गुत्थी सुल्झिएको छैन।

    ती मानिस को हुन्? कहिले मृत्यु भयो? ती कहाँबाट त्यहाँ पुगेका थिए?

    himadri_sinha.jpg

    त्यससँग एउटा पुरानो कथा जोडिन्छ जसमा भारतीय राजा, उनकी पत्नी र सेवकहरू करिब ८७० वर्षअघि हिउँको सिरेटोको सिकार भएका थिए।  

    अर्को कथा पनि छ, केही मानव अवशेष सन् १८४१ मा तिब्बत कब्जा गर्न गएका भारतीय सुरक्षाकर्मीहरूको हो जसलाई परास्त गरेर भगाइएको थियो।

    उक्त भनाइअनुसार ७० भन्दा धेरै सुरक्षाकर्मी हिमालयको बाटो हुँदै घर फर्किन बाध्य बनाइए र बाटोमै उनीहरूको मृत्यु भएको थियो।

    एउटा अर्को मान्यताअनुसार त्यो एउटा अन्तिम संस्कार गर्ने स्थल पनि हुनसक्छ जहाँ महामारीका पीडितहरूको अन्तिम संस्कार गरिएको होस्।

    त्यस क्षेत्रमा पर्ने गाउँहरूमा चर्चित एउटा लोकगीतमा भगवती नन्दादेवीले फलाम जत्तिकै कडा आँधीको सृष्टि गरिन् जसले गर्दा ती मानिस त्यहीँ पुरिए। भारतको दोस्रो अग्लो हिमाल नन्दादेवीलाई भगवतीको रूपमा श्रद्धा गरिन्छ।

    पाको उमेरका महिला पनि
    अस्थिपञ्जरबारे यसअघिका अध्ययनहरूले मारिएका अधिकांश मानिसहरू 'औसत संरचनाभन्दा' अग्ला रहेको पत्ता लगाएका छन्।

    धेरैजसो ३५ देखि ४० वर्षका रहेको एवम् शिशु र बालबालिका नरहेको पत्ता लगाइएको छ। केही पाको उमेरका महिला थिए जो सबैको स्वास्थ्य सामान्यता राम्रो थियो। साथै त्यो अवशेष नवौँ शताब्दीमा कुनै महाविपत्तिमा परेर ज्यान गुमाएका एउटै समूहका मानिसको भएको आम मान्यता पनि पाइन्छ। भारत, अमेरिका र जर्मनीका १६ वटा संस्थाका २८ जना सहअध्येताहरू संलग्न पछिल्लो पाँच वर्ष लामो अध्ययनले ती अनुमानहरू सत्य नहुन सक्ने उल्लेख गरेको छ। वैज्ञानिकहरूले जेनेटिक विश्लेषण र कार्बन डेटेड विधिबाट १५ जना महिलासहित ३८ वटा मानव अवशेषको अध्ययन गरेका थिए जसमा केही १,२०० सय वर्षअघिका थिए।जसअनुसार मृतकहरू वंशाणुगत रूपमा फरक-फरक छन् र मृत्यु पनि एक हजार वर्षसम्मको अन्तरमा भएको छ।

    atish waghwase.jpg

    "यसले एउटै प्रलयका कारण सबैको मृत्यु भएको मान्यताको खण्डन गरेको छ," अध्ययनको नेतृत्व गरेकी हार्वर्ड विश्वविश्वविद्यालयमा विद्यावारिधिकी विद्यार्थी एडाओइन हार्नी भन्छिन्।

    "रूपकुण्डमा के भएको थियो भन्ने अझै अस्पष्ट छ तर एउटा घटनामा सबैको मृत्यु भएको थियो भनेर व्याख्या गर्न नसकिने निष्कर्षमा अब हामी निश्चिन्त भएका छौँ।"

    एउटै घटनामा मारिएका हुन्?
    तर थप चाखलाग्दो कुरा के हो भने वंशाणुगत अध्ययनले मृतकहरूको एउटा समूह अहिले दक्षिण एसियामा बसिरहेका मानिसहरूसँग मिल्दो देखिन्छ। अर्को समूह अहिले युरोप खासगरी ग्रिकको क्रिट टापुमा बस्नेहरूसँग 'निकट सम्बन्धित' देखिन्छ।

    अनि दक्षिण एसियालीसँग मिल्ने मृतकहरू पनि 'एउटै समुदायको भएको देखिन्न'।"

    तीमध्ये केहीको वंश उपमहाद्वीपको उत्तर र केहीको दक्षिणतर्फका मानिसहरूसँग मिल्दोजुल्दो छ," हार्नीले भनिन्।त्यसो भए केही सय वर्षअघि फरक-फरक समूहका मानिसहरू ससाना समूहमा यात्रामा गएका थिए? तीमध्ये केही एउटै घटनामा मारिएका हुन्?ताल व्यापारिक मार्गमा पर्दैन र त्यहाँ हातहतियार वा व्यापारिक सामग्री भेटिएका छैनन्। 

    वंशाणुगत अध्ययनले कुनै प्राचीन जैविक कीटाणु पनि फेला परेको छैन जसले गर्दा रोगका कारण ती मानिस मारिएको बताउन सकियोस्।

    युरोपबाट हिन्दु तीर्थाटनमा?
    मानिसहरू त्यो क्षेत्रमा किन यात्रा गर्दै थिए भन्ने कुरा सम्भवतः तालको बाटोमा पर्ने तीर्थस्थलले जनाउँछ। अध्ययनहरूले १९औँ शताब्दीको अन्त्यसम्म त्यस क्षेत्रमा तीर्थस्थलको विश्वसनीय प्रमाण नरहेको देखाएका छन्।

    तर स्थानीय मन्दिरहरूका आठौँ र १०औँ शताब्दीको बीचका शिलालेखले 'सम्भावित तीर्थाटन औँल्याउँछन्।'त्यसैले वैज्ञानिकहरूले त्यस क्षेत्रमा फेला परेका केही अवशेषहरू 'तीर्थाटनकै क्रममा सामूहिक मृत्यु' भएकाहरूको हुनसक्ने विश्वास गर्छन्।

    तर पूर्वी भूमध्यसागर भूमिबाट कसरी मानिसहरू भारतको अग्लो हिमालस्थित विकट तालसम्म पुगे?

    युरोपबाट लामो बाटो हुँदै हिन्दू तीर्थस्थलमा सहभागी हुन रूपकुण्ड मानिसहरू पुग्ने सम्भावना कम देखिन्छ।

    वा वंशाणुगत रूपमा अलग पूर्वी भूमध्यसागर क्षेत्रका पूर्वजका कैयौँ पुस्ता त्यस क्षेत्रमा बस्दै आएका थिए?"हामी अझैँ पनि जबाफहरूको खोजी गरिरहेका छौँ," हार्नीले भनिन्। - यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । सौतिक विस्वास बीबीसी नेपालीका भारत संवाददाता हुन् । 


    फाल्गुण १८, २०७७ मंगलवार ०९:४५:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रहस्यमय ताल

  • आफ्नै भाले कुखुराको चक्कु प्रहारबाट मालिकको ज्यान गयो

    क्यानाडानेपाल

    फाल्गुण १६

  • 918
    SHARES
  • आफ्नै भाले कुखुराको चक्कु प्रहारबाट मालिकको ज्यान गयो

    काठमाडौं - भारतमा आफैले पालेको कुखुराले आक्रमण गर्दा एक जनाको ज्यान गएको छ । दक्षिणी भारतीय क्षेत्र तिलंगणामा भाले जुधाईको क्रममा भालेको आक्रमणबाट मालिकको ज्यान गएको हो । 

    यो घटना गएको हप्ताको हो । तेलंगणाको लोथुनुर गाउँमा एक समूहले अवैध भाले जुधाईको आयोजना गरेका थिए। उक्त भाले जुधाईमा खुट्टामा चक्कु बाँधिएको भालेले आफ्नै मालिकको ज्यान लिएको हो । 

    भाले जुधाईका क्रममा भाले भाग्न खोजेको थियो। त्यसै बेला भाले समात्न खोज्दा चक्कु जडान भएको भालेले मालिकलाई नै चिथार्दै भाग्ने प्रयास गरेर धाइते बतायो । भालेले चिथोर्दा मालिकको तिघ्राको रक्त नलीमा चोट लाग्यो । उनको शरिरमा रगत बग्न थाल्यो । 

    अत्याधिक रक्तश्रावका कारण उनको अस्पताल लग्दै गर्दा ज्यान गयो । अहिले यस घटनाको अनुसन्धानको क्रममा १५ व्यक्तिको खोजि गरिरहेको छ। यसअघि नै भाले जुधाईलाई भारतीय कानुनले अवैधानिक बताइसकेको छ।
     


    फाल्गुण १६, २०७७ आइतवार १५:२३:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भाले कु्खुरा

  • क्यानाडानेपाल डेस्क

    अमेरिकामा भेटियो यस्तो अनौठो चरा, 'आधा भाले, आधा पोथी'  

    क्यानाडानेपाल

    फाल्गुण १५

  • 610
    SHARES
  • अमेरिकामा भेटियो यस्तो अनौठो चरा, 'आधा भाले, आधा पोथी'  

    अमेरिकाको पेन्सिल्भेनियामा एक पक्षीविद्ले आधा पोथी र आधा भालेजस्तो देखिने एउटा चराको तस्बिर खिचेका छन्।

    उनकी एकजना साथीले नोर्दन कार्डिनल भनिने उक्त चरा देखा परेको बताएपछि पक्षीविद्ले आफ्नो क्यामरामा उक्त चराको तस्बिर लिएका थिए।द्विलिङ्गी वा उभयलिङ्गी चराहरू दुर्लभ हुन्छन्।

    भाले कार्डिनलहरू चम्किलो रातो रङ्गका हुन्छन् भने पोथीहरू फिक्का खैरो रङ्गका हुन्छन्।यी रङ्गको मिश्रणले चरा द्विलिङ्गी भएको सङ्केत गर्न सक्छ।अवकाशप्राप्त पक्षीविज्ञ जेमी हिलले बीबीसीलाई भने, "यो जीवनकालमै एउटा र लाखौँ साक्षात्कारमध्येको एउटा थियो।"

    हिलका साथीले उनलाई उनले एउटा "अस्वाभाविक" चरा देखेको बताएकी थिइन्।सुरुमा हिलले उक्त चरा 'लूसिस्टिक' होला भन्ठानेका थिए।चराले आफ्नो प्वाँखमा हुनुपर्ने रङ्ग अर्थात् पिग्मेन्टेशन गुमाएको अवस्थालाई 'लूसिसिजम्' अर्थात् 'पाण्डु' भनिन्छ।

    उनलाई सुरुमा उक्त चरा आधा भाले र आधा पोथी भएको जस्तो लागेको थिएन।

    तर मोबाइलमा तस्बिरहरू हेरेपछि उनले उक्त चरालाई 'बाइल्याटरल गाइन्यान्ड्रोमर्फिजम' भएको हुन सक्ने आशङ्का गरेका थिए।बाइल्याटरल गाइन्यान्ड्रोमर्फिजम भएका चरामा काम गर्ने अवस्थाकै अण्डाशय र डिम्बाशय दुवै हुन्छन्।

    उनी उक्त कार्डिनल चरा देखिएको स्थानमा गए। एक घण्टाभित्र उनी उक्त अस्वाभाविक चराको तस्बिर लिन सफल भए।

    "घर पुगेर मसँग वास्तवमै केका तस्बिरहरू थिए भनेर नहेरुन्जेल फोटो खिचेको पाँच घण्टासम्म मेरो मुटु ढुकढुक गरिरह्यो," उनले भने।

    "मैले करिब दुई दशकदेखि लोपोन्मुख हात्तीदन्ते काठफोरा (एकखाले लाहाँचे चरा) खोजिरहेको थिएँ। तर हाम्रो घरपछाडि पाइने एउटा सामान्य चराको दुर्लभ अवस्थाको तस्बिर लिइरहँदा म काठफोरा भेटे बराबर नै उत्साहित छु।"

    आधा भाले र आधा पोथीको रूप भएका चराहरू भेटिनु निकै दुर्लभ घटना भएको वेस्ट्रर्न इलनोई विश्वविद्यालयका प्राध्यापक ब्रायन पीयर बताउँछन्।

    cardinal bisd.jpg

    उनले अमेरिकाका नोर्दन कार्डिनल चराहरूमा 'बाइल्याटरल गाइन्यानन्ड्रोमर्फिजम'को सर्वेक्षण गरेका छन्।

    शुक्रकीटले डिम्बलाई निषेचन गरेपछि भ्रूण बन्न कोषहरू विभाजन हुने क्रममा त्रुटि हुँदा यस्तो अवस्था आउने उनी बताउँछन्।तर उक्त क्षेत्रमा सम्भावित यस्तो किसिमको चरा देखिएको पहिलो पटक होइन।

    न्याश्नल जियोग्राफिकका अनुसार सन् २०१९ मा एक दम्पतीले नजिकैबाट त्यसै क्षेत्रमा यस्तै चरा देखेका थिए।

    bisd amwe.jpg

    हिल अहिले देखिएको चरा पनि त्यही हुन सक्ने अनुमान गर्छन्।प्राध्यापक पीरका अनुसार नोर्दन कार्डिनल उत्तरी अमेरिकामा जताजतै पाइने चरा हो।

    यसको भाले र पोथीलाई सहजै चिन्न सकिने भएकाले उभयलिङ्गी चरा चिन्न पनि सजिलै सकिने उनको भनाइ छ।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।


    फाल्गुण १५, २०७७ शनिवार १७:३५:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आधा भाले, आधा पोथी
  • # अनौठो चरा

  • क्यानाडानेपाल डेस्क

    विश्वमै दुर्लभ मानिएको ‘ब्ल्याक प्यान्थर’ काभ्रेमा फेला

    क्यानाडानेपाल

    फाल्गुण ५

  • 1.3K
    SHARES
  • विश्वमै दुर्लभ मानिएको ‘ब्ल्याक प्यान्थर’ काभ्रेमा फेला

    धुलिखेल । विश्वमै दुर्लभ मानिएको ‘ब्ल्याक प्यान्थर’ नेपालमा फेला परेको छ । वयस्क ब्ल्याक प्यान्थर काभ्रेजिल्लाको पलाञ्चोक भगवती नजिकै भेटिएको हो । 

    ब्ल्याक प्यान्थरलाई त्यहाँका स्थानीयले मृत अवस्थामा फेला पारेका हुन् । विश्वमै दुर्लभ मानिएको ‘ब्ल्याक प्यान्थर’ फेला परेपछि जिल्ला वन कार्यालय काभ्रेले अनुसन्धान शुरु गरेको जनाइएको छ । ब्ल्याक प्यान्थर चितुवा वर्गमा पर्ने गर्छ । 

    black.jpg

    तस्बिरमा देखिए जस्तै ब्ल्याक प्यान्थर को पुरै शरिर कालो रंगको हुन्छ । काभ्रेमा फेला परेको यो चितुवा  ६ फिट लम्बाई र ३ फिट उचाइ भएको बताइएको छ । यसको उमेर करिब १० वर्षको रहेको अनुमान लगाइएको छ । 

    अत्यन्त दुर्लभ वन्यजन्तुमा पर्ने यो ब्ल्याक प्यान्थर एसिया र अफ्रिका लगायतका जंगलमा पाइन्छ । ब्ल्याक प्यान्थर के कारणले मरेको भन्ने खुल्न सकेको छैन । 


     


    फाल्गुण ५, २०७७ बुधवार २१:४९:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काभ्रे
  • # ब्ल्याक प्यान्थर
  • # दुर्लभ

  • क्यानाडानेपाल डेस्क

    विश्वकै यी अनौठी बच्ची, जसका औला ३१ वटा छन्

    क्यानाडानेपाल

    फाल्गुण २

  • 956
    SHARES
  • विश्वकै यी अनौठी बच्ची, जसका औला ३१ वटा छन्

    काठमाडौं । विश्वमा विभिन्न कारणले अनौठा बच्चाको जन्म भइरहेको हुन्छ । हामिले दुई ज्यान जोडिएका बच्चाको जन्म भएका सुन्दै आइरहेका छौ । 

    यस्तो घटना सुन्दै आएका हामिलाई बढी औला भएका बच्चा जन्मेको सुन्नु नौलो कुरा होइन । हाम्रा हात खुट्टामा पाँच पाँच वटा औला हुन्छन् । तर यस्ता बच्चाको पनि जन्म भइरहेको छ जसका हात खुट्टामा पाँच भन्दा बढी औला भएका छन् । 

    चीनको वुनान प्रान्तमा एक अनौठो बच्चाको जन्म भयो, जसका हात र खुट्टाका औला ३१ वटा छन् । हांग हांग नाम गरेकी उनी ४ महिनाकी हुँदा औलाका कारण चर्चामा आएकी थिइन् । 

    उनको हातको ५ औला र खुट्टाका १६ औला छन् । त्यसमा पनि सबैमा २–२ हांगा जस्तो पलाएका छन् । अनौठी बच्चाको जन्म भएपछि डाक्टरले पोलिडेक्टलिज्म भएको बताए। 

    यस्तो समस्या मानिस, कुकुर र बिरालोमा पनि हुने बताइएको छ । यस्तो समस्या भएमा डाक्टरहरुले सर्जरी गरेर हटाउने गर्छन् । यो हजार बच्चामा एक बच्चामा देखिने डाक्टरहरु बताउछन् । खासमा यस्तो समस्या जन्मजात नै हुन्छ । हांगको आमाको पनि जन्मजात कै समयमा ६ औला रहेका थिए । 

     


    फाल्गुण २, २०७७ आइतवार २१:५१:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अनौठी बच्ची

  • क्यानाडानेपाल डेस्क

    फ्रान्समा प्राचीन सिकारीहरूले प्रयोग गरेको शङ्ख १७,००० वर्षपछि बज्यो, यो शङ्ख किन विशेष छ ?

    क्यानाडानेपाल

    फाल्गुण १

  • 932
    SHARES
  • फ्रान्समा प्राचीन सिकारीहरूले प्रयोग गरेको शङ्ख १७,००० वर्षपछि बज्यो, यो शङ्ख किन विशेष छ ?

    सत्र हजार वर्षभन्दा पुरानो एउटा वाद्ययन्त्रबाट ध्वनि निकाल्ने पुरातत्त्वविद्हरूको प्रयास सफल भएको छ। दक्षिण फ्रान्समा प्राचीन घुमन्ते सिकारीहरूले प्रयोग गरेको गुफामा त्यो शङ्ख फेला परेको थियो।

    धेरै ठाउँमा हड्डीबाट बनेका प्राचीन वाद्ययन्त्र भेटिने गरेका भए पनि उक्त शङ्ख त्यस किसिमको सबैभन्दा पुरानो वस्तु हो।

    यसबारे साइन्स एड्भान्सेज जर्नलमा विवरण प्रकाशित भएको छ।उक्त शङ्खभित्र कुँदिएका बिन्दुजस्ता चिह्नलाई विशेष मानिएको छ।

    ती चिह्नहरू पिरनीज पर्वतीय क्षेत्रमा अवस्थित मार्सूला गुफाको भित्तामा भेटिएका कलाकृतिसँग मिल्दोजुल्दो देखिन्छन्। उक्त शङ्ख सन् १९३१ मा त्यहीँ भेटिएको थियो।

    कला र शङ्खबीच कस्तो सम्बन्ध?
    "यसबाट यो शङ्खबाट निकालिने सङ्गीत र भित्तामा भएका चित्रहरू, आकृतिहरूबीच बलियो सम्बन्ध भएको देखिन्छ," टूलूज विश्वविद्यालयका जील तोसेलोले भने।

    _116900270_1b07f5ee-9472-4b39-8d7d-7b4b84c1be8e.jpg

    "युरोपेली प्रागितिहासमा सङ्गीत र गुफाको कलाबीच सम्बन्ध भएको प्रमाण देखाउन सकिने यो नै हामीलाई थाहा भएसम्म पहिलो अवसर हो।"

    यो शङ्ख ३१ सेन्टिमिटर लामो र १८ सेन्टिमिटर चौडा छ। यो शङ्ख प्रशान्त महासागरमा पाइने एउटा ठूलो खाले शङ्खेकीराको खबटो भएको विश्वास गरिएको छ।

    त्यतिबेला शङ्ख विशेष वस्तु भएको अनुमान गरिएको छ किनभने त्यो शङ्ख फेला परेको स्थान समुद्री किनाराबाट २०० किलोमिटर पर छ।

    उत्खननकर्ताहरूले सन् १९३० को दशकमा फेला पार्दा त्यो शङ्खलाई एउटा सामान्य भाँडो भन्ठानेका थिए।

    यो शङ्ख किन विशेष?
    तर फ्रान्सको राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र सीएनआरएसले गरेको विश्लेषणका आधारमा नयाँ कुरा पत्ता लाग्यो।ध्वनि निकाल्न शङ्खमा केही परिवर्तन गरिएको वैज्ञानिकहरूले पत्ता लगाएका छन्।

    शङ्खको एउटा छेउमा प्वाल पारेर मानिसको मुखमा हाल्न मिल्ने कुनै साधन राख्ने ठाउँ बनाइएको हुनसक्छ। शङ्खको अर्को छेउ काटेर हात राखी स्वर घटबढ गर्न मिलाएको जस्तो देखिन्छ।

    वैज्ञानिकहरूको टोलीले एक सङ्गीतकारलाई उक्त शङ्ख बजाउन लगाए।उनले सी, सी-शार्प र डी नोटसँग मिल्ने स्वर निकालिदिए।

    निस्किएको स्वरको प्रबलता एक मिटरमा झन्डै १०० डेसिबेल मापन गरिएको जानकारी दिँदै सोर्बँ विश्वविद्यालयका फिलिप वाल्टर भन्छन्, "ध्वनि शङ्खको प्वालको अक्षमा धेरै केन्द्रित हुन्छ।"

    शङ्खको मुखको भित्री भागमा गरिएको चित्राङ्कनको अध्ययन गर्न विशेष विधि अवलम्बन गरिएको थियो।

    शङ्खमा कस्तो कला छ?
    फलामको यौगिकबाट बनेका चिह्नहरू गेरु रङ्गमा छन् र औँठाछाप जस्ता देखिन्छन्। गुफाको भित्तामा पनि त्यस्तै शैलीका कलाकृति छन्। उदाहरणका लागि त्यहाँ ३०० वटा थोप्ला प्रयोग गरी बनाइएको एउटा बाइसन नामक जीवको आकृति पनि छ।

    अनुसन्धानकर्ताहरूले उक्त शङ्खको थ्रीडी प्रतिकृति पनि बनाएका छन्। त्यसबाट उक्त शङ्खलाई कुनै हानि नपुर्‍याई त्यसको साङ्गीतिक पक्षबारे थप अनुसन्धान गर्न सकिनेछ।

    ऊर्ध्व पुरापाषाणयुगीन अर्थात् ढुङ्गेयुगको उत्तरार्धतिरका मानिसहरू हड्डी, मृगको सिङ र हस्तिहाडबाट आफूले प्रयोग गर्ने सामग्री बनाउन सिपालु भएको पुरातात्त्विक अध्ययनले देखाउँछ।

    त्यो युगमा विभिन्न स्थानमा बस्ने मानिसहरूबीच आफ्नो जस्तै समुदायसँग अन्तर्क्रिया हुने गरेको देखिन्छ। यो शङ्खबाट पनि त्यस्तो सम्बन्धलाई प्रमाणित हुने वैज्ञानिकहरू बताउँछन्।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएका हो । 


    फाल्गुण १, २०७७ शनिवार १६:३०:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शङ्ख

  • क्यानाडानेपाल डेस्क