• Jun 17 2021 | २०७८, आषाढ ३गते

२०७८, आषाढ ३गते

'ओलीलाई मत दिनु भनेको अर्काे बन्दुक हातमा थमाउनु हो'

मोनीका सिंह बैशाख २३ २०७८
  • 3.5K
    SHARES
  • 'ओलीलाई मत दिनु भनेको अर्काे बन्दुक हातमा थमाउनु हो'

    काठमाडौं । सत्तारुढ नेकपाको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टी एकताको पक्षमा रहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई छलफलका लागि समय दिएका छन् । 

    क्यानडानेपालसँग कुरा गर्दै नेपाल समूहका नेता विरोध खतिवडाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनुभन्दा राजीनामा दिनु उपयुक्त हुने निष्कर्षमा आफूहरु पुुगेको बताए । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएकाले यही वैशाख २७ गते प्रतिनिधि सभाको अधिवेशन डाकिएको छ । यस अवधिभर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई आफूहरुको माग सम्बोधन गरेर सहमतिमा आउन समय दिएको बताए । 

    आफूहरु बीच प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनुुभन्दा बरु सांसद पदबाट राजीनामा दिनु उपयुुक्त हुने निष्कर्ष निकालिएको भन्दै उनले तर, प्रधानमन्त्री ओली सहमतिमा आएमा भने विश्वासको मत दिने जानकारी दिए । गत फागुन २३ गते अघिकै अवस्थामा पार्टीलाई लगिए प्रधानमन्त्री ओलीलाई नै विश्वासको मत दिने जानकारी दिएका उनले प्रधानमन्त्री सहमतिमा नआए फ्लोर क्रस गर्नु उचित नहुने भएकाले सांसद पदबाटै राजीनामा दिने निचोडमा पुुगेको दोहोर्‍याए । 

    ‘यथास्थितिमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनु भनेको उनको हातमा अर्काे बन्दुक थमाउनु हो’, नेपाल समूहका सांसद खतिवडाले भने, ‘फ्लोर क्रस गरेर अराजनीतिक चरित्र देखाउनुभन्दा बरु सांसद पदबाटै राजीनामा दिनेछौँ । तर, सहमति आउन अध्यक्षज्यूलाई अहिले समय दिएका हौँ ।’ 

    प्रधानमन्त्री ओली सहमति नआए वैशाख २७ गते बिहानसम्ममा आफूहरुले सांसदबाट राजीनामा दिने उनको चेतावनी छ ।


    बैशाख २३, २०७८ बिहिवार १९:५५:०९ बजे : प्रकाशित


    मोनीका सिंह

    अर्कोसमाचार

    कसले फुटाउँदैछ एमाले र जसपा ?

  • 1.3K
    SHARES
  • कसले फुटाउँदैछ एमाले र जसपा ?

    काठमाडौं । नेपालले हरेक व्यवस्थामा राजनीतिक अस्थिरता झेलिरहेको छ । गणतन्त्रमा आइपुुग्दा पनि दलका नेताहरु एक अर्कामाथि आरोप प्रत्यारोप गरेर राजनीति अस्थिरतालाई निरन्तरता दिइरहेका छन् । 

    दलहरु विभाजनपछि फेरि एकता हुन्छन््, तर फेरि फुटिहाल्ने अवस्थामा पुग्छन् । यसो हुनुमा कतिपयले बाह्य शक्तिको चलखेललाई कारक मान्छन् । मुलुक र जनताको भविष्य बनाउन प्रण गरेर हिँडेका राजनीतिक दलका नेताहरु बाह्य शक्तिको चलखेल नबुझ्ने र बुझेर पनि स्वीकार गरेका हुन् भन्ने उनीहरु दोषी हुन् । तर, आन्तरिक रुपमा दलहरु कमजोर हुने र अन्तर दलले अर्काे पार्टी फुटाउन खेल्न भूमिका नै मुलुकको अस्थिर राजनीतिको कारक मान्न सकिन्छ । 

    संविधानसभाबाट जारी भएको संविधान बमोजिम राज्यको पुनर्संचना भएपछि राजनीतिक स्थिरतासहित मुलुकको विकास र समृद्धि हुने बताएका नेताहरु आपसमा बाझबाझ मात्रै गरेका छैनन्, दलहरु विभाजनको अवस्थामा पनि पुुगेका छन् । 

    दुई तिहाइ नजिक बुहमत ल्याएको नेकपा हुँदै एमाले विभाजनको अवस्थामा आइपुगेको छ । डेढ दशक पार्टीको नेतृत्व गरेका माधवकुमार नेपाल अहिले एमाले त्याग्न पनि पछि नपर्ने अवस्थामा आइपुगेका छन् । मधेशबाट प्रतिनिधित्व गरेका कांग्रेस, एमाले र माओवादीसहितका दलका नेताहरुले मधेश र मधेशी जनताको हितमा काम गर्न नसकेको भन्दै मधेशवादी दलका रुपमा पार्टीहरु गठन भए । यी पार्टीहरु काँक्रो चिरा परेजस्ता टुक्रा टुक्रा भए । तर, २०७७ को सुरुवाती समयमा एक ढिक्का भएका उनीहरु एक वर्षमै आ–आफ्नो बाटो लाग्न तयार भएका छन् । 

    आफ्नो प्रतिबद्धता, योजना र रणनीति भुलेर नेताहरु पार्टी फुटाउन किन अग्रसर हुन्छन् ? पार्टी फुटाउँदा देश र जनताप्रति कसरी हितकर हुन्छ ? कि नेतृत्वको व्यक्तिगत स्वार्थले बढी काम गर्छ ? धेरैले नेताहरुको सत्ता मोह र पदलोलुपताका कारण पार्टीहरु विभाजन हुने गरेको आरोप लगाउँछन् ।

    मुलुक कोरोनाभाइरस संक्रमणको चपेटामा छ । जनता उपचारको अभावमा ज्यान गुमाएका छन् । तर, देश र जनताको अभिभावक मानिएका दल र तिनका नेताहरु सत्ता र शक्तिका लागि लडिरहेका छन् । उनीहरु आपसमा भिडेका छन् र टुक्रने अवस्थामा पुुगेका छन् । 

    कसले एमाले फुटाउँदै छ ?

    विघटित प्रतिनिधिसभाको पहिलो दलको रुपमा रहेको एमाले अहिले विभाजनको अवस्थामा छ । एमालेबाट तीन जना माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओलीले सरकारकोसमेत नेतृत्व गरेका छन् । तर, उनीहरुकै पार्टी अहिले विभाजनको अवस्थामा आइपुगेको हो । अहिले ओलीको नेतृत्वमा एमाले छ । माधव नेपाल र झलनाथले पनि एमालेको नेतृत्व गरिसकेका छन् । तीन तीन जना पार्टी र सरकारको नेतृत्व गरिसकेका नेताहरुले लिड गरेको एमाले अहिले किन विभाजनको अवस्थामा आइपुग्यो ? यहाँ पार्टीको चिन्ताभन्दा पनि आफ्नो शक्ति सञ्चयको पिरले काम गरेको देखिन्छ । 

    संवत् २०७१ मा काठमाडौंमा आयोजित नवौँ महाधिवेशनले माधवकुमार नेपाललाई हराएर ओलीलाई एमालेको नेतृत्व गर्न जिम्मा दियो । पछि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको नेकपा र नेकपाले नेतृत्व गरेको सरकारको नेतृत्व पनि ओलीलाई नै दियो । तर, बीचमै माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले ओलीविरुद्ध चलखेल गर्न थालेपछि मुलुकको राजनीति नै अस्थिरतामा धकेलियो । घर झगडा झाँगिएपछि एमालेभित्र अरु शक्तिहरुको प्रवेश हुन पुग्यो । पछि गत फागुन २३ गतेको सर्वाेच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्यूँतायो ।

    तर, प्रचण्ड समूहमा रहेर ओलीविरुद्ध चलखेल गरेका माधव नेपाल एमाले फर्कन चाहेनन् वा वातावरण पाएनन्, यो उनीहरु नै जानून । तर, एमाले एक ढिक्का हुन भने सकेन । संसदको ठूलो दल एमाले विभाजनको चाह प्रचण्डले समेत राखेको आरोप लाग्यो । उनले माधव नेपाललाईसमेत उकासेको आरोप लागेको छ । भलै प्रचण्डले यसलाई बारम्बार खण्डन गर्दै आएका छन् । 

    जेठ ७ गते संविधानको धारा ७६(५)अनुुसार सरकार गठन प्रक्रियामा आइपुग्दा एमालेलाई विभाजन गराउने कार्यमा कांग्रेसको पनि भूमिका देखियो । दलीय अनुशासन र चरित्रलाई भूलेर चार पटक प्रधानमन्त्री भइसकेका र लामो समयदेखि कांग्रेसको नेतृत्व गर्दै आएका सभापति शेरबहादुर देउवाले एमालेको नेपाल समूहको हस्ताक्षर बोकेर आफ्नो नेतृत्वमा सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी गरे ।

    यसले पनि एमालेलाई एकताभन्दा विभाजनलाई सहजता गर्न भूमिका खेल्यो । एमालेलाई विभाजनको बाटोमा लैजानेमा नेतृत्वको हिसावले ओली प्रमुख कारक हुन् भने त्यसपछि माधवकुमार नेपाल हुन् ।  प्रचण्ड र देउवा पनि एमाले फुटाउने कार्यमा लागेको आरोप छँदैछ, थोरै जोडिन्छ, जसपा पनि । 

    को हो जसपा फुटाउन खोज्ने ?

    विघटित प्रतिनिधि सभाको पहिलो दल एमाले विभाजनको अवस्थामा रहेका बेला चौथो दल जनता समाजवादी पार्टी नेपाल (जसपा) पनि उही हविगतमा छ । जसपा महन्थ ठाकुर र उपेन्द्र यादव समूहमा विभाजित भएको छ । अब उनीहरु पार्टी नै अलग गर्ने अवस्थामा पुुगेका छन् । कार्यकारिणी समितिमा अल्पमतमा परेका महन्थ र राजेन्द्र महतो राष्ट्रिय जनता पार्टी नेपाल ब्यूँताउने तयारीमा रहेको चर्चा छ । जसपा फुटाउन पनि आन्तरिक र बाह्य दलहरुको भूमिका देखिन्छ । 

    ‘आफ्नो थैलीको मुख बन्द गर्नु, अरुलाई चोर दोष नलगाउनु’ उखान नेपाली समाजमा छ । यसर्थ आफ्नो पार्टीको एकता जोगाउने पहिलो कर्तव्य र दायित्व स्वयं नेताहरुको हो । तर, जसपा पनि आफ्नै नेताहरुसँग अरु पार्टीको पनि चलखेल देखिन्छ । विशेष गरी जसपा फुटाउन प्रमुख राजनीतिक दल एमाले, कांग्रेस र माओवादी केन्द्रको भूमिका देखिन्छ । एमालेको ओली समूहले महन्थ र राजेन्द्रलाई बोकेर आफ्नो स्वार्थअनुसार कार्य गराइरहेका छन् भने उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूहलाई भने एमालेकै माधव नेपाल समूह, कांग्रेस र माओवादी केन्द्रले प्रयोग गरिरहेका छन् । जसपालाई एक हुन नदिने गरी ओली समूहले उसका सांसदहरुलाई रिसोर्टसम्म पुर्‍याएको घटना सार्वजनिक भयो । 

    उता माओवादीका प्रचण्ड, कांग्रेस सभापति देउवा र एमालेका माधवकुमारले दलीय अनुशासन र संसदीय पद्धति र आचरण विपरीत उपेन्द्र–बाबुराम समूहको हस्ताक्षर बोकेर सरकारको दाबी गर्न राष्ट्रपतिसमक्ष पुगेका थिए । 

    विशेषरी दलहरु सरकार गिराउन र बनाउन गुटहरु खडा गर्ने र एक अर्काविरुद्ध लाग्ने चरित्र देखाउँदै आएका छन् । सत्ता र शक्तिमा रहन नेताहरु राजनीतिक नैतिकता र आचारण देखाउनबाट पछि हट्छन् । उनीहरु सत्तामा जानका लागि आफ्नो र अरु पार्टी फुटाउन पनि हिच्किचाउँदैनन् । जसको शिकार आम जनता हुँदै आएका छन् । मुलुक लामो समय द्वन्द्व र संक्रमणकालबाट गुज्रियो ।

    नेताहरुले राजतन्त्र फ्यालेर गणतन्त्र आएसँगै संविधान सभाबाट जारी हुने संविधानले राजनीतिक स्थिरता र मुलुक विकास र समृद्धिको बाटोमा अघि बढ्ने विश्वास दिलाए । तर, ती विश्वास र भरोसामा आगो लगाएर दलका नेताहरु आरोप–प्रत्यारोप उत्रिने र आफ्नो स्वार्थमा फुटाउने र जुटाउने काम गर्दै आइरहेका छन् । अझै नेपाली जनताले यो हविगत कहिलेसम्म व्यहोर्नुपर्ने हो, अहिले नै भन्न सकिँदैन ।


    जेठ १४, २०७८ शुक्रवार १३:४५:०३ बजे : प्रकाशित


    मोनीका सिंह

    प्रधानमन्त्री केपी ओली जालझेल गर्न मात्र चतूर छन् (भिडियो)

  • 822
    SHARES
  • प्रधानमन्त्री केपी ओली जालझेल गर्न मात्र चतूर छन् (भिडियो)

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली जालझेल गरेर राजनीति गर्न मात्र चतूर रहेको टिप्पणी गरेका छन् ।

    क्यानडा नेपालसंग कुराकानी गर्दै नेता थापाले भने, "प्रधानमन्त्री केपी शर्मा ओलीलाई बलियो र चतूर नेता भन्दा हाँस उठ्छ । नेकपा जस्तो ठूलो दलको अध्यक्ष भएका, संसदमा बहुमत प्राप्त प्रधानमन्त्री भएका व्यक्ति अहिले न नेकपा पार्टी एकीकरण गर्न सके न नै विश्वासको मत लिन सके न नै एमाले पार्टीलाई नै जोगाउन सके । प्रधानमन्त्री ओली जालझेल गरेर आफ्नो कुर्सी जोगाउन मात्र चतूर छन् जुन देशको लागि हानिकारक छ ।"

    नेता थापाले संसद विघटन हुनुको कारण एमसीसी रहेको टिप्पणी गलत रहेको जनाएका छन् । गगन थापाले भने, "अहिले संसद विघटन हुनुको कारण प्रधानमन्त्री ओलीको पार्टी भित्रको झगडा हो । अरु भनेको गरिने टिप्पणी मात्र हो । तत्कालीन नेकपा र अहिलेको एमालेका शिर्ष नेताहरु बीच पद र कुर्सीको लागि गरिएको झगडाले संसदमाथी आक्रमण भएको हो ।"

    गगन थापाका अनुसार प्रधानमन्त्री ओलीको नियत ठिक नभएको कारण चुनाव गराउन सक्दैनन् । विगत एक महिनादेखि प्रधानमन्त्रीको क्रियाकलापले नै बताउँछ कि चुनाव गराउने नियत नरहेको नेता गगन थापाको विश्लेषण रहेको छ ।


    जेठ १५, २०७८ शनिवार २२:०३:०८ बजे : प्रकाशित


    मोनीका सिंह

    ओली भर्सेस प्रचण्ड : कसले लियो बदला ? यस्तो छ पर्दा पछाडिको खेल

  • 1.4K
    SHARES
  • ओली भर्सेस प्रचण्ड : कसले लियो बदला ? यस्तो छ पर्दा पछाडिको खेल

    काठमाडौं । नेपालको राजनीति अहिले प्रतिशोधपूर्ण अवस्थामा छ । शक्तिशाली दलहरु चिरा परेका छन् । मुलुक संकटमा परेका बेला दलहरु प्रतिशोधपूर्ण राजनीतिक गरिरहेका छन् । 

    प्रतिशोधपूर्ण राजनीति गर्नेमा अग्रभागमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड देखिएका छन् । र बाँकी रहेका दलहरु उनीहरुको सारथी बनेका छन् । जनताले बहुमतको सरकार दिए पनि नेताहरुले मुलुकलाई अस्थिरतामा लगेर आ–आफ्नै डम्फू बजाइरहेका छन्, सत्ताको म्युजिकल चयर खेलिरहेका छन् ।

    साढे तीन वर्ष अघि शक्तिशाली कम्युनिष्ट पार्टीको बोइङ जहाज उडाएका दुई क्याप्टेन ओली र प्रचण्डले अहिले आफ्नो विमान दुर्घटनामा पारेका छन्, घाइते र मुर्छित अवस्थामा रहेका यात्रुहरुले आफ्नो नेता र पार्टी चिन्न नसकेर प्यानल परिवर्तन गरेका छन् ।

    नेकपा नामक बोइङ उडाएका ओली र प्रचण्डको टकरावले सो जहाज दुर्घटनामात्रै परेन, मुलुक नै अस्थिरत राजनीतिकको भड्खालोमा परेको छ । र फेरि एकपल्ट नेताहरुले आफ्नो राजनीतिक चरित्र जनतामाझ प्रष्ट्याएका छन् । 

    कसको के दाउ ?

    ओली र प्रचण्डले एकअर्कालाई राम्रैसँग चिन्दथे । उनीहरुको राजनीतिक चरित्र र व्यवहारबारे दुवै जानकार नै थिए । तर, २०७४ सालको निर्वाचनमा एक्कासि एमाले र माओवादीबीच एकीकरण गर्न उनीहरु किन राजी भए ? सायद एउटै घरमा रहेर एकअर्काको राजनीति सिध्याउने र आफू कम्युनिष्ट पार्टी र सरकारको शक्तिशाली व्यक्ति बन्ने दाउ थियो कि ? 

    तत्कालीन ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर कांग्रेस सभापति शेरबहादुर देउवाको काँधमा चढेर दोस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले २०७४ सालमा स्थानीय तहको निर्वाचन गराए । ओलीको राष्ट्रवादको अगाडि कांग्रेस र माओवादीले घुँडा टेके । अर्थात स्थानीय तहमा एमालेले नै बर्चश्व जमायो । 

    यसपछि आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा माओवादी केन्द्रको लज्जास्पद हार हुने प्रचण्डले बुुझे । स्थानीय तहको निर्वाचनमा सत्तासाझेदार कांग्रेसका कार्यकर्ताले माओवादीलाई मत नदिएको प्रचण्डले थाहा पाए ।

    कांग्रेसका कार्यकर्ताले कम्युनिष्टलाई भोट नदिने बुुझेका प्रचण्डले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा कसरी माओवादीको इज्जत जोगाउने भन्न चिन्ता लिइरहेका थिए ।

    दुई दलबीचको सहमतिअनुसार स्थानीय तहको निर्वाचन सम्पन्नपछि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गराउन प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरे । देउवाले गराउने निर्वाचनमा माओवादी केन्द्रले मत पाउनेमा प्रचण्ड सशंकित बने । 

    यस अवस्थामा माओवादीको शान जोगाउन प्रचण्ड चाहन्थे । उता निर्वाचनबाट बहुमत ल्याएर बनाउने सरकारको प्रधानमन्त्री बन्ने सपना एमाले अध्यक्ष ओलीले देखेका थिए । तर, कसरी ? यहीँनिर ओली र प्रचण्डले पार्टी एकता गर्ने र शक्तिशाली कम्युनिष्ट सरकार बनाउने निर्णयमा पुुगे । र सरकारको आलोपालो नेतृत्व लिने सहमति पनि गरे।

    यस धरातलबाट एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा गठन भयो । निर्वाचनबाट दुई तिहाइ नजिक बहुमत ल्याएर नेकपाले ओली नेतृत्वको सरकार बनायो । तर, अल्पायुमै नेकपा सरकार अल्पमतमा पर्‍यो । नेकपा खारेज भयो र ओली र प्रचण्ड आ–आफ्नो बाटो लागे । 

    कसले लियो बदला ?

    कुनै बेला एमाले अध्यक्ष ओलीले माओवादी भन्ने पार्टी नै सकिने र कार्यकर्ता शीला खोजेको जसरी खोज्नुपर्ने अवस्था आउने बताउँथे । यसले प्रचण्डलाई पनि मन दुखेको हुनुपर्छ । सत्ता आरोहणको लालसमा पार्टी एकीकरण गरेका ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्ने भद्र सहमतिले विवाद निम्त्यायो । सरकार बनाएको दुई वर्ष र पार्टी एकीकरण गरेको डेढ वर्षमै नेकपाभित्र भाँडभैलो भयो । कसको शक्ति कति ? कसले कसलाई देखाइने ? जस्ता प्रतिशोधपूर्ण राजनीतिले नेकपालाई खारेज मात्रै गरेन, जनताले कम्युनिष्ट पार्टीलाई दिएको भारी बहुमतको अपमान पनि भयो । 

    जनताको मतको मान र अपमान आफ्नै ठाउँमा रह्यो । ओली र प्रचण्ड एक अर्काविरुद्ध  रणनीतिक रुपमा चल्न थाले । आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिबाट पछि हटेका ओलीलाई पार्टी र सत्ताबाट हटाउन प्रचण्डले एमालेकै नेताहरुलाई उकासे र प्रयोग गरे । आफू र आफ्नो सरकारविरुद्ध लागेका प्रचण्ड, आफ्नै नेता माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरुको राजनीतिक भविष्य नै सखाप बनाउने गरी ओलीले अध्यक्ष र प्रधानमन्त्री पदको भरपूर शक्ति प्रयोग गरे ।

    गत फागुन २३ गतेको सर्वाेच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँतायो । यसपछि ओली एमालेका अध्यक्ष भए भने प्रचण्ड माओवादी केन्द्रका । साविक नेकपामा प्रचण्ड समूहमा रहेका एमालेका नेताहरु माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसालसहितका नेताहरु प्रचण्डको साथमै रहे । तर, न उनीहरुले एमालेका नेताको हैसियत प्राप्त गरे, न त माओवादी केन्द्रमै जान सके । 

    उता साविक नेकपामा ओली समूहलाई साथ दिएका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरीसहितका माओवादीका नेताहरुले ओलीलाई छाडेनन् । उनीहरुले एमालेमै राम्रो स्थान पाए । तर, ओलीको कारबाहीमा परेर पार्टीको साधारण सदस्यसमेत गुमाएमा नेपाल–खनाल समूहका नेताहरु ‘वल्लो घाट न पल्लो तिर’को अवस्थामा छन् । 

    २०७४ सालमा माओवादीको शान जोगाउन पार्टी एकता गरेका प्रचण्डले अहिले एमालेलाई छिन्नभिन्न बनाइदिए । एमालेको ठूलो समूह ओलीविरुद्ध छ । ओली सरकारको विकल्पमा नेपाल–खनाल समूहले कांग्रेस–माओवादी गठबन्धनलाई सघाइरहेको छ । लामो समय एमालेको नेतृत्व गरेका नेता नेपाल अहिले एमालेविरुद्ध नै कदम चाल्नुपर्ने अवस्थामा प्रचण्डले ल्याइपुर्‍याइदिएका छन् । आशा लाग्दा युवा नेतालाई प्रचण्डले एमालेबाट अलग्याइदिएका छन् ।

    उनीहरु कहिले एमालेको मूल प्रवाहमा देखिन्छन् भने कहिले  नेपाल समूहको गुटमा पुगिसक्छन् । पार्टीको आन्तरिक विवाद समाधान गर्ने थलो भनेको आफ्नै पार्टीको बैठक हो । तर, नेपाल–खनाल समूहले लामो समय पार्टीको बैठक बहिस्कार गरेको थियो । बैठकमा सहभागी हुने नहुनेबारेमा नेपाल समूहले प्रचण्डसँग सल्लाह गरेको खबरले मुलुक दलीय अनुशासनहिनतामा रहेको देखिएको आरोप लाग्यो । 

    सत्ता र शक्तिका लागि पार्टी एकीकरण गरेका ओली र प्रचण्डले जनताको मतको अपमान मात्रै गरेनन्, ठूलो दुःख र संघर्षले आर्जेको आ–आफ्नो पार्टीलाई चकनाचुर बनाए, कम्युनिष्ट पार्टीको बद्नाम गरे । उनीहरुले एकअर्कासँग कस्तो बदला लिए, उनीहरु नै जानून । तर, आफ्नो पार्टी र देश र जनतालाई हराएर सत्ता र शक्तिका लागि भने अहिले पनि उनीहरु ताण्डव नृत्य देखाइरहेका छन् । 


    जेठ १७, २०७८ सोमवार १३:३७:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # प्रचण्ड

  • रामेश्वर शाह

    प्रधानमन्त्रीज्यू, महाकाली सन्धिले नभएर अब गिट्टी बालुवा बचेर देश समृद्ध बनाउने ?

  • 606
    SHARES
  • प्रधानमन्त्रीज्यू, महाकाली सन्धिले नभएर अब गिट्टी बालुवा बचेर देश समृद्ध बनाउने ?

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो उद्देश्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको बताउँदै आएको छ । यो सरकारले हालै लगातार चौथो बजेट ल्याएको छ ।

    यही जेठ १५ गते अध्यादेशमार्फत अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आगामी आर्थिक वर्षको सम्भावित आयव्यय विवरण अर्थात बजेट सार्वजनिक गरेका छन् । 

    सो बजेटका विभिन्न विषयमाथि बहस भइरहँदा तराई मधेशलाई नै मरुभूमि बनाउने गरी गिट्टी, बालुवा निकासी गर्न दिने गरी समेटिएको बुँदाप्रति भने चौतर्फी विरोध भएको छ ।

    के छ सुगौली सन्धि र सन् १९५० को सन्धिमा ? हेर्नुहोस् पूर्णपाठ के छ सुगौली सन्धि र सन् १९५० को सन्धिमा ? हेर्नुहोस् पूर्णपाठ

    आर्थिक वर्ष २०७८/०७८को प्रस्तुत बजेटको बुँदा नम्बर १९९मा अर्थमन्त्री पौडेलले उल्लेख गरेका छन्, ‘वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्त्य ढुङ्गा, गिट्टी, वालुवा निकासी गरि व्यापार घाटा न्यूनिकरण गरिनेछ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोप–वे निर्माण गनए आयातमा लाग्नने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको छु।’ 

    jj.PNG

    अर्थात सरकारले गिट्टी बालुवा बेचेर मुलुकको व्यापार घाटा कम गर्ने लक्ष्य लिएको छ । तर, सँगै करमा पनि छुट दिने बताइएको छ । तर, सरकारको सो निर्णयले तराई मधेशको भूमिलाई मरुभूमि बनाउने भन्दै सच्याउन प्रदेश २ सरकारले आग्रह गरेको छ । 

    साथै तराई मधेशको जलस्रोत र रक्षाकवचको रुपमा रहेको चुरे पहाड सकेर भारतमा गिट्टी बालुवा निकासी गर्न दिने संघीय सरकारको नीति सच्याउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार विज्ञप्ति निकालेर आग्रह गरेका छन् । 

    note pradesh 2.jpg

    तर, यता संघीय सरकारसम्बद्ध अधिकारीहरुले वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा मात्रै निकासी दिने निर्णय गरेको बताएका छन् । चुरे संरक्षण बिना तराई नजोगिने जानकार सरकारले गिट्टी बालुवा निकासी गर्न दिने निर्णयले सो क्षेत्रलाई भने जोखिम बढाएको छ । 

    कुनै बेला महाकाली सन्धि गरेवापत एक खर्ब २० अर्ब रुपैयाँ आउने बताएका तत्कालीन एमालेका नेता तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले गिट्टी बालुवा बचेर मुलुक समृद्ध बनाउने सपना देखेका हुन् । 

    महाकाली सन्धि गर्दा केपी ओलीले भनेका थिए, समृद्धिको सूर्य अब पश्चिमबाट उदाउनेछ  महाकाली सन्धि गर्दा केपी ओलीले भनेका थिए, समृद्धिको सूर्य अब पश्चिमबाट उदाउनेछ 

    २०५३ असोज ४ गते मध्याराति संसदबाट महाकाली सन्धि अनुमोदन गराउन महत्वपूर्ण भूमिका खेलेका ओलीले सो सन्धिवापत मुलुकले एक खर्ब २० अर्ब रुपैयाँ पाउने बताएका थिए । सो रकम आयो आएन, त्यो प्रधानमन्त्री ओलीलाई नै थाहा होला, तर अहिले गिट्टी बालुवा बेचेर मुलुकको व्यापार घाटा कम गर्ने सपना पनि देखेका छन् ।  

    २५ वर्ष अघि महाकाली सन्धि अनुमोदन गर्दा तत्कालीन एमाले नेता ओलीले भनेजस्तो अहिले मुलुकमा समृद्धि छायो छाएन सबैसामू छर्लङ्ग छ । 

    महाकाली सन्धिअनुसार उत्पादन हुने विजुली बेचेर नेपालले एक खर्ब २० अर्ब रुपैया पाउने बताएका ओलीले भनेका थिए’, समृद्धिको सूर्य अब पश्चिमबाट उदाउनेछ ।’

    महाकाली सन्धिले लिपिम्याधुरा, कालापानी र लिपुलेक गुमाएको हो ? हेर्नुहोस् यस्तो छ सन्धिको पूर्णपाठ महाकाली सन्धिले लिपिम्याधुरा, कालापानी र लिपुलेक गुमाएको हो ? हेर्नुहोस् यस्तो छ सन्धिको पूर्णपाठ

    महाकाली सन्धि अनुमोदन गरेको २५ वर्ष भइसक्दा पनि समृद्धिको सूर्य भने उदाउन बाँकी छ । तर, सोही सन्धिका कारण भारतले अहिले कालापानी, लिम्पियाधुरा, लिपुलेकमाथि कब्जा जमाइरहेको छ । 

     


    जेठ २१, २०७८ शुक्रवार १२:३१:२९ बजे : प्रकाशित

    हाम्रो पनि पहुँच भएको भए मेरो बाबा बाच्नु हुन्थ्यो : आदर्श मिश्रा (भिडियो)

  • 448
    SHARES
  • हाम्रो पनि पहुँच भएको भए मेरो बाबा बाच्नु हुन्थ्यो : आदर्श मिश्रा (भिडियो)

    काठमाडौं । कमेडी रियालिटी शो 'कमेडी च्याम्पियन'को पहिलो सिजनका एक चर्चित प्रतिस्पर्धी आदर्श मिश्राले आफ्नो बुवा गुमाएपछि नेपालको स्वास्थ्य क्षेत्रमा कत्ति लापरवाही हुन्छ भनेर खुलेर बोल्न थालेका छन् ।

    केही समय अघि बुवालाई गुमाउनु परेको पिडालाई सहेर सरकारी अस्पतालदेखि प्राइभेट अस्पतालहरुले कत्तिसम्म लापरवाही गर्छन् भन्ने बारे आदर्श मिश्राले आफ्नो युट्युब च्यानल मार्फत जानकारी दिन थालेका छन् । मृगौलाले काम गर्न छोडेपछि आफ्नो बुवा बिनोद मिश्राले करिब ४ वर्ष देखि डायलिसिस गरेर बाँचिरहेका थिए तर अस्पतालले बिरामीलाई समयमा डायलिसिस नगर्दिने र सहज तरिकाले डाइलोसिस नगरिदिंदा बुवालाई गुमाउनु परेको पिडा आदर्शले पोख्न थालेका छन् ।

    मृगौला प्रत्यारोपण सम्म गर्न खोजेको तर नेपालमा पहुँच नहुदा सोचे जस्तो काम नहुने भएकोले प्रत्यारोपण गर्ने योजना सफल हुन नसकेको समेत जिकिर गरेका छन् मिश्राले । क्यानडा नेपालसंग कुराकानी गर्दै मिश्राले भने, "बाबाको मृगौला प्रत्यारोपण गर्न हामीले धेरै कोशिश गर्यौं तर हाम्रो पहुँच पुगेन होला त्यसैले सरकारी तहबाट साथ सहयोग पाएनौ । त्यसैले ४ वर्षदेखि निरन्तर डाइलोसिस गरिरहेका छौं ।"

    डाइलोसिस भनेको मृगौला फेल हुने बिरामीको लागी ठूलो कुरा हो तर नेपालको स्वास्थ्य क्षेत्रमा बिरामीलाई प्राथमिकता दिनुपर्छ भन्ने कुनै हेक्का नै छैन जुन हाम्रो परिवारले ४ वर्षदेखि भोगिरहेका छौं । नेपालको स्वास्थ्य छेत्र यत्ति लापरवाही छ कि मैले बाबा गुमाउनु पर्यो ।" आदर्श मिश्राले भने ।

     
    आफूले सरकार र विरगंज को अस्पतालको लापरवाही बारे बोल्दा आफ्नो पिडामाथि समेत प्रश्न उठाउन थालेको गुनासो समेत पोखेका छन् । आदर्श मिश्राका अनुसार आफू गलत बिरुद्द अझै खुलेर बोल्ने जसका कारण आफ्नो परिवारले पाए जस्तो पिडा अरुले नपाउन ।
     


    जेठ २४, २०७८ सोमवार १४:५७:०३ बजे : प्रकाशित


    मोनीका सिंह

    ‘ओली सत्ताका लागि पर्फेक्ट खेलाडी हुन्’

  • 894
    SHARES
  • ‘ओली सत्ताका लागि पर्फेक्ट खेलाडी हुन्’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सत्ता रक्षा गर्न र उनको विकल्पमा सरकार बनाउने दुुई ध्रुवमा मुलुकको राजनीतिक महिनौँ दिनदेखि अड्किएको छ । ओली सरकारको विकल्पमा सत्तारुढ एमालेकै माधवकुमार नेपाल समूह, कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष हस्ताक्षर बुुझाए । 

    अघिल्लो दिन विश्वासको मत लिन सक्दिनँ भन्ने प्रधानमन्त्री ओलीले भोलिपल्ट आफ्नो पक्षमा बहुमत रहेको भन्दै राष्ट्रपतिसमक्ष हस्ताक्षर बुुझाउन पुगे । राष्ट्रपतिबाट दुवै दाबीलाई अस्वीकार गरेपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा दोस्रोपटक यही जेठ ८ गते विघटन गरे । अहिले प्रतिनिधिसभा विघटन बदर तथा ओली र देउवालाई संविधानको धारा ७६(५)अनुुसार प्रधानमन्त्री बनाउन छुट्टाछुट्टै रिट सर्वाेच्च अदालतमा परेको छ । उक्त रिटहरु संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । 

    यही पेरिफेरिमा रहेर क्यानडानेपाले गरेको कुराकानीका क्रममा कांग्रेसका नेता प्रदीप गिरीले ओली सत्ताका प्रफेक्ट खेलाडी रहेको टिप्पणी गरे । ‘ओली सत्ता जान र रहन जे पनि गर्न सक्छन्, उनी सत्ताका प्रफेक्ट खेलाडी हुन्’, नेता गिरीले भने, ‘तर, आफूले चालेको कदमले देश र जनतालाई कस्तो असर गर्छ भन्ने हेक्का राख्दैनन् ।’ 

    ओलीले आफ्ना कमिकमजोरीको ढाकछोपका लागि राजनीतिमा टिएर ग्याँस हानिरहने गरेको बताएका नेता गिरीले भने, ‘केही न केही नयाँ कदम चालेर राजनीतिमा टिएर ग्यास हान्ने गरेका छन् । जनतालाई पनि अब ओलीले के गर्लान् भन्ने चासो बढाएर आफ्नो कमिकमजोरी लुकाउने प्रयास गर्छन् ।’ 

    साथै घोषित मितिमा प्रतिनिधि सभाको निर्वाचन हुन नसक्ने दाबी गरेका नेता गिरीले कांग्रेसको पनि निर्धारित समयमै महाधिवेशन हुने जानकारी दिए । अन्यथा प्रधानमन्त्री ओलीको सहायता लिएर कांग्रेसको वैधानिकता रक्षा गरिने उनको भनाइ छ ।


    जेठ २५, २०७८ मंगलवार ११:१५:०७ बजे : प्रकाशित


    मोनीका सिंह

    images
    images
    ताजा खबर