मंगलबार
२४ मङ्सिर
२०७६

टिष्टा र कांगडासम्म सिमाना पुर्‍याउने बहादुर शाहलाई नसम्झनेहरु कार्ल मार्क्स र लेनिनको पूजा गर्छन्

शुक्रबार कार्तिक २९, २०७६/ Friday 11-15-19

पृथ्वीनारायण शाहको शालिक ढालेर लिपुलेक र कालापानीको बिछट्टै माया लागेर सडकमा नारा लगाउँदै दगुर्ने पागलहरुको भिड नेपालमा मात्र छ कि जर्मनमा पनि छ ? मलाई लाग्दैन कि विश्मार्कको शालिक ढालेर बर्लिन वा फ्रैंकफर्टको माया गर्ने पागलहरु जर्मनमा छन । भारतमा सरदार बल्लभ भाई पटेलको अत्यन्तै आदर र सम्मान गरिन्छ, हालै गुजरातमा सरदार पटेलको विश्वकै सबैभन्दा अग्लो शालिक निर्माण गरिएको छ । भारतमा सरदार पटेलको अपमान गर्ने जो सुकैको राजनीतिक जीवन समाप्त हुन्छ । उनको शालिक तोड्न खोज्नेको त जीवन नै समाप्त हुन्छ । इतिहासको लेखाजोखा गर्ने हो भने भारतमा सरदार पटेलको भन्दा नेपालमा पृथ्वीनारायण शाहको योगदान महत्वपूर्ण र गौरवपूर्ण छ तर यहाँ पृथ्वीनारायण शाहको शालिक तोड्न लगाउनेहरु क्रान्तिकारी नेता कहलिएका छन र सत्तामा बारम्बार रजाइँ गरिरहेका छन् ।

नेपालको सिमाना पूर्वमा टिष्टा र पश्चिममा कांगडासम्म पुर्याउन जीवनभर अथक मेहनत गर्ने बहादुर शाह हुन् । तर नेपाल अधिराज्यभर बहादुर शाहको एउटा पनि शालिक छैन । शायद कार्ल्स मार्क्सले नेपालको नाम पनि सुनेका थिएनन, लेनिनले नेपालको लागि कति पसिना बगाए ? तर मार्क्स लेनिनको फोटो पुजिन्छ , जन्म जयन्ति मनाईन्छ तर बहादुर शाहलाई सम्झने कोहि पनि छैन अनि सडकमा सुस्ता कालापानीको राग अलापेर उद्धण्ड राष्ट्रबादको नारा लगाइन्छ । अझ तिनले जसको महान नेताहरु भारतको एउटा जाशुसी संस्थाको प्रमुख आउँदा लाईन लागेर दर्शन भेट गर्न हानथाप गर्छन्, कतिपयले दूतावासबाट भत्ता बुझ्छन ।

नेपालीहरुको राष्ट्रबाद विश्वमै दूर्लभ प्रकृतिको छ । मलाई त लाज लाग्छ, अलि अघि एउटा राष्ट्रबादीले भिडियो बनाएछ, खुकुरी नचाएर भन्दै थियो भारतलाई धुलोपिठो पारेर ध्वस्त बनाउँछौं । कराँतेको एक दुई काँटा पनि देखाउँदै थियो । मोदिको च्यापुमा हान्ने रे । नेताको पारा यस्तै छ अनि जनताले अरु के जानुन् ?आफ्नो देशको नक्सा नजान्ने देश, आफ्नो देशको नक्सा जारी गर्न खुट्टा कमाउने देश, आफ्नो देशको गलत नक्सा आफ्नै देशको विद्यार्थीलाई गलत तरिकाले पढाउने देश, शायद नेपाल मात्र होला । अनि देशको वास्तविक नक्सा जारी गर्न खुट्टा कमाउने, राजदूतावास धाएर पैसा बुझ्ने नेताहरुको लागि भाला खुकुरी लिएर मर्न मार्न तयार रहने, तर भारतलाई ध्वस्त गर्छु भन्दै कराँतेको काँटा देखाउने पागलहरु नेपालमा मात्र होला ।

मोदी र भारत विरोधी लहर चलेको छ देशमा, राष्ट्रबादी देखिने होड चलेको छ, देशको नक्सा गलत तरिकाले कोर्ने नापी विभागका देशद्रोहीहरु आफ्नै देशका हुन् । देशको नक्सा गलत तरिकाले देखाएर पाठ्यक्रम बनाउनेहरु आफ्नै देशका शिक्षाविद् हुन । बाराम्बार दिल्ली दरबार धाउने आफ्नै देशका नेता हुन । पृथ्वीनारायण शाह आफैं युद्ध मैदानमा खटिन्थे तर पृथ्वीनारायण शाहको शालिक फ्याँक्न प्रपञ्च रच्ने प्रचण्डहरु ६४ जनाको सुरक्षाकर्मीको डफ्फा लिएर डुल्छन्, यति सुरक्षाकर्मीबाट सिमानामा १० ओटा सुरक्षा चेकपोस्टलाई जनशक्ती पुग्छ । सीमा रक्षा गर्नुपर्ने सेनालाई नेताको झोला र जुत्ता बोक्ने काममा दुरुपयोग गर्ने श्यालहरुको पछि लागेर मोदीको पुत्ला जलाउने हरिलठ्ठक प्रवृत्तीले देश उँभो लाग्दैन ।