शुक्रबार
२० मङ्सिर
२०७६

ऊर्जामा ढुक्क भएर लगानी गर्नुस् : अर्थमन्त्री

शुक्रबार मङ्सिर ६, २०७६/ Friday 11-22-19

काठमाडौँ | अर्थमन्त्री डा युवराज खतिवडाले ढुक्क भएर नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तरराष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन् । 

पावर समिट, २०१९ को ‘नेपालको ऊर्जा क्षेत्रमा लगानी र क्षेत्रीय विकास’ विषयक सत्रलाई आज सम्बोधन गर्दै मन्त्रि खतिवडाले विदेशी बैंक तथा अन्तरराष्ट्रिय वित्त साझेदारलाई ऊर्जामा लगानीका लागि आग्रह गरेका हुन् । नेपालमा इन्धनमार्फत उत्पादन हुने ऊर्जाको खपत धेरैमात्रामा रहेकाले यसलाई केही वर्षभित्रै १५ प्रतिशतले कम गर्ने उनको भनाइ थियो । 

संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यअनुसार नै नेपालमा विकासका काम कारवाही अगाडि बढिरहेकाले नवीकरणीय ऊर्जामा लगानी गरेर प्रतिफल लान कुनै समस्या नभएको भनाइ उक्त कार्यक्रममा राखेका थिए।

“म विदेशी लगानीकर्तालाई नेपालको समग्र ऊर्जामा लगानी गर्न आह्वान गर्दछु । लगानीको प्रतिफल फिर्ता लैजान नेपालले सहज वातावरण सिर्जना गरेको छ । कुनै समस्या छैन ।”

सरकारले विद्युतीय सवारीलाई प्रवद्र्धन गरिरहेको जानकारी दिँदै आगामी पाँच वर्षमा प्रतिव्यक्ति विद्युत् खपतको दरलाई बढाएर एक हजार ५०० युनिट बनाउने योजना रहेको जानकारी समेत दिएका छन् । नेपालका बैंकले उत्पादनमूलक क्षेत्रमा गरेको लगानीले गति लिँदै गरेकाले पनि निजी बैंक तथा वित्तीय संस्थालाई अहिलेकै गतिमा लगानी विस्तार गर्न आग्रह गरेका छन् ।

“नेपालको जलविद्युत् तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न विशेष व्यवस्था गर्न लागिएको छ । यसका लागि सरकारले स्वदेश तथा विदेशमा सोहीअनुसार लगानी जुुटाइनेछ”, अर्थमन्त्री डा खतिवडाले भने । 

एशियाली पूर्वाधार विकास बैंकका महानिर्देशक यी यिन पाङले नवीकरणीय ऊर्जामा लगानी विस्तार गर्ने योजनामा रहेकोबताएका छन् । मन्त्रि खतिवडाले नेपालको जलविद्युत् क्षेत्रका तीन वटा आयोजनामा लगानी गरिरहेको र निकट भविष्यमै ठूला आयोजनमा लगानीका लागि तम्तयार रहेको जानकारी दिएका छन् । 

नवील बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नेपालका बैंकले जलविद्युत्मा लगानी विस्तार गरिरहेको जानकारी दिएका छन् । कार्यक्रममा लगानीकर्ता कुुशकुुमार जोशीले नेपालमा जलविद्युुत्का आयोजना समयमा नै नसकिने समस्या रहेको गुनासो समेत गरेका हुन् ।