शुक्रबार
२० मङ्सिर
२०७६

सञ्चारमन्त्री योगेश भट्टराई र भौतिक पूर्वाधारमन्त्री गोकुल बास्कोटा ! साँझ ४ बजे नयाँ मन्त्रीहरूको सपथ

बुधबार मङ्सिर ४, २०७६/ Wednesday 11-20-19

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज आफ्नो मौजुदा मन्त्रिपरिषद्का केही मन्त्री हटाउने र केहीको मन्त्रालय हेरफेर गर्न गर्ने भएका छन् । सबै मन्त्रीलाई पदबाट सामूहिक राजीनामा दिन लगाएर प्रधानमन्त्री ओलीले नयाँ जिम्मेवारी तोक्न लागेका हुन् ।

जिम्मेवारी मुक्त गर्न लागिएका मन्त्री र नयाँ जिम्मेवारी दिन लागिएका मन्त्रीको नाम टुंगो लगाउन प्रधानमन्त्री ओली र प्रचण्डबीच बुधबार बिहान बालुवाटारमा लामो वार्ता भएको थियो । त्यसपछि दुवै नेता राष्ट्रपति विद्या भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् । प्रधानन्त्री ओलीले मन्त्रीहरुको लिस्ट राष्ट्रपति भण्डारीलाई बुझाएको स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नवनियुक्त मन्त्रीहरुलाई दिउँसो ४ बजेसम्म सपथ गराउने तयारी भएकाले त्यसैको प्रक्रिया मिलाउन प्रधानमन्त्री शितलनिवास गएको जानकारी दिए । नेकपाको सचिवालय बैठक बुधबार दिउँसो बस्दैछ । बैठकले पाँचदेखि सातजना मन्त्रीलाई बिदा दिने र केहीको जिम्मेवारी हेरफेर गर्ने निर्णय गर्नेछ । नयांँ मन्त्रीको सपथ अपराह्न ४ बजे गर्ने तयारी छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा, भौतिकमन्त्री रघुवीर महासेठ, भूमिसुधारमन्त्री पद्मा अर्याल र श्रममन्त्री गोकर्ण विष्ट हटाइने सूचीमा रहेका छन् ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईलगायत मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्ने प्रधानमन्त्री ओलीको तयारी छ । प्रधानमन्त्री ओली सञ्चारमन्त्री भट्टराई र बास्कोटालाई भौतिक पूर्वाधार वा पर्यटनमन्त्रीमध्ये एकको जिम्मेवारी तोक्ने मनस्थितिमा रहेको उच्च स्रोतले बतायो । सुरेन्द्र पाण्डे, पम्फा भुसाल, रामेश्वर राय यादव, घनश्याम भुसाल, जनार्दन शर्मालगायत मन्त्री हुने सूचीमा छन् ।