• Sep 18 2021 | २०७८, आश्विन २गते

२०७८, आश्विन २गते

पब्जीमाथि किन प्रतिबन्ध मागियो ? के भन्छन् खेलेरै लाखौँ कमाउनेहरू ? 

श्रावण १४ २०७८
  • 1.1K
    SHARES
  • पब्जीमाथि किन प्रतिबन्ध मागियो ? के भन्छन् खेलेरै लाखौँ कमाउनेहरू ? 

    सांसद आशाकुमारी विकले यसै हप्ता पब्जी र फ्रीफायर लगायतका अनलाइन गेमहरू बन्द गर्नुपर्ने सदनमा उठाइन्। नेपालमा विशेषगरी पब्जी खेलमा प्रतिबन्ध लगाइनुपर्ने कुरा उठेको यो पहिलो पटक भने होइन।

    images

    प्रतिनिधिसभा बैठकमा नेपाल कम्युनिस्ट पार्टी एमालेकी बिकले सरकारले अनलाइन खेलहरू बन्द नगरे अभिभावक न्याय खोज्दै अदालतका ढोकामा पुग्ने दिन आउनसक्ने बताइन्।

    नेकपाले नेतृत्व गरेको सरकारले यसअघि एकपटक पब्जी खेलमा प्रतिबन्ध लगाएको थियो तर सर्वोच्च अदालतको अन्तरिम आदेशले त्यो लागु भएन। केही अभिभावकहरूले यसले बालबालिकामा ''नकारात्मक प्रभाव पारिरहेको'' र दूरगामी ''मानसिक प्रभाव पार्न सक्ने'' बताउँदै प्रतिबन्धको विषय उठाउने गरेका छन्।

    प्रतिनिधिसभामै विषय उठान गरिएको पब्जी खेल के हो ? यो खेल्न अभ्यस्त प्रयोगकर्ताहरू यसको बारेमा के भन्छन्?

    'सामान्य अनलाइन खेल'
    सक्रिय रूपमा पब्जी खेल्नेहरूका अनुसार इन्टरनेटमा विभिन्न स्थानमा रहेका मानिसहरू एउटै खेलमा सहभागी हुनसक्ने थुप्रै खेलहरूमध्ये यो एक खेल हो। पछिल्लो समय नेपालमा व्यक्तिगत रूपमा मात्रै नभएर व्यावसायिक रूपमा पनि पब्जी खेल्ने गरिएको छ।

    सुरुमा पब्जी समूह रहेका पनि हाल कम्पनीकै रूपमा स्थापित भएका छन्। तिनैमध्ये एक डीआरएस गेमिङका व्यवस्थापन प्रमुख सङ्गीन भट्टराईका अनुसार पब्जी खेलमा एउटा टोलीमा चार जनासम्म खेलाडीहरूले खेल्न पाउँछन्। थप दुई जना सम्मलाई अतिरिक्त खेलाडीका रूपमा राख्न सकिन्छ।

    चर्चित हुनुको कारण के हो?
    अनलाइन खेलहरू धेरै भए पनि मोबाइल प्लेटफर्मबाटै सहजै खेल्न सकिने हुँदा पब्जी अन्य खेलका तुलनामा बढी रुचाइएको हुनसक्ने भट्टराई ठान्छन्।"मोबाइल गेम हो। सबैसँग कम्प्युटरको पहुँच हुँदैन। मोबाइलबाट जहाँ बसेर, जसरी पनि खेल्न सकिन्छ," उनले भने।

    पब्जी खेलमा सहभागी टोलीमध्ये अन्तिमसम्म रहनेले खेल जित्ने हुन्छ। खेलमा अन्तिमसम्म रहन खेलाडीहरूले विभिन्न रणनीति प्रयोग गर्छन्। एउटा खेलको एउटा म्यापमा एक सय जनासम्म खेल्न सक्छन्। प्रत्येक समूहको लक्ष्य विपक्षीलाई मारेर सकेसम्म लामो समय टिक्ने हो।

    खेलको बीचमा अनलाइनबाटै एक अर्कासँग कुरा पनि गर्न मिल्छ।सामाजिक सञ्जालजस्तै एक अर्कासँग जोडिएर कुराकानी गर्दै आआफ्नै स्थानमा बसेर खेल्न सकिने हुँदा पनि यो खेल चर्चित भएको हुनसक्ने बताइन्छ।

    ''…यो पनि एउटा पाटो हो खेल चर्चित हुनुको। प्रत्यक्ष कुराकानी गर्न मिल्छ,'' भट्टराईले भने।कुनै पनि व्यक्तिले मनोरञ्जनका लागि "धेरै मूल्य नपर्ने सामान्य मोबाइल फोनबाट समेत खेल्न सक्ने" उनको भनाइ छ।

    प्रतिस्पर्धात्मक खेलका लागि भने "राम्रो उपकरणको आवश्यकता पर्ने" भट्टराई बताउँछन्।पब्जी एपल र एन्ड्रोइड दुवैमा उपलब्ध छ। कम्प्युटरका लागि भने छुट्टै सफ्टवेयर प्रयोग गर्नुपर्ने हुन्छ। यसलाई प्लेस्टेसनमा पनि खेल्न सकिन्छ।

    व्यावसायिक रूपमा कसरी खेल्न सकिन्छ?
    विश्वका विभिन्न देशहरूमा खेलिने अनलाइन खेलको विस्तार पछिल्ला वर्षहरूमा नेपालमा पनि भइरहेको छ।अझ कोरोनाभाइरस महामारीका कारण शैक्षिक संस्थाहरू बन्द भएको अवस्थामा त यसको विस्तार झन् तीव्र भएको यस्ता कम्पनीमा आबद्ध युवाहरू बताउँछन्।

    व्यावसायिक रूपमा पब्जी खेल्नका लागि खेल्दै जाँदा विकसित हुने क्षमता आवश्यक पर्छ।समूहगत रूपमा खेल्नुपर्ने हुँदा एक अर्कासँग कुराकानी देखि एक अर्कालाई सहयोग गर्ने कुरा महत्त्वपूर्ण हुने भट्टराई बताउँछन्।

    दर्ता भएको चार महिनामा डीआरएसले ४४ हजार अमेरिकी डलर आर्जन गरेको कम्पनीले जनाएको छ। त्यस्तै हालसालै भएको एउटा परोपकारी प्रतिस्पर्धाबाट संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफलाई '५४,५०० डलर दिएको' उनले दाबी गरे।

    हाल नेपाली खेलाडीहरू दक्षिण एशियामा बढी खेल्ने गरेको बताइन्छ।त्यसबाहेक चीन लगायतका अन्य विभिन्न राष्ट्रहरूले पनि प्रतिस्पर्धामा सहभागी हुनका लागि आमन्त्रण आउने गरेको उनीहरू बताउँछन्।

    पाँच जना खेलाडीहरू आफूसँग रहेको बताउने डीआरएसले उनीहरूलाई मासिक रूपमा ४० देखि ५० हजार तलब दिने भट्टराई बताउँछन्।"यो एक जना सामान्य नेपालीको आर्जनभन्दा धेरै हो," उनले भने।

    नेपालमा हाइलाइट्स गेमिङ, डेराइ गाइज, एलिमेन्ट्रिक्स र ट्रेन्ड टु किल जस्ता समूहहरू अनलाइन गेमिङमा सक्रिय छन्।

    किन लाग्छ यो खेलको बानी?
    पब्जी लगायतका अनलाइन खेलहरूमा बालबालिका तथा किशोरकिशोरीहरू आकर्षित हुनुको एउटा कारण खेलको निर्माण प्रक्रिया पनि रहेको बाल मनोचिकित्सक डा. जया रेग्मी बताउँछिन्।

    "अनलाइन गेममा तत्काल रिवार्ड हुन्छ। छिटोछिटो नयाँ चीजहरू र लेभलहरू आइराखेपछि खेलिरहन मन लाग्ने हुन्छ। यसले एक किसिमको उत्साह दिन्छ," उनले भनिन्। तर समय मिलाएर र बुझेर खेलेमा अनलाइन खेलले हानि मात्रै नगर्ने उनको भनाइ छ।

    त्यसबाहेक अभिभावकहरूको व्यस्त जीवनशैलीसँगै सन्तानसँग बिताउने समयमा कमी, आफ्ना उमेर समूहका साथीहरूको कमी र घर बाहिर निस्किएर खेल्ने अवस्थामा सीमितता रहेका कारण अनलाइन गेममा आकर्षण बढिरहेको चिकित्सकहरू बताउँछन्।

    प्रतिनिधिसभा बैठकमा विकले कोरोनाभाइरस कहरले थलिएको देशको बालबालिका तथा किशोरकिशोरीमा शिक्षामा परेको असरले समाजमा डरलाग्दो समस्या सृजना भएको बताएकी थिइन्।

    पब्जी र फ्रीफायरजस्तो खेलको लतमा फसेको उनीहरूमा देखिएको डराउने, झस्कने र जिद्दीपनको बानीले अभिभावकमा तनावका कारण निम्तिने रोगहरूको दृश्य भयाभय रहेको उनले टिप्पणी गरेकी थिइन्।

    तर यस विषयमा अभिभावकहरू चिन्तित भए पनि विश्वव्यापी तथ्याङ्कले फरक परिदृश्य देखाउने रेग्मी बताउँछिन्।

    "खेलेर नै हानि हुन्छ भन्ने यकिन तथ्याङ्क छैन। कुनै पनि बानी व्यवहार चाहिनेभन्दा बढी भयो भने त्यसको प्रभाव हुन्छ। उदाहरणका लागि चाहिनेभन्दा बढी सुतेर अरू कुरामा प्रभाव पर्‍यो भने त्यो समस्या भयो," उनले थपिन।

    डीआरएसमा आबद्ध प्राय खेलाडीहरू २० देखि २५ वर्ष सम्मका रहेको भट्टराई बताउँछन्। ती सबै पुरुष हुन्।उनीहरूले दैनिक छदेखि आठ घण्टासम्म खेल्ने गर्छन्।

    खेलको 'लत' लाग्ने भनेर प्रचार गरिएको विषयमा भट्टराई असहमत छन्। बढी समय अनलाइन गेममा बिताउनुमा उनी खेलको भन्दा बढी अरूनै विषय कारक रहेको ठान्छन्।

    "पाँच वर्षका बच्चालाई हातमा मोबाइल फोन थमाउने" अभिभावकहरूको यसमा उत्तिकै दोष रहेको उनको भनाइ छ।

    "२० हजारको फोनदेखि आइफोनसम्म उपलब्ध गराउने त अभिभावनहरू नै हुन् नि। मेरो छोराले खेलिरह्यो भनेर विषय उठान गर्नुभन्दा खेलले समाजमा पारिरहेको प्रभाव हेर्नुपर्‍यो।"

    "मानिसले यसबाट कमाएर जीवन कहाँबाट कहाँ पुर्‍याउन सक्छ हेर्नुपर्‍यो," भट्टराईले भने। "नकारात्मक कुरा मात्रै नहेरेर सकारात्मक पनि हेर्‍यो भने राम्रो होला। सबै मान्छे डाक्टर वा इन्जिनियर त बन्न सक्दैनन् नि," उनले थपे।

    राम्रोसँग नियमन गरेर अघि बढाइएको अवस्थामा अनलाइन गेमिङ आफैमा एक किसिमको व्यवसाय या पेसा जसरी फस्टाउने उनी ठान्छन्। "चुरोट रक्सी खाएर तपाईँको घरमा झगडा पर्छ भने कारखाना बन्द गर्ने त होइन नि," उनले भने।

    सदनमा आफूले विषय उठान गर्नुको कारण पनि यस विषयमा व्यापक विमर्श होस भन्ने रहेको विकले बताइन्। आफ्नै घरमा समेत पब्जी लगायतका खेलबाट समस्या सृजना भएको बताउने उनी संसद्मा विषय उठान गरेपछि धेरै स्थानबाट सकारात्मक प्रतिक्रिया उत्पन्न भएको बताउँछिन्।

    "केही व्यक्तिहरूको आमदानीको स्रोत भयो होला त्यो। तर भर्खरैका बालबालिका र किशोरकिशोरीलाई त प्रभाव पार्छ," बीबीसीसँग उनले भनिन्।

    "कोठा भित्र बस्ने, रातभरि नसुत्ने, चिच्याउने, कराउने, जितेन भने आक्रोशमा अर्का मान्छे पिट्ने र मानसिक रूपमा विक्षिप्त हुने कारण यस्ता खेलहरूमा नियमन गर्न जरुरी छ।"समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    श्रावण १४, २०७८ बिहिवार २०:३२:३६ बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # पब्जी
  • अर्कोसमाचार

    युइएफए युरोपा लिग : लेष्टर र नापोलीको बराबरी

  • 184
    SHARES
  • युइएफए युरोपा लिग : लेष्टर र नापोलीको बराबरी

    काठमाडौं - युइएफए युरोपा लिगअन्तर्गत इग्ल्याण्डको लेष्टर सिटी र इटालीको नापोली क्लबले बराबर खेल्दै अंक बाँडेका छन् । बिहीबार राति लेष्टरको मैदानमा भएको समूह सी को खेलमा लेष्टर र नापोलीले २–२ गोलको बराबरी खेलेका हुन् । 

    images

    खेलमा घरेलु टोली लेष्टरले अग्रता बनायो ।  उसका अयोज पेरेजले खेलको ९ मिनेटमा बार्नेसको पास सदुपयोग गर्दै गोल गरे । खेलको ६४ मिनेटमा पुनः लेष्टरले २–० को अग्रता बनायो । हार्भे बार्नेसले केलेचीको पासमा उत्कृष्ट गोल गरे । 

    २–० गोल अन्तरले पछि पारेको नापोलीलाई भिक्टोर ओसिम्हेनले हारबाट टारे । भिक्टोरले खेलको ६९ र ८७ मिनेटमा गोल गर्दै २–२ को बराबरी गर्न सफल भए । यस्तै समूह सीको अर्काे खेलमा पोल्याण्डको लेगिया वार्सजवाले रसियाको स्पार्टक मस्कोलाई १–० गोल अन्तरले पराजित गर्दै शीर्षस्थानमा कब्जा जमायो । 

    समूह सी बाट ३ अंकसहित लेगिया शीर्षस्थानमा छ । यस्तै समान १ अंक रहेका नापोली र लेष्टर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने मस्को पुछारमा छ । न्युज कारखाना


    आश्विन १, २०७८ शुक्रवार ०६:५७:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # युरोपा लिग

  • क्यानाडा नेपाल

    आईसीसी विश्वकप क्रिकेट लिग–२ : अमेरिका र नेपाल भिड्दै

  • 186
    SHARES
  • आईसीसी विश्वकप क्रिकेट लिग–२ : अमेरिका र नेपाल भिड्दै

    काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबार अल अमेरात क्रिकेट मैदानमा नेपाल र अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ ।

    images

    यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । त्यसैले अमेरिका नेपालविरुद्ध बदला लिने रणनीतिमा हुनेछ । यस्तै नेपाल भने लगातार अमेरिकाविरुद्ध जित निकाल्ने दाउमा हुनेछ । 

    यसअघि अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल ओमनविरुद्ध ५ विकेटले पराजित भएको थियो । यता, अमेरिकासमेत ओमानसँग ४ विकेटले पराजित भएको थियो । 

    लिग–२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैठौं स्थानमा रहेको छ । अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।न्युज कारखाना 


    आश्विन १, २०७८ शुक्रवार ०८:२९:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आईसीसी विश्वकप क्रिकेट

  • क्यानाडा नेपाल

    ईपीएल टी-ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिकाका लेभी र वेस्ट इन्डिजका विलियम्सले खेल्ने

  • 154
    SHARES
  • ईपीएल टी-ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिकाका लेभी र वेस्ट इन्डिजका विलियम्सले खेल्ने

    काठमाडौं - एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता असोज ९ गतेबाट शुरु हुँदैछ । प्रतियोगितामा भाग लिने टिमहरुले धमाधम विदेशी खेलाडीलाई अनुबन्ध गरिरहेका छन् । यस्तै यस प्रतियोगिता दक्षिण अफ्रिकाका रिचार्ड लेभी र वेस्ट इन्डिजका केसरिक विलियम्सले पनि खेल्ने भएका छन् । 

    images

    उनीहरुले पोखरा राइनोजबाट खेल्ने बताइएको छ । पोखरा राइनोजले आफ्नो टिममा लेभी र विलियम्सलाई अनुबन्धन गरिएको जनाएको छ । चौंथो संस्करणको इपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ । 

    उक्त प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने भएका छन् । जसमा साविक विजेता ललितपुर प्याट्रीयट्स, भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्स रहेका छन् ।


    आश्विन १, २०७८ शुक्रवार १४:३९:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ईपीएल

  • क्यानाडा नेपाल

    नेपालले अमेरिकालाई दियो १७५ रनको सामान्य लक्ष्य

  • 230
    SHARES
  • नेपालले अमेरिकालाई दियो १७५ रनको सामान्य लक्ष्य

    काठमाडौं - कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकप्रेरित नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा अमेरिकालाई १ सय ७५ रनको सामान्य लक्ष्य दिएको छ ।

    images

    ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि  ज्ञानेन्द्रले १०५ बलमा ३ चौकासहित ५५ रनको इनिङ खेलेका थिए ।

    राष्ट्रिय टोलीमा डेब्यू गरेका  गुल्शन झासँग ५१ रनको साझेदारी गर्दै कप्तान मल्लले नेपालका लागि महत्त्वपूर्ण ५० रन पूरा गरे ।

    ओपनर कुशल भुर्तेल ४३ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाएर पेभेलियन फर्किँदा आशिफ शेख ३ रनमा आउट भए ।

    त्यस्तै, रोहित पौडेल २ मा पेभेलियन फर्किँदा विनोद भण्डारीले १० रन मात्र जोडेर आउट भए । डेब्यू खेलाडी  गुल्शनले ५३ बलमा २ चौका र १ छक्कासहित २८ रनको योगदान गरे ।  कुशल मल्ल, सोमपाल कामी २ र करण केसी १२ रन बनाएर पेभेलियन फर्केका थिए । त्यस्तै सन्दीप लामिछाने ११ रन जोडेर अन्तिम विकेटको रूपमा आउट हुँदा सुशन भारी २ रनमा अविजित रहे ।

    अमेरिकाका लागि कप्तान सौरभ नेत्राभल्करले ४, काएल फिलिपले २ तथा करिमा गोर, एल्मोर हचिन्सन र नोस्ठुस केन्जिगेले १/१ विकेट लिए ।

    सोमबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै पराजित भएको नेपालको यो तेस्रो खेल हो ।न्युज कारखाना

    नेपाली टोली - ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, गुल्सन झा


    आश्विन १, २०७८ शुक्रवार १९:४७:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्वकप क्रिकेट

  • क्यानाडा नेपाल

    विश्वकप क्रिकेट लिग : अमेरिकाले लियो नेपालसँग बदला 

  • 134
    SHARES
  • विश्वकप क्रिकेट लिग : अमेरिकाले लियो नेपालसँग बदला 

    काठमाडौं - विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा अमेरिकाले नेपालसँग बदला लिएको छ । 

    images

    शुक्रबार ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई ६ विकेटले पराजित गर्दै अमेरिकाले यसअघि ब्यहोरेको हारको बदला लिएको हो । 

    नेपालविरुद्ध टस जितेर बलिङ गरेको अमेरिकाले पाएको १ सय ७५ रनको टार्गेट २९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १७५ रन पूरा गरेको हो । 

    अमेरिकाको जितमा स्टेभन टेलरले सर्वाधिक ९२ रन बनाए । बिष्फोटक ब्याटिङ गरेका टेलरले ६३ बलमा ३ छक्का र १२ चौका प्रहार गरेका थिए । शतक बनाउन ८ रनले चुकेका टेलरलाई करण केसीले सोमपाल कामीको हातबाट क्याच आउट गराएका थिए । 

    यस्तै अमेरिकाको लागि मोनान्क पटेलले ३८ तथा कप्तान जास्करन मलहोत्राले ३६ रनको योगदान गरे । अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् । 

    नेपालको लागि करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । ८ ओभर ब्याटिङ गरेका सन्दीपले १ मेड लिएर २८ रन खर्चिए । यस्तै ५ ओभर बलिङ गरेका करणले २३ रन खर्चिए । 

    यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकमा अमेरिकालाई १ सय ७५ रनको लक्ष्य दिएको छ । ज्ञानेन्द्रले १०५ बलमा ३ चौकासहित ५५ रनको इनिङ खेलेका थिए ।

    राष्ट्रिय टोलीमा डेब्यूट्यान्ट गुल्शन झासँग ५१ रनको साझेदारी गर्दै कप्तान मल्लले नेपालका लागि महत्वपूर्ण ५० रन पूरा गरेका थिए । ओपनर कुशल भुर्तेल ४३ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाएर पेभेलियन फर्किँदा आशिफ शेख ३ रनमा आउट भए ।

    त्यस्तै, रोहित पौडेल २ मा पेभेलियन फर्किँदा विनोद भण्डारीले १० रन मात्र जोडेर आउट भए । डेब्युट्यान्ट गुल्शनले ५३ बलमा २ चौका र १ छक्कासहित २८ रनको योगदान गरे । त्यस्तै कुशल मल्ल, सोमपाल कामी २ र करण केसी १२ रन बनाएर पेभेलियन फर्केका थिए । त्यस्तै सन्दीप लामिछाने ११ रन जोडेर अन्तिम विकेटको रूपमा आउट हुँदा सुशन भारी २ रनमा अविजित रहे ।

    अमेरिकाका लागि कप्तान सौरभ नेत्राभल्करले ४, काएल फिलिपले २ तथा करिमा गोर, एल्मोर हचिन्सन र नोस्ठुस केन्जिगेले १÷१ विकेट लिए ।

    सोमबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै पराजित भएको नेपालको यो तेस्रो खेल हो ।

    लिग–२ मा नेपाल ७ खेलमा ६ अंक जोडेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।  ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।न्युज कारखाना 


    आश्विन २, २०७८ शनिवार ०७:२३:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्वकप क्रिकेट लिग

  • क्यानाडा नेपाल

    महिला एसियन कप छनोट : नेपाल र फिलिपिन्स भिड्दै

  • 94
    SHARES
  • महिला एसियन कप छनोट : नेपाल र फिलिपिन्स भिड्दै

    काठमाडौं - एएफसी महिला एसियन कप छनोट २०२२ अन्तर्गत नेपालले आज फिलिपिन्सको सामना गर्दैछ । शनिबार समूह एफअन्तर्गत उज्वेकिस्तानको तास्केन्तमा हुने खेल स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ । 

    images

    समूह एफ को पहिलो खेलमा दुबै टोली जित निकाल्दै सुखद् सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । नेपालले दोस्रो खेलमा मंगलबार हङकङसँग खेल्नेछ । मुख्य खेलाडी तथा स्ट्राइकर सावित्रा भण्डारीबिना नेपालले समूह एफ मा रहेका फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा गर्ने भएको हो । 

    पक्कै पनि सावित्राको अभावमा नेपालको अग्रपंक्तिमा समस्या हुने नै छ । गत हप्ता भएको दुई मैत्रीपूर्ण खेलले त्यसलाई जनाइसकेको छ । नेपालले खेलेको बंगलादेशविरुद्धको एक खेल जसोतसो जितेको थियो भने अर्काे खेल बराबरीमा समाप्त भएको थियो । 

    यस्तो अवस्थामा नेपाली टोलीका प्रशिक्षक ग्यारी फिलिप्स राम्रो प्रदर्शन गर्नेमा केन्द्रीत छन् । उनी महिला फुटबलको लागि एसियन छनोट राम्रो अवसर रहेको बताउँदै नयाँ खेलाडीको सहभागिताले टोलीमा नयाँ उर्जा थपेको बताउँछन् । 

    ‘नेपाली महिला फुटबलको लागि यो एउटा अवसर हो । महिला फुटबल प्रबर्द्धनको लागि मात्र होइन आफ्नो खेल र क्षमता देखाउने अवसर छ । नयाँ र युवा खेलाडीको सहभागिताले टोलीमा नयाँ उर्जा थपिएको छ । हामी राम्रो खेल प्रदर्शन गर्नेमा बिश्वस्त छौं,’ ग्यारीले भने । 

    यसअघि एसियन कप छनोटका लागि प्रशिक्षक फिलिप्सले ४५ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका थिए । उनले दोस्रो चरण सँगै छनोटका लागि अन्तिम २३ नाम सार्वजनिक गरेका हुन् ।

    जसमा ७ नयाँ अनुहार समेत रहेका छन् । गत साता बंगलोदशविरुद्ध भएको खेलमा ५ खेलाडीले डेब्यु गरे । स्ट्राइकर रश्मि घिसिङ, प्रिती राई, सविता राना मगर, सृजना सिंह ठकुरी र रजनी थोकरले राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । 

    ग्यारीको २३ सदस्यीय टोलीमा अब नयाँ खेलाडीमा डिफेण्डरद्वय निशा थोकर र विमला विक डेब्यु गर्न बाँकी छ । यस्तै टोलीको नियमित तेस्रो रोजाईकी गोलरक्षक उषा नाथलेसमेत राष्ट्रिय टोलीको डेब्यु पर्खाइमा छिन् ।

    यता, नेपालसँग खेल्ने फिलिपिन्स र हङकङले समेत छनोटमा राम्रो प्रदर्शन दिने बताएका छन् । दुबै टोलीले आफ्नो लक्ष्य भारतमा हुने एसियन कपमा रहेको बताएका छन् । समूह एफ बाट एक टोली छनोट हुनेछ । 

    यसअघि नेपाली महिला राष्ट्रिय टोलीले सन् १९८६ मा एएफसी महिला च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो । जहाँ नेपाल हङकङसँग १–० ले पराजित भएको थियो । नेपाली महिला टोलीले त्यसपछि लगातार तीन पटक (सन् १९८६, १९८९ र १९९९) मा एसियन कप खेलेको थियो । तीनै पटक नेपालको यात्रा समूह चरणमा सीमित भएको थियो ।न्युज कारखाना
     


    आश्विन २, २०७८ शनिवार ०८:५१:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल